प्रभावकारी बन्दै निर्वाचन अवज्ञा आन्दोलन

प्रभावकारी बन्दै निर्वाचन अवज्ञा आन्दोलन

दलाल पुँजीवादी संसद्‌वादले आफ्नो दीर्घायुको मिथ्या सपना साकार पार्ने योजना बनाएर घोषणा गरेको कथित प्रदेश र सङ्घको निर्वाचनको अवज्ञा आन्दोलन देशव्यापी रूपमा प्रभावकारी बन्दै गएको छ । विगतमा देश र जनताको मुक्तिका गुलिया नारा दिएर चुनाव गराउँदै सरकार र सत्ता सञ्चालन गर्ने स्थानमा पुगेका संसद्‌वादी पार्टी र नेताहरूले देश र जनतालाई घात र आहतबाहेक केही नदिएपछि आजित भएका जनताले नेकपा (बहुमत) लगायत चार वामपन्थी दलले अघि बढाएको निर्वाचन अवज्ञा/बहिष्कार आन्दोलन र सभाहरूमा उल्लेखनीय रूपमा सहभागिता जनाएर दलाल पुँजीवादको एक मात्र र भरपर्दो विकल्प वैज्ञानिक समाजवादी सत्ता हो र त्यसका लागि यो दलाल पुँजीवादी सत्ताको अन्त्य अत्यावश्यक र अपरिहार्य छ भन्ने सन्देश दिइरहेका छन् । आमूल परिवर्तनका पक्षधर शक्ति र जनताका लागि यो सुखद अवसर हो । दलाल पुँजीवादको चिहानमा नै वैज्ञानिक समाजवादी सत्ता उदाउने हो र सहिद, बेपत्ता योद्धा, देश र जनताका अधुरा सपना पूरा गर्ने हो ।

नेकपा (बहुमत) ले निर्वाचन अवज्ञाका लागि ‘पुँजीवाद, संसद्वाद र दलाल पुँजीवादका विरुद्ध सङ्घर्ष गरौँ– वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढौँ’, स्वाधीन संयुक्त सरकार गठन गर– प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर, जनताको नैसर्गिक अधिकार– जमिन, शिक्षा, स्वास्थ्य र रोजगार !, व्यक्ति होइन, सत्ता बदलौँ– सुधार होइन, आमूल परिवर्तन गरौँ !’ लगायत नारा अघि सार्दै देशव्यापी रूपमा अभियानकै स्तरमा अवज्ञा सभाहरू गरिरहेको छ र अन्य तीन कम्युनिस्ट/वामपन्थी दलको सहभागिताले यो आन्दोलन अझै प्रभावकारी बन्दै गएको छ । चितवन, सर्लाही, विराटनगरलगायत स्थानमा आयोजित अवज्ञा/बहिष्कार सभाहरूले नै उज्यालो भविष्यको सङ्केत गरिसकेका छन् । देशका विभिन्न सहर र सदरमुकामपछि कात्तिक २३ गते काठमाडौँमा आयोजना हुने अवज्ञासभाले पहिलो चरण पार गरेपछि पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवादका लागि जारी आन्दोलन थप सार्थक र प्रमाणित हुनेछ ।

अब आमजनतामा दलाल पुँजीवादी व्यवस्थाका पक्षधर शक्ति सबै उस्तै हुन्– ‘हात्ती र हात्तीछाप चप्पलजस्तै’ भन्ने विश्वास पैदा भइरहेको छ । शोषण, दोहन, लूट र झूटमा टिकेको विद्यमान व्यवस्था बचाउने अन्तिम कसरतस्वरूप एमाले, माओवादी केन्द्रलगायत कम्युनिस्ट नामधारी समूहहरूका साथै दलाल पुँजीवादको नेपाली एजेन्ट काङ्ग्रेस विभिन्न बहाना बनाएर निकृष्ट, सिद्धान्तहीन, घोर प्रतिगामी गठबन्धन बनाएर निर्लज्जतापूर्वक अघि आएका छन् । कम्युनिस्टको नक्कली खोल ओढेको एमालेले प्रतिगामी शक्तिका अगुवा कमल थापा/क्षेत्रीयतावादी शक्तिका प्रतिनिधि उपेन्द्र यादव, राजेन्द्र महतोजस्ता पात्र र प्रवृत्तिसँग घोषित/अघोषित गठबन्धन गरेर आफ्नो अस्तित्व धान्ने प्रयास गरेको छ भने आफूलाई अझै पनि माओवादी भनाउने रहर गरिरहेको माओवादी केन्द्र अर्थात् पुष्पकमल दाहाल समूहले दलाल पुँजीवादको पहरेदार र साम्राज्यवादको असली चाकर काङ्ग्रेसको पुच्छर बनेर बचेखुचेको पार्टी नाउँको लोगो पनि झन् फोहोरमा मुछेर घिनलाग्दो अनुहार देखाएको छ । यतिबेला परिवर्तनकामी जनता र शक्तिका सामुन्ने एमाले, माओवादी केन्द्र वा काङ्ग्रेसलाई स्वतन्त्र रूपले अस्तित्व जोगाउन धौ–धौ परिरहेको छ । कम्युनिस्ट नाउँधारी एमाले, माओवादी केन्द्र, जनमोर्चा वा अरू पनि संसद्‌वादी समूहहरू सिद्धान्तहीन र आफैँ कुहिसकेका फर्सी हुन् । भित्रभित्रै कीरा परिसकेको फर्सी बाहिरबाट हेर्दा जति सद्दे देखिए पनि त्यो फुटाउनसाथ भित्रका स्याउँस्याउँती कीरा बाहिर आइहाल्छन् । त्यसैले अवज्ञा/बहिष्कार आन्दोलनले दलाल पुँजीवादी संसद्‌वादी समूहहरूको कुहिएको फर्सी फुटाउने र त्यसभित्रको वास्तविक अवस्था देखाउनेमा सबै देशभक्त, क्रान्तिकारी शक्ति र सचेत जनसमुदाय ढुक्क र प्रयासरत छन् ।

नेपालमा पञ्चायतकालदेखि नै क्रान्तिकारी शक्ति र सचेत जनताले पुरानो, देशद्रोही/जनद्रोही सत्तालाई अवज्ञा गर्दै आएका छन् । तीसको दशकको उत्तराद्र्धदेखि जनवादी आन्दोलनका पक्षधर शक्तिले देखिने र महसुस हुने गरी सामन्ती व्यवस्थाको अवज्ञा गर्दै आएका हुन् । २०४८ र २०६४ सालको चुनावबाहेक नेपालका क्रान्तिकारी शक्ति र जनताले दलाल पुँजीवादी व्यवस्थाले गराएका सबै चुनाव खारेज, बहिष्कार र अवज्ञा गर्दै आएका छन् । फासिवादी सत्ताले सत्ताशक्तिको जतिसुकै दुरुपयोग गरे पनि जनताको अवज्ञा आन्दोलन अत्यन्त प्रभावकारी बन्दै आएको छ र विशेषगरी २०७० सालको नक्कली संविधानसभापछिका सबै संसदीय चुनावहरूमा उत्पीडित नेपाली जनताको प्रतिनिधित्व गर्दै क्रान्तिकारी शक्तिहरूले बहिष्कार वा अवज्ञाका माध्यमबाट आफ्नो फरक मत शक्तिशाली रूपमा प्रस्तुत गर्दै आएका छन् । संसदीय चुनावहरू कहिले ठूलो आवाजका साथ र कहिले भद्रतापूर्वक अवज्ञा हुँदै आएको छ र आमजनसमुदायमा पनि यो व्यवस्था, यसले आफ्नो रक्षाका लागि गराउने चुनाव र यसका अगुवा नेताहरूप्रतिको विश्वास शून्यप्रायः भइसकेको देख्न सकिन्छ ।संसद्वादी शक्ति जसलाई मत दिए पनि प्रतिगमनकारी, पश्चगामी, देशद्रोही, जनद्रोहीहरू नै दोहोरिएर आउने हुन् भन्ने छाप जनतामा गहिरोसँग परिसकेको छ । सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमसम्म पनि जनताले यो व्यवस्थामा भाग लिएर प्रतिनिधिका रूपमा पठाइएका पात्रहरूले कालान्तरमा राष्ट्रघाती नागरिकता विधेयक, राष्ट्रघाती एमसीसी सम्झौता, अग्नि, ओम्नी, वाइडबडी, सेक्युरिटी प्रेस खरिद, ललिता निवास जग्गा घोटालाजस्ता घिनलाग्दा राष्ट्रघाती काण्ड मच्चाउने हुन्, देशलाई फिजी, सिक्किम बनाउने नयाँ लेन्डुपहरू निर्माण गर्ने हुन् र दैनिक राष्ट्रघात, जनघात, महँगी, बेरोजगारी बढाउने र देशको ढुकुटीमा मनमौजी लूट गर्ने भ्रष्टहरू उत्पादन गर्ने हुन् भन्ने गहिरो विश्वास व्यक्त गर्दै यो व्यवस्था, सरकार र यसका प्रतिनिधि पात्रविरुद्ध आक्रोश व्यक्त गरेको नै देख्न सकिन्छ । फेरि त्यही भ्रष्टाचार, राष्ट्रघात, महँगी, दमन र व्यभिचारलाई नै निरन्तरता दिन यो व्यवस्था र यसका चुनावलगायत क्रियाकलापलाई अवज्ञा, तिरस्कार, बहिष्कार, खारेज गर्नु र वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा हिँड्नु नै विगत नदोहोर्याउने र सुन्दर भविष्य निर्माण गर्ने एक मात्र सही र निर्विकल्प बाटो हो । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :