भित्तेलेखन गर्दागर्दै नेकपा (बहुमत) का तीन केन्द्रीयसहित कयौँ नेता–कार्यकर्ता गिरफ्तार

नेताहरूलाई अविलम्ब रिहा गर्न प्रवक्ता सुदर्शनको माग

भित्तेलेखन गर्दागर्दै नेकपा (बहुमत) का तीन केन्द्रीयसहित कयौँ नेता–कार्यकर्ता गिरफ्तार

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले चुनाव अवज्ञा कार्यक्रमका क्रममा भित्तेलेखन गर्दागर्दै मकवानपुरको हेटौँडाबाट गिरफ्तार गरिएका पार्टीका मकवानपुर इन्चार्ज, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य भीमबहादुर खड्का, पार्टीका भक्तपुर इन्चार्ज, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य रोजन रखाल, पार्टीका भक्तपुर संयोजक केदार दुवाल, मकवानपुर जिल्लाका संयोजक विक्रम मगर, विद्यार्थी सङ्गठनका ललितपु्र–भक्तपुर इन्चार्ज रमेश सुनार, विद्यार्थी सङ्गठनका पोखरा विश्वविद्यालय इन्चार्ज गणेश रुम्बालाई अविलम्ब रिहा गर्न माग गरेका छन् । प्रहरीले खड्का र मगरलाई मकवानपुरको हेटौँडाबाट र अरू सबैजनालाई भक्तपुर, सानोठिमी क्षेत्रबाट मङ्गलबार गिरफ्तार गरेको हो ।

प्रवक्ता सुदर्शनले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै यो घटनाले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र चलिरहेको छ कि राजतन्त्रात्मक पञ्चायती व्यवस्था ? भनी प्रश्न पनि उठाएका छन् । उनले सरकारले बुर्जुवा लोकतन्त्रका आधारभूत मान्यतासमेत उल्लङ्घन गरिरहेको पनि प्रस्ट पारेका छन् ।

प्रवक्ता सुदर्शनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी तथा उत्पीडित वर्गको अग्रदस्ता नेकपा (बहुमत) का मकवानपुर इन्चार्ज, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य भीमबहादुर खड्का, पार्टीका भक्तपुर इन्चार्ज, पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य रोजन रखाल, पार्टीका भक्तपुर संयोजक केदार दुवाल, मकवानपुर जिल्लाका संयोजक विक्रम मगर, विद्यार्थी सङ्गठनका ललितपु्र–भक्तपुर इन्चार्ज रमेश सुनार, विद्यार्थी सङ्गठनका पोखरा विश्वविद्यालय इन्चार्ज गणेश रुम्बालगायत कमरेडहरूलाई भित्तेलेखनकै क्रममा गिरफ्तार गरेको छ । यो घटनाले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र चलिरहेको छ वा राजतन्त्रात्मक पञ्चायती व्यवस्था ? भन्ने प्रश्न उठाएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले बुर्जुवा लोकतन्त्रका आधारभूत मान्यतासमेत उल्लङ्घन गरिरहेको छ । वाक्स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, लेखन स्वतन्त्रताजस्ता मौलिक हकहरूसमेत हनन भइरहेका छन् । सर्वविदितै छ– हामीले यो संसदीय व्यवस्थाअन्तर्गत हुने सबै चुनावको अवज्ञा गर्ने निर्णय गरेका छौँ । अवज्ञा/बहिष्कार गर्न सहमत नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), विद्रोेही नेकपा मसाल र माओवादी कम्युनिस्ट पार्टी नेपालका संयुक्त जनसभाहरू पनि भइरहेको कुरा सबैलाई थाहा छ । सामान्य विरोध र प्रचारका कार्यक्रम गर्दा सरकारी हस्तक्षेप हुनु भनेको स्वयम् बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको धज्जी उड्नु हो । त्यसकारण चुनाव अवज्ञाका सन्दर्भमा भित्तेलेखन गरिरहनुभएका भीमबहादुर खड्का, रोजन रखाल, केदार दुवाल, विक्रम मगर, रमेश सुनार, गणेश रुम्बाको शीघ्र रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :