सांस्कृतिक आन्दोलन र वैज्ञानिक समाजवादी संस्कृति

संस्कृति/उत्खनन

सांस्कृतिक आन्दोलन र वैज्ञानिक समाजवादी संस्कृति

‘साहित्य र कलाको स्तरलाई त्यस दिशार्फ उकास्नुपर्छ, जतातिर मजदुर, किसान र सिपाहीहरू लम्किरहेका छन् । जतातिर सर्वहारा वर्ग लम्किरहेको छ ।’

(माओ, सङ्कलित रचना, भाग ३, येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन, ऐ, पृ. ५७) ।

पृष्ठभूमि

नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘२१ औँ शताब्दीमा पुग्दा विश्वको सांस्कृतिक विशेषतामा पनि परिवर्तन देखापरेको छ । विगतकालको साम्राज्यवादी, पुँजीवादी, समाजवादी सांस्कृतिक चरित्रमा फेरबदल भएको छ । विश्व उत्तरआधुनिकताको चपेटामा पर्दै गएको छ । समाजका मानवीय मूल्यमान्यताहरू विघटित र विखण्डित हुँदै गएका छन् ।’

यो साम्राज्यवादी र दलाल पुँजीवादी सांस्कृतिक अवस्थाको चित्रण हो । पार्टी दस्ताबेजमा वर्तमान संस्कृतिका विशेषतालाई उल्लेख गर्दै भनिएको छ, ‘उत्तरआधुनिकतावादी संस्कृति आजको मुख्य विशेषता हो । सबै वस्तुलाई विभाजन, विखण्डन र विसर्जनमा हेर्नु यसको सार हो । यो संस्कृतिले मानवजीवन, समाज र राज्यलाई प्रगति र परिवर्तनतिर नलगेर विकृति, विसङ्गति र अराजकतातर्फ धकेल्ने गरेको छ । यसले सबै वस्तुलाई केवल उपभोगको दृष्टिले मात्र हेर्छ । राजनीतिक दृष्टिले पुरानै राज्यव्यवस्थालाई कायम राख्न सहयोग पुर्याउँछ । उपभोगवादी र प्रयोगवादी प्रवृत्ति संस्कृतिको अर्को विशेषता हो । जनता, समाज र राज्यलाई फाइदा पुग्छ–पुग्दैन यसलाई मतलब हुँदैन । केवल आफ्नो ग्रुप, कम्पनी र लगानीकर्तालाई मुनाफा हुन्छ कि हुँदैन भन्नेसँग मात्र मतलब छ । यो कति उपभोगवादी छ भने निजी फाइदाका लागि जे पनि गर्न पुग्छ । समाजमा हुर्किरहेका सबै विकृतिको स्रोत यही संस्कृति बनेको छ । यो संस्कृति अप्राकृतिक र अराजकतावादी पनि छ । यतिसम्म कि गर्नै नहुने पशुवत्खालका क्रियाकलाप गरिरहेको छ । पुरुषले पुरुषलाई र महिलाले महिलालाई विवाह गर्ने, पर्यावरण र प्राकृतिक हुने नाममा छाडा र अराजकतापूर्ण क्रियाकलाप सञ्चालन गर्ने, पैसाको स्वार्थमा शरीर किनबेच गर्नेजस्ता कार्यहरू यसैका परिणाम हुन् ।’

(आठौँ महाधिवेशनबाट पारित दस्ताबेजबाट)

विश्व–साम्राज्यवादी अराजकतावादी, शोषण र दोहनमा टिकेको उपभोक्तावादी संस्कृतिकै कारण माक्र्सवादी, जनवादी संस्कृतिको आवश्यकता खड्कियो र समाजमा नयाँ संस्कृति निर्माणका लागि वर्गसङ्घर्ष चल्यो । वर्गसङ्घर्षको उच्चतम रूप जनयुद्ध सञ्चालन भयो । जनयुद्धले पुरातन, सामन्ती र साम्राज्यवादी संस्कृतिका विरुद्ध धावा बोल्यो र नयाँ, जनसंस्कृति निर्माण गर्न थाल्यो । कालान्तरमा जनयुद्धको पनि विघटन गरियो र राजनीतिक प्रतिक्रान्तिसँगै सांस्कृतिक प्रतिक्रान्ति पनि चरमचुलीमा पुगेको छ । साम्राज्यवादी र दलाल पुँजीवादी अराजक संस्कृतिको चिहानमा वैज्ञानिक समाजवादी संस्कृति निर्माणका लागि वैज्ञानिक समाजवादी क्रान्ति जारी छ ।

स्थापित वैज्ञानिक समाजवादमा समाजवादी संस्कृति र जनसंस्कृतिलाई वैज्ञानिक सम्बन्धमा राख्न नसक्नाले पनि प्रतिक्रान्तिहरू भएका दृष्टिकोणहरू सार्वजनिक भएका छन् । राज्यको चरित्रले निर्धारण गर्ने दलाल संस्कृतिले जनताको संस्कृतिलाई निल्दै लगेको अवस्थामा जनसंस्कृति अर्थात् वैज्ञानिक समाजवादी संस्कृति निर्माण गर्नु अपरिहार्य छ र वर्गसमाजमा यो वर्गसङ्घर्षबाट मात्रै प्राप्त हुन्छ । वैज्ञानिक समाजवादमा निर्माण हुने वैज्ञानिक समाजवादी संस्कृति विचारधारात्मक, राजनीतिक चेतसहितको हुन्छ । भावनात्मक, मनोवैज्ञानिक, सामाजिक विशेषतासहितको जनसंस्कृतिलाई वैज्ञानिक समाजवादी संस्कृतिले परिष्कृत गर्दै र परिमार्जन, रूपान्तरण गर्दै वैज्ञानिक समाजवादअनुकूल बनाउँदै लग्नुपर्छ । जनसंस्कृति मात्र हाबी हुँदा रूढिवादी, सङ्कीर्ण र स्वच्छन्दतावादी हुने खतरा हुन्छ । वैज्ञानिक समाजवादमा उच्च आदर्शसहित वैज्ञानिक संस्कृति निर्माण र प्रयोग नभएमा र विकसित संस्कृतिलाई जनजीवनमा घुलमिल नगराइएमा सत्ता र जनताबीच फेरि वैचारिक–सांस्कृतिक दूरी बढ्न जान्छ र प्रकारान्तरले जनयुद्धका नायक भनिएका प्रचण्डको भैँसीपूजामा पतन भएझैँ पतन हुन पुग्छ ।

उठान

संस्कृति समाज र मानवजीवनको सर्वोच्चता र सारसँग सम्बन्धित छ । संस्कृति जीवनको उद्देश्यसँग सम्बन्धित छ । माक्र्सवादी सौन्दर्यचिन्तक किरणका शब्दमा संस्कृति भनेको समाजको ऐतिहासिक विकासको प्रक्रियामा निर्मित भौतिक तथा आत्मिक मूल्यहरूको संश्लेषण हो । संस्कृतिको निर्माण श्रमप्रक्रियाका बीचबाट हुन्छ । १

१ किरण, नेपाली समाज र संस्कृति : एक सङ्क्षिप्त अध्ययन, (काठमाडांै, विवेक सिर्जनशील प्रकाशन, २०६५), पृ. १६ ।

नेपाली बृहत् शब्दकोषले भने संस्कृतिको अर्थ कुनै वस्तुलाई परिमार्जन गरेर वा संस्कृत रूप दिएर चम्किलो, उज्यालो र निखुट बनाउने काम, संस्कार, परिष्कार भनेर लगाएको छ ।

संस्कृति र सत्ताका बीच सम्बन्ध छ । सत्ता वा राज्यसत्ता भन्नाले एक वर्गले अर्को वर्गलाई शासन गर्न प्रयोग गर्ने शक्ति हो । त्यस्तै संस्कृति भन्नाले समाज विकासका क्रममा निर्मित भौतिक तथा आत्मिक मूल्यहरूको संश्लेषण हो । त्यसैले सत्ता वा राज्यसत्ताको संस्कृति सत्ताको स्वरूपअनुसार जुन वर्गको हातमा सत्ता हुन्छ, त्यो सत्ताको संस्कृति पनि सोही सत्ताको वर्गीय स्वरूपअनुसार नै हुन्छ । वर्गविभाजित समाजमा राज्यसत्ता शोषक वर्गको हातमा भएमा त्यस सत्ताको संस्कृति पनि शोषण, दोहन, अन्याय, अत्याचार र व्यभिचारमा आधारित हुन्छ भने शोषित वा सर्वहारा वर्गको हातमा भएको राज्यसत्ताको संस्कृति न्याय, समानता र उन्मुक्तिमा आधारित हुन्छ । नेपालको राजनीतिक स्वरूप दलाल पुँजीवादी तथा नवऔपनिवेशिक रहेकाले यहाँको सत्ताको संस्कृति पनि दलाल र नवपनिवेशिक प्रकृतिकै रहेको तथ्य प्रमाणहरूले पुष्टि गर्छन् । विश्व–सर्वहारा वर्गका महान् नेता क. माओ त्सेतुङको भनाइमा संस्कृतिले सम्बन्धित समाजको अर्थतन्त्र र राजनीतिको विचारधारात्मक प्रतिबिम्बन गर्छ । २

२ माओ त्सेतुङ सेलेक्टेड वक्र्स अफ माओ त्सेतुङ, भोलुम २ (पेकिङ, फरेन ल्याङ्ग्वेज प्रेस, १९६५), पृ. ३६९ ।

नेपालमा सामन्तवादको केन्द्रीय स्वरूप राजतन्त्रको अन्त्य भएर गणतन्त्र घोषणा भइसके पनि सामन्ती सत्ताको संरक्षणमा हुर्किएको अन्धविश्वास, रूढि र अवैज्ञानिक चिन्तनको प्रभाव प्रचुर मात्रामा व्याप्त छ । विसं १८७२ को सुगौली सन्धिपछि ब्रिटिस साम्राज्यवादको अर्धउपनिवेशका रूपमा परिणत नेपालको राजनीतिक अवस्था भारतबाट बेलायती साम्राज्यवाद फर्किएको ७० वर्ष पुगिसक्दा पनि पूर्ण रूपमा स्वतन्त्र हुनसकेको छैन । त्यसैले नेपालका हरेक राजनीतिक तथा सांस्कृतिक आन्दोलनका स्वरूप मुख्यतः राष्ट्रिय रूपमा सामन्तवादविरोधी जनतान्त्रिक प्रकृतिको र बाह्य रूपमा भारतीय तथा अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका पक्षमा हुने गरेको छ ।

शाहकालीन, राणाकालीन, निरङ्कुश राजतन्त्रात्मक तथा संसदीय सबै शोषणमूलक राज्यसत्ताले जनतामाथि आफ्नो शासनव्यवस्थाअनुकूलको अवैज्ञानिक, अन्धविश्वासयुक्त, रूढिग्रस्त र पराधीन प्रकृतिका संस्कार र संस्कृति लाद्दै आएका छन् । नेपाली जनताले इतिहासका हरेक कालखण्डमा ती शोषणमूलक, पुरातनपन्थी, अन्धविश्वासी संस्कृतिका विरुद्ध स्वतन्त्र, समानतामूलक, वैज्ञानिक समाजवादी र जनवादी संस्कृति निर्माणको लडाइँ लड्दै पनि आएका छन् । दलाल पुँजीवादी, उपभोक्तावादी, अश्लील, भद्दा, छाडा, शोषणप्रधान र व्यभिचारवादी संस्कृतिका विरुद्ध नेपाली जनताको सङ्घर्षको पछिल्लो केन्द्रीकृत अभिव्यक्ति नेकपा (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गतेबाट सञ्चालित जनयुद्ध हो । १० वर्षसम्मको भीषण जनयुद्धका क्रममा नेपाली जनताले पुरानो सत्ताको स्थानमा नयाँ सत्ता र पुरानो संस्कृतिलाई प्रतिस्थापन गरेर नयाँ संस्कृति निर्माणको थानी गरे । यद्यपि शोषणमूलक सत्ताको पुरानो स्वरूपको पूर्ण रूपमा अन्त्य नभइसकेको अवस्थामा जनसंस्कृतिको निर्माण पनि विकास र विस्तारकै चरणमा रह्यो र त्यो पनि वर्गयुद्धको स्वरूपमा ल्याइएको परिवर्तनसँगै क्रमशः मत्थर हुँदै न्यूनीकरण/अवरोहको बाटोमा भएर प्रतिक्रिान्तिमा रूपान्तरण भयो । तथापि सामन्ती राजतन्त्रको अन्त्यसँगै सङ्घीय, धर्मनिरपेक्ष गणतन्त्रको घोषणासम्म र त्यसपछिको प्रक्रियामा पनि पुरातन संस्कृतिका विरुद्ध नूतन संस्कृतिको निर्माण र विकासका लागि वर्गसङ्घर्ष जारी रहेको तथ्यलाई भने नकार्न मिल्दैन ।

वर्गगुद्धको चापसँगै नयाँ संस्कृति र नयाँ सत्ताको निर्माणको क्रम पनि तीव्र गतिमा भइरहेको तथ्य उजागर गर्दै तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युद्धकालमा यसरी परिभाषित गरेका थिए : ‘जनयुद्धमा ध्वंसको अर्थ पुरानो सामन्ती सत्ताका राजनीतिक र भौतिक ध्वंस मात्र नभएर समग्रमा उसको सामन्ती संस्कृतिको ध्वंसका अर्थमा समेत बुझ्नुपर्छ । यसैगरी, नयाँ निर्माणको अर्थ जनसत्ताको राजनीतिक र भौतिक निर्माण मात्र नभएर समग्रमा नयाँ जनसंस्कृतिको निर्माणका अर्थमा समेत बुझ्नुपर्छ । …महान् जनयुद्धले वस्तुतः ध्वंस र निर्माणको त्यही ऐतिहासिक प्रक्रियालाई आफ्नो सम्पूर्ण मौलिकता, तीव्रता र भव्यतासहित अगाडि बढाइरहेको छ । आज देशको समग्र ग्रामीण इलाकामा सामन्ती सत्ताका शोषण–उत्पीडनमूलक आर्थिक र राजनीतिक आधारसँंगसँगै अन्धविश्वास, रूढिवादी भाग्यवाद, छुवाछूत, रहस्यवाद, अवतारवाद, जातीय र लिङ्गीय भेदभाव, जालझेल र फट्याइँजस्ता जनविरोधी र पाखण्डी सामन्ती संस्कृतिका जरा पनि उखेलिँदै गएका छन् । ग्रामीण क्षेत्रमा पाखण्डी सामन्ती संस्कृतिका जराहरू जुन स्तरमा उखेलिएका छन्, त्यही स्तरमा वैज्ञानिक र जनवादी सांस्कृतिक मूल्य र मान्यताहरू विकसित र स्थापित पनि हुँदै गएका छन् । पुरानो सामन्ती आधारलाई भत्काएर नयाँ आधारमा नयाँ नेपालको निर्माण गर्ने महान् सपनालाई साकार पार्ने यो नै वैज्ञानिक प्रक्रिया हो । यो प्रक्रियामा दुस्मनप्रति जनसमुदायका घृणा र आक्रोश, प्रत्येक विजयहरूमा हर्ष र गर्व तथा क्षति र पराजय, आँसु र पीडाजस्ता सबै प्रकारका संवेदना र अनभूतिहरू आज देशव्यापी रूपमा गीत, सङ्गीत, कथा, कविता, संस्मरण, नाटक, उपन्यास आदिका रूपमा अभिव्यक्त हुँदै र संश्लेषित बन्दै गएका छन् । सांस्कृतिक रूपले समाजवादी यथार्थवादको अभिन्न अङ्गका रूपमा अगाडि बढिरहेको नेपाली जनवादी संस्कृतिको यो विशिष्ट धारालाई २१ औँ शताब्दीको नयाँ जनसंस्कृतिका रूपमा संश्लेषित गर्न सकिन्छ भन्ने मलाई लाग्दछ ।’३

३ प्रचण्ड, अन्तर्वार्ता, कलम, अङ्क ३३/३४

जनयुद्धको भीषण चापका बीचमा यसो भन्ने प्रचण्ड आज जनयुद्ध निर्मित विचार, राजनीति, सत्ता, सेना, संस्कृति सबै समाप्त गर्दै दलाल पुँजीवादमा आत्मसमर्पण गर्न पुगेका छन् । जनयुद्ध विघटन गरिएको छ । राजनीतिक रूपमा दलाल पुँजीवादलाई आत्मसाथ गरेर र सांस्कृतिक रूपमा भैँसीपूजा गरेर जनयुद्धको महानायक नै राजनीतिक–सांस्कृतिक रूपमा प्रतिक्रान्तिको पनि खलनायक बनिसकेको अवस्थामा जनयुद्धनिर्मित संस्कृति पनि विघटित बनेको छ । हिजो टाउकाको मूल्य तोक्ने दलाल पुँजीवादी सत्ताका नायक शेरबहादुर देउवालाई आज कथित लोकतन्त्रको रक्षक मान्दै प्रचण्ड सत्ता साझेदारी र गठबन्धन गरिरहेका छन् । यो माक्र्सवादी संस्कृति र सांस्कृतिक आन्दोलनमाथिको भद्दा र कुरूप प्रहार हो । यो अवस्थामा प्रचण्डले हिजो गरेको संश्लेषण आजका लागि पुरानो भइसकेको छ ।

दसौँ हजार योद्धाको बलिदानपछि निर्मित महान् जनयुद्ध विघटन, माओवादी पार्टीको एउटा ठूलो हिस्सा दलाल पुँजीवादमा पतन, जनयुद्धनिर्मित जनसत्ता, जनसेना, आधारइलाका, जनकम्युन, जनअदालतहरूको विघटनका कारण जनयुद्ध सुन्दर सपनाहरूको इतिहास बन्न पुगेको छ भने नयाँ संस्कृति पनि क्रमशः विघटनको सिकार बनेको छ । यसका लागि सत्ताको स्वरूप र त्यसको संस्कृतिसँंगको सम्बन्धलाई परिभाषित गर्नु आवश्यक हुन्छ ।

सत्ताको अर्थ शक्ति प्रयोग गर्ने केन्द्र हो । सत्ताको सामान्य अर्थ र अस्तित्व सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्रियाकलापहरूमा शक्ति ९उयधभच० का रूपमा प्रयोग भएको पाइए पनि यसको व्यापक अर्थ राज्यसत्ता (राजसत्ता) ४

४ राजसत्ता : १ राज्यको शक्ति वा सामथ्र्ययुक्त स्वामित्व, राज्याधिकार (बृहत् नेपाली शब्दकोश, पृ. ११३५ ।

का रूपमा प्रयोग भएको पाइन्छ । वामपन्थी बुद्धिजीवी डा. ऋषिराज बरालका शब्दमा सत्ताको अर्थ यथार्थतः राज्यसत्ता नै हो र राज्यसत्ता वा राजसत्ताको अर्थ राज्यको शक्ति वा सामथ्र्ययुक्त स्वमित्व वा राज्याधिकार हो ।
।५

५ डा. ऋषिराज बराल, सत्ता र संस्कृति, पृ. ११९ ।

नेपाली बृहत् शब्दकोशका अनुसार, सत्ता भनेको १. मूर्त रूपमा वर्तमानमा रहने वा हुने भाव, गुण वा वस्तुस्थिति, विद्यमानता, अस्तित्व, २. उपभोगका साथसाथै सक्षमता देखाएर काम गर्ने शक्तिसामथ्र्य वा अधिकार हो । ६

६ सत्ता : १. मूर्त रूपमा वर्तमानमा रहने वा हुने भाव, गुण वा वस्तुस्थिति विद्यमानता, अस्तित्व । २. उपभोगका साथसाथै सक्षमता देखाएर काम गर्ने शक्ति, सामथ्र्य वा अधिकार । (ऐ. पृ १२९३ । राजसत्ता ः १ राज्यको शक्ति वा सामथ्र्ययुक्त स्वामित्व, राज्याधिकार (बृहत् नेपाली शब्दकोश, पृ. ११३५ ।

बरालका अनुसार सत्तालाई कुनै स्थान, जिल्ला तथा क्षेत्रगत रूपमा लिई उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ तर सत्ता भूगोलमा मात्र सीमाबद्ध भई परिभाषित हुन सक्तैन । राज्यसत्ताका समग्र अङ्गहरूको भौतिक–आत्मिक उपस्थितिले सत्ताको स्वरूपलाई निर्धारण गर्दछ ।७

७ डा. बराल ऐ. पृ. ११९ ।

भी.आई. लेनिनले राज्यसत्तालाई शक्तिको सङ्गठनका रूपमा परिभाषित गर्नुभएको छ । लेनिनका अनुसार, राज्यसत्ता एउटा वर्गले अर्को वर्गलाई दबाउनका निम्ति बल प्रयोगको सङ्गठन हो । ८

८ भी. आई. लेनिन, सङ्कलित रचनाएँ (मास्को, प्रगति प्रकाशन– १९८८), पृ. १७ ।

यसरी हेर्दा सत्ता जुन वर्गको हातमा हुन्छ, संस्कृति पनि त्यही वर्गको हुन्छ । प्रतिक्रियावादी वर्गको हातमा सत्ता हुँदा राज्यको संस्कृति पनि सोहीअनुरूप हुन्छ र जनताको हातमा हुँदा जनपक्षीय हुन्छ । जनयुद्धको समयमा जनताले आधारइलाकाहरूमा नयाँ राज्यसत्ता सञ्चालन गरेको अवस्थामा त्यहाँ जनसत्तासँगै जनसंस्कृति निर्माण हुनु र हाल त्यसको विघटनको अवस्थामा क्रमशः जनसंस्कृति कमजोर बन्दै गएर विघटित हुँदै जानुका पछाडि यही अवस्थाले काम गरेको छ ।

यहाँ सत्तासँग सम्बन्धित संस्कृतिको स्वरूप र वर्गसङ्घर्षको नयाँ कडीका रूपमा नेपालमा भएको १० बर्से महान् जनयुद्धले निर्माण गरेको नयाँ संस्कृतिका बारेमा गरिएको नयाँ संश्लेषणबारे सङ्क्षेपमा चर्चा गर्ने प्रयास मात्र गरिएको हो । यो संश्लेषणले दलाल पुँजीवादी सत्ता–संस्कृतिका विरुद्ध वैज्ञानिक समाजवादी सत्ता र संस्कृति निर्माणका लागि जारी आन्दोलनलाई सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

नेपालको राजनीतिक अवस्था अर्धसामन्ती र अर्धऔपनिवेशिक रहँदै दलाल पुँजीवादी र नवऔपनिवेशिक हुन पुगेको छ । इतिहासका विभिन्न कालखण्डमा नेपालको यो अवस्थाको अन्त्य र स्वतन्त्र, सार्वभौम, मौलिक राज्यसत्ता र संस्कृति निर्माणका लागि आन्दोलन, सङ्घर्ष, क्रान्ति र वर्गयुद्धहरू हुँदै आएका छन् । विशेषगरी पृथ्वीनारायण शाहले केन्द्रीय सामन्ती राज्यसत्ता स्थापना गर्ने क्रममा हिन्दुधर्म तथा ब्राह्मणवादलाई प्रोत्साहन दिएर सोहीअनुसारको संस्कृति लादेपछि त्यसका विरुद्ध जोसमनी सन्त मत राख्नेहरूले वैचारिक विद्रोह गरेको पाइन्छ । माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्य भन्नुहुन्छ, ‘पृथ्वीनारायणकालीन तन्त्रवादले पञ्चमकारवादमा फसी चरम विकृतीकरणको रूप लिएको स्थितिमा नेपालमा ब्राह्मणवाद र हिन्दुधर्मका विरुद्ध जोसमनी सन्त मतले वैचारिक धावा बोल्यो । यो मत निर्गुणभक्ति र आदर्शवादी अद्वैतवादमा आधारित थियो । नेपालमा सामन्तवादको समग्र अवधिमा सामाजिक चेतनाका सबै रूपहरूमा धर्मको वर्चस्व रहिआएको छ र त्यसका विरुद्धको सङ्घर्ष पनि धार्मिक भेष धारण गरेर नै विकासित हुँदै गएको पाइन्छ ।’ ९

९ किरण, नेपाली समाज र संस्कृति : एक सङ्ंक्षिप्त अध्ययन, पृ. १२७ ।

हाम्रो देशमा विभिन्न जाति, संस्कृति र राष्ट्रहरू छन् । सबै जाति, संस्कृति र राष्ट्रका आआफ्ना भाषा, भूगोल, अर्थतन्त्र र ऐतिहासिक रूपमा विकसित सांस्कृतिक मनोविज्ञानमा आबद्ध रही स्थिर मानवसमुदायका रूपमा विकासित हुँदै आएको विषय पनि किरणले सोही प्रसङ्गमा उल्लेख गर्नुभएको छ । नेपालमा माक्र्सवादको प्रवेश र विकास हुनुअघि धर्मका विरुद्ध विभिन्न धर्म, राजनीतिका विरुद्ध नवीन चेतनासहितको राजनीति, पुरातन संस्कृतिका विरुद्ध समकालीन नूतन संस्कृति र साहित्यका विविध विधागत माध्यमहरूद्वारा विरोध, विद्रोह र सङ्घर्षहरू भएका छन् । योगमाया न्यौपाने (कोइराला) हरूले निरङ्कुश राणाशासनको शोषणमूलक राजनीतिक र सांस्कृतिक विभेदका विरुद्ध भजन, गजल तथा सामूहिक जलसमाधिद्वारा गरेको विद्रोह, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीले मकैको खेती पुस्तक लेखेर राणाशासनविरुद्ध गरेको विद्रोह र सहादत, त्यसपछि महानन्द सापकोटा, धरणीधर कोइराला, सिद्धिचरण श्रेष्ठ, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री तथा दशरथ चन्द, गोपालप्रसाद रिमालहरूले गरेको साहित्यिक, राजनीतिक विद्रोह र कतिपयको बलिदानबाट पनि पुरातन सामन्ती र परनिर्भर सत्तासंस्कृतिका विरुद्ध नवीन संस्कृति स्थापनाका लागि भएका प्रयासहरूबारे बुझ्न सकिन्छ । २००६ सालको आसपास र विशेषगरी कम्युनिस्ट पार्टीको स्थापनापछि भने सामन्ती सत्तासंस्कृति र शोषणमूलक राजनीतिका विरुद्ध संस्थागत रूपमा आन्दोलन, सङ्घर्ष र विद्रोहहरू भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको प्रथम घोषणापत्र (१५ सेप्टेम्बर १९४९) मा लेखिएको छ ः ‘नेपालमा सामन्तवादको बलियो जग सन् १३८१ मा बनेको हो । त्यसैबेलादेखि विभिन्न सामन्ती खलकहरूले नेपाली जनतालाई शोषण गर्दै आएका छन् । यी शताब्दीहरूका बीचमा नेपालमा जेजति हेरफेरहरू भए तापनि सबैले सामन्तवादलाई बलियो तुल्याए र नेपालका केही भागहरूमा पुँजीवादी उत्पादनप्रथा चालू गरिएका भए तापनि सामन्तवादी उत्पादनप्रथा र सामन्तवादी शासनव्यवस्था नै सर्वोपरि छन् ।’ १०

१० पुष्पलाल, नेपालमा कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास, पुष्पलाल स्मृति प्रतिष्ठान, (२०५३), पृ. ४३ ।

नेपालको अर्धऔपनिवेशिक अवस्थाका बारेमा नेपाल कम्युनिस्ट पार्टीको प्रथम घोषणपत्रमा स्पष्ट उल्लेख गरिएको छ । घोषणापत्रमा लेखिएको छ ः ‘सन् १८४६ मा एउटा षड्यन्त्र रची (जुन कोतपर्वको नामले प्रख्यात छ) राणाले नेपालको बागडोर हत्याए । त्यसैबेलादेखि विदेशी साम्राज्यवादीहरूले नेपालमा आफ्नो पन्जा छिटछिटै फैलाउन थाले । आज नेपाल अर्धउपनिवेशको हालतमा पुगेको छ । विदेशी साम्राज्यवादीहरूको हातमा राणाशाहीको लगाम छ । नेपाल त्यसै बेलादेखि अंग्रेजी साम्राज्यवादको फौजको निम्ति सिपाही भर्ना गर्ने अखडा हुन गयो । नेपाली जनतालाई साम्राज्यवादको हातमा बेच्ने काममा मुख्य गोठाला (नाइके) नेपालका प्रधानमन्त्री नै बने । आज पनि कंगाल नेपाली किसान युवकलाई हजाराैँको सङ्ख्यामा भर्ना गरी अंग्रेजी उपनिवेशहरूमा चलिरहेका मुक्तिआन्दोलनका विरुद्ध उनीहरूको प्रयोग गर्न भारतको पूजीवादी नेहरू सरकार मनोमानी खुशी–राजी भएको छ । ११

११ पुष्पलाल ऐ. पृ. ४४ ।

वास्तवमा नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र प्रकाशन भएको ४७ वर्षसम्म नेपाली जनताले विविध प्रकारका वैधअवैध आन्दोलनहरू सञ्चालन गरी अर्धसामन्ती र अर्धऔपनिवेशिक राजनीतिक सत्ता र सांस्कृतिक सत्ताका विरुद्ध आवाज मुखरित गरे पनि नेपालको अवस्था सापेक्षिक रूपमा उस्तै रह्यो । फलस्वरूप नेपाली जनताले २०५२ साल फागुन १ गते नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध सञ्चालन गरे । अर्धऔपनिवेशिक अर्धसामन्ती अवस्थाका विरुद्ध जनयुद्ध छेडिएको अवस्थालाई क. किरणले यसरी चित्रण गर्नुभएको छ : ‘अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको नेपालको यो समग्र प्रक्रियामा एकातिर जनविरोधी, अराष्ट्रिय तथा अवैज्ञानिक विचार र अर्कोतिर जनवाद, राष्ट्रियता तथा वैज्ञानिक विचारमा आधारित संस्कृतिका बीच निरन्तर सङ्घर्ष चल्दै आएको छ । अनेकांै जनआन्दोलन, वर्गसङ्घर्ष र दस वर्षको जनयुद्धका बीचबाट जनचेतना र वर्गचेतना सशक्त रूपमा विकसित हुँदै आएको पाइन्छ । १२

१२ किरण, नेपाली समाज र संस्कृति, ऐ. पृ. १२८ ।

नेपालमा इतिहासदेखि वर्तमानसम्म सञ्चालित सङ्घर्षहरू विश्व–सर्वहारावर्गको एक अभिन्न कडीका रूपमा अघि बढेका छन् । नेपालमा सञ्चालित राजनीतिक आन्दोलनजस्तै सर्वहारा सांस्कृतिक आन्दोलनहरू पनि विश्वसर्वहारा सांस्कृतिक आन्दोलनकै अभिन्न कडी हुन् भन्ने बुझ्न कुनै कठिनाइ पर्दैन । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिका सन्दर्भमा क. किरण लेख्नुहुन्छ : ‘महान् सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्य शोषक वर्गका पुराना विचार, संस्कृति, रीतिरिवाज र आदतका विरुद्ध सर्वहारा वर्गका नयाँ विचार, संस्कृति, रीतिरिवाज र आदर्शलाई व्यावहारिक रूप दिने आर्थिक आधारसँग मेल नखाने संरचनाको रूपान्तरण गर्ने, पुँजीवादको पुनस्र्थापना रोक्ने समाजवादको विजय सुनिश्चित गर्नका लागि भौतिक तथा वैचारिक आधार तयार पार्दै जाने र संशोधनवादलाई निर्मूल गर्दै विश्वदृष्टिकोणको समस्या हल गर्ने थियो ।’ १३

१३ किरण, सङ्घर्षको दर्शन महान् सर्वहारा सांस्कृतिक क्रान्तिका दार्शनिक मान्यताहरू, पृ.१८०–८१, नवदीप प्रकाशन प्रालि, २०६० ।

नेपालमा १० वर्षसम्म सञ्चालित जनयुद्ध राजनीतिक मात्र नभएर आफैँमा एउटा सांस्कृतिक क्रान्ति पनि थियो । यसले ग्रामीण भूभागमा विद्यमान सामन्ती संस्कृति, संस्कार र अन्धविश्वासी परम्परालाई समाप्त पार्दै नयाँ जनसंस्कृति निर्माण गर्यो । जनयुद्धकालीन र त्यसपछि विकसित संस्कृतिका सम्बन्धमा चैतन्यका भनाइहरू महत्वपूर्ण छन् । नेपालको परम्परागत संस्कृतिका सम्बन्धमा चैतन्य भन्नुहुन्छ : ‘नेपालमा लामो समयदेखि दुई प्रकारका संस्कृतिहरूका बीच सङ्घर्ष चल्दै आएको छ । ती हुन् : प्रतिगामी र जनवादी संस्कृति । प्रतिगमी संस्कृति भनेको सामन्तवाद, विस्तारवाद र साम्राज्यवाद मिलेर बनेको खिचडी संस्कृति हो । सामन्तवादी संस्कृति धार्मिक मतवाद, रूढिवादी, अन्धविश्वास, दैव, भाग्य, कर्म, पूर्वजन्म, पुनर्जन्म, स्वर्ग–नर्क, धामीझाँक्री, तन्त्र–मन्त्र आदि आदर्शवादी तथा रहस्यवादी मान्यतामा आधारित छ । यो संस्कृति राजालाई विष्णुको अवतार मान्ने, जनतालाई रैती र प्रजाका रूपमा ग्रहण गर्ने, सामन्त, मुखिया, जिम्मवाल, गुरूपुरोहित आदिको सत्कार गर्नुपर्ने, जनतालाई तिनको सेवक मान्ने हिन्दुधर्मको वर्ण तथा जातव्यवस्था र मनुवादी आचारसंहितामा आधारित छ । यसले जातपात, छुवाछूतलाई प्रश्रय दिन्छ, महिलाहरूलाई अबला र पुरुषकी चरणकी दासी ठान्ने गर्छ । यो संस्कृतिले मानवसम्बन्धलाई उचनीचको व्यवस्था र भेदभावपूर्ण मान्यतामा ढाल्ने गरेको छ । यो संस्कृतिले दलित, महिला, जनजाति, मजदुरवर्गसहित श्रमिक जनसमुदायको विमानवीयकरण र उनीहरूको मानवीय सारतत्व तथा पहिचानको अपहरण गरेको छ । उनीहरूको श्रमशक्ति र रचनात्मक ऊर्जालाई क्षतविक्षत तुल्याएको छ । १४

१४ चैतन्य, समीक्षा र सौन्दर्य, पाठ्यसामग्री पसल, २०६५, पृ.११३ ।

नेपालमा यस किसिमको अर्धसामन्ती, अर्धऔपनिवेशिक, दलाल पुँजीवादी र नवऔपनिवेशिक संस्कृतिका विरुद्ध नेपाली जनताले निरन्तर सम्झौताहीन सङ्घर्ष पनि गर्दै आएका छन् । नेपालको सर्वहारा वर्ग स्वतन्त्रता, समानता र साह्रा शोषणदमनहरूबाट मुक्ति चाहन्छ । मुक्तिका लागि जनताले निरन्तर सङ्घर्ष, त्याग, शौर्य र बलिदान पनि गर्दै आएका छन् । जनयुद्धका क्रममा झन्डै १५ हजार क्रान्तिकारी योद्धा तथा जनता र करिब दुई सयको हाराहारीमा संस्कृतिकर्मीहरूले पनि रगत बगाइसकेका छन् । नेपाली जनताले पनि ठूलो सङ्ख्यामा बलिदान गर्नुपर्नाको कारण के थियो त ? किरण मुलुकको सामन्ती तथा सामन्तवादी चिन्तन र संस्कृतिको चित्रण यसरी गर्नुहुन्छ : ‘साम्राज्यवादी संस्कृति साम्राज्यवादी विचारधारा विकृत पुँजीपति वर्गको एकाधिकारवादी अर्थतन्त्र, फासिवादी राजनीति र आदर्शवादी एवम् अधिभूतवादी विश्वदृष्टिकोणमा आधारित छ । अतर्क बुद्धिवाद, बहुलवाद, व्यवहारवाद, सारसङ्ग्रहवाद र शून्यवाद यसका मूल विशेषता हुन् । आज यो साम्राज्यवादी भूमण्डलीकरणका रूपमा पेस भइरहेको छ । साम्राज्यवादलाई श्रेष्ठ र उत्पीडित राष्ट्रलाई असहाय तथा जनसमुदायलाई निरीह भीडका रूपमा लिनु, ज्ञानविज्ञानका विरुद्ध अन्धविश्वास, रूढिवादी र आदिम चेतनामा जोड दिनु, जनतालाई प्रविधिको कठपुतलीका रूपमा पेस गरी उसको क्रान्ति र वर्गसङ्घर्षप्रतिको चेतनालाई कुण्ठित तुल्याउनु, बजारीकरण, विलासिता र यौनअराजकताको पुर्पक्ष गर्नु, माक्र्सवादी विश्वदृष्टिकोण, क्रान्ति र कम्युनिज्मका विरुद्ध विष वमन गर्नु यो विचारधाराका मुख्य विशेषता हुन् ।’ १५

१५ किरण, नेपाली समाज र संस्कृति ः एक सङ्क्षिप्त अध्ययन, (दो.संं.), पृ.१०७–१०८, विवेक सिर्जनशील प्रकाशन प्रालि, २०६५ ।

जनताको निरन्तर सङ्घर्षबाट पुरातन मानवद्वेषी संस्कृतिको अन्त्य र नयाँ संस्कृति स्थापनाको प्रक्रिया अघि बढेको छ । महान् जनयुद्धका क्रममा यसको मात्रा र गुण दुवै उचाइमा पुग्दै गएको कुरा पनि सत्य हो (यद्यपि अहिले त्यसको बिन्दु तल झर्दै गएको छ) । चैतन्यका शब्दमा नेपाली जनताले सञ्चालन गरेको जनयुद्धले पुरातन मूल्यमान्यतालाई विस्थापन गरी कयौं नयाँ मूल्यमान्यता स्थापित गरेको हो । उहाँ भन्नुहुन्छ : ‘नेपालमा प्रतिगामी संस्कृतिको विरोधमा लामो समयदेखि जनवादी संस्कृतिको विकास हुँदै आएको छ । यसप्रकारको नयाँ संस्कृतिको निर्माण नेपाली जनसमुदायले उत्पादनका निम्ति सङ्घर्ष र अनेकौं वैज्ञानिक मूल्यमान्यता र नेपाली जनताले हाल आएर चलाएका जनआन्दोलन र महान् जनयुद्धका बीचबाट विकसित नयाँ मूल्यमान्यताहरूको संश्लेषणका रूपमा भएको छ ।’१६

१६ चैतन्य, समीक्षा र सौन्दर्य, पृ. ११३ ।

जनयुद्धनिर्मित संस्कृतिका बारेमा तत्कालीन प्रचण्डको संश्लेषण थियो, ‘बन्दुक, कलम र मादलको एकीकृत कमान्ड आजको ज्वलन्त आवश्यकता हो । इतिहासका कुनै पनि महान् राजनीतिक क्रान्ति आफैंमा महान् सांस्कृतिक क्रान्ति पनि हुने गर्छन् । समग्र युद्ध (Total War) का रूपमा अगाडि बढ्दै आएको नेपाली जनयुद्ध आफ्नो सारत्वमा सामन्तवाद र साम्राज्यवादविरुद्ध एउटा महान् संस्कृतिक युद्ध हो । १७

१७ प्रचण्ड, अन्तर्वार्ता, कलम, अङ्क २५/२६

तर आज प्रचण्डको संश्लेषणले उल्टै उनैलाई जिस्क्याइरहेको प्रतीत हुन्छ ।

नेपालको जनवादी सांस्कृतिक आन्दोलनको सङ्गठित इतिहास २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापनापछि आरम्भ भए पनि यसले घनीभूत रूप भने २०५२ सालपछि नै पाएको देखिन्छ । यसअघि कला, साहित्य र संस्कृतिका विभिन्न रूपबाट अभिव्यक्त हुँदै आएको सांस्कृतिक आन्दोलन अधिकांश समय त गेग्र्यानमा दबेर बगेको पानीजस्तो पाइन्छ । २०५२ सालपछि देशको शोषित, उत्पीडित, दमित वर्ग, महिला, किसान, मजदुर, बुद्धिजीवी, संस्कृतिकर्मी, पत्रकार, विद्यार्थी सबैसबै आआफ्ना ढङ्गबाट जनयुद्धमा एकाकार भएर नयाँ, उन्नत, विकसित, वैज्ञानिक जनसंस्कृति र जनसत्ता स्थापनामा लामबद्ध रहेको पाइन्छ । डा. बरालका शब्दमा जनसंस्कृति भनेको नयाँ संस्कृति, श्रमजीवी वर्गले श्रमसङ्घर्षका क्रममा आर्जन गरेको संस्कृति हो । कुरूपताका विरुद्ध सुन्दर र उदात्त भावचेतनाको सिर्जना र सम्प्रेषण गर्दै यसले आत्मिक चेतनलाई भौतिक शक्तिमा फेर्न अभिप्रेरित र उत्साहित पार्दछ । नयाँ संस्कृति आत्मिक र भौतिक दुवै उत्पादन हो । वैज्ञानिक दृष्टिकोणमा आधारित नयाँ संस्कृति परिस्थितिको व्याख्यामा मात्र सीमित र चित्रणको सन्दर्भमा मात्र सीमाबद्ध नभई यसले समाजलाई कसरी बदल्ने भन्ने कुरामा जोड दिन्छ । त्यसैले नयाँ संस्कृति परिवर्तनको संस्कृति हो । यसलाई जनसंस्कृति पनि भन्ने गरिन्छ । १८

१८ बराल, सत्ता र संस्कृति, २०६६ ।

जनयुद्धले नयाँ संस्कृतिसँगै नयाँ सत्ता पनि जन्मायो । अर्थात् जनयुद्धका क्रममा नयाँ सत्ता र नयाँ संस्कृतिका भ्रूणहरू सँगसँगै जन्मिए र एकअर्काका पूरक बने ।

पुरानो सत्ता र संस्कृतिलाई विस्थापित गरेर निर्माण भएको नयाँ सत्ता र नयाँ संस्कृतिले सर्वहारा वर्गको जीवनपद्धति, संस्कार र संस्कृति बोकेको हुन्छ । यसले सर्वहारा वर्गले नयाँ सत्ता स्थापनाका लागि लडेको वर्गसङ्र्घषका उपलब्धिहरूको रक्षा र विकास गर्छ । जनयुद्धले स्थापना गरेको नयाँ सत्ता र नयाँ संस्कृतिले पनि सर्वहारा वर्गको जीवनपद्धति, संस्कार र संस्कृति बोकेको कुरामा कुनै द्विविधा थिएन । यस विषयमा बरालको भनाइ छ, ‘नयाँ सत्ताले नयाँ संस्कृतिलाई जन्माउँछ । नयाँ संस्कृतिले नयाँ सत्तालाई सुदृढ तुल्याउँछ । यथार्थवादको कोणबाट हेर्दा नयाँ संस्कृति समाजवादी यथार्थवादको नेपाली समाजको विशिष्टतामा गरिएको प्रयोग र उपज हो । माक्र्सवादी सैन्दर्यचिन्तनको कोणबाट हेर्दा नयाँ संस्कृति मालेमावादी…सौन्दर्यचिन्तनको उपज हो । वर्गद्वन्द्वको कोणबाट हेर्दा नेपाली नयाँ संस्कृति महान् जनयुद्धको मूल्यद्वारा निर्मित नयाँ यथार्थको परिणाम हो । १९

१९ सत्ता र संस्कृति, ऐ.

महान् जनयुद्धको भीषण द्वन्द्वमार्फत सिर्जित नयाँ संस्कृति नयाँ सामाजिक मूल्य र सम्पत्तिका रूपमा स्थापित भएको थियो । हिजो जनयुद्धले विकास गरेको नयाँ विचारशृङ्खलालाई प्रचण्डपथ भनिएको थियो र प्रचण्डपथ नेपाली जनयुद्धले स्थापना गरेको नयाँ विचारशृङ्खला, नयाँ सत्ता र नयाँ संस्कृतिको आधारभूमि रहेको निष्कर्ष निकालिएको थियो । जनयुद्धले स्थापना गरेको नयाँ सत्ता र नयाँ संस्कृतिले जनयुद्धका नायकहरूले गरेको आत्मसमर्पणकै कारण उल्टो दिशातर्फ छलाङ हान्दै जानु र नयाँ सत्ता र नयाँ संस्कृति बिस्तारै इतिहासको कथामा रूपान्तरित हुँदै जानुमा पार्टीलाई खुला, विशाल बनाउने महत्वाकांक्षाद्वारा प्रेरित भएर र पलायनवादी, आत्मसमर्पणवादी चिन्तनबाट ओत्िरोत भएर माओवादलाई माओविचारसँग वैकल्पिक बनाउने निर्णय पनि एक प्रमुख कारक थियो भन्ने सत्य क्रमशः प्रमाणित हुँदै गएको छ ।

जनयुद्ध विश्वसर्वहारा वर्गले निरन्तर लड्दै आएको वर्गसङ्र्घषको पछिल्लो कडी हो । जनयुद्धले वर्गस्वार्थको रक्षा र नयाँ संस्कृतिको निर्माणका क्रममा भीषण त्याग, शौर्य, उदात्तता, एकता, निरन्तरता, बलिदानलगायत त्याग, समर्पण र निर्माणमा असङ्ख्य कीर्तिमानहरू कायम गरेको छ । ‘ध्वंस र निर्माणका बीचमा द्वन्द्वात्मक सम्बन्ध रहेको हुन्छ । महान् निर्माणको सम्बन्ध ठूलो स्तरको ध्वंससँग अविभाज्य छ । असत्यको ध्वंस नगरी सत्यको स्थापना हुनै सक्तैन । पुरातनलाई ध्वंस नगरी नूतनको स्थापना हुन सक्तैन । प्रकृति, समाज र मानवचिन्तनको समग्र विकास नै यही ध्वंस र निर्माणको द्वन्द्वात्मकताद्वारा निर्देशित रहँदै आएको छ । ध्वंसबिना निर्माणको कल्पना नै गर्न सकिन्न । पुरानो सत्ता (जसमा उसका विचार, संस्कृति, सेना, नोकरशाहीयन्त्र सबै पर्छन्) लाई ध्वंस नगरी नयाँ सत्ताको निर्माण हुनै सक्तैन । (प्रचण्ड, संस्कृति, कला र सौन्दर्यचिन्तन, पृ. ७२–७३ ।) भन्ने प्रचण्ड प्रकारान्तरले जनयुद्धबाट आत्मसमर्पण गरी दलाल पुँजीवादको शरणमा पुग्नु, एमसीसी, नागरिकता विधेयकजस्ता राष्ट्रघाती सम्झौताहरू पारित गर्नु, नेकपामाथि प्रतिबन्ध लगाउनु र गठबन्धन नै बनाएर नेपाली काङ्ग्रेससँग सत्ता साझेदारी गर्नुले उनको हिजोको भनाइ भ्रम र घातशिवाय केही पनि प्रमाणित हुँदैन ।

जनयुद्ध पुरानोको ध्वंस र नयाँको निर्माणका लागि सञ्चालित महान् प्रक्रिया थियो । यसले नयाँ विचार, नयाँ आदर्श, नयाँ मूल्यबोध, त्याग, शौर्य, उदात्तता र बलिदान तथा नयाँनयाँ बिम्ब, प्रतीक र महाआख्यानहरूको निर्माण गर्यो । समाजमा विद्यामान रूढि, अन्धविश्वास, छुवाछूत, जातपात, धार्मिक आडम्बर, कुसंस्कार, विभेदहरूको अन्त्य गरी वैज्ञानिक चेतना, वैज्ञानिक सत्ता र संस्कृति निर्माणका लागि उल्लेख्य पहल गर्यो । वर्गीय स्वार्थका लागि साह्रा बन्धनहरू चुँडाल्दै र व्यक्तिगत सुखसुविधा र स्वार्थहरू त्याग्दै सर्वहारा वर्गले उदात्तताको कीर्तिमान नै कायम गर्यो । जागृत नयाँ चेतनाले दमित, कुण्ठित र अपहेलित चेतनामाथि भीषण धक्का दियो । फलस्वरूप ग्रामीण तहमा जेलिएर रहेका रूढि र अन्धविश्वासका जालहरू क्रमशः टुट्दै गए र जनयुद्धका क्रममा वर्ण र जातका आधारमा गरिने जातपात, छुवाछूतलगायत मानवद्वेषी प्रचलनको अन्त्य हुँदै त्यस स्थानमा वर्गीय संस्कार र संस्कृतिको निर्माण हुँदै गयो । जनयुद्धले सर्वहारावर्गीय चेतना स्थापना गर्यो । अन्धविश्वास र रूढिमा आधारित भाग्यवादको जगमा खडा भएका पर्व, चाडबाड, रीति र संस्कारको स्थानमा जनताको त्याग, शौर्य र बलिदानबाट स्थापित नयाँ चाड र पर्वहरू स्थापित बन्दै गए । समाजमा व्याप्त रूढि, अन्धविश्वास र जादु, तन्त्रमन्त्रमा आधारित पूर्वजुनी, पुनर्जन्म, धामीझाँक्री, टुनामुना, बोक्सीलगायत अवैज्ञानिक, मानवद्वेषी, अन्धविश्वास र रूढिवादमा आधारित अपसंस्कारप्रतिका भ्रमहरू हट्दै गए र जीवनवादी, वैज्ञानिक संस्कार/संस्कृतिको विकास हुँदै गयो । मानवद्वेषी मृत्युसंस्कार, जन्म, न्वारान, व्रतबन्ध, विवाहलगायत पुरातनपन्थी कर्मकाण्डहरूप्रति नवीन संस्कृतिले धक्का दिँदै गयो ।

पुराना संस्कार र संस्कृतिमाथि नयाँ संस्कार र संस्कृतिको चाप पर्न थाल्यो । जनवादी, अन्तर्जातीय विवाहले प्रोत्साहन पायो । १३ दिन लगाएर गरिने काजकिरिया, मृत्युपछि घरघरमा भनिने मानवद्वेषी गरुडपुराणजस्ता आपराधिक क्रियाकलापहरू घटे । महिला, दलित, विपन्न वर्ग, किसान, मजदुरलगायत श्रममाथिका पुरातन चिन्तन र दृष्टिकोणहरू बदलिए । बिधुवा महिलाहरूलाई हेर्ने दृष्टिकोण बदलियो । जात र क्षेत्रका आधारमा गरिने विभेद अन्त्य हुँदै गयो । सर्वहाराकरण हुने, सम्पूर्ण परिवारलाई नै पार्टीकरण/क्रान्तीकरण गर्ने संस्कृतिको विकास हुँदै गयो । निजी स्वार्थको सकेसम्म र बढीभन्दा बढी तिलाञ्जली दिने र वर्गीय स्वार्थका लागि बढीभन्दा बढी त्याग, शौर्य र उदात्तता प्रदर्शन गर्ने होड नै चल्यो । आत्मिक संस्कृतिलाई जीवनव्यवहारमा रूपान्तरण गरेर भौतिक संस्कृतिमा बदल्ने क्रमको आरम्भ भयो । कमरेड्ली संस्कृति लदाबदी भयो । नयाँ र उदात्त चेतना र संस्कृतिको विकास भयो । यो वर्गयुद्धले विकास गरेको नयाँ र उन्नत संस्कृति थियो । जातीय, क्षेत्रीय र लैङ्गिक विभेद अन्त्य हुने क्रममा कुनै जाति, क्षेत्र र लिङ्गविशेषका परम्परागत संस्कृति सर्वहारावर्गीय संस्कृतिमा रूपान्तरित हुँदै गए । पुरातन संस्कार/संस्कृतिलाई परिमार्जन/रूपान्तरण गर्दै र बदल्दै जनवादी संस्कार/संस्कृतिमा ढाल्ने क्रमको विकास भयो । महान् जनयुद्धले निर्माण गरेको यो सुन्दर पाटो थियो ।

विचलन

वर्गसङ्घर्ष घनीभूत बन्दै जाँदा नयाँ सत्ता र नयाँ संस्कृतिको विकास र विस्तार पनि उत्तिकै घनीभूत बन्दै जान्छ । जनयुद्ध विसर्जनपछि तत्कालीन पार्टी नेकपा (माओवादी) मा वर्गसङ्घर्षको स्वरूप बदलिएको हो र होइन भन्नेमा गम्भीर अन्तरविरोधहरू उत्पन्न भए । नेकपा माओवादी जनयुद्धको प्रक्रियाबाट शान्ति, सम्झौता र कूटनीतिको हतियार चलाएर विजयतर्फ लम्किरहेको समयमा वर्गयुद्ध यहाँसम्म ल्याइपुर्याउने महत्वपूर्ण शक्ति जनमुक्ति सेनालाई अपमानपूर्वक विघटन गरियो । समायोजन र पुनस्थापनका नाममा पुरानो सेना र शक्तिहरूको स्वार्थअनुकूल विघटन गर्दा एक समय वर्गसङ्घर्षको ठूलो उपलिब्ध नै विघटनमा पर्यो । जनमुक्ति सेनालाई क्यान्टोनमेन्टबाटै हतियाबार अलग्याएर नष्ट गराइयो । माओवादीको क्रान्तिकारी नेतृत्वमाथि राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूद्वारा घेरा हालियो । पार्टीभित्रको क्रान्तिकारी पङ्क्तिले जनमुक्ति सेना र हतियार अलग गराएर दुस्मनको स्वार्थ र निर्णयअनुसार बुझाउने खेलमा मुख्य नेतृत्वकै संलग्नता मात्र नभएर योजना रहेका तथ्यहरू सार्वजनिक र्दै त्यसप्रकारको आत्मसमर्पणवादी चिन्तन, प्रवृत्ति र निर्णयप्रति असहमति जनाउँदै विद्रोह पनि गयो । जनयुद्धको जगमा नयाँ विद्रोह गर्ने पालुङटार विस्तारित बैठकको निर्णयअनुरूप नभएर शान्ति र संविधानका नाउँमा पार्टीको मूल नेतृत्व सुधारवादमा फसेकोमा क्रान्तिकारी पङ्क्तिले चिन्ताका साथ चेतावनी व्यक्त गर्दै, अन्तरसङ्घर्ष चलाउँदै विद्रोह गरेको थियो ।

उता अन्तर्राष्ट्रिय क्रान्तिकारी शक्तिहरूले पनि माओवादीको नेतृत्व सुधारवाद र संशोधनवादमा फसेकोमा चिन्ता व्यक्त गरे । पार्टी खुला भएपछि अवसरवादी झुन्डहरू पनि आआफ्नो प्रवृत्ति बोकेरै माओवादीमा छिरे । प्रतिक्रियावादी र अवसरवादी चिन्तन र प्रवृत्ति लिएर पसेका झुन्डहरूले क्रान्तिकारी शक्तिलाई आफूजस्तै बनाउन होड गरे । युद्धबाट आएका इमानदार क्रान्तिकारीहरू पाखा लाग्ने र ताकछोपुवाहरूको हालीमुहाली हुने अवस्था बन्यो । अवसरवादी प्रवृत्तिले सांस्कृतिक आन्दोलनका विरासत सामना सांस्कृतिक परिवार विघटन गराउने र फुटको बीजरोपण गर्ने षड्यन्त्र पनि गर्यो । हिजोसम्म प्रतिक्रियावादी सत्तासँग मिलेर जनयुद्ध र क्रान्तिको विरोध गर्नेहरू आज क्रान्तिकारीहरूलाई कक्षा दिइरहेका दारुण दृश्यहरू पचाउन क्रान्तिकारीहरूलाई असाध्यै असहज बन्यो । युद्ध सकियो, अब सुरक्षित होइन्छ भनेर मोलमोलाइ गरेर छिर्नेहरूले पार्टी र आन्दोलनलाई प्रदूषित मात्र बनाएनन्, विघटन नै गराए । क्रान्तिको गला रेटे । क्रान्तिबाटै आएको दाबी गर्ने कतिपय व्यक्ति र तत्वहरूमा चरम उपभोक्तावादी, सुविधाभोगी, अवसरवादी र क्रान्तिविरोधी प्रवृत्ति र चिन्तन मुखरित हुँदै गयो । क्रान्ति पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नेहरूलाई अमेरिकी साम्राज्यवादले अल कायदालाई गरेजस्तो व्यवहार गर्ने प्रवृत्ति बढ्यो । विचार र चिन्तनलाई होइन, व्यक्ति, शक्ति र सत्ताको पूजा गर्ने खराब चिन्तनको विकास भयो । दलाल पुँजीवादी सत्तालाई केन्द्रमा राखेर गुटबन्दीले चरम रूप लियो । पद, पैसा र शक्तिको आडमा मानिसलाई प्रभावित पार्ने घातक प्रवृत्तिको विकास भयो छ । क्रान्तिप्रतिको दृढ आस्था र निष्ठाका कारण हिजो ‘मोडल’ वा ‘हिरो’ बनेकाहरूमा निजी स्वार्थहरू ब्युँतिए । क्रमशः क्रान्तिकारी पार्टी र क्रान्तिकारी संस्कृति पनि क्रमशः सुधारवादी–संशोधनवादी र उपभोक्तावादी दलदलमा जाकियो । हिजो व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर सर्वहाराकरण हुनुमा, त्याग, शौर्य, उदात्तता र बलिदानमा भविष्य देख्नेहरूमा पनि पद, प्रतिष्ठा र व्यक्तिगत लाभका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढ्यो छ । हुँदाहुँदा मन्त्रीलाई भेट्न जाँदा मन्त्रीकी श्रीमतीलाई सारीचोलो उपहार लगेर पद हत्याएका र पदमा रहँदा जम्मा गरेको रकमले ठाउँठाउँमा सम्पत्ति जोडेर जनताभन्दा माथिल्लो देखिने पुँजीवादी संस्कृतिको विकास भयो । सहिदका नाउँमा स्थापित संस्थामा समेत भ्रष्टाचार गरियो । हिजो क्रान्तिका लागि जस्तोसुकै कष्ट सहन र जस्तोसुकै जोखिम पनि मोल्न तयार हुने योद्धाहरूमा सुखसुविधा र प्रतिष्ठाको भोक बढ्दै गयो । हिजो लड्न, अग्रमोर्चामा लामबद्ध हुन तँछाडमछाड गर्नेहरूमा पछिल्लो मोर्चामा, कम जोखिम मोल्ने स्थानमा मिसिने र उस्तै परे एकएकवटा बहाना बनाएर पलायन हुने खतरा बढ्दै गयो । पार्टी, क्रान्ति, सर्वहारा वर्ग र कमरेड भनेपछि हुरुक्क हुन मनपराउनेहरूमा परिवार, निजी सम्पत्ति, पद, सस्तो ‘व्यक्तित्व’ र तामझामप्रतिको रुचि बढ्दै गयो । क्रान्ति नगर्नेहरू, महान्, त्याग, शौर्य र बलिदानको बाटोलाई ‘फासिवादी आतङ्क’, सामाजिक फासिवाद भन्दै दुत्कार्ने र तिरस्कार गर्नेहरू रातारात क्रान्तिकारी योद्धाहरूका ‘नेता’ बने÷बनाइए । ठूलो जोखिम मोलेर र त्याग गरेर जनयुद्धमा लामबद्ध बनेकाहरू, जनयुद्धका विभिन्न मोर्चाहरूमा जिम्मा लिएर जनयुद्ध सफल पार्न जीवन बलिदान गर्न तम्सिएकाहरूको जिम्मेवारी, पद, हैसियत, विश्वास लथालिङ्ग र भताभुङ्ग पारियो । त्याग, शौर्य र बलिदानलाई हिँड्दैछ, पाइला मेट्दैछ को अवस्थामा पु¥याइयो । ‘शान्तिकाल’ अघिसम्म, अझ संविधानसभाको निर्वाचनसम्म पनि माओवादीलाई आतङ्ककारी, उग्रवादी वा बाटो बिराएको देख्नेहरू रातारात पार्टीको उच्च ओहोदासम्म पुगेर तिनै क्रान्तिका सिपाहीहरूलाई खुच्चिउँ गर्दै तिनको हैसियतमा प्रश्न उठाए । राजनीतिक सत्तामा हारेका प्रतिक्रियावादीहरूले कब्जा जमाएझैँ पार्टीको सत्तामा तिनै हरूवा र डरछेरुवाहरूको हालीमुहाली सुरु भयो । गुटबन्दीमा रमाउन बानी परेकाहरूले नेतृत्वलाई भ्रममा पारेर क्रान्तिकारीहरूलाई टाढा देख्ने र कुरौटे र भरौटेहरूलाई नजिकको देख्नेजस्तो विडम्बनापूर्ण दृश्यहरू सतहमा आए । युद्धकालमा क्रान्तिकारीहरूलाई पोल लगाइदिने, सहिदका परिवारलाई यातना दिने, सहिद परिवारका महिलाहरूलाई निजी स्वार्थमा उपभोग गर्ने र बार्गेनिङ गर्नेहरू नै पार्टीको नेतृत्व तहमा पुगेका घिनलाग्दा दृश्यहरू देखिए । यी घटनाक्रमहरूले नै राजनीतिक प्रतिक्रिान्तिसँग सांस्कृतिक प्रतिक्रान्ति सुरु भएको देखाएपछि विद्रोह भयो र नयाँ ढङ्गले राजनीतिक र सांस्कृतिक क्रान्ति अघि बढिरहेको छ ।

स्थापित जनसंस्कृति अन्त्य गर्दै दलाल पुँजीवादी संस्कृति अपनाउनु उल्टो संस्कृति थियो । जनयुद्धले विकास गरेको र बलिदानबाट जन्मिएको नयाँ संस्कृतिसँग पटक्कै मेल नखाने पतनोन्मुख संस्कृति थियो त्यो । महान् सहिदका परिवार, बेपत्ता, घाइते योद्धाहरूलाई यस्ता उल्टा दृश्यहरूले आक्रोशित बनायो र विद्रोहमा साथ दिए ।

क्रान्तिकारीहरूले त्याग गर्न जानेका छन्, देश र जनताका लागि खुम्चिन, सहन र पार्टीको आदेश शिरोपर गर्न सिकेका छन् तर साह्रा अन्याय, अत्याचार, शोषण, दमन, थिचोमिचो, जालझेल र तिरस्कारको अन्त्य गरेर समानतामूलक नयाँ साम्यवादी समाज निर्माण गर्न हिँडेका क्रान्तिकारीहरू आफ्नो विचार र स्वाभिमानलाई नै तिलाञ्जली दिएर लामो समयसम्म धैर्य गरिरहनु सम्भव थिएन । महान् जनयुद्धले स्थापना गरेका जनसत्ता, जनकम्युन, जनसकार, जनअदालत, जनशिक्षालय, जनस्वास्थ्यालयहरू विघटन भइसकेका छन् । जनसत्ता, जनसंस्कृतिलाई मात्र होइन, खलनायकहरूले जनयुद्धलाई नै इतिहासको विषय बनाउँदै लगे । जनयुद्धमा कुनै लगानी नै नभएहरूलाई नेतृत्व दिइएपछि र मूल पात्र नै दुस्मनको स्वार्थमा बिक्री भएपछि यसो हुनु अस्वाभाविक थिएन ।

कथित शान्तिसम्झौताको समयमा भएको सहमतिविरुद्ध जनयुद्धकालका मुद्दाहरू ब्युँताइए । वर्गसङ्घर्षको उद्भव र चाप रहेका स्थानहरूमा मानिसले खान नपाएर आत्महत्या गरेका समाचारहरू आए । तिनै स्थानहरूमा कथित उच्च जातिकी महिलासँग प्रेम गरेको बहाना बनाएर कथित दलित समुदायका युवाहरूको समूहिक हत्या गरियो । जस्तोसुकै कठिनाइ, यातना, लाञ्छना र पीडालाई क्रान्तिका लागि पचाएर वा आक्रोशमा रूपान्तरण गरेर जनताको राज्यसत्ता स्थापना गर्न क्रान्तिसिवाय केही सत्य होइन भनेर मोर्चाबन्दी गरेका आधारइलाकाहरूमै यस्तो घटना हुनु प्रतिक्रान्ति उत्कर्षमा पुगेको ज्वलन्त उदाहरण हो । सिङ्गो परिवार नै जनयुद्धमा बलिदान गरेकाहरू, आफन्त गुमाएकाहरू, बेपत्ता योद्धाका परिवारजन र घाइते योद्धाहरू, जनयुद्धमा लागेर शिक्षा, स्वास्थ्य, रोजगारी, व्यवसाय र आफन्त गुमाएकाहरू हिजो स्थापना भएको नयाँ सत्ता र संस्कृति स्खलन र विघटन हुँदै गएपछि आक्रोशित बन्नु र विद्रोह गर्नु स्वाभाविक मात्र होइन, अपरिहार्य थियो । हिजोसम्म जनयुद्धमै भविष्य देखिरहेकाहरू पार्टीभित्र प्रवेश गरेको सुविधाभोगी, विलासी, उपभोक्तवादी र अन्त्यमा दलाल पुँजीवादी संस्कृति अवलम्बन गरेर पतनको सँघारमा पुगेपछि नै आन्दोलनमा पटकपटक विद्रोह भयो र नयाँ आन्दोलन अघि बढ्यो ।

विकल्प

सांस्कृतिक विचलनको प्रमुख कारण राजनीतिक विचलन र नेतृत्वपङ्क्तिमा विकसित भएको उपभोक्तावादी÷पलायनवादी÷संशोधनवादी संस्कृति प्रमुख कारण थियो । सांस्कृतिक विचलन जनताबाट होइन, नेतृत्वबाटै आरम्भ भएको थियो । पार्टी कार्यकर्ता र जनता भोकै, तिर्खै र नाङ्गै रहेको अवस्थामा नेतृत्वलाई लाखौँको पलङ, डसना र सुरासुन्दरी नभई निद्रा नलाग्ने अवस्था उत्पन्न हुनु भनेको आन्दोलनको एउटा पङ्क्ति पूर्ण रूपमा दलाल पुँजीवादी वा प्रतिक्रियावादी बन्नु हो । त्यसै कारण समाजमा मात्र होइन, पार्टीभित्रै वर्ग जन्मियो र विद्रोह भयो । नेताहरूले जिम्मेवारी र अनुभव देखाउँदै आफूलाई ठूला ठाने तर ती जनताभन्दा ठूला कहिल्यै थिएनन्, छैनन् र हुँदैनन् पनि । नेताहरूमा आफू र आफ्ना सन्तानलाई जनताभन्दा माथि, भरिपूर्ण र सुरक्षित गराउने चेत कहाँबाट पलायो ? पार्टीका इमानदार कार्यकर्ताभन्दा अन्यत्रा चाहार्दै हिजो मात्र पार्टीमा छिरेका उपभोक्तावादी चैतेहरू किन प्रिय बने ? हिजोको मूल नेतृत्व नै यस्तो दलाल पुँजीवादी र उपभोक्तावादी भुलभुलैयामा फस्दै र खराब संस्कृति निर्माण गर्दै गएकाले हिजोका आदर्श र निर्मितिहरू भत्किएर विद्रोह अपरिहार्य बन्यो । दुस्मनले समेत कुरीकुरी, छिः र छ्याः भन्ने गरी मूल नेतृत्वको जीवनशैली, आचरण र संस्कार रूपान्तरण हुन सकेन । क्रमशः झन् अधोगतितर्फ लाग्दै गयो ।

संस्कार र संस्कृति मूल नेतृत्वबाटै निर्माण हुने हो । यसका लागि पार्टी र सांस्कृतिक मोर्चा हरदम इमानदार, चनाखो र क्रियाशील हुनुपर्छ । जनताको चेतनाअनुसार नेतृत्व र सामूहिक रूपमा निर्माण हुँदै गएको परिवर्तिन नयाँ स.स्कृतिलाई जनताले ग्रहण गर्दै जाने हो । जनयुद्धमा त्यो अवस्था उत्पन्न भएको पनि हो ।

वैज्ञानिक समाजवादी संस्कृति वैज्ञानिक, क्रान्तिकारी, जनवादी, समानतामूलक, सिर्जनात्मक, समाजवादी यथार्थवादी हुन्छ । यो संस्कृतिले मानव समाजको विकाससँग सम्बन्धित वैज्ञानिक तथ्यहरूमा आधारित र श्रमिक जनताको जीवनसँग अन्तरसम्बन्धित नयाँ संस्कृतिलाई मात्र आत्मसात् गर्छ । वैज्ञानिक समाजवादले मात्र समाजमा मानिसको श्रम, पसिना, त्याग, शौर्य, समर्पण, बलिदान, मेहनत, उत्पादन, सिर्जना नै संस्कृतिको स्रोत हो भन्ने मान्यता राख्छ र श्रम संस्कृतिको सम्मान गर्छ । वास्तवमा मानिसले जीवनसङ्घर्ष र वर्गसङ्घर्षका क्रममा भौतिक, मानसिक श्रम र क्रियाकलापको प्रतिबिम्बन संस्कृतिका रूपमा स्थापित गरेको हुन्छ र त्यो संस्कार र व्यवहारका रूपमा अभिव्यक्त हुन्छ । दलाल संस्कृति भने दलालहरूले संस्कृतिमा गरेको दलालीकरण र भ्रष्टीकरण हो । वैज्ञानिक समाजवादी संस्कृतिले अवैज्ञानिक रूढिवादी, अन्धविश्वासी, आध्यात्मिक अपसंस्कृति भत्काएर नयाँ र वैज्ञानिक संस्कृति स्थापना र लागू गर्छ । वैज्ञानिक संस्कृतिले यो संसारको निर्माणकर्ता श्रमिक मानिसको उत्थानका लागि प्रेरित गर्छ । वैज्ञानिक समाजवादी संस्कृतिले मानिसलाई विज्ञानमा जिउनसक्ने, भौतिकवादी, सामाजिक, मानवीय, सुसंस्कृत, सामूहिक, शान्तिपे्रमी र सिर्जनशील बनाउँछ । मानवसमाजलाई समान, सुखी, समुन्नत, समृद्ध, उच्च चेतना र उच्च सभ्यता बसाल्न प्रेरित गर्ने संस्कृति नै वैज्ञानिक समाजवादी संस्कृति हो । यो मानवभसभ्यताको सर्वोच्च रूप हो । यसले साम्यवादी स.स्कृति र समाजसम्म पुर्याउन सहयोग गर्छ ।

निष्कर्ष

नयाँ संस्कृति निर्माणका क्रममा ‘अहिले यस्तै भो, पछि ठीक हुँदै जान्छ’ भन्ने नियतिवादी र चरम सम्झौतावदी प्रवृत्ति बढी जिम्मेवार हुन्छन् । हिजो युद्धका क्रममा जनताका घरका जाँडरक्सीका घ्याम्पा फोर्ने र मादमदिरा नष्ट पार्ने आन्दोलनको नेतृत्व गर्ने नेताहरू र मूलतः प्रचण्ड नै मदिराका प्यालासहित देखिनु र घरभित्रबाट दर्जनौँ बोरा रक्सीका बोतल खाली सिसीमा बेचिएका दृश्यहरू सार्वजनिक हुनुले हिजो सिङ्गो आन्दोलनलाई न बदनाम र प्रभावित बनाएको थियो । यसबाट निरन्तर पाठ सिक्नुपर्छ । हिजो सामान्य लवाइखुवाइ, भेषभूषा र नम्र व्यवहारमा देखिने नेतृत्वहरूको शरीरमा पफ्र्युमको ‘सुगन्ध’, र कपालमा जेलको प्रयोगको चर्चाले बजार तताएको थियो । पार्टीका वरिष्ठ नेता कहलिएकाहरूको सन्तानको बिहेमा स्याम्पेनका बोतल फोरिएका, नेताहरू नै मठमन्दिर घुम्न गएका र ‘बाबा’ आश्रममा धाएका अनि सुन्दरी प्रतियोगिता र तीजको विरोध गर्दै हिँडेका नेता भएको पार्टीमा आबद्धहरू सुन्दरी प्रतियोगिताका निर्णायक बसेका र तीज, बिहे पार्टीमा रातो सारी, चुरा र झरझुट्ट गहनामा उत्ताउला नृत्य प्रदर्शन गरेका सन्दर्भले आन्दोलनलाई उठाउनै गाह्रो हुने गरी बदनाम बनाएका थिए । त्यसलाई चिरेर आन्दोलन अघि बढाउन निकै मुस्किल परेको थियो । राजनीतिक क्रान्तिसँगैसँगै जनवादी सांस्कृतिक क्रान्ति अघि नबढ्दा रुस, चीनलगायत मुलुकमा क्रान्तिकारी नेतृत्व फेरिनासाथ रातो पोसाक लगाएकै सेनाले प्रतिक्रान्तिलाई नै ‘सलाम’ गरेर स्वीकारेका तीता उदाहरणहरूबाट हामीले पनि पाठ सिक्नुपर्छ । आफूलाई कम्युनिस्ट पार्टीको खोल ओढाएर राखेको नेकपा एमालेले पार्टीलाई ‘बहुदलीय जनवाद’ को बुर्जुवा जामा पहिर्याउँदा पनि ‘हाम्रो पार्टी कम्युनिस्ट नै हो’ भनेर नतमस्तक बनेका कार्यकर्ताहरू, पार्टी र नेता दलाल पुँजीवादको अगुवा बनिसक्दा पनि पार्टीलाई माओवादी नै देख्ने रतन्धो लागेका माओवादी केन्द्रका कार्यकर्ताहरू, संसदीय संशोधनवादी बनेर नेता र पार्टीले दलाल पुँजीवादी सत्तासँग आत्ममसमर्पण गरेर चुनावमा भाग लिँदा पनि त्यहीँ दास बनेर रुमल्लिइरहेका विप्लव समूहका कार्यकर्ताहरूले दास संस्कृतिको विरोध र विद्रोह गर्दै वैज्ञानिक समाजवादी क्रान्ति अघि बढाइरहेको नेकपा –बहुमत) र सांस्कृतिक मोर्चामा लामबद्ध हुनु आवश्यक छ । जीवनमा एकपटक त जो पनि क्रान्तिकारी हुनसक्छ । जो निरन्तर क्रान्तिकारी बनिरहनसक्छ र क्रान्तिमा भाग लिइरहनसक्छ र क्रान्ति अघि बढाइरहन सक्छ, वास्तवमा सच्चा क्रान्तिकारी उही हो । अब जनतालाई हिजोका कुरा देखाएर होइन, आज र भोलिका कुरा देखाएर नयाँ विद्रोहको तयारी गर्नु र अझ नयाँ सस्कृतिको निर्माण गर्नु आवश्यक छ । नेपालको जनयुद्ध विश्व–सर्वहारावर्गकै आशा र भरोसाको केन्द्र थियो । त्यसको विघटन, मूल नेतृत्वको पलायन र पतनका साथै त्यसपछि एकीकृत जनक्रान्ति गर्छु भन्ने मूल नेतृत्वले पनि दलाल पुँजीवादमा आत्मसमर्पण गरिसकेपछि अब नेकपा (बहुमत) को नेतृत्वमा वैज्ञानिक समाजवादी क्रान्तिले नयाँ नेतृत्व निर्माण गरिरहेको छ । यस्तो अवस्थामा जनयुद्धका बाँकी कार्यभार पूरा गर्न सम्पूर्ण उत्पीडित पङ्क्ति जुट्नुपर्छ, उठ्नुपर्छ र क्रान्तिकारी आन्दोलनमा लामबद्ध हुनुपर्छ । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकताप्रक्रिया अघि बढेको सन्देशले क्रान्तिकारीहरूमा एउटा गहिरो आशा र विश्वास उत्पन्न भएको छ । निरन्तर राजनीतिक र सांस्कृतिक क्रान्ति सञ्चालन गरेर र क्रान्तिकारी जनता, कार्यकर्ता र नेतृत्वलाई विद्रोहमा होमेर मात्र क्रान्तिको लक्ष्य पूरा हुन र क्रान्तिकारी संस्मृति निर्माण हुनसक्छ । यसका लागि दलाल पुँजीवादको अन्त्य हुनु आवश्यक छ र दलाल पुँजीवादलाई सघाउने संसदीय संशोधनवाद, सुधारवाद र सबैखाले क्रान्तिविरोधी तप्काको अन्त्य आवश्यक छ ।

(नयाँ यथार्थ, २०६६ मा प्रकाशित यो लेख सामान्य सम्पादन र परिमार्जनसहित पुनः प्रकाशन गरिएको हो– लेखक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :