युक्रेनमा रुस जित्दैछ कि हार्दैछ ?

युक्रेनमा रुस जित्दैछ कि हार्दैछ ?

काठमाडौँ : पश्चिमा नियन्त्रित सञ्चारमाध्यमहरूले ‘युक्रेनमा रुस हारिरहेको छ’ भन्ने समाचार जोडतोडले प्रसारण गरिरहेका थिए तर रुसले गत सेप्टेम्बर २३, शुक्रबार आफूनियन्त्रित भनेर घोषणा गरेका चारवटा राज्य डोनेत्स्क, लुहान्स्क, जापोरिझ्झिया र खेर्सोनमा जनमतसङ्ग्रह गरेर युक्रेनबाट छुट्टिने प्रस्तावका पक्षमा क्रमशः ९८, ९३ र ८७ प्रतिशत मत खसेको परिणाम सार्वजनिक गर्यो ।

रुसको यो गतिविधिलाई नजिकबाट नियालेका मात्र होइन, अन्तिमसम्म र आवश्यकता परेसम्म युक्रेनलाई साथ दिने र सहयोग गर्ने भन्दै आएका अमेरिकालगायत नेटोमा आबद्ध सबै देशहरूले ‘रुसद्वारा गरिएको यस्तो लाजमर्दो कामको हामी भत्र्सना गर्दछौँ’ भने । अमेरिकाका राष्ट्रपति जोई बाइडेनले त सेप्टेम्बर २३ कै दिन विज्ञप्ति निकाले । उनको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाले युक्रेनी भूभागलाई युक्रेनको भागबाहेक अरू कुनै कुराका रूपमा मान्यता दिनेछैन । रसियाको जनमतसङ्ग्रह एक ढाँचा हो– संयुक्त राष्ट्रसङ्घको बडापत्रसहित अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घनमा बल प्रयोग गरेर युक्रेनका भागहरू गाभ्ने प्रयास गर्ने झूटो बहाना हो । हामी हाम्रा सहयोगी र साझेदारहरूसँग रसियामा थप द्रुत र गम्भीर आर्थिक लागतहरू लगाउने काम गर्नेछौँ । संयुक्त राज्य अमेरिका विश्वभरका हाम्रा साझेदारहरूसँग उभिएको छ र संयुक्त राष्ट्र बडापत्रका मूल सिद्धान्तहरूलाई सम्मान गर्ने प्रत्येक राष्ट्रसँग– रूसले घोषणा गर्ने जुनसुकै मनगढन्ते परिणामहरूलाई अस्वीकार गर्न आह्वान गर्दछौँ । हामी युक्रेनी जनतालाई समर्थन गर्न जारी राख्नेछौँ र उनीहरूलाई रुसको आक्रमणको साहसपूर्वक प्रतिरोध गर्न मद्दत गर्न उनीहरूलाई सुरक्षा सहयोग प्रदान गर्नेछौँ ।’

उनको यस्तो विज्ञप्तिको ठाडो अस्वीकार र बेवास्ता गर्दै टेलिभिजन सम्बोधनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिए, ‘रुसको क्षेत्रीय अखण्डतालाई धम्की दिइयो भने क्रेमलिनले पक्कै पनि रुस र हाम्रा जनताको रक्षा गर्न हाम्रो अधिकारमा सबै साधनहरू प्रयोग गर्नेछ । यो कुनै धम्की मात्र होइन ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमालाई दिएको अल्टिमेटमले आणविक द्वन्द्वको जोखिमलाई ठूलो मात्रामा बढाउँछ भनी विश्लेषकहरू र अभियानकर्ताहरूले चेतावनी दिएका छन् । यसबाट रुस—युक्रेन युद्ध अब केवल त्यत्तिमा मात्र सीमित नभएर आणविक युद्धमा परिणत नहोला भन्न सकिँदैन । यो युद्ध तेस्रो विश्वयुद्धसम्म नपुग्ला भन्न पनि सकिँदैन ।

१७ अक्टोबरमा रुसले इरानको प्रविधिमा आधारित ‘कामिकाज’ नामको ड्रोनले आक्रमण गर्दा १९ जनाको मृत्यु हुनुका साथै युक्रेनको राजधानी किभ धुवाँ नै धुवाँले भरिएको दृश्य देखाइएको छ । यसरी हेर्दा यो युद्धले अर्को मोड लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :