अहम् महत्वको एउटा गम्भीरतम् यक्षप्रश्न !

सन्दर्भ– एक

नेपालमा अहिले एउटा निर्णायक र ऐतिहासिक महत्वको संयुक्त र सशक्त आन्दोलन हुनुपर्ने स्थिति विद्यमान छ । राष्ट्रियता, जनतन्त्र र जनजीविका तथा मानवअधिकार, मानवस्वाभिमान र मानवसम्मानलगायत मान्छेका जीवन–मरणसँग सम्बन्धित थुप्रै समस्याहरू अत्यन्तै जटिल, गम्भीर, विकराल र भयावह बनेका छन् । कहाँसम्म भने जनताको मतबाट बनेका शासकहरूलाई जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको मात्र होइन गरिब–दुःखी जनसमुदायहरूको जीवन वा मरणसँग कुनै मतलब छैन । उनीहरू देशलाई भुटेर होस् कि जनतालाई लुटेर होस् अथवा नेपाल आमालाई सुक्रीबिक्री गरेर होस् वा नेपाली छोराछोरीलाई सिक्रीमा बाँधेर होस् आफूहरू निस्फिक्री भएर चरम भोज र मोजमै मस्त र व्यस्त छन् । आज संसद्वादी दल र व्यवस्थाका नेता–शासकहरूमा पैसा, पद, पावर र प्रशंसाप्रति परम प्रलोभन बढ्नाले र उनीहरू आफू र आफ्नो परिवार र घरबार, आसे र पासे, झोले र चम्चे, गुन्डा र ग्याङ, दास र दलाल अनि बढीमा पनि आफ्नो क्षेत्र र जाति, भाषा र धर्मप्रति मात्र सीमित र समर्पित हुने तर देश र जनताप्रति चरम गैरजिम्मेवार भएकाले नै अहिले देशको यो अनुपम दुर्गति र बेहाल भएको हो । यसरी उनीहरूले जानाजान देश र जनतालाई परमुखापेक्षी र परनिर्भर गराई देशलाई हालसम्मको अर्धउपनिवेशको अवस्थाबाट पूर्ण उपनिवेशको अवस्थामा पुर्याउँदैछन् । हिजोसम्म बृटिस–भारतीय विस्तारवादको छत्रछायामा रहेको नेपाललाई अब हाम्रो सच्चा र घनिष्ठ मित्रराष्ट्र चीनलाई घेर्ने र फोर्ने मामलामा अमेरिकी र युरोपेली साम्राज्यवादलगायत कैयौँ देशहरूसमेतको चासो र चलखेलको केन्द्र बनाइएको छ । देश व्यापारघाटा र वैदेशिक ऋणले टाट पल्टिने अवस्थामा छ । अर्थ–राजनीतिका ज्ञाताहरूले देश श्रीलङ्का बन्दै गरेकोमा चिन्ता प्रकट गरिरहेका छन् भने सैन्य–राजनीतिका जानकारहरूले नेपाललाई सचेत र सुनियोजित रूपमा युक्रेनको बाटोमा अघि बढाइँदै गरेकोमा दुःखका साथ सावधान हुन आग्रह गरिरहेका छन् । तर पनि अहिलेको शासनसत्तामा पकड र पहुँच पाएका घरेलु र वैदेशिक प्रतिक्रियावादी शासकहरूले नेपाललाई झन्झन् अस्थिर, अराजक र अस्तव्यस्त पार्दै अस्तित्व सङ्कटकै अवस्थामा पुर्याइरहेका छन् । इतिहासमा कहिल्यै कसैको गुलाम नबनेको नेपाललाई आज २१ औँ शताब्दीको समानता, स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र समृद्धिको युगमा आएर पो दरिद्रतम्, गुलाम बनाउने हर्कत गरिरहेका छन् ।

यी सम्पूर्ण कुराहरू देशका देशभक्त, वामपन्थी र क्रान्तिकारी भनिएका शक्तिहरू र तिनका शीर्ष र शक्तिशाली नेता–शासकहरूलाई यथेष्ट जानकारी छ । आफ्ना पार्टी र राज्यसंयन्त्रहरूका दस्ताबेज र विधिविधानहरूमा देशको यो अवस्थालाई फेर्ने घोषणा गरिएका केही कुराहरू कोर्ने पनि गरेका छन् तर पनि किन देश र जनताको यो दुःखद् दुरवस्था बनाउने यो दलाल व्यवस्था र यसमा हुकुम–हैकम चलाइरहेका र हालीमुहाली गरिरहेका दलाल र गुलामहरूलाई घेर्ने र फोर्ने अनि देशको यो दयनीय अवस्थालाई फेर्ने दिशामा एकजुट भएर आइरहेका छैनन् त ? अहिले नेपालमा यो नै एउटा अहम् महत्वको गम्भीरतम् यक्षप्रश्न बनेको छ !

सन्दर्भ– दुई

यस्तो छ एउटा विडम्बना !

नेपालका कम्युनिस्ट पार्टी र तिनका मुख्य नेताहरू नै के भए यस्ता ? एकथरी वामपन्थी र राष्ट्रवादी हौँ भन्ने कम्युनिस्टहरू वामपन्थी र राष्ट्रप्रेमीसम्म पनि हुन सकेनन्, बरु दक्षिणपन्थीमा पनि महादक्षिणपन्थी, चरम दक्षिणपन्थी, उग्र दक्षिणपन्थी र कट्टर दक्षिणपन्थी नै भए । यसरी नै उनीहरू राष्ट्रवादी त के दलालहरूभन्दा पनि महादलाल, चरम दलाल, उग्र दलाल र कट्टर दलाल भएर महाराष्ट्रघाती, चरम राष्ट्रघाती र कट्टर राष्ट्रघाती नै भए । उनीहरू यस्तासम्म दक्षिणपन्थी र दलाल भए, उनीहरू खाँटी दक्षिणपन्थी र खाँटी दलाल अर्थात् जन्मजात दक्षिणपन्थी र जन्मजात दलालहरूलाई पनि पछाडि पारेर अगाडि जान थाले वा गए नै भने पनि अत्युक्ति नहुने भएको छ !

अर्काथरी क्रान्तिकारी र देशभक्त हौँ भन्ने कम्युनिस्ट पार्टी र तिनका नेताहरू पनि भन्नलाई, लेख्नलाई, रेकर्ड गर्नलाई, भाषण गर्नलाई, प्रशिक्षण दिनलाई र दस्ताबेजीकरण गरेर अफ्नो क्रान्तिकारी इतिहास देखाउनलाई लेखाउनका लागि त क्रान्तिकारीकै हैसियत बनाउन सफल भएका छन् तर उनीहरू आफ्नो सोचाइमा, शैलीमा, संस्कारमा, संस्कृतिमा र काम–व्यवहारमा क्रान्तिकारी हुनु त परै जाओस्, सुधारवादीसम्म पनि हुन सकेका छैनन् ! उनीहरू मुखले त अंशमा भन्दा समग्रमा, मात्रात्मकमा भन्दा गुणात्मकमा र शान्तिपूर्णमा भन्दा सशस्त्रमा, वैधानिकमा भन्दा अवैधानिकमा अनि सहरियामा भन्दा ग्रामीणमा, खुलामा भन्दा भूमिगतमा, जातिमा भन्दा वर्गमा, एकलमा भन्दा संयुक्तमा, फुटमा भन्दा एकतामा र शक्तिमा भन्दा सत्यमा जोड दिनेजस्ता सच्चा मालेमावादी क्रान्तिकारी कुरा त खुब गर्छन् तर काम भने ठीक उल्टो गर्छन् ! स्पष्ट भन्नुपर्दा यिनीहरूले दर्शन र सिद्धान्तका उक्त कुराहरू पार्टी र क्रान्तिको जीवन–व्यवहारमा लागू गर्दा–गराउँदा जहिले पनि जहाँ पनि र जसरी पनि समग्रलाई होइन, अंशलाई, गुणलाई होइन, मात्रालाई, सशस्त्रलाई होइन शान्तिपूर्णलाई, अवैधानिकलाई होइन, वैधानिकलाई, ग्रामीणलाई होइन सहरियालाई, भूमिगतलाई होइन खुलालाई, वर्गलाई होइन, जातिलाई, संयुक्तलाई होइन, एकललाई, एकतालाई होइन, फुटलाई, सत्यलाई होइन, शक्तिलाई र देशलाई होइन पार्टी (गुट) लाई बढी जोड दिन्छन् । तथापि हामी यिनैलाई क्रान्तिकारी र देशभक्त भन्न, मान्न र यिनकै आस गर्न बाध्य छौँ ! तर विडम्बना के भएको छ भने यिनको आस गर्दागर्दै जनताको सास जान र देशको सत्यानास हुन थालिसक्यो तर पनि यिनमा कुनै होस छैन, जोश छैन र त्रास पनि छैन !

तैपनि कामना गरौँ :

यिनको सिद्धान्तअनुसारको व्यवहार होस्, विचारअनुसारको आचार बनोस्, राजनीतिअनुसारको संस्कृति होस्, नीतिअनुसारको नैतिकता होस्, शब्दअनुसारको कर्म होस्, वकितम र लिखितम्अनुसारको करितम् होस् अर्थात् भनाइअनुसारको गराइ होस् ! अनि देश र जनताको मुक्ति र प्रगति होस् !!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :