एक थान संविधान र देश–जनताका दुःख

एक थान संविधान र देश–जनताका दुःख

जनताको व्यापक असन्तुष्टिका बीच क्रान्तिकारी शक्तिलाई निस्तेज पारेर नक्कली संविधानसभा खडा गरी घोषणा गरिएको कथित गणतन्त्र नेपालको संविधानका सात वर्षमा संविधान मात्र होइन, व्यवस्था नै पतनको उत्कर्षमा पुगेको छ । इतिहासमै सबैभन्दा चरम बेथिति, राष्ट्रघात, महँगी, भ्रष्टाचार, लूट र दोहनले जनतालाई आजित मात्र पारेको छैन, दलाल पुँजीवादी संसदीय व्यवस्था नै असफल साबित भएको छ र यसको विकल्पमा वैज्ञानिक समाजवादसम्म पुग्ने नयाँनयाँ खोजी र प्रयोगहरू भइरहेका छन् । नेपाली जनताले निरन्तर सङ्घर्ष गरेर स्थापना गरेको संविधानसभाको विघटन र साम्राज्यवादी डिजाइनमा बुख्याँचाका रूपमा खडा गरिएको दलालहरूको एजेन्टले गराएको कथित दोस्रो संविधानसभाले जनविरोधी षड्यन्त्र र योजनाअनुसार काम तमाम गर्दै परिवर्तनका पक्षधर शक्तिहरूबिनाको एक थान संविधान जारी गरेर मुलुकमा परिवर्तनको बाटो बन्द गर्दै वौनिक रूपमै दलाल पुँजीवाद स्थापना भएको घोषणा गरेको दिनका रूपमा २०७२ असोज ३ लाई लिने गरिन्छ । यो आमूल परिवर्तनका पक्षरहरूको सपनाको हत्याको दिन हो र दलालहरूको अस्थायी व्यवस्थापनको सम्झौताको अन्तिम उत्सव हो । त्यसैले विद्यमान संविधानले नेपालको राष्ट्रियता, सार्वभौमसत्ताको त रक्षा गर्न सकेको छैन नै, उत्पीडित नेपाली जनताका सम्पूर्ण सपनाहरूमाथि पनि भुतभुते खन्याएको छ । त्यसैले यो संविधान नेपाली उत्पीडित वर्ग, जाति, क्षेत्रको संविधान होइन । यो खारेजभागी छ । यसले रक्षा गरेको वर्ग वास्तविक श्रमिक, उत्पीडित नेपाली जनता होइन । वर्गसङ्घर्षहरूमा आमूल परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूको सपनाको सँगालो होइन, यो त राष्ट्रघात गर्ने, साम्राज्यवादलाई देशभित्र बोलाउने, नेपालका प्राकृतिक सम्पदा र जमिन दोहन गर्न पराईलाई आमन्त्रण गर्ने, दलालहरूको स्वार्थरक्षा गर्ने जाली तमसुकहरूको पुलिन्दा हो । यो संविधान जारी हुनुभन्दा अघिल्लै दिन नेपालका क्रान्तिकारी शक्तिहरूले यसको पुतला र छाया प्रति जलाउँदै जनसंविधानको खाका जारी गरेका थिए । बरु असोज २ गते त उत्पीडित जनताको मुक्ति र देशको स्वाधीनताका लागि जनसंविधानको खाका सार्वजनिक गरेको खुसी र आशाको दिन र पर्व हो । सपना–लासको चाङबाट सपना–जीवनको उद्घोष भएको नयाँ उत्सव हो । त्यसैले नेपाली श्रमिक जनताको सपना असोज ३ को नक्कली र जाली संविधानले होइन, असोज २ गते रत्नपार्कबाट जारी गरिएको जनसंविधानको खाकाले पूरा गर्नेछ ।

नेपाली उत्पीडित जनताको आशा र भरोसाको एक मात्र केन्द्र नेकपा (बहुमत) ले विद्यमान संविधानलाई दलाल पुँजीवादी सत्ताको रक्षाकवचका रूपमा परिभाषित गरेको छ । पार्टीले नक्कली संविधान लागू भएको सात वर्षमा देशमा राजनीतिक अस्थिरता, आर्थिक असमानता, मौलिक अधिकारको हनन, महिला, दलितलगायत उत्पीडित, श्रमिक जनता र राष्ट्रमाथि घात मात्र भएकाले यी सबै समस्या समाधान गर्नका लागि वर्तमान संविधान पूर्ण रूपमा खारेज गरी नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी सत्ता र जनसंविधान निर्माण गर्न आह्वान गरेको छ । नेकपा बहुमत मात्र होइन, नेपालका क्रान्तिकारी शक्ति, देशभक्त र आमूल परिवर्तनका पक्षधर जनता कसैले पनि यो संविधानलाई स्वीकार गरेका छैनन् । यो संविधानले विपन्न वर्गको मुख मोसेर दलाल पुँजीपति वर्गका आततायीहरूलाई पोसेकाले जनता यसका विरुद्ध छन् । यो संविधानको विशेषता भनेकै विषादी भरिएको घडालाई ‘अमृत’ भनेर दिग्भ्रमित पार्नु हो र भोकाहरूलाई बालुवा र अघाएकाहरूलाई कुरौनी कोच्याउनु हो । आधारभूत श्रमिक, उत्पीडित, पददलित वर्ग र समुदायले यो संविधानबाट कागजको फूलबाट आउने बास्ना मात्र प्राप्त गर्नेछन् र तस्बिरमा सजाइएको खाना खाएर अघाएको अभिनय गर्नुबाहेक केही प्राप्त गर्ने छैनन् । त्यसैले यो नक्कली, भ्रमपूर्ण र खारेजयोग्य छ । त्यसैले यो जनताको आक्रोशको निशानामा छ ।

नेकपा (बहुमत) ले प्रस्ट शब्दमा यो संविधानप्रति नेपाली जनताको कुनै चासो, विश्वास र भरोसा नरहेको बताएको छ । हजारौँ जनताको बलिदानको जगमा मुलुकमा कम्तीमा जनवादी सत्ता स्थापित हुनुपर्ने थियो तर परिवर्तनका विरोधी, प्रतिगामी र यथास्थितिवादीहरूले जनताका सपनाको हत्या गरे र जनवाद स्थापना गर्ने सपनाको शवमाथि दलाल पुँजीवादको भव्य हावादारी महल खडा गरेर त्यसैलाई लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशीको पगरी गुथाइदिए । त्यही नक्कली पुलिन्दा र षड्यन्त्रहरूको चाङ भएकाले न किसान, न मजदुर, न महिला, न जनजाति–आदिवासी, न तराई–मधेस, न कर्णाली–हिमाल कसैले पनि यसमा आफ्नोपन प्राप्त गर्न सकेनन् किनकि यसमा न २००७ सालको आन्दोलन, २०१०–११ सालको किसान विद्रोह, न २०२८ सालको झापा विद्रोह, न २०४२ सालको सिंहदरबार विद्रोह, न २०४६ सालको जनआन्दोलन, न २०५२ सालदेखि आरम्भ भएको जनयुद्ध कुनै पनि विद्रोह, युद्ध र बलिदानको उद्देश्य मुखरित भएन । यसमा त गणतन्त्रविरोधी, सङ्घीयता र समावेशीविरोधी, लोकतन्त्रविरोधी, नक्कलीहरूको घोडचढी भयो र परिवर्तनविरोधीहरूकै हालीमुहाली सुनिश्चित भयो । कोही अपच भएर मर्ने र कोही खान नपाएर मर्ने कथित लोकतन्त्रलाई नै ‘रामराज्य’ जसरी परिभाषित गरियो । त्यसैले यो संविधान उत्पीडित जनताका सपनाहरूको पुञ्ज होइन, योद्धाहरूको लास र अस्थिपञ्जरहरूको चाङमाथि षड्यन्त्रपूर्वक खडा गरिएको बुख्याँचा मात्र हो । त्यसैले यो दुत्कार र अवज्ञायोग्य छ, बहिष्कार, तिरस्कार र खारेजभागी छ ।

महान् जनयुद्धले उत्पीडित नेपाली जनता र दमित राष्ट्रियता–सार्वभौमसत्ताको उन्मुक्तिको सपना देखाएको थियो । त्यही सपना पूरा गर्न लाखौँ–करोडौँ नेपाली जनताले जनयुद्धलाई हृदयमा स्थान दिए तर जनताको अपार माया पाएको जनयुद्धको समाप्तिको खुसीयालीमा लुटेराहरूको नग्ननृत्यलाई महिमामण्डित गरेर जालसाजीपूर्ण तरिकाले दलालहरूको सहमतिको खोस्टो दस्ताबेज जारी गरियो र ‘समाजवाद उन्मुख’ संविधान भनियो । त्यसैले यसलाई श्रमिक, उत्पीडित, दमित जनताले अस्वीकार गरे र आगो लगाए । सक्कली जनताले आगो लगाएर स्वागत गरेको यो संविधानको मृत्यु जारी गर्दा नै भइसकेको छ र यसको चिहानमा १२ जनाभन्दा बढी योद्धाको बलिदानका कारण वैज्ञानिक समाजवादी नेपालको जनसंविधानको भ्रूण रोपिइसकेको छ । दलाल पुँजीवादी शासनव्यवस्थाको अन्त्य र जनसंविधान निर्माणपछि नै नेपाली उत्पीडित जनताका दुःख र सास्तीले नेटो काट्नेछन् र जनताका दुःख र देशको कहर सकिएर सुख र समृद्धिका दिन आउनेछन् । जनगणतन्त्र नेपालको उदयले मात्र माटोमुनि पुरिएका सबै सपनाहरूलाई फुल्ने र फल्ने अवसर दिनेछ । त्यसैले जनविरोधी संविधान खारेज गरौँ । जनसंविधान निर्माण अर्थात् वैज्ञानिक समाजवादी सत्ता निर्माणको बाटोमा अघि बढौँ । यसका लागि नेकपा (बहुमत) ले ‘संसद्वादको भण्डाफोर गरौँ ! कथित संसदीय चुनाव अवज्ञा गरौँ !! व्यक्ति होइन सत्ता बदलौँ, सुधार होइन, आमूल परिवर्तन गरौँ !!’ नाराका साथै तात्कालिक कार्यक्रमका रूपमा ‘संसदीय चुनाव अवज्ञा गरौँ, स्वाधीन संयुक्त सरकारका लागि सङ्घर्ष गरौँ !!’ लाई अघि सारेको छ । यो वैज्ञानिक समाजवादसम्मको यात्राको एउटा कडी हुनेछ । यही नै महान् सहिद र बेपत्ता योद्धाको पनि सपना हो । नेपालको राष्ट्रियता रक्षाको पनि सपना हो र नेपालको वर्गसङ्घर्षको पनि उद्देश्य हो । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :