अभियानको प्रभावकारिता र संसदीय चुनावको बितण्डा

दलाल संसद्‌वादी दलहरू आफ्नो सत्ता र सरकार रक्षाको मीठो सपना देख्दै कथित प्रदेश र सङ्घको चुनावको जोडघटाउ, सिट बाँडफाँटको बितण्डा मच्चाउँदै चुछाचुँडीमै लागिरहेको समयमा नेकपा (बहुमत) का नेताहरूले विभिन्न मञ्चहरूबाट चुनाव बहिष्कार हुने सार्वजनिक गरिरहेका छन् । सरकारले तीनबुँदे सहमति लागू नगर्ने सङ्केत गर्दै मुद्दा नै तोकेर पत्रकारसम्मेलन गरेपछि नेकपा (बहुमत) ले सरकारी बितण्डाका विरुद्ध अर्को चरणको सङ्घर्ष सुरु हुने सार्वजनिक गरेको छ । नेकपाका नेताहरूका अनुसार त्यो सङ्घर्षको स्वरूप दोस्रो जनयुद्धसम्म हुनसक्नेछ र त्यो अवस्था उत्पन्न भएमा त्यसको परिणामको सम्पूर्ण भागीदार वर्तमान सरकार नै हुनुपर्नेछ ।

यसैक्रममा नेकपा (बहुमत) ले भदौ पहिलो साताबाट सुरु गरेको राष्ट्रिय जनजागरण तथा सङ्गठन सुदृढीकरण अभियान तीन साता पूरा गर्दै गर्दा अत्यन्त प्रभावकारी बनेको छ । संसदीय संशोधनवादी बनेको विप्लव समूहलाई कारबाही गरी नेकपा (बहुमत) पुनर्गठन भएपछि आरम्भ भएको पहिलो देशव्यापी जनजागरण अभियानले जनतालाई राष्ट्रियता, जनजीविका र जनतन्त्रका विषयमा जानकारी राख्दै रूपान्तरित र सजग हुने मौका मिलेको छ भने विभिन्न पार्टी र समूहमा अल्मलिएर रहेका मानिस नेपालको एक मात्र क्रान्तिकारी पार्टी नेकपा (बहुमत) नै रहेको निष्कर्ष निकाल्दै लामबद्ध÷ध्रुवीकरण हुने क्रम पनि ह्वात्तै बढेको छ । सहिद कुमार पौडेलका बुबाआमाले नै मधेसको अभियानलाई स्वागत गरेको सन्देशले अभियानको प्रभावकारिता बढिरहेको पुष्टि गर्छ । ठाउँठाउँमा सहिद, बेपत्ता, घाइते परिवार नै अभियानमा लामबद्ध बनिरहेका र स्वागत गर्दै अभियान अघि बढाइरहेका खबरहरूले आमूल परिवर्तनका पक्षधर शक्तिलाई खुसी र सन्तुष्ट बनाउँदै लगेको छ । अभियानकै क्रममा देशव्यापी रूपमा पार्टी, जवस, मोर्चाहरूको गठन, पुनर्गठन, पार्टीका जिल्ला भेला र सम्मेलनहरू भइरहेका कारण यतिबेला एक किसिमले देशव्यापी रूपमा नेकपा (बहुमत) का पक्षमा लहर नै चलेको देखिन्छ । संसदीय संशोधनवादी बनेको विप्लव समूह भने अभियानका क्रममा भन्डाफोर र नेकपा (बहुमत) प्रतिको जनलहरका कारण इतिहासको विषय बन्दै गएको छ ।

दलाल पुँजीवादी संसदीय व्यवस्थाका अवयवहरू कथित प्रदेश र सङ्घको निर्वाचन घोषणा गरी सिट बाँडफाँटमा लुछाचुँडी गरिरहेको, भ्रष्टाचार, कसिमन र राष्ट्रघातमा लिप्त रहेका कारण जनताले निन्दा र घृणा गरिरहेको अवस्थामा नेकपा (बहुमत) भने राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय लिएर जनताको घरदैलोमा पुगेको छ । नेकपाले जनतालाई राष्ट्रघाती, जनघाती संसद्वादी शक्तिहरूको भन्डाफोर गर्दै वैज्ञानिक समाजवादी क्रान्ति नै दलाल पुँजीवादी व्यवस्थाको एक मात्र विकल्प हो भन्ने प्रमाणित गर्दै गएपछि सरकार अत्तालिएको देखिन्छ । फलस्वरूप उसले तत्कालीन नेकपासँग १९ महिनाअघि गरेको तीनबुँदे सहमति उल्लङ्घन गर्ने औपचिारिक निर्णय नै सुनाएको छ भने नेकपा (बहुमत) का शीर्ष नेताहरू संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले औपचारिक रूपमै सरकारले सहमति उल्लङ्घन गरेर क्रान्तिकारी शक्तिलाई चुनौती दिएकाले पुनः क्रान्ति वा जनयुद्ध सुरु हुनसक्नेतर्फ सङ्केत गरेका छन् ।
नेकपा (बहुमत) ले ‘संसदीय संशोधनवादका विरुद्ध सङ्घर्ष गरौँ !

वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढौँ !!’ नारासहित आरम्भ गरेको दुईमहिने अभियानका क्रममा माके, एमालेदेखि नेकपा एससम्म र यसअघि नेकपाबाट विद्रोह गरेका, विप्लवमण्डलीको कोपभाजनमा परेका, अल्मलिएका समूह र व्यक्तिहरू नेकपा (बहुमत) मै ध्रुवीकत हुने लहर चलेको छ । नेकपा (क्रान्तिकारी माओवादी) सँग पार्टी एकताका लागि संयोजन समिति नै बनिसकेको छ भने विद्रोही मसाललगायत क्रान्तिकारी कम्युनिस्ट समूहसँग पनि छलफल र वार्ताहरू चलिरहेका छन् । कतिपय पार्टी र व्यक्तित्वहरू पार्टीको कार्यदिशा, कार्यक्रम र कार्यनीति स्वीकार गर्दै एकत्रित र ध्रुवीकत हुने अभियान नै चलेको छ । यो अभियानको मात्र सफलता नभएर नेकपा (बहुमत) ले अघि सारेको वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशाको सकारात्मक प्रभाव हो । यो अभियानले नेपालमा अब क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको नेतृत्व नेकपा (बहुमत) ले र संसदीय संशोधनवादको नेतृत्व माके–एमालेले गर्ने देखिएको छ । कम्युनिस्ट नाउँका अरू अवसरवादी समूहहरू स्वतः संसदीय संशोधनवादमा विलय हुने, इतिहासका विषय बन्ने र त्यसमा रुमल्लिएका पात्रहरू विद्रोह गरी क्रान्तिकारी आन्दोलनमा समाहित हुने देखिन्छ ।

नेकपा (बहुमत) प्रतिको जनविश्वास र ध्रुवीकरणको लहर किन यति तीव्रतामा बढिरहेको छ भन्ने विषय अब सार्वजनिक भइसकेको छ । पार्टीले देशभक्त, क्रान्तिकारी जनसमुदायलाई सम्बोधन गर्दै नेकपा (बहुमत) ले नेपाली जनताले अहिलेसम्म राजनीतिक पार्टीका नेता र सत्ताबाट धोका मात्र पाउँदै आएको र केही वर्षअघि क्रान्ति गर्ने उद्घोष गरेको विप्लव समूहले सिङ्गो पार्टीलाई संशोधनवादी कार्यनीति तय गरेर संसद्वादमा फसाउने दुष्कार्य गरेकाले त्यसबाट विद्रोह गरिएको प्रस्ट पारेको छ । नेकपामा रहँदा बहुमतभन्दा बढी क्रान्तिकारी शक्तिले विप्लवलगायत संसदीय संशोधनवादको कित्तामा रहेकाहरूलाई कारबाही गरी नयाँ जनवादका कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य तय गर्ने कार्यदिशा निर्माण गरेपछि नेकपा (बहुमत) प्रति मानिसको विश्वास अझै चुलिएको हो । पार्टीले क्रान्ति सम्पन्न गर्न दलाल पुँजीवादी संसदीय प्रणाली खारेज गर्दै स्वाधीनतासहितको संयुक्त सरकार निर्माणको कार्यनीति किटान गरेपछि जनताका सामुन्ने नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम, कार्यदिशा, कार्यनीति र तत्कालीन कार्यक्रम बनाएर नेपाली श्रमिक र उत्पीडित जनताको सत्ता निर्माणको मार्गप्रशस्त भएको छ । अभियानका क्रममा पार्टीले एकीकृत जनक्रान्तिका नाममा समाजवादी क्रान्तिलाई तत्कालका लागि सुदूर भविष्यको कुरा बनाउने तत्वहरूलाई दलाल पुँजीवादी शक्ति र संसदीय संशोधनवादी शक्तिकै लहरमा राखेर नाङ्गेझार पारेपछि जनतामा मित्रशक्ति, संशोधनवादी शक्ति र दुस्मन शक्ति छुट्ट्याउन द्विविधा रहेको छैन । त्यसैले पनि नेकपा (बहुमत) ले सञ्चालन गरेको अभियानमा देशभक्त शक्ति र जनताको लहर बढिरहेको छ भने चुनाव घोषणा गरेका दलाल शक्तिहरूप्रति चरम घृणा र वितृष्णा बढिरहेको छ ।

नेकपा (बहुमत) ले अभियानका क्रममा जनताको घरदैलोसम्म देश र जनताका विषय पुर्याएको छ । पार्टीले हिन्द–प्रशान्त रणनीतिअन्तर्गत अमेरिकी साम्राज्यवाद र नेपालबीच भएको सहश्राब्दी चुनौती निगम एमसीसी, एसपीपीसम्झौता खारेज गर्न, नेपाल र भारतबीच भएका असमान सन्धि–सम्झौता खारेजी तथा पुनरावलोकन गर्न, नेपालका विभिन्न स्थानमा भारतद्वारा अतिक्रमित भूभाग फिर्ता गराउन राज्यद्वारा पहल गर्न, खुला सिमाना बन्द गरी वर्क पर्मिट (श्रम स्वीकृति) को व्यवस्था गर्न, साम्राज्यवादी तथा प्रतिक्रियावादी उद्देश्यद्वारा सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई सरकारद्वारा नियन्त्रण तथा नियमन गर्न, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासका लागि उद्योग, व्यापार र वित्तीय क्षेत्रमा विदेशी एकाधिकार पुँजीको आधिपत्य अन्त्य गर्न, सम्पूर्णखाले साम्राज्यवादी सांस्कृतिक अतिक्रमण अन्त्य गर्न माग राखेकाले जनलहर बढिरहेको हो ।

यसैगरी जनतन्त्रसँग सम्बन्धित जनताको वास्तविक जनगणतन्त्र स्थापना गर्न प्रत्याह्वानको व्यवस्थासहित निर्वाचित कार्यकारी प्रमुख र न्यायपालिका भएको स्वाधीन संयुक्त सरकार गठन गर्न, आत्मनिर्णयको अधिकारसहित उत्पीडित राष्ट्रियता र उत्पीडित क्षेत्रहरूको स्वायत्तता लागू गर्न, महिला हिंसा तथा लैङ्गिक विभेद, जातीय प्रथा, वर्णविभेद, मुस्लिम तथा मधेसी समुदायमाथिको विभेद अन्त्य गर्न, तीनबुँदे सहमतिविपरीत र जनयुद्धका प्रक्रियामा लगाइएका झूट्टा मुद्दा खारेज गरी सम्पूर्ण राजबन्दी रिहा गर्न माग गरेकाले पनि पार्टीले आमजनसमुदायको मन जितिरहेको छ ।

त्यसैगरी जनजीविकाका सम्बन्धमा सम्पूर्ण नेपाली जनतालाई जमिनमाथि जन्मसिद्ध अधिकार सुनिश्चित गर्न, दलाल तथा नोकरशाही पुँजीको राष्ट्रियकरण गरी राष्ट्रिय उद्योगहरू स्थापना गर्न, सम्पूर्ण नेपाली नागरिकको आवासको व्यवस्था राज्यद्वारा सुनिश्चित गरियोस् र सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको तुरुन्त वैकल्पिक व्यवस्था गर्न, सम्पूर्ण श्रमिकहरूको न्यूनतम् ज्याला दैनिक १ हजार हुने गरी कडाइपूर्वक लागू गर्न, विदेशमा पलायन भइरहेको सीप र श्रमलाई रोक्न स्वदेशमा रोजगारीको योजनाबद्ध व्यवस्था गर्न किसानहरूलाई उपयुक्त समयमा नै मल, बिउ, औजारको सस्तो र सुलभ व्यवस्था गर्न पनि माग गरेको छ । सबैलाई निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न, साना तथा मझौला उद्योगहरूलाई विशेष सहुलियतको व्यवस्था गर्न, अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाको राज्यद्वारा उचित संरक्षण प्रदान गर्न जनयुद्ध र जनआन्दोलनका घाइते तथा अपाङ्ग योद्धाहरूको उपचार तथा जीविकाको उचित व्यवस्था गर्न, कालोबजारिया, तस्कर, घूसखोर, भ्रष्टाचारी, कमिसनखोरहरूलाई कडा सजाय गरी अनुचित रूपले आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न, मिटरब्याजी र लघुवित्त, सहकारी र बैङ्कहरूद्वारा गरिएको सूदखोरीको नियमन गरी संलग्न अधिकारीहरूलाई कडा कारबाही गर्न र लागूपदार्थको दुव्र्यसन अन्त्य गर्न राष्ट्रिय संयन्त्र गठन गर्न माग गर्दै अभियान जनताको घरसम्म पुर्याएको छ । यसरी एकातिर नेकपा (बहुमत) देश र जनताका माग लिएर जनताको घरदैलोमा पुगी लोकप्रिय बनिरहेको छ भने संसद्वादी दलहरू चुनावी लुछाचुँडीका कारण झन्झन् बदनाम बन्दै गएका छन् । जनताको प्रिय बनिरहेको अभियानले दुई महिनासम्म पार्टीको विचारलाई स्थापित गर्ने र दलाल पुँजीवादका पक्षधर शक्तिप्रति घृणा उत्पन्न गर्नेमा विश्वस्त हुन सकिन्छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :