फूलमती–लक्ष्मण विकको स्मृतिमा ५ लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा

फूलमती–लक्ष्मण विकको स्मृतिमा ५ लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा

काठमाडौँ : फूलमती विकको श्रद्धाञ्जली कार्यक्रममा उनको परिवारका सदस्यले पाँच लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा गरेका छन् । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य लोकेश विश्वकर्माले आमा फूलमती विक र बाबा लक्ष्मण विकको स्मृति र सम्मानमा ‘फूल फाउन्डेसन’ घोषणा गर्दै ५ लाख रुपैयाँको चेक फाउन्डेसनका संयोजक दिलबहादुर सुनारलाई हस्तान्तरण गरे । माओवादी युवा नेता लोकेशले आमाको निधनमा परम्परा र रूढिमा आधारित काजकिरिया नगरी विद्रोह गरेका थिए ।

असोज २९ गते पर्वत पैयुँखोलामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा परिवारका तर्फबाट गरिब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गर्दै लोकेशले परिवारको साथ–सहयोगमा आमा फूलमती विश्वकर्मा र बाबा लक्ष्मण विश्वकर्माको स्मृति र सम्मानमा स्थापित ‘फुल फाउन्डेसन’ मार्फत ५ लाखको अक्षयकोष घोषणा गरेका हुन् ।

लक्ष्मण विक पर्वत पैयुँखोलाको वामपन्थी आन्दोलनका अगुवामध्येका सक्रिय सदस्य, समाजसेवी हुन् भने फूलमती विश्वकर्मा उनकी सहयात्री । नेकपा (बहुमत) पर्वतको आयोजनामा शनिबार सम्पन्न फूलमती विश्वकर्माको श्रद्धाञ्जलीसभाका अवसरमा उक्त अक्षयकोष घोषणा हुँदा जिल्लाभरिका क्रान्तिकारी समुदायले वैकल्पिक संस्कृतिको निर्माणमा अर्को कोसेढुङ्गा थपिएको भन्दै खुसी व्यक्त गरेका थिए ।

श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंहले अग्रजहरूको योगदान, स्मृति र सम्मानमा क्रान्तिकारी वैकल्पिक संस्कृति अघि बढ्नु महत्वपूर्ण रहेको भन्दै आमा फूलमतीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता नेकपा (बहुमत) पर्वतका इन्चार्ज अनन्तले र सञ्चालन नेकपा (बहुमत) पर्वतका सचिवालय सदस्य नवराज भुसालले गरेका थिए ।

कार्यक्रममा अतिथि वक्ता नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा सगठनका केन्द्रीय सचिव तिलक अधिकारी, नेकपा (माओवादी केन्द्र) पैयुँ गाउँपालिका अध्यक्ष रेशमलाल सापकोटा, नेकपा एमालेका जिल्ला प्रतिनिधि डोलराज भुसाल, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव उमाकान्त सुवेदी, नेपाली काङ्ग्रेस पैयुँ गाउँपालिका सभापति राजन भुसाल, सहिद परिवारका जनक भुसाल, वाम बुद्धिजीवी ओमप्रकाश बस्याल थिए ।

कार्यक्रममा अतिथिका रूपमा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू तनहुँ इन्चार्ज सुजन विश्वकर्मा ‘आयाम’, कालीकोट इन्चार्ज रणबहादुर विश्वकर्मा, नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय सदस्य लोकेन्द्र राई, नेकपा (बहुमत) कास्की युवा जनस्वयम्सेवकका नेता सूर्य परियार सहभागी थिए ।

त्यसैगरी स्थानीय वडाध्यक्ष चन्द्रबहादुर थापा, पूर्ववडाध्यक्ष विष्णु काफ्ले, नेकपा (माओवादी केन्द्र) का युवराज सेन, पालुस्थान माविका प्रधानाध्यापक पूर्णचन्द्र काफ्ले, पैयुँ विश्वकर्मा समाज, भूपू सैनिक परिवारलगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्मरणीय छ, यसअघि नेकपा (बहुमत) केन्द्रीय प्रचार, प्रसार तथा प्रकाशन ब्युरोका संयोजकसमेत रहेका माक्र्सवादी संस्कृतिकर्मी अशोक सुवेदीले करिब दुई दशकअघिदेखि र नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य एवम् अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष पूर्णबहादुर सिंहले गतवर्षदेखि परम्परागत संस्कार, संस्कृतिविरुद्ध विद्रोह गर्दै वैकल्पिक संस्कृति निर्माण आरम्भ गर्ने क्रममा प्रगतिशील शैक्षिक, सांस्कृतिक र सामाजिक काम गर्दै आएका छन् भने नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पार्टीका भक्तपुर जिल्ला इन्चार्ज रोजन रखालले पनि आमाको निधनपछि परम्परागत सांस्कारिक बन्धनबाट विद्रोह गरेका छन् । रूढि, कुसंस्कार र अन्धविश्वासमा जकडिएको परम्परावादी संस्कार र संस्कृति तोड्दै वैकल्पिक क्रान्तिकारी संस्कृति निर्माण गर्ने संस्कार आरम्भ भएको अवस्थामा लोकेश विकले बाबाआमाका नाउँमा फाउन्डेसन स्थापना गरी विपन्न, असहाय, दलित छात्रछात्रालाई छात्रवृत्ति सहयोग वितरण गर्ने निर्णय गरेपछि पर्वतबाट पनि यो शृङ्खलामा नयाँ अध्याय थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :