‘तिमी तिम्रो तरिकाले लड, हामी हाम्रो तरिकाले लड्छौँ’

सरकारले तीनबुँदे सहमति नमान्ने निर्णय सुनाएको छ । कथित स्थानीय तहको चुनावपछि आफूलाई बलियो ठानेको सरकारले हठात् यस्तो गलत निर्णय सुनाएको हो । पाँचदलीय गठबन्धन सरकारका गृहमन्त्री, कानुनमन्त्री र महान्यायाधिवक्ताले संयुक्त पत्रकार सम्मेलन गरी उनीहरूकै भाषामा ‘नकारात्मक ३२२ वटा मुद्दा’ फिर्ता लिन नसकिने सार्वजनिक गर्नु हिजो केपी वली सरकारसँग गरिएको तीनबुँदे सहमतिको गम्भीर उल्लङ्घन हो । पुष्पकमल दाहाल–केपी वली नेतृत्वको तत्कालीन सरकारले २०७५ साल फागुन २८ गतेदेखि तत्कालीन नेकपा (हालको नेकपा बहुमत) माथि प्रतिबन्ध घोषणा गरेको समयमा हजारौँ नेता–कार्यकर्तालाई झूट्टा मुद्दा लगाउँदै गिरफ्तार गरेर चरम यातना दिने, मुद्दा चलाइएका नेता–कार्यकर्ताको चलअचल सम्पत्ति तथा सेवासुविधा रोक्का एवम् निलम्बन गर्ने गैरराजनीतिक र अलोकतान्त्रिक निर्देशनसमेत दिएको छ । २०७७ साल फागुन २१ गते सरकार र तत्कालीन नेकपाका बीचमा ३ बुँदे सहमति भएको १९ महिना पुगिसक्दा पनि सहमति कार्यान्वयन गर्नुको साटो उल्टै पत्रकार सम्मेलन गरी मुद्दा तोकेरै फिर्ता नलिने घोषणा गर्नु, पार्टीका नेतामाथि पक्राउ पुर्जी जारी गर्नु, सहमतिविपरीत पार्टी नेता–कार्यकर्तालाई जेलमै बन्दी बनाइराख्नु सरकारले जनतालाई मुठभेडका लागि गरेको आह्वान हो । यस्तो मूर्खतापूर्ण निर्णय गरेर सरकारले आफैँ पर्ने खाल्टो खनेको छ ।

नेकपा (बहुमत) ले पत्रकार सम्मेलन आयोजना गरी सहमति नमान्ने सरकारी निर्णयप्रति गम्भीर असहमति जनाएको छ । पार्टीले दलाल पुँजीवादी व्यवस्थाले आफ्नो सत्ता अझ सुदृढ बनाउनका लागि घोषणा गरेको कथित प्रदेश र सङ्घको चुनाव बहिष्कार गर्ने, उक्त चुनाव र व्यवस्थाको भन्डाफोर गर्ने, वैज्ञानिक समाजवादी क्रान्ति र वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचारप्रसारका लागि अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । नेकपा (बहुमत) ले के कुरा पनि प्रस्ट पारेको छ भने सरकार तीनबुँदे सहमति पालना नगर्न स्वतन्त्र छ भने पार्टी पनि सङ्घर्ष र क्रान्ति अघि बढाउन स्वतन्त्र छ । यसको अर्थ पुरानो सत्ता अर्थात् दलाल पुँजीवादी सत्ता हिजो विद्रोहीसँग गरेको सहमति लागू नगरेर देशमा द्वन्द्व कायमै रहेको र सरकार कुनै पनि समयमा विद्रोहीमाथि अझ कडा दमन गर्न तयार छ भन्ने बुझिन्छ । सरकारको इँटको जबाफ पत्थरले दिँदै नेकपा (बहुमत) ले पनि सरकार सहमति पालना नगरेर, सहमति तोडेर, कार्यकर्ता जेलमै राखेर, नेताहरूमाथि पक्राउ पुर्जी जारी गर्न र विभिन्न बहानामा नेता–कार्यकर्तालाई धमाधम गिरफ्तार गरी मुठभेडकै वातावरण निर्माण गर्न चाहन्छ भने पार्टी पनि सङ्घर्ष अघि बढाउन स्वतन्त्र रहेको उद्घोष गरेको छ । यो परिस्थिति तत्कालका लागि मुलुकलाई मुठभेडतर्फ लैजाने सङ्केत हो । सरकारले जनता र देशमाथि उत्पीडन र क्रूरता लादेर फेरि प्रत्यक्ष रूपमा मुठभेड सुरु भएमा त्यसको फाइदा कसलाई होला, त्यो त निकट भविष्यले देखाउला तर देश र जनतामाथि निरन्तर क्रूरतापूर्वक दोहन गरिरहेको दलाल पुँजीवादी सत्ता र सरकारविरुद्ध आक्रोश अभिव्यक्त गरिरहेका जनताले रोज्ने भनेको दलाल पुँजीवादविरुद्ध विद्रोहकै र मुक्तिकै बाटो हो । यो भन्ने प्रस्ट छ किनकि इतिहासमा कुनै पनि दलाल र तानाशाही व्यवस्था वा पात्रहरूले होइन, जनताले जित्दै आएका छन् ।

कतिपय मानिसहरूलाई लाग्न सक्छ, जनताले बारम्बार किन विद्रोहकै बाटो, लडाइँ र जोखिमकै बाटो अँगालिरहन्छ ? तर यो भ्रम मात्र हो । मानिसको मूल प्रवृत्ति भनेको विद्रोही र स्वतन्त्रता–समानताप्रेमी नै हो । मानिसले समानता र स्वतन्त्रताकै धेरै लगानी गरेको छ । धेरै रगत–पसिना बगाएको छ र मुख्य कुरा बलिदान गरेको छ । विगतमा देश र जनताको स्वतन्त्रता र मुक्तिका नाउँमा धेरै आन्दोलन, विद्रोह र युद्धहरू भए । विद्रोह र युद्धले मात्र आमूल परिवर्तन ल्याउन सकेन भन्दै जनक्रान्ति आरम्भ गरियो र १२ जनाको बलिदान तथा हजारौँमाथि जेल, हिरासत, झूट्टा मुद्दा, यातना र प्रताडना भयो । अझै पनि कयौँ योद्धाहरू जेलको चिसो छिँडीमा बस्न विवश छन् तर पनि जनताको जीवन बदलिएको छैन । देशमाथिको सङ्कट टरेको छैन । देशमा भ्रष्टाचार मौलाइरहेकै छ । महँगी, मूल्य वृद्धि, तस्करी, विभिन्न बहानामा शोषण, दमन, हत्या, अन्याय, अत्याचार, व्यभिचार अझै बढेको छ । लोकतन्त्र र गणतन्त्रको बोक्रोले जनताको आङ ढाकिने र पेट भरिने अवस्था नभएपछि शरीरमा केही शक्ति बाँकी भएका झन्डै एक करोड हाराहारी युवा कामको खोजीमा भौँतारिँदै विदेशको जोखिमपूर्ण श्रममा लाग्न विवश छन् । साम्राज्यवादले नयाँनयाँ योजनामा दलाल र भ्रष्ट नेताहरू जन्माइरहेको छ र देशलाई आफ्नो चक्रव्यूहमा फसाइरहेको छ । एमसीसीदेखि राष्ट्रघाती नागरिकता विधेयकसम्म यसका केही उदाहरण हुन् । एउटा नटवरलालले दस हजार योद्धासहित नेपाल आमाका सत्र हजार सन्ततिको रगत बगेपछि जनतालाई धोका दिँदै क्याम्प फेरेको थियो । अर्को नटरवरलाल जन्मिएर फेरि अरू योद्धाको रगत बगिसकेपछि आत्मसमर्पण गरेर वर्गसङ्घर्षमाथि गद्दारी गरेको छ । यो अवस्थामा देशभक्त, क्रान्तिकारी, कम्युनिस्ट शक्तिहरूमाथि नयाँ उचाइको, सम्झौताहीन सङ्घर्ष अघि बढाउने, दलाल पुँजीवादी व्यवस्थाले लादेका सबै किसिमका अन्याय, जालझेल, षड्यन्त्र, अभाव र सङ्कटबाट देश र जनतालाई मुक्त पार्ने गहन जिम्मेवारी थपिएको छ । यसका लागि एउटा शक्तिशाली निर्णय गर्नैपर्ने र कार्यान्वयन गर्नैपर्ने अवस्था उत्पन्न भएको छ । सरकार क्रान्तिकारीमाथि विश्वासघात गरेर युद्ध लाद्न चाहन्छ भने क्रान्तिकारीहरू सम्झौता र सहमतिमा रुमल्लिइरहनु हुँदैन । दलाल पुँजीवादी सत्ताको रहर पूरा गरिदिनुपर्छ । दलालहरूको रहर पूरा गरिदिँदा श्रमिक उत्पीडित जनताको इच्छा र आवश्यकता पनि पूरा हुन्छ र देशका साथै जनता पनि मुक्त हुन्छन् । त्यसैले दलाल सत्ताले हिजो सहमति खोजेको समयमा सहमति गर्नु सम्पूर्ण हिसाबले नभए पनि एक हिसाबले सही थियो भन्ने मान्दै आज उसले आफैँले गरेको सहमति लत्याएर सङ्घर्षका लागि आह्वान गरेको समयमा उसको इच्छा पूरा गरिदिनुपर्छ । उसले सहमति उल्लङ्घन गरेको जनता र सबै पक्षले राम्ररी देखेका र बुझेका छन् । क्रान्तिकारीहरूका लागि पुरानो सत्ताले नै मुठभेडका लागि निम्तो दिने अवस्था एउटा अवसर पनि हो । राष्ट्रघाती र जनविरोधी सत्ताका कतिपय मूर्खतापूर्ण निर्णयहरूले नयाँ सम्भवना बोकेर आएको हुनसक्ने अवस्थालाई क्रान्तिकारी, माक्र्सवादीहरूले समयमै बुझ्नुपर्छ ।

जनयुद्धको प्रक्रियाबाट आएका पुष्पकमल दाहाल समूह, बाबुराम समूह, रामबहादुर थापाहरू यो वा ऊ बहानाले यही दलाल पुँजीवादमा भासिइसकेका छन् । नेत्रविक्रम चन्द समूह पनि क्रान्तिको नाउँ लिँदालिँदै केही धनदौलत जम्मा पारेपछि र केही पात्रको व्यवस्थापन मिलाएपछि क्रान्तिपट्टि पिठ्युँ फर्काएर यही सत्तालाई स्वीकार्दै वर्गसङ्घर्षबाट सुइँकुच्चा ठोकिसकेको छ । जनयुद्धबाट आएका दुईवटा शक्ति नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच क्रान्ति अघि बढाउने र दलाल पुँजीवादी सत्तालाई ध्वस्त पार्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्घोषका साथ पार्टी एकता संयोजन समिति बनेर एकताका लागि सकारात्मक वातावरण निर्माण हुनु क्रान्तिकारीहरूका लागि, जनताका लागि ठूलो खुसीको कुरा हो भने प्रतिक्रान्तिकारी, अवसरवादी र संसदीय संशोधनवादीहरूका लागि ईष्र्या र क्षतिको कुरा हो । त्यसैले मालेमावादीहरूका लागि क्रान्ति पूरा गर्ने कार्यभार समाल्नका लागि पनि क्रान्तिकारी ध्रुवीकरण र पार्टी एकता आवश्यक छ । एकताविरोधी तत्व र शक्तिहरूले विभिन्न बहानामा एकता भाँड्नका लागि दुरुत्साहन गर्न सक्छन् किनकि नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास सधैँ इमानदारहरूको नेतृत्वमा मात्र सञ्चालन भएको छैन । आन्दोलनहरूमा निरन्तर पुष्पलालहरू मात्र आएका छैनन्, मनमोहनदेखि रायमाझीसम्म र मोहनविक्रम, मदन भण्डारी हुँदै प्रचण्ड र नेत्रविक्रम चन्दसम्म पनि विभिन्न भेष धारण गरेर आएको नेपाली जनताले भोगिसकेका छन् । त्यसैले दलाल पुँजीवादी सत्ताले सहमति अवज्ञा गर्दै र सहमति नमान्ने निर्णय सार्वजनिक गर्दै एक किसिमले क्रान्तिकारीहरूलाई लडाइँका लागि चुनौती दिइरहेको सन्दर्भमा क्रान्तिकारी शक्तिहरू एक हुनुपर्छ, देश र जनतामाथि मडारिइरहेको अभाव, घात र अशान्तिको कालो बादल फार्दै मुक्त बनाउने महान् यात्रा आरम्भ गर्नुपर्छ । जनताका शत्रुहरूले क्रान्तिकारी शक्ति र जनतालाई दिएको यो चुनौतीको सामना गर्न तयार हुनुपर्छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :