कथित कम्युनिस्ट नेता र पार्टीविरुद्ध विद्रोह बोलौँ !

आज हाम्रो देशका राष्ट्रिय भनिएका पार्टी र तिनका मुख्य–मुख्य नेताहरू कमरेड आजाद खड्काले भन्नुभएजस्तै फटाहा र गद्दार भैसकेका छन् ! तर तिनीहरूका विरुद्धमा वैचारिक–राजनीतिक सङ्घर्ष गरेर तिनलाई रूपान्तरण गर्न सकिन्छ भन्ने एउटा मृगतृष्णा उहाँलगायत यी पार्टीका थुप्रै ठूला–साना नेता–कार्यकर्ताहरूमा व्याप्त छ । के ती साँच्चै रूपान्तरण हुन्छन् त ? हुने भए त माकेभित्र गुरुङहरूले, एसभित्र झलनाथहरूले, एमालेभित्र भीम–घनहरूले र बाबुरामभित्र डम्बर खतिवडाहरूले कम्ती गरेका हुन्÷छन् र यस्तो सङ्घर्ष ? खोइ त रूपान्तरण भएका यी लाउके नेताहरू ? प्रचण्ड, माधव, केपी, बाबुरामलगायत यी हठी र दम्भी युद्धसरदार बनेका नेताहरू त झन्पछि झन् साम्राज्यवादी–विस्तारवादीहरूको दलाली गर्दै र नेपाल राष्ट्र, नेपाली जनता र नेपाली क्रान्तिप्रति गद्दारीस्वरूप अन्ततः वर्ग, वर्गसङ्घर्ष, वर्गीय विचार, भावना, व्यवहारलगायत आफ्ना घोषित मूल्य–मान्यता र प्रण–प्रतिबद्धताहरूलाई पूराका पूरा बिर्सेका र विसर्जन गरेका छन् । यति मात्र होइन, यिनीहरू नै अहिले त कम्युनिस्ट पार्टी, आन्दोलन र क्रान्ति एवम् राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान, स्वत्व र अस्तित्व नै समाप्त पार्ने दिशामा म्याराथन दौडको प्रतिस्पर्धामा पो छन् त ?! यसरी यी नेताहरूले यतिबेला त साम्राज्यवादी–प्रतिक्रियावादीहरूको प्यारो बन्ने र उनीहरूको पक्का प्यादा भएको प्रमाणपत्रस्वरूप नोबेल पुरस्कारलगायत प्रतिक्रियावादी पुरस्कारहरू पनि प्राप्त गर्ने लक्ष्य–उद्देश्यमा अर्जुनदृष्टि लगाइरहेका छन् ! त्यसैले प्रस्ट छ, प्रतिक्रियावादीहरूबाट पाउने पद/पावर, पैसा, प्रशंसा, पुरस्कार र प्राणजस्ता पाँच प जन्य तुच्छ कुराहरूका भीक्षाका निम्ति नितान्त लोभी, लाचार र कायर बनेर वर्गीय र राष्ट्रिय दुस्मनहरूसँग पूर्णरूपेण आत्मसमर्पण गरिसकेका छन् । यी नेता भनाउँदा घातकी र पातकीहरूले वर्गवैरीहरूसँग नेपाल राष्ट्र र कम्युनिस्ट आन्दोलनलाई विभाजन, विघटन र विसर्जन गर्ने लिखित कसमसमेत खाएका कुराहरू यत्र–तत्र–सर्वत्र सार्वजनिक छन् ! यसरी यी नेता भनिएकाहरू पूर्णतः दलाल र गद्दार बनिसकेकाले यी टाउके नेताहरूमा र यिनले नेतृत्व गरेका पार्टी/गिरोहहरूमा रूपान्तरणको रत्तिभर पनि गुन्जाइस छैन ।

खासगरी MCC, SPP र नागरिकता विधेयक स्वीकृत गर्नेसम्मको हालको यो अवस्थामा आइपुग्दा त उल्लिखित पार्टीहरूभित्र न्याय, समानता, स्वतन्त्रता, क्रान्ति, मुक्ति र प्रगतिका लागि उल्लेख्य सङ्घर्ष गरिरहेका उक्त नेताहरूले आफ्ना लागि, देशका लागि र शोषित–पीडित जनसमुदायका लागि विद्रोह गर्नेबाहेकको उत्तम विकल्प अर्को त छँदैछैन । अझ यो विद्रोह त उल्लिखित कथित राष्ट्रिय पार्टी भनिएका सरकार र संसद्मा भएका संसद्वादी पार्टीहरूमा मात्र होइन; सडकमा रहेका राष्ट्रवादी र क्रान्तिकारी भनिएका त्यागी, तपस्वी, स्वच्छ र सिद्धान्तनिष्ठ गनिएकाहरूले समेत यति लामो अवधिसम्म पनि चरम राष्ट्रघाती MCC, SPP, नागरिकता विधेयकजस्ता राष्ट्रियतासँग सम्बन्धित दीर्घकालीन महत्वका गम्भीर र संवेदनशील विषयहरूलाई सरकार र संसद्ले हठात् र बलात् अवलम्बन र कार्यान्वयन गर्दा पनि तिनका विरुद्धमा कुनै सशक्त, संयुक्त, प्रभावकारी र परिणाममुखी सङ्घर्षसमेत सङ्गठित गर्न सकेनन् । साथै यिनले आजसम्म पनि क्रान्तिको न कुनै ठोस तयारी, सुरुआत र विकासको दिशामा सिन्को भाँच्न सकेका छन्, न त पार्टीलाई व्यापक र बलियो बनाउन सकेका नै छन् । तसर्थ खालि दिन काट्ने र काल पर्खने गरेका सन्की, सङ्कीर्ण, जड, यान्त्रिक, आग्रही, पूर्वाग्रही, प्रतिशोधी र अहंकारी वयोवृद्ध नेता–पण्डाहरूका पार्टी–गुटभित्र रहेर यथाशक्य सङ्घर्ष गरिरहेका सच्चा क्रान्तिकारी कम्युनिस्टहरूले पनि आआफ्ना पार्टी–गुट र नेता–पण्डाहरूका विरुद्धमा विद्रोह बुलन्द गर्नुबाहेकको अर्को राम्रो विकल्प पनि छैन । त्यसैगरी विभिन्न पार्टीहरूबाट विद्रोह गर्दै स्वतन्त्र भएर पनि देश, जनता, क्रान्ति र मुक्तिका लागि क्रियाशील रहेका वा कुण्ठा, आक्रोश, निराशा, पलायनजस्ता चिन्तन –प्रवृत्तिका सिकार भई चुप लागेर बस्दै आफ्नो क्रान्तिकारी ऊर्जा खेर फालिरहेका सच्चा, स्वतन्त्र, स्वविवेकी, स्वाधीन र स्वाभिमानी क्रान्तिकारी÷प्रेमीहरूले समेत आआफ्ना सीमित र सङ्कुचित सोचाइ, शक्ति, संस्था र सङ्घर्षबाट माथि उठेर आफैँभित्र एकप्रकारको विद्रोह गर्नुसमेत जरुरी छ । तत्पश्चात् यी सबै विद्रोही क्रान्तिकारी कम्युनिस्टहरू एउटै शक्तिमा एकीकृत हुने, एउटै केन्द्रमा केन्द्रीकृत हुने र एउटै ध्रुवमा ध्रुवीकृत हुने अनि राष्ट्रिय र वर्गीय मुक्ति आन्दोलनको महाअभियानमा अविलम्ब गोलबन्द र लामबन्द हुने गर्नु अनिवार्य छ । यो नै अहिले तत्कालका लागि नेपाल र नेपाली जनताको मुक्ति र क्रान्तिका निम्ति सर्वाधिक महत्वको अत्यन्त जरुरी काम–कारबाही हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :