महिला सङ्गठन र किसान महासङ्घको संयुक्त जिल्ला भेला

महिला सङ्गठन र किसान महासङ्घको संयुक्त जिल्ला भेला

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल महिला सङ्गठन र अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) को संयुक्त दाङ जिल्ला भेला शनिबार घोराहीमा सम्पन्न भएको छ ।

भेलाले अखिल नेपाल महिला सङ्गठनमा सपना घर्तीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । त्यस्तै अखिल नेपाल किसान महासङ्घमा रामप्रसाद चौधरीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन भएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका अतिथि, दाङ जिल्ला पार्टी इन्चार्ज तिलक पुनले भेलाबाट निर्वाचित समितिलेले दाङका सर्वहारा किसान, महिलाहरूको प्रतिनिधित्व गर्ने र किसान, महिलामाथि जारी अन्याय–अत्याचार, घरेलु हिंसाविरुद्ध लड्ने जुझारु टिम निर्माण गर्ने बताए । दाङका किसान र महिलाको मुक्तिका लागि भदौ २५ सङ्घर्ष सुरुआतको उद्घोष भएको बताउँदै उनले किसानले अन्याय–अत्याचारबाट मुक्ति पाउन प्रयोग गर्दै आएको कुटो, कदालो र हँसियालाई हतियारमा बदलेर शासकहरूको अत्य गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले हिजो जनयुद्धमा सँगै लडेका व्यक्तिको अहिले वर्ग बदलिएको स्मरण गराउँदै कोही उच्च घरानिया भएको र कोही भने जनयुद्ध लड्ने क्रममा घाइते भएकाहरू उपचार नपाएर सडकमा छट्पटाइरहेको बताए । त्यस्ता शोसित–पीडितहरूद्वारा गरिने आन्दोलनको नेतृत्व नेकपा (बहुमत) ले गर्ने उनको भनाइ थियो ।

कार्यक्रमकी अतिथि अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय अध्यक्ष अञ्जनाले अझै पनि महिलाहरूलाई सम्पत्तिमामाथि अधिकार, श्रममाथि अधिकार, राज्यव्यवस्थामाथि अधिकार, शरीरमाथिको अधिकार र शिक्षामाथिको अधिकारबाट वञ्चित बनाइएको बताइन् । उनले पुख्र्यौली सम्पत्तिमा छोरालाई अंश दिएर छोरीलाई वञ्चित गरिनु, छोरीचेलीले बलात्कृत भई हत्या हुँदासम्म न्याय नपाउनु, दाइजो नल्याएकै कारण हत्या हुनुजस्ता घटनाले यो दलाल संसदीय व्यवस्थाले महिलाहरूलाई अधिकारबाट वञ्चित गरेको प्रस्ट बुझ्न सकिने बताइन् । वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र महिलाहरूको अधिकार सुनिश्चित हुने उनले बताइन् । दलाल संसदीय व्यवस्थामा महिलाहरू सुरक्षित नहुने प्रस्ट पार्दै उनले शोषण–दमनबाट मुक्ति पाउन, आफ्नो हकअधिकारका लागि वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न महिलाहरूले आन्दोलनमा सहभागी हुँदै सङ्घर्ष गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका अतिथि अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरि श्रेष्ठले नेपाली किसानहरू विभिन्न तवरबाट पीडित भएको बताए । किसानले समयमै मल, बिउ नपाउनु, जलस्रोतको धनी देश हुँदा पनि सिँचाइ नपाउनु, किसानले उत्पादनमा गरेको उत्पादनले मूल्य नपाउनुले किसान पीडित भएको उनको भनाइ थियो । किसानले खेती गर्न जमिन नपाएको अवस्थामा भूमाफियाले जग्गा प्लटिङ गरिरहेको तर दलाल सरकार लाचार बनिरहेको प्रस्ट पार्दै उनले राज्यले जन्मजात जमिनको सुनिश्चितता गर्नुपर्ने, किसानको उत्पादित वस्तुको मूल्य राज्यले व्यवस्था गर्नुपर्ने, किसानलाई खेती गर्न जमिन दिनुपर्ने माग गरे । यसका लागि किसानहरू आन्दोलनमा उत्रिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा दाङ जिल्ला पार्टी संयोजक वीरेन्द्र, अर्घाखाँची जिल्ला पार्टी संयोजक बारुद, अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष दीपक बिष्टलगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता निमबहादुर घर्तीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :