थप विवादको चुलीमा कथित मदन पुरस्कार

पुरस्कार माक्र्सवादविरोधी ‘मिसन’ मा केन्द्रित रहेको वामपन्थी चिन्तकहरूको निष्कर्ष

थप विवादको चुलीमा कथित मदन पुरस्कार

समय समीक्षा

पृष्ठिका

दीक्षित परिवारका केही सदस्यले मदनशमशेर राणाको सम्पत्ति कब्जा गरेर आँखामा छारो हाल्न खोलेको कथित मदन पुरस्कार फेरि विवादमा तानिएको छ । नेपालका स्थापित प्रगतिशील स्रष्टाहरूले नै यो पुरस्कार स्थापनाको उद्देश्यमाथि प्रश्न उठाएपछि विगतदेखि उठ्दै आएको यो पुरस्कारको लक्ष्य र कामका बारेमा थप प्रश्नचिह्न लागेको हो । अग्रज महिलानेत्री एवम् प्रगतिशील स्रष्टा शान्ता श्रेष्ठ र वामपन्थी बुद्धिजीवी एवम् समालोचक गुणराज लोहनीले यसअघि नै मदन पुरस्कार गुठी, पुरस्कार र यसका कदमका बारेमा प्रश्न उठाइसकेका थिए । अब लेखक तथा वाम बुद्धिजीवी खगेन्द्र सङ्ग्रौला, डा. सुकुम शर्मा र डा. धनप्रसाद सुवेदीले पनि यो पुरस्कार कम्युनिस्टविरोधी अर्थात् माक्र्सवादविरोधी क्याम्प सञ्चालन गर्न खोलिएको तथ्य सार्वजनिक गरेका छन् ।

लेखक : अशोक सुवेदी

उठान

कुनै कृति वा कृतिकारको सिर्जनाको महत्वको कदर रकमको वजनमा गरिनु पुँजीवादको निकृष्ट उदाहरण हो । पुरस्कार प्रापकसँग अग्रीम रकम लिने र पुरस्कारको हल्ला पिटाएर बजार कब्जा गर्ने पुँजीवादी निकृष्ट चालले नेपाली बजार पनि अछुतो छैन । कुनै स्रष्टा वा कृतिलाई रकमको मोलमोलाइ गरेर वा प्रायोजन गरेर बजार कब्जा गर्नु भनेको शरीरको कुनै अङ्ग लिलाम गरेर सुन्दर देखिने कथित सुन्दरी प्रतियोगिताकै नयाँ तर भद्दा संस्करण हो । स्थापित, नवोदित र आफूलाई लेखक भनाउन रुचाउने प्रायः स्रष्टा÷लेखकहरू आफ्नो लेखनी, विचार र सिर्जनाको उचित सम्मान भएको रुचाउँछन् । यो स्वाभाविक पनि हो । सम्मानले स्रष्टा/सर्जकलाई थप प्रेरणा र हौसला प्रदान गर्छ । कुनै पनि सिर्जनाको सम्मान र कदर त्यसले समाजमा प्राप्त गरेको मान्यताको मूल्याङ्कन र सकारात्मक प्रभाव हो । तर नेपालको लेखनबजारमा केही व्यापारी, वैधअवैध धन्दा गर्ने पात्र वा संस्थाहरूले थुपारेको अवैध, मेहनतबिनाको, कालो धन तह लगाएर प्रशस्ती गाउने भजनमण्डली तयार पार्ने र हरियो घाँस देखाएर सधैँ दासहरू उत्पादन गर्ने थलोका रूपमा भ्रष्टीकृत भइरहेका छन् । नाम र दामको भोकले आफ्नो अस्तित्व मेटाएर र कलम–विचारलाई नै मारेर सधैँ निरीहता प्रदर्शन गरेर दाताको ढोकामा ढुक्न जाने लुब्धहरू पनि यस मामिलामा जिम्मेवार छन् । चरित्र र नैतिकता नै लिलाम भइसकेपछि कुनै दाताले पुरस्कारका नाउँमा फालिदिएको कलोले तिनको के नाम कहलिएला ? तिनका कृतिले त्यस्तो सकारात्मक प्रभाव के पार्लान् ? यो गहन अध्ययन, मनन र संश्लेषणको विषय हो ।

नेपाली लेखन बजारमा २०१० को दशकदेखि मदनशमशेर राणाको नाउँमा स्थापित मदन पुरस्कार गुठी, पुस्तकालय र पुरस्कार नाउँको संस्थाले यसैगरी प्रायोजित बजार बनाइरहेको छ र केही दासहरू उत्पादन गरेर र बिकाउ कलमहरूलाई किनेर योजनाबद्ध रूपमा नोबेल, ओस्कर, पुलित्जर, ग्रामी, म्यागासेसे, बुकरसँग तुलना गराउने गरेको छ । यो सर्वथा बेठीक छ । केही दशकदेखि उठ्दै आएको कथित मदन पुरस्कारमाथिको प्रश्न यस वर्षदेखि भने अलि ठूलै स्वरमा उठेको देखिएको छ । ढिलै भए पनि यो राम्रो भएको छ ।

आरम्भ

कुनै निश्चित प्रतियोगितामा भाग लिएर विजयी बन्ने वा उत्कृष्ट स्थान हासिल गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गरिन्छ तर यसका लागि खुला र पारदर्शी ढङ्गले निश्चित विधा, विधि, प्रणाली तय गरिएको हुन्छ । यसमा तोकिएको क्षेत्रबाट योग्यता वा क्षमता पुगेका व्यक्तिहरू नियमसङ्गत ढङ्गले विधिवत् शैलीले प्रक्रियामा सामेल हुन्छन् र निर्णायकहरूले निष्पक्ष रूपले परीक्षा वा प्रक्रियामा सामेल भएकाहरूको प्रतिभा र क्षमतालाई निश्चित अङ्क प्रदान गरी पुरस्कारका लागि प्रस्ताव गर्छन् । पुरस्कार प्राप्त गर्नु र सम्मान/अभिनन्दन प्राप्त गर्नु फरक कुरा हुन् । पुरस्कार जोकसैले प्राप्त गर्न सक्छ तर सम्मान, अभिनन्दन, मानपदवी जोकसै र जस्तासुकै व्यक्तिले जुनकुनै मानिसले प्राप्त गर्न सक्तैनन् ।

सामान्य अर्थमा पुरस्कार, सम्मान, अभिनन्दन, मानपदवी कुनै पनि व्यक्ति, व्यक्तित्व, कृति र कृतित्वको सम्मान र कदर हो । समाजमा कुनै राम्रो र अनुकरणीय काम गरेबापत राज्य र समाजले त्यस्ता व्यक्तिलाई प्रोत्साहन गर्न र समाजलाई नयाँ विचार र व्यवहार प्रदान गरेर अग्रगामी दिशामा डोहोर्याउन पुरस्कार र सम्मान प्रदान गर्ने प्रचलन छ । राजनीतिक, शैक्षिक, वैज्ञानिक, सांस्कृतिक, साहित्यिक, आर्थिक वा समाजसेवाका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्ति, व्यक्तित्व वा सिर्जनालाई पुरस्कृत गर्नु, अभिनन्दन गर्नु राम्रो कामको उचित सम्मान र थप नयाँ कामका लागि प्रेरणा दिनु हो । पुरस्कारले आर्थिक पक्षसमेत जोड्छ भने सम्मान र अभिनन्दनले आर्थिकभन्दा नैतिक सम्मानको पक्षलाई जोड दिन्छन् । उच्च र निःस्वार्थ भावनाका साथ प्रदान गरिने सम्मान, अभिनन्दन र पुरस्कारले व्यक्ति, व्यक्तित्व वा कृति र कृतित्वको गरिमा बढाउँछ भने निहित स्वार्थ राखेर गरिने सम्मान वा पुरस्कारले समाजलाई विकृत बनाउँछ ।

मदन पुरस्कारको सुरक्षित बाटो यथास्थितिको अनुमोदन हो : सङ्ग्रौला

शिखर मोहन

मदन पुरस्कार गुठीले वर्षभरि नेपाली भाषामा छापिएका र गुठीलाई प्राप्त भएका कृतिमध्ये एउटालाई पुरस्कार दिने गर्छ । भर्खरै गुठीले ०७८ को मदन पुरस्कारका लागि छानिएका आठ कृति सार्वजनिक गरेको छ । नेपालमा मदन पुरस्कार सर्वाधिक चर्चित छ । यस पुरस्कारका लागि छनोट सूचीमा पर्नुलाई मात्र ठूलो कुरा मानिन्छ ।

यो पुरस्कार प्रगतिशील वा वामपन्थी लेखकका लागि अलि अनुदार छ भन्ने चर्चा वामवृत्तमा सुनिँदै आएको हो । प्रस्तुत छ, यसै सन्दर्भमा रहेर लेखक तथा वाम बुद्धिजीवी खगेन्द्र सङ्ग्रौलासँग रातोपाटीकर्मी शिखर मोहनले गरेको वार्ता :

मदन पुरस्कारबारे यहाँको धारणा ?

मदन पुरस्कार नेपालमा स्थापित पुरस्कारहरूमध्ये पुरानो र ठूलो नाम भएको पुरस्कार हो । हामीकहाँ पुरस्कारको वजन सामान्यतया धनराशिले मापन गरिन्छ । सबै पुरस्कारका आफ्ना केही न केही सीमा हुन्छन्, पुरस्कार संस्थापक र कृति चयनकर्ताको जीवनदृष्टि अथवा स्वार्थले पुरस्कारको उद्देश्य निर्धारण गरेको हुन्छ । तिनै उद्देश्यभित्र रहेर कुनै पनि पुरस्कार वितरण गरिन्छ । मदन पुरस्कार मदनशमशेरको सम्पत्तिबाट स्थापित र दीक्षित परिवारद्वारा सञ्चालित छ ।

सामान्यता प्रगतिशील वा वामपन्थीका रूपमा चिनिएका कृतिकारहरू मदन पुरस्कार पाउन लायक ठहरिँदैनन् । यो मदन पुरस्कारको दृष्टि र प्रवृत्तिबाट निर्मित वामपन्थी बुझाइ हो । यदाकदा अपवाद होलान् तर सामान्यतया चिन्तन र सिर्जनाको वामपन्थका लागि मदन पुरस्कारको द्वार बन्द छ ।

मदन पुरस्कार पात्र वा कृति चयनमा जोखिम उठाउन डराउँछ । यसले सुरक्षित बाटो खोज्छ । यसको सुरक्षित बाटो त यथास्थितिको अनुमोदन हो । उदाहरण हो : कञ्चन पुडासैनी र राजेश्वर देवकोटा मदन पुरस्कार पाउन योग्य मानिनु तर विश्वेश्वरप्रसाद कोइराला र भूपि शेरचन पुरस्कारयोग्य नठानिनु ।

२) प्रगतिशील विचारधाराको नकारात्मक चित्रण गरेका कृतिले मदन पुरस्कार पाउँछन् त ?

यदाकदा एकदमै नग्न रूपमा त्यस्तो पनि देखिन्छ । उदाहरणमा ‘खलङ्गामा हमला एउटी नर्सको डायरी’ आउँछ । ज्ञानीहरू भन्छन्— यो बिल्कुल प्रायोजित लेखन हो, जसको प्रयोजन हो– विद्रोही र विद्रोहलाई बदनाम गर्नु । यो आशङ्का वा आरोपलाई पुष्टि गर्ने मूर्त सबुत छ–छैनन्, तथापि पुरस्कृत कृतिको प्रकृति र प्रवृत्तिले स्वभावतः यस्तो आशङ्का जगाउँछ ।

तपाईंको विचारमा नारायण वाग्लेको पल्पसा क्याफे के माओवादीविरोधी भएकाले पुरस्कृत भएको हो ?

पल्पसा क्याफे एउटा प्रयोगवादी उपन्यास हो । यसमा माओवादी विद्रोहको एक झलक प्रस्तुत छ र प्रमुख माओवादी पात्रको अवसानसँगै यो प्रकरण टुङ्गिन्छ । त्यसैले माओवादी विद्रोहको ध्येयलाई पल्पसा क्याफेले निषेध गरेको अर्थमा यसलाई बुझिएको छ । यो बुझाइको वामकोण हो । तर पल्पसा क्याफेको माओवादी प्रकरण उपन्यासको एक मात्र पक्ष होइन । यसका अनेक पक्ष छन् । यस प्रसङ्गमा एउटा कुराचाहिँ मलाई विचारणीय लाग्छ । त्यो हो— मदन पुरस्कारद्वारा नारायण वाग्ले पुरस्कृत भए, गम्भीर र सिद्धिप्राप्त साधक नारायण ढकालचाहिँ कहिल्यै पुरस्कृत भएनन् । किन होला ?

उडान

नेपाली साहित्य–संस्कृतिको समृद्धि र श्रीवृद्धिका लागि कयौँ पुरस्कार र सम्मान स्थापना गरिएका छन् । कयौँ सम्मान र पुरस्कार निजी स्रोत र व्यवस्थापनबाट सञ्चालन गरिएका छन् भने कयौँ संस्थागत र सरकारी स्तरबाट । श्रमिक वर्गबाट स्थापित कृष्णमणि पुरस्कारजस्ता कयौँ सम्मान आज पनि उत्तिकै ओज बोक्न सफल छन् । वर्गसमाजमा राजनीति, अर्थ, संस्कृतिजस्तै साहित्य पनि वर्गीय छ र यी क्षेत्रमा विभिन्न तप्काबाट राखिएका पुरस्कार र सम्मान पनि वर्गीय उद्देश्यबाट प्रेरित छन् । ‘अन्तरमनको यात्रा’ कृतिका लागि कथित ‘मदन पुरस्कार’ दिइएपछि एक टेलिभिजन अन्तर्वार्तामा स्रष्टा जगदीश घिमिरेले यो लेखकसँग भनेका थिए, ‘मदन पुरस्कार प्रगतिवादी स्रष्टालाई नदिइएको साँचो हो र नदिइनु उचित हो ।’ सोही विषयलाई अझै प्रस्ट पार्दै उनले भनेका थिए, ‘के इच्छुक पुरस्कार जगदीश घिमिरेले पाउँछ ?’ तुलनात्मक रूपमा प्रस्ट वक्ता घिमिरेको यो भनाइबाट पनि ‘निष्पक्ष’ भनेर थापिएका पुरस्कारका पसलहरूभित्र कति खतरनाक वर्गविरोधी योजना र षड्यन्त्रहरू हुँदा रहेछन् भन्ने बुझ्न कुनै कठिनाइ पर्दैन । सोही पुरस्कारको बदलास्वरूप दीक्षित परिवारले घिमिरेलाई कृष्णलाल अधिकारीको मकैको खेती पुस्तक सम्पादन गर्न लगायो र इतिहासको भ्रष्टीकरण गर्यो । कुनै दिन मकैको खेती पुस्तक कृष्णलालले नै लेखेका हुन् भनेर समीक्षा गर्ने कमलमणि दीक्षितले घिमिरेलाई मोहरा बनाएर उक्त कृति साहित्यिक थिएन, कृषिसम्बन्धी हिन्दी पुस्तकको अनुवाद मात्र थियो भनेर इतिहासलाई उल्टो घुमाउने धृष्टता गरेका छन् । कृष्णलाल अधिकारीलाई मकैको खेती पुस्तक लेखेकोमा भोजराज काफ्लेको उजुरीमा चन्द्रशमशेर राणाले जेल हालेपछि उनै कमलमणिका हजुरबा राममणि आदीलाई बनारसबाट झिकाएर नेपाल भाषा प्रकाशिनी समितिको अध्यक्ष बनाउनुका साथै मकैको खेती पुस्तकको भ्रष्टीकृत स्वरूप नेपाली कृषि शिक्षावली भाग १ नामको पुस्तक राममणि आदीकै नाममा छपाएका थिए । घिमिरेलाई सम्पादक बनाएर निकालिएको कृष्णलालको मकैको खेतीनामक पुस्तक सोही कृषि शिक्षावलीको परिमार्जित रूपबाहेक केही होइन । दीक्षित एन्ड घिमिरे समूहको यो षड्यन्त्रको भण्डाफोर गर्दै ‘नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती’ पुस्तक सम्पादन÷प्रकाशन गर्ने यस लेखकलाई दीक्षितले मुद्दा हाल्नेलगायत विभिन्न किसिमका धम्कीसमेत दिएका थिए । यस घटनाबाट पनि के प्रमाणित हुन्छ भने पुरस्कारभित्र कति ठूलो राजनीति र षड्यन्त्र लुकेको हुँदो रहेछ !

युद्धप्रसाद मिश्र र इच्छुक मात्र यस्ता सज्जन र वर्गप्रतिबद्ध स्रष्टा हुन् जसले कहिल्यै बदनाम पुरस्कार थापेनन् । दिवंगत प्रगतिशील स्रष्टा एवम् प्रलेसका संस्थापक श्यामप्रसाद लामिछाने शर्माले वर्गविरोधी संस्थाले दिएको बदनाम पुरस्कार थापेकै कारण हिजो कुनै समयसम्म केही प्रगतिशील चरित्र बोकेको संस्था प्रलेसले नै विवादित बनेर फुट र बहिष्कारको पीडा खप्नुपरेको थियो (भलै यो संस्थाले अहिले त्यो चरित्र गुमाएर विघटित पनि बनिसकेको छ) मोदनाथ प्रश्रित पनि बदनाम पुरस्कार थापेकै कारण आजसम्म आलोचित छन् । यद्यपि प्रश्रित अहिले प्रगतिशील क्याम्पबाट पूरै बाहिरिइसकेका छन् ।

मदन पुरस्कार, सीताराम पुरस्कार, मोती पुरस्कार, लुनकरणदास चौधरी पुरस्कारलगायत यस किसिमका बदनाम पुरस्कार हुन् । यी पुरस्कारले धनीमहाजनको स्तुतिगान गर्न मात्र लगाउँदैनन्, पुरस्कार र धनराशिको मोहमा पारेर तिनले समाजमा गरेका अनैतिक क्रियाकलाप र लूटमाथि आँखा चिम्लिन बाध्य पार्छन् । प्रश्रितको ‘गौँथलीको गुँड’ काण्ड यसको राम्रो उदाहरण हो ।

नेपाली साहित्यको क्षेत्रमा दीक्षित परिवारद्वारा सञ्चालित कथित मदन पुरस्कार गुठी र उक्त गुठीका नाममा दिइने कथित ‘मदन पुरस्कार’ पनि आफैँमा विवादित, यस्तै बदनाम संस्था र पुरस्कार हुन् । दीक्षित परिवारको जीहजुरी गर्ने, तिनको गुनगान गाउने र माक्र्सवादका विरुद्ध योजनाबद्ध रूपमा लागेका व्यक्ति/कृतिहरूले नै उक्त पुरस्कार नाउँको यो हरियो घाँस पाउने गरेको इतिहास कतैबाट छिपेको छैन । माक्र्सवादी बन्नुपूर्वका पारिजात र मोदनाथ प्रश्रितको नाउँ हटाइदिने हो भने यो हरियो घाँसको टाट्नामा बाँधिनेहरू सबै कम्युनिस्टविरोधी मात्र छन् र कथित पुरस्कार पाएका कृतिहरू माक्र्सवादविरुद्ध, प्रतिगमनका पक्षधर र यथास्थितिवादी मात्र छन् ।

२०७२ सालअघि यो घाँस थाप्ने तीन व्यक्ति र कृतिका बारेमा माक्र्सवादी समालोचक गुणराज लोहनी भन्छन्, ‘नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’, महेशविक्रम शाहको कथासङ्ग्रह ‘छापामारको छोरो’ र राधा पौडेलको एउटी नर्सको डायरी ‘खलङ्गामा हमला’ जनयुद्धलाई मात्रै आधार बनाएर रचिएका कृतिहरू हुन् । फरकफरक विधाका यी तीनवटा कृति जो विशुद्ध माओवादी जनयुद्धका विरुद्ध लेखिएका छन्, यिनैले नेपालको नोबेल पुरस्कार भनेर चिनिने मदन पुरस्कार प्राप्त गरेका छन् ।’

नयाँ संस्कृति (अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय प्रकाशन), वर्ष २४, अङ्क ३, २०७३, पृ. ६५–६७ ।

मदन पुरस्कार गुठी, सीताराम प्रसाईं, अरू खेतान वा चौधरी समूहले प्रदान गर्ने पुरस्कारजस्तै राजस्वमारा एनसेलले गर्ने लिटलेरी फेस्टिबल यस्तै नकारात्मक घटनाको सटिक उदाहरण हो । अर्को नकारात्मक उदाहरणका रूपमा तानाशाह ज्ञानेन्द्र शाहलाई गीतकारका रूपमा महिमामण्डित गर्ने पात्र व्याकुल माइला गणतन्त्र र सङ्घीय नेपालको राष्ट्रिय गीतका रचनाकार घोषित हुनु र देश वर्गसङ्घर्षको उच्च प्रक्रिया जनयुद्धमा अघि बढिरहेको र श्रमिक जनताले मुक्तिका लागि सामन्ती शासनका विरुद्ध धरतीमा रगत रोपिरहेको समयमा ज्ञानेन्द्र शाहले सत्ताको दुरुपयोग गरेर राजभक्त माधव घिमिरेलाई कथित ‘राष्ट्रकवि’ को पगरी गुथाउनुलाई लिन सकिन्छ । इच्छुकको हत्यामा संलग्न विक्रम थापा र अमरसिंह शाह, जनआन्दोलन दमन गर्ने दुर्जकुमार राई, दोरम्बा हत्याकाण्डका खलनायक शाहीसेनाका मेजर राममणि पोखरेलहरूले उन्मुक्ति मात्र होइन, बढुवा र प्रोत्साहनसमेत पाउनु पुरस्कार र सम्मानको दुरुपयोगका अरू दृष्टान्त हुन् । यस्ता सयौँ दृष्टान्त दिन सकिन्छ ।

महान् सांस्कृतिक सहिद कृष्ण सेन इच्छुकका नाममा स्थापित र कुनै बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कमरेड मोहन वैद्य संरक्षक रहेको इच्छुक सांस्कृतिक प्रतिष्ठान र इच्छुक पुरस्कार प्रतिष्ठानकै तत्कालीन अध्यक्ष ज्ञवाली प्रतिष्ठानको अपारदर्शी आर्थिक कारोबारमा लिप्त भएको भन्दै अख्तियारले प्रतिष्ठान कार्यालय नै छापामारेर अनुसन्धान थालेको, हिजोको ओज बोक्न नसकेर थलापरेको र त्यही भ्रष्टाचार लुकाउन नेकपा क्रान्तिकारी माओवादीबाट भागेर प्रचण्डको ओत लाग्न गएको गुनासो सुनिँदै आएको छ ।

कथित मदन पुरस्कार प्राप्तकर्ताहरू

सत्यमोहन जोशी (२०१३, २०१७ र २०२८), चित्तरञ्जन नेपाली (२०१३), सिर्जना कँडेल, लीलाध्वज थापा, करुणाकर वैद्य, कृष्णचन्द्रसिंह प्रधान, गङ्गाविक्रम सिजापति, नित्यराज पाण्डे, भीमनिधि तिवारी, शिशिर कँडेल, गोपालप्रसाद रिमाल, कोमलनाथ अधिकारी, जनकलाल शर्मा, बालकृष्ण पोखरेल, मुकुन्दशरण उपाध्याय, नवराज चालिसे, लक्ष्मीबहादुर बिस्ट, पारिजात (शिरीषको फूल), उत्तम कुँवर, मोदनाथ प्रश्रित (मानव महाकाव्य), शङ्कर लामिछाने, ग्रीष्मबहादुर देवकोटा, पारसमणि प्रधान, धर्मराज थापा, तारानाथ शर्मा, महानन्द सापकोटा, स्थिरजङ्गबहादुर सिंह, बिहारीकृष्ण श्रेष्ठ, डा. चूडामणि बन्धु, प्रदीप रिमाल, ईश्वर बल्लभ, धनबज्र बज्राचार्य, भवानी भिक्षु, डा. वासुदेव त्रिपाठी, धनुषचन्द्र गौतम (धच गोतामे), डा. छविलाल गजुरेल, जगदीशशमशेर राणा, मोहन कोइराला, मदनमणि दीक्षित, डा. ध्रुवचन्द्र गौतम, कञ्चन पुडासैनी, मोहनराज शर्मा, नयराज पन्त, राजेश्वर देवकोटा, दौलतविक्रम बिस्ट, डा. राजेश गौतम, युजनराज भण्डारी, सरुभक्त, डा. भवेश्वर पंगेनी, शरदचन्द्र शर्मा भट्टराई, फादर विलियम बार्क, विनोदप्रसाद धिताल, डा. दयाराम श्रेष्ठ, लोकेन्द्रबहादुर चन्द, डा. केशवप्रसाद उपाध्याय, बुद्धिनारायण श्रेष्ठ, हरिराम जोशी, रेवतीरमण खनाल, गोपाल पराजुली, नारायण वाग्ले, कृष्ण धराबासी, महेशविक्रम शाह, जगदीश घिमिरे, युवराज नयाँघरे, नरबहादुर साउद, झमक घिमिरे, अमर न्यौपाने, राजन मुकारुङ, राधा पौडेल, विजय पाण्डे, रामलाल जोशी, घनश्याम कँडेल, निलम कार्की निहारिका आदि ।

के प्रगतिवादी लेखनप्रति मदन पुरस्कारले पूर्वाग्रह राख्छ ?

मदन पुरस्कार गुठीले भर्खरै ०७८ को मदन पुरस्कारका लागि छानिएका आठ कृति सार्वजनिक गरेको छ । छनोट प्रयोजनका लागि आफूलाई दुई सय ९९ कृति प्राप्त भएको, यीमध्ये आठ कृति छनोट गरिएको र छानिएकामध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष ०७८ को मदन पुरस्कार दिइने गुठीले जनाएको छ ।

वर्ष ०७८ का लागि छानिएका कृति हुन्– डा. नवराज लम्सालको ‘अग्नि’, डा. दामोदर पुडासैनी ‘किशोर’ को ‘ग्रीष्मको नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, प्रा. नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती : इतिहास र मीमांसा’ र पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’ ।

नेपाली कृति (आख्यान वा गैरआख्यान) लाई दिइने पुरस्कारमध्ये मदन पुरस्कार सर्वाधिक चर्चित छ । पछिल्लो समय, यस पुरस्कारको छनोट सूचीमा परेका कृतिले चर्चा पाउन थालेका छन् ।

मदन शमशेरको सम्पत्तिबाट स्थापित र दीक्षित परिवारद्वारा सञ्चालित यस पुरस्कार २०१३ सालदेखि दिन थालिएको हो । २०७७ सम्म आइपुग्दा यस पुरस्कारबाट ७४ कृति पुरस्कृत भएका छन् । वामवृत्तमा सुनिन्छ, यो पुरस्कार प्रगतिशील वा वामपन्थी लेखकका लागि अलि अनुदार छ ।

लेखक तथा वाम बुद्धिजीवी खगेन्द्र सङ्ग्रौलाको विचारमा, सामान्यतः प्रगतिशील वा वामपन्थीका रूपमा चिनिएका कृतिकार मदन पुरस्कार पाउन लायक ठहरिँदैनन् । ‘यो मदन पुरस्कारको दृष्टि र प्रवृत्तिबाट निर्मित वामपन्थी बुझाइ हो । यदाकदा अपवाद होलान् तर सामान्यतः चिन्तन र सिर्जनाको वामपन्थका लागि मदन पुरस्कारको द्वार बन्द छ’, सङ्ग्रौला भन्छन्, ‘यस पुरस्कारले यथास्थितिको अनुमोदन गर्छ ।’

यस पुरस्कारले पुरस्कृत पात्र वा कृति चयनमा जोखिम उठाउन डराउने सङ्ग्रौला बताउँछन् । उनको बुझाइमा यो पुरस्कार कहिलेकहीँ प्रगतिशील विचारधारा र विद्रोहलाई बदनाम गर्न नग्न रूपमा उभिएको पनि छ । ‘खलङ्गामा हमला एउटी नर्सको डायरी’ लाई उदाहरण मान्न सकिन्छ । ज्ञानीहरू भन्छन्— यो बिल्कुल प्रायोजित लेखन हो जसको प्रयोजन हो– विद्रोही र विद्रोहलाई बदनाम गर्नु’, सङ्ग्रौला भन्छन्, ‘यो आशङ्का वा आरोपलाई पुष्टि गर्ने मूर्त सबुत छ÷छैनन् तथापि पुरस्कृत कृतिको प्रकृति र प्रवृत्तिले स्वभावतः यस्तो आशङ्का जगाउँछ ।’

मदन पुरस्कार पुस्तकालयका कर्मचारी राजीव सिंहका अनुसार, यो पुरस्कार नितान्त नेपाली भाषामा लेखिएको मौलिक र उच्च कोटिको ग्रन्थलाई दिइन्छ । ‘वर्षभर लेखिएका र गुठीमा दर्ता हुन आएका साहित्य, ज्ञान–विज्ञान, विकास–उन्नति जुनसुकै विषयको उत्कृष्ट कृतिले यो पुरस्कार पाउँछ’, उनी भन्छन्, ‘तर विचारधाराको कसी बनाइँदैन । प्राप्त पुस्तक समितिले अध्ययन गर्छ । विभिन्न पाठकको प्रतिक्रिया बुझ्छ । अनि उत्कृष्ट ठहरिएको कृतिलाई पुरस्कार दिने गरिएको छ ।’

नेपाली साहित्यमा पुरस्कार दिने प्रचलन सुरु नै नभएको, एक प्रकारले खडेरीको अवस्थामा स्थापना भएको र निजी क्षेत्रको सबैभन्दा बढी धनराशिको पुरस्कार भएकाले यो पुरस्कार बढी चर्चित हुन पुगेको बताउँछन् अखिल नेपाल लेखक सङ्घका अध्यक्ष डा. धनप्रसाद सुवेदी । ‘सुरुसुरुमा यो पुरस्कार राम्रै कृतिहरूलाई पनि दिइएको पाइन्छ’, सुवेदी भन्छन्, ‘वैचारिकता एकातिर छ, साहित्यिक मूल्यका दृष्टिले हेर्दा केही राम्रै सिर्जनाले र केही खोजमूलक कृतिले यो पुरस्कार पाएका छन् । पछिल्लो समय भने त्यो स्तरलाई कायम गरेको देखिँदैन ।’

वैचारिक दृष्टिले हेर्दा प्रगतिशील खेमाबाट साहित्य लेख्ने गोपालप्रसाद रिमाल (आमाको सपना), रमेश विकल (नयाँ सडकको गीत), मोदनाथ प्रश्रित (मानव) जस्ता सीमित स्रष्टाका कृतिले मात्रै यो पुरस्कार पाएको देखिन्छ । ‘यसबाट पनि यस पुरस्कारको वैचारिक पक्षधरता प्रस्ट हुन्छ’, डा. सुवेदी भन्छन् । पुरस्कारको पृष्ठभूमि र उद्देश्य नै फरक रहेकाले प्रगतिवादी लेखकले यसको अपेक्षा गर्नु उचित नहुने उनको बुझाइ छ । ‘कम्युनिस्ट विचारधारालाई विद्रूपीकरण र अवमूल्यन गरेका कति कृतिलाई यो पुरस्कार दिइएको छ’, उनी भन्छन्, ‘पल्पसा क्याफे, खलङ्गामा हमला आदि यसका उदाहरण हुन् । दमिनी भीर उपन्यासले पनि कम्युनिस्ट विचारधाराप्रति वितृष्णा व्यक्त गरेको छ ।’
माक्र्सवादी समालोचक गुणराज लोहनीका अनुसार नारायण वाग्लेको ‘पल्पसा क्याफे’, महेशविक्रम शाहको ‘छापामारको छोरो’ र राधा पौडेलको ‘खलङ्गामा हमला एउटी नर्सको डायरी’ जनयुद्धलाई मात्रै आधार बनाएर रचिएका कृति हुन् । प्रगतिवादी कोणबाट हेर्दा विरोधी वैचारिक धाराको कृतिलाई यो पुरस्कार दिइएको देखिन्छ ।

मदन पुरस्कार पाएपछि लेखक स्थापित हुन्छ भन्ने पनि धारणा र मान्यता छ । समालोचक डा. सुकुम शर्मा भने मदन पुरस्कार पाउने सबै कृति स्तरीय नहुने धारणा राख्छन् । ‘सत्यमोहन जोशी, शङ्कर लामिछाने, पारिजात, ध्रुवचन्द्र गौतमजस्ता धेरै लेखकले यो पुरस्कारको गरिमा बढाएका छन्’, डा. शर्मा भन्छन्, ‘यो पुरस्कार नपाएका कतिपय लेखकले यो पुरस्कारबाट पुरस्कृत कृतिभन्दा उत्कृष्ट कृति लेखेर आफ्नो युग बनाएका छन् ।’

मदन पुरस्कार गुठीको आफ्नै मान्यता वा विचारधारा रहेको र त्यससँग बाझिने विचारधारा राख्ने कृतिलाई यो पुरस्कार नदिएको पाइएको डा. शर्माको बुझाइ छ ।

यी पात्रहरूको नाम सरसर्ती मात्र अध्ययन गर्ने हो भने पनि कथित मदन पुरस्कार कसकसले पाएका रहेछन् र तिनलाई किन यो हरियो घाँस खुवाइयो होला भन्ने अनुमान गर्न कुनै गाह्रो पर्दैन । स्थापनादेखि यतिबेलासम्म अधिकांश तत्कालीन सत्ताका प्रशंसक, भाट, ब्राह्मण समुदायका र दीक्षित परिवारका आसेपासेहरूलाई मात्र यो हरियो घाँस खुवाएको देखिन्छ । कथित मदन पुरस्कार प्राप्त कृतिकार र कृतिका बारेमा चर्चा गर्दै समालोचक गुणराज लोहनी भन्छन्, ‘शैलीशिल्पका हिसाबले नारायण वाग्ले र राधा पौडेलको मदन पुरस्कार पाउने हैसियत हैन । जुन कुरा उनीहरूको लेखनबाट पनि स्पष्ट हुन्छ । यी दुईजनालाई लेख्न कतैबाट प्रेरित गरिएको हो भन्न सकिन्छ । राधाको डायरीलाई त नेपा लयले पूरै सम्पादन गरिदिएको कुरा बाहिर पनि आएको थियो । महेशविक्रम एकजना पुलिस अधिकृत हुन् । उनी आफैँ माओवादी जनयुद्धलाई दमन गर्न खटिएका थिए । उनको कमान्डले कतिजना निर्दोष जनतालाई मार्यो होला ! कति बेपत्ता भए होलान् ! अङ्गभङ्ग भए होलान् ! कैयौँ महिला बलात्कृत भए होलान् ! प्रतिक्रियावादी पुरानो सत्ताको नुनपानी खाने तर नयाँ सत्ताको गुणगान गाउने कुरा उनको हिम्मत र हैसियतभन्दा बाहिरको कुरा थियो । त्यसैले महेशविक्रम शाहले जनयुद्धलाई विद्रूपीकरण गर्नु उनको कर्तव्य नै थियो तर आफू निष्पक्ष पत्रकार र जनताको स्वास्थ्य सेवा गर्ने भन्न रुचाउने नारायाण वाग्ले र राधा पौडेलले विद्रूपीकरण गर्नुका पछाडि कुनै कारण रहेको अवश्य छ । यिनै साहित्यहरूले अहिले मदन पुरस्कार पाउन थालेका छन् । मदन पुरस्कार दिने संस्था जसको पकडमा छ, उनीहरू निगम पुँजीवादका नेपाली प्रतिनिधि मात्र नभएर संस्थापक पनि हुन् । साहित्यमा कुनै योगदान नभएका राणा परिवारका सम्भ्रान्त सन्तानहरूको नामबाट गुठी सञ्चालन गरिएको मदन पुरस्कारको स्थापनाकालदेखि नै तत्कालीन सत्ताको भजनकीर्तन गर्नेहरूलाई उक्त पुरस्कारले सुशोभित गरिन्थ्यो । विगत ६१ वर्षदेखि अ–साहित्यबाहेक सबै साहित्यिक रचनाहरू समकालीन राजनीतिक संरचनाको पक्षपोषण गरेका थिए । उदाहरणका लागि २०४५ सालमा पञ्चायतविरुद्ध भीषण आन्दोलन भइराखेको परिवेशमा पञ्चायती व्यवस्थाका विरोधी काङ्ग्रेस र कम्युनिस्टहरूका विरुद्धमा राजेश्वर देवकोटाद्वारा लेखिएको उपन्यास ‘उत्सर्ग’ लाई यो पुरस्कार दिइएको थियो । प्रगतिशील सशक्त महिला हस्ताक्षर पारिजातलाई नै मन नपरेको र च्यातिदिनू भनिएको विशुद्ध यौनमनोविज्ञानमा आधारित उपन्यास ‘शिरीषको फूल’ लाई २०२२ सालमा मदन पुरस्कार दिइएको थियो । यसरी मदन पुरस्कार गुठीले पञ्चायतकालमा पञ्चायती व्यवस्थाको, संसदीय व्यवस्थाको स्थापनापश्चात् उक्त व्यवस्था र पछिल्लो दलाल पुँजीवादी व्यवस्थाको पक्षपोषण गर्ने साहित्य, खोज, अनुसन्धानलाई पुरस्कृत गर्दै आएको छ ।’

नयाँ संस्कृति, ऐ.

कथित मदन पुरस्कार दिने वा प्राप्त गर्ने प्रणालीका बारेमा अझै पनि अध्येताहरूले गहन र मिहीन अध्ययन गरेको पाइँदैन वा गरेर पनि तथ्यहरु लुकाएर सार्वजनिक गर्ने हिममत गरेका छैनन् किनकि यो हरियो घाँसले अध्येताहरूको घ्राणशक्ति पनि कमजोर बनाइदिएको छ । देखिनु र हुनुको अन्तरविरोध यहाँ पनि राम्रैसँग देखिन्छ । हरियो घाँसले मानिसलाई कतिसम्म क्रूर, निर्विवेकी र मूर्ख बनाउँदो रहेछ भन्ने उदाहरणका लागि धेरै टाढा जानै पर्दैन । आफूलाई क्रान्तिकारी र आमूल परिवर्तनकारी भन्न रुचाउने केही संस्कृतिकर्मीहरूले बुर्जुवा प्रज्ञाप्रतिष्ठानहरूमा जान आफ्नै कमरेडहरूसँगसमेत लुकेर/लुकाएर र पार्टी एचक्यूको आदेशसमेत अटेर गरेर रातारात गरेको गुटबन्दी, दौडधूप, हसिनपसिन अनि बुर्जुवा सत्ताले लोप्पा ख्वाइदिएपछि देखिएको ‘हिस्स हर्के, हरिया दाँत’ को अवस्था हामीले नै भोगेको धेरै लामो समय भएको छैन । यही अवस्था हामीले प्रलेस नामको यथास्थितिवादी संस्थामा पनि भोगेका हौँ । सहिदका नाउँमा स्थापित संस्थाहरुमा समेत यस्तो देखिएको हो ।

यिनै र यस्तै कारणले हुनसक्छ, मदन पुरस्कार नामको यो पुरस्कार र यसका दाताहरूको अन्तर्यका बारेमा पनि खासै गहन खोज, आलोचना र टिप्पणी भएको पाइँदैन किनकि केही मिडियाका पात्रहरू किनेर वा भोज खुवाएर यसलाई ‘नेपालको नोबेल पुरस्कार’ भन्न लगाइएको छ । समालोचकहरू इतिहास खोज्न र पर्गेल्नेतिर उत्साहित देखिँदैनन् किनकि उनीहरूलाई पनि विरोधमा लेख्दा वा सत्य उजागर गर्दा हरियो घाँसबाट कटिएला कि भन्ने चिन्ता छ । भाट स्रष्टाहरू त भजन गर्नतिर लाग्ने नै भए, बर्सेनि प्रतिगामीहरूको कुम्भमेला आयोजना गरेर प्रदान गरिने यो हरियो घाँस खोसिने हो कि भन्ने चिन्ताले यथार्थ बक्न नपाउँदै जीवन ओरालो लागेको स्रष्टाहरूलाई पत्तै हुँदैन ।

कथित मदन पुरस्कार पाउने कृतिकार र कृतिका बारेमा लोहनी अगाडि लेख्छन्, ‘२०६२ सालदेखि अहिलेसम्म २०६८ सालमा झमककुमारीको ‘जीवन काँडा कि फूल’ लाई छाडेर जति पनि मदन पुरस्कार पाएका छन्, ती सबै रचना खोज–अनुसन्धानका नाममा राजा–महाराजाका इतिहास, पुरुषार्थ, विकृत संसदीय व्यवस्थामा सामेल पार्टी वा सङ्गठनका इतिहास, आदर्शवादी दर्शनको प्रचारप्रसार र गुणगान गाएका कृतिहरू पुरस्कृत भएका छन् । त्यसैले अहिलेसम्मको परिघटनालाई नियाल्ने हो भने मदन पुरस्कार पाएका उत्कृष्टमा दरिनुको साटो प्रतिगमन र यथास्थितिवादको दलाली, गुलामी गर्नेहरूमा बदनाम हुन पुगेका छन् । त्यसैले २०६२ देखि २०७३ सम्मका जनयुद्धकाल र शान्तिप्रक्रियाको अवधिमा हिजोकै विरासतलाई निरन्तरता दिँदै जनयुद्धविरुद्ध सबैभन्दा बढी विषवमन गर्न सक्ने प्रतिगामी लेखनपद्धतिका ‘पल्पसा क्याफे’, ‘छापामारको छोरो’, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’, युवराज नयाँघरेको ‘एक हातको ताली’, राजन मुकारुङको ‘दमिनी भीर’, राधा पौडेलको ‘खलङ्गामा हमला’, विजयकुमारको ‘खुशी’ र रामलाल जोशीको ‘ऐना’ मदन पुरस्कारद्वारा सुशोभित भएका छन् । यीमध्ये राजन मुकारुङ वामपन्थी विचार राख्छन्, बाँकी सबै सामन्ती राजतन्त्रका पक्षपाती हुन् । मदन पुस्कार पाएका बाहेक पनि अन्य थुपै कृतिहरू छन्, जो जनयुद्धका विरुद्धमा लेखिएका छन् । जनगदीश घिमिरेको ‘सकस’, नारायण वाग्लेका ‘मयुर टाइम्स’, शारदा शर्माको ‘ताप’, बुद्धिसागर न्यौपानेको ‘कर्णाली ब्लुज’, महेशविक्रम शाहको ‘सिपाहीकी स्वास्नी’ गोविन्द वर्तमानको ‘सो¥ह साँझ’ जनयुद्धविरुद्ध प्रायोजनसहित आलेखनको पूर्वतयारीमा सिर्जित साहित्यिक कृति हुन् ।’

लोहनी, नयाँ संस्कृति ऐ.

कुनै समयमा तारानाथ शर्माको नाउँ हक्की समालोचकका रूपमा आउँथ्यो । जतिबेलबसम्म उनी माक्र्सवादका पक्षपाती थिए, उनले बालकृष्ण समको चिसो चुलोलाई नेपाली साहित्यको झुसिलो डकारसम्म पनि भन्न भ्याए तर उनै शर्मा पछि गएर राजभक्त बने । उनको विचारसँगै समालोचक कलम पनि मर्यो । त्यसपछि डा. बराल निकै खरो समालोचकका रूपमा अघि आएका थिए । यतिबेला उनी कहाँ छन्, बत्ती बालेर खोज्नुपर्ने अवस्था उत्पन्न हुँदै गएको छ ।

कथित मदन पुरस्कार राणा शासक परिवारका मदनशमशेर राणा र उनकी श्रीमती जगदम्बाको श्रीसम्पत्ति कर, बल, छल कब्जा गरेर आँखामा छारो हाल्न गरिएको कसरत मात्र हो । दीक्षित परिवारले आफ्नो सबै सम्पत्ति हत्याइसकेपछिको ‘रानी’ जगदम्बाको अवस्थाबारे चित्रण गर्दै निर्भीक लेखक एवम् महिला आन्दोलनकी अगुवा शान्ता श्रेष्ठ भन्नुहुन्छ, ‘दीक्षित परिवारले सम्पत्ति कब्जा गरेपछि र मदनशमशेरको मृत्यु भइसकेपछि जगदम्बाको आर्थिक अवस्था अत्यन्त नाजुक भयो । उनलाई साँझबिहान टार्न पनि धौधौ भयो । अशक्त अवस्थामा दीक्षित परिवारले उनलाई घरबाहिर निस्कन पनि दिएन । त्यत्रो सम्पत्ति हडपेका दीक्षित परिवारले राम्रो खानलाउन र उपचार गर्ने वातावरणबाट वञ्चित राखेकै समयमा जगदम्बाको कन्तबिजोगपूर्ण मृत्यु भयो । यो कुरा म त्यहाँ जाँदा पनि देखेकी थिएँ र दीक्षित परिवारको एउटा भान्सेले पनि मलाई घरमै आएर बताएको थियो ।’

(श्रेष्ठसँगको कुराकानीमा आधारित)

कथित मदन पुरस्कारका बारेमा पछिल्लो समयमा सञ्चारमाध्यम र विशेषतः रातोपाटी अनलाइनमा आएको बहसलाई थप बहसबाट सत्य र तथ्य पर्गेल्न सहज होस् भन्ने उद्देश्यले यहाँ जस्ताको तस्तै राख्ने अनुमति माग्छु ।

(सामान्य सम्पादन र थपघटसहित पुनः प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :