आँखामा घुमिरहेछन् नेपाली कम्युनार्डका तस्बिरहरू

समयसमीक्षा

आँखामा घुमिरहेछन् नेपाली कम्युनार्डका तस्बिरहरू

तेरा नेताहरू कहाँ छन् ?
– जनताको घरदैलोमा ।
के गर्दैछन् ?
– कोही जनताको सेवा गर्दैछन्, कोही दाङको हापुरेमा सरकारसँग शान्तिवार्ता गर्दैछन् ।
तेरो अन्तिम इच्छा के छ ?
– नेपाल, उत्पीडित नेपाली र सर्वहारा वर्गको मुक्ति ।
माफी मागे जीवन पाउँछस्, मागिनस् भने मारिन्छस् । के गरौँ ?
– म मेरो वर्गमाथि घात गर्न सक्तिनँ । म सचेततापूर्वक वर्गयुद्धमा लामबद्ध भएको योद्धा हुँ । यतिबेला युद्धरत मेरो पार्टी नेकपा (माओवादी) र शाही सरकारका बीचमा दाङको हापुरेमा वार्ता चलिरहेको छ । देशमा युद्धविराम छ । हामी सहमतिअनुसार शान्तिपूर्वक भेला र बैठकहरू गरिरहेका छौँ । यस्तो अवस्थामा राज्यले सहमति तोड्नेछैन भन्नेमा पूर्ण विश्वस्त छु । जीवन त श्रमिक–उत्पीडित वर्गको मुक्तिका लागि सुम्पिइसकेको हुँ । वार्ता भङ्ग गर्दै देशलाई युद्धमा लैजाने षड्यन्त्र भइरहेको छ भने त्यो गर्नु ठीक हुँदैन भन्नुभन्दा बाहेक के भन्न सकिन्छ र ? राज्यले यस्तो गैरजिम्मेवार हर्कत नगरोस् । नत्र पछुताउनुपर्नेछ ।
अरू केही भन्नु छ कि ?
– सामन्ती राजतन्त्र मुर्दावाद ! जनवादी गणतन्त्र नेपाल जिन्दावाद ! महान् जनयुद्ध जिन्दावाद ! महान् सहिदहरू अमर रहून् । जनयुद्ध जारी छ …!

लेखक : अशोक सुवेदी

यो कुनै चलचित्रको कृत्रिम वा बनावटी दृश्य र संवाद होइन, आजभन्दा बीस वर्षअघि रामेछाप, दोरम्बा– डाँडाकटेरीमा महान् नेपाल आमाका २१ सुन्दर छोराछोरीको टाउको, छाती र कन्चटमा शाही अमेरिकी सेनाले अनाहक गोली दाग्नुअघि भएको संवाद हो ।

हो, यस्तै संवाद पेरिस कम्युनका कम्युनार्डहरूमाथि तत्कालीन फासिवादी फ्रान्सेली शासकहरूबाट पनि गरिएको थियो एक सय पचास वर्षअघि र त्यसकै निरन्तरतामा यही प्रश्न आजका फासिवादी शासकहरूबाट पनि गरियो । पेरिस कम्युनका कम्युनार्डहरूको शक्तिशाली मालेमावादी विचार बोकेर महान् यात्रामा लामबद्ध भएका योद्धाहरूलाई त्यसभन्दा उच्च दृढता र विश्वास व्यक्त गर्दागर्दै पालैपालो छाती, टाउको र कञ्चटमा गोली दागेर भिरबाट गुल्ट्याइयो । डाँडाकटेरीको भूमि महान् योद्धाहरूको रगतले भिज्यो । हो, यही थियो कुख्यात दोरम्बा हत्याकाण्ड । त्यो क्रूर र बीभत्स काण्डका १९ वर्षहरू पूरा भएका छन् र २० वर्ष लागेको छ डाँडाकटेरीमा महान् सहिदहरूले जनयुद्ध जिन्दावादको नाराले आकाश गुञ्जायमान पारेको ।
.. … …
साउन महिनाको अन्तिम दिन थियो त्यो २०६० साल साउन ३२ गते अनि दोरम्बाको लेक कुहिरोले ढपक्कै ढाकेको थियो । सिमसिम पानी पनि परिरहेको थियो । एरियाको जिम्मा पाएका कमरेडहरू जिल्ला इन्चार्ज, जनसरकार प्रमुखसहितको उपस्थितिमा बैठकको तयारीमा व्यस्त थिए ।

नृशंस हत्याकाण्डमा परेर जीवन बचेका पार्टी कार्यकर्ताहहरूका अनुसार दिउँसो ११ बजेतिर एक्कासि बैठकको तयारी भइरहेको युवराज मोक्तानको घरबाहिर बन्दुक पड्केको आवाज आयो । त्यत्ति नै बेला बजारबाट आउँदै गरेका एकजना योद्धा घरको ढोकानजिकै ढलिसकेका थिए । दुस्मन बैठक बस्नुअघि भान्छा र बैठकको तयारी हुँदै गरेको युवराज मोक्तान–लीला मोक्तानको घरलाई चौतर्फी घेरा कस्दै अगाडि बढिरहेको थियो । त्यति नै बेला नेकपा (माओवादी) रामेछाप जिल्ला इन्चार्ज ललितले बैठकका लागि भेला भएका सम्पूर्ण साथीहरूलाई घेरा तोड्ने कासन गर्दै अगाडि लागे । घरको ढोकामा पुग्दा दुस्मनले उनको छातीमा एसएलआर तेस्र्यायो । दुस्मनले तेस्र्याएको एसएलआर मर्काउँदै उनले घेरा तोडे ।

त्यसैगरी जिल्ला सेक्रेटरी, मदनसहित, राजन, रामकुमार, उदय, मोहन, अमीर, सागर, मनोजलगायत ११ जना कमरेड घेरा तोड्न सफल भए भने जनसरकार प्रमुख बाबुराम तामाङ ‘पुष्प’ लगायत १९ जना नेता–कार्यकर्तालाई दुस्मन फौजले घेरा हाली गिरफ्तार गरेर हात पछाडि बाँधी एक घण्टा टाढा डाँडाकटेरी भन्ने ठाउँमा पुर्याएर दिनको १ बजे लाम लगाएर पालैपालो गोली हानी हत्या गर्यो । शाहीसेनाले त्यसअघि एकजनालाई घरको ढोकैमा र अर्की एकजनालाई जङ्गलमा पुर्याएर क्रूरतापूर्वक हत्या गरिसकेको थियो ।

गोरखा पालुङटार घर भएको शाही जल्लादी सेनाको मेजर राममणि पोखरेलको नेतृत्वको हत्यारो जत्था २१ जना योद्धाको रगत पिएर दिनको १ः३० बजे फर्कियो । उसले पुरानोगाउँ गाजसको बाहुनचौर भन्ने ठाउँमा पुगेर नेपाल आमाका सर्वाेत्तम छोराछोरीहरूको हत्या गरेको खुसीयालीमा खसी काटेर भोज गर्यो । त्यस दिन प्रतिक्रियावादी सामन्ती फासिस्ट राज्यसत्ताका नाइकेहरूले देशव्यापी दीपावली मनाए । यता जनताको घरमा भने रुवाबासी चल्यो । पार्टी नेतृत्व गम्भीर बन्यो ।

दोरम्बा हत्याकाण्डपछि दाङको हापुरेमा जारी वार्ता भङ्ग भयो । युद्धविराम र शान्तिवार्ताको औचित्य समाप्त भएको घोषणा गर्दै भदौ १० गते युद्धविराम भङ्ग भएको घोषणा भयो । युद्धविराम आचारसंहिता र मानवअधिकारविपरीत शाहीसेनाले गराएको दोरम्बा हत्याकाण्ड सेनाको मात्र योजनामा गराइएको थिएन । वार्ता र शान्ति नचाहने युद्धपिपाशु साम्राज्यवादको योजनामा भएको कुख्यात नरसंहार थियो तर त्यो हत्याकाण्ड संविधानसभासम्म पनि नचाहने देशभित्रका प्रतिक्रियावादीहरूका निमित्त मात्र नभई विश्व–आतङ्कवादको नाइके अमेरिकी साम्राज्यवादका लागिसमेत आत्मघाती साबित हुन पुग्यो किनकि त्यसपछि युद्धमा फर्किएको माओवादी साम्राज्यवादको दलाल बनेको राजतन्त्र नै समाप्त पार्ने गरी मोर्चामा होमियो ।

दोरम्बा हत्याकाण्डका विरुद्ध नेपालका मुक्तिकामी जनता, परिवर्तनका पक्षधर शक्तिहरू, राष्ट्रिय मानवअधिकार आयोगका साथै विश्वका मुक्तिकामी जनसमुदायको एउटै आवाज घन्कियो– युद्धपिपाशु शाही हत्याराहरूलाई कारबाही गर । फलस्वरूप प्रतिक्रियावादी सत्ता बाध्य भएर हत्याराहरूलाई आन्तरिक कारबाही गर्ने नाटक गर्यो तर मुलुकमा अशान्ति मच्चाउने हत्यारा दलको कमान्डर शाही अमेरिकी सेनाको मेजर राममणि पोखरेललाई भने शान्तिसेनामा पठाएर खबर सार्वजनिक भयो । दोरम्बा हत्याकाण्ड गराउन स्थानीय मुख्य योजनाकार मानिएकी ग्रामीण स्वास्थ्य कार्यकर्ताको भेष धारण गरेकी रेलीमाया तामाङ र उसका सहयोगी भीमबहादुर श्रेष्ठलाई नेकपा (माओवादी) ले जनकारबाही गरेको घोषणा पनि अर्काे योजनाकार मानिएको डिकबहादुर तामाङमाथि कुनै अनुसन्धान र कारबाही भएको छैन । आज ऊ नेपाली काङ्ग्रेसको छातामुनि छ र नेपाली काङ्ग्रेसकै छातामुनि तत्कालीन जनयुद्धका कमान्डर प्रचण्ड पनि छन् । स्थानीय योजनाकारभन्दा माथिका मुख्य योजनाकार र हत्याराहरू नै आज श्रमिक जनताको छाती र सहिद परिवारका सपनामाथि परेड खेलिरहेका छन् ।
… … …
नेपालको कम्युनिस्ट आन्दोलनमा रामेछाप जिल्लाले गौ®वपूर्ण गाथा बोकेको छ । रामेछाप जिल्लालाई कम्युनिस्ट विचा®को जननी पनि मानिन्छ । समाज परिवर्तन र वर्गसङ्घर्षकै हिसाबले हेर्ने हो भने पनि राणा शासनविरुद्धको आन्दोलनमा होस् वा पञ्चायतविराेधी आन्दोलनमा, जनयुद्धकै क्रममा पनि रामेछापको कम्युनिस्ट आन्दोलनले एक सय साठीभन्दा बढी सहिद जन्माएर एउटा गौरवशाली इतिहास रचेको छ । रामेछापले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, एकतन्त्रीय राणाशासनका विरुद्ध ‘मकैको खेती’ पुस्तक लेखेर जेलमै बलिदान गर्ने सुब्बा कृष्णलाल अधिकारी, जहानिया राणा शासनका विरुद्ध लड्दालड्दै हाँसीहाँसी गौरवपूर्ण मृत्युवरण गर्ने प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठदेखि दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्ध सञ्चालित क्रान्तिमा रामकुमार श्रेष्ठजस्ता क्रान्तिकारी योद्धाहरूलाई जन्माएको छ ।
२०५२ सालदेखि नेपालमा सुरु भएको महान् जनयुद्धका क्रममा प्रतिक्रियावादी राज्यसत्ताको सैन्य अखडामाथि धावा बोल्ने जनयुद्धकै प्रथम सफल फौजी मोर्चा बन्न सफल बेथान पनि रामेछापकै भूमि हो भने उक्त मोर्चामा बलिदान गर्ने तीफदिमध्ये दिलमाया बम्जन युद्धकै प्रथम महिला छापामार सांस्कृतिक सहिद बन्ने ऐतिहासक व्यक्ति बन्न पुगिन् । रामेछापकै भूमिमा सालु–देउराली, चुचुरे गज्र्याङजस्ता ठूल्ठूला सामूहिक हत्याकाण्डहरू पनि भए भने योद्धाहरूले पहिले नै दोरम्बा मोर्चा जितेर विजयको एउटा गौरवाली इतिहास कायम गरिसकेका थिए । यही त्याग, शौर्य, साहस, वीरता र बलिदानको गौरवगाथालाई कायम राख्दै जनक्रान्तिका क्रममा रामेछापकै रामकुमार श्रेष्ठले पनि उच्च बलिदान गरेर रामेछापको भूमिलाई क्रान्तिकारी विचारले अझै रातो बनाउने र क्रान्तिकारीहरूलाई निरन्तर क्रान्तिको मार्गमा लामबद्ध भइरहन र मुक्ति नहोउन्जेल नथाक्न प्रेरित र उत्साहित गरेका छन् ।

जनयुद्ध र दोरम्बा हत्याकाण्ड

२०५२ साल फागुन १ गतेबाट नेपाल कम्युनिस्ट पार्र्टी (माओवादी) को नेतृत्वमा महान् जनयुद्ध आरम्भ भएको थियो । जनयुद्ध भीषण बन्दै गएपछि २०५८ साल साउन ८ गते गल्दै गएको शाही सरकारसँग वार्ताका लागि पहिलो युद्धविराम भयो । वार्ताद्वारा शाही सरकारले जनताका माग सुनुवाइ गर्ने कुरै थिएन । फलस्वरूप २०५८ साल मङ्सिर १० गते युद्धविराम भङ्ग भयो नेकपा (माओवादी) जनयुद्धमै फर्कियो जुन अनिवार्य आवश्यकता थियो ।

जनयुद्धले धक्का दिँदै गएपछि धर्मराएको शाही सरकार पुनः २०५९ साल माघ १० गते दोस्रो युद्धविराम घोषणा गर्न बाध्य भयो । युद्धविराम र वार्ताको समयको सदुपयोग गर्दै नेकपा (माओवादी) राजनीतिक प्रचार र सङ्गठन विस्तारमा क्रियाशील बन्यो । जनताको अपार भरोसा, प्रतिबद्धता र लामबद्धताका कारण माओवादीको शक्ति व्यापक विस्तार हुँदै गएपछि प्रतिक्रियावादी शासकहरू पुनः युद्ध लाद्ने र जनतामा पलाएको शान्तिको अपेक्षा कुठाराघात गर्ने षड्यन्त्रतिर लागे ।

दोरम्बा हत्याकाण्ड हुनु एक सातापूर्व नै दोरम्बामा माओवादी पार्टीको एरिया स्तरको बैठक बस्दैछ भन्ने कुरा थाहा पाएपछि स्थानीय सुराकीहरू बैठक बस्ने स्थान पत्ता लगाउन रातारात परिचालित भएको हत्याकाण्डपछि सुराकी रेलीमाई तामाङले पार्टीसमक्ष दिएको बयानबाट प्रस्ट भएको तत्कालीन माओवादीका नेताहरू बताउँछन् । रेलीमाईले बैठक बस्ने स्थान पत्ता लगाउने जिम्मा अर्का सुराकी डिकबहादुर तामाङ र भीमबहादुर श्रेष्ठलाई दिएर हत्याकाण्डको योजना बनाउन एक साताअघि नै काठमाडौँ पुगेको अनुसन्धनबाट पत्ता लागेको थियो । माओवादी पार्टीको अनुसन्धानअनुसार भीमबहादुरले साउन २९ गते नै बैठक बस्ने स्थान पत्ता लगाई काठमाडौँमा टेलिफोन गरेर रेलीमाईलाई जानकारी गराएको थियो । रेलीमाईले हत्याकाण्डको योजना बनाई हत्याराहरूको टिमलाई लिन गाल्बाबजारसम्म भीमबहादुरलाई पठाएको पनि पार्टीको आन्तरिक अनुसन्धानमा उल्लेख छ ।

साउन ३२ गते एरियाको बैठकका लागि तत्कालीन रामेछाप जिल्ला इन्चार्ज ललित, मदन, जिल्ला जनसकार प्रमुख बाबुराम तामाङ ‘पुष्प’ लगायत एरियाका सम्पूर्ण पार्टी नेता–कार्यकर्ता माओवादी शुभचिन्तक शिक्षक युवराज मोक्तानको घरमा जुटेका थिए । सरकार र नेकपा (माओवादी) बीच दाङको हापुरेमा वार्ता जारी थियो । वार्ता र युद्धविरामप्रति बढी नै विश्वस्त भएकाले त्यस्तो क्रूर र बर्बर घटनाको कसैले अनुमानसम्म गर्न सकेका थिएनन् । युद्धविराम र शान्तिवार्ताप्रति बढी विश्वस्त हुनुको परिणाम पनि बन्न पुग्यो दोरम्बा नरसंहार जसले संसारकै क्रान्तिकारीहरूलाई एउटा नमीठो पीडा र सावधानीको पाठसमेत पढाएर गएको छ ।

पार्टी–अनुसन्धानका क्रममा हत्याकाण्डको एक स्थानीय योजनाकार ठहरिएकी रेलीमाई तामाङले दिएको बयानको सारसङ्क्षेप पार्टीले यसरी सार्वजनिक गरेको थियो–

युद्धविराम हुँदादेखि नै माओवादीहरू केन्द्रीकृत भएको मौका पारिएकै ठाउँमा सिध्याउने योजना सरकारले बनाएको थियो । रामेछाप जिल्लाको सन्दर्भमा म, डिकबहादुर र भीमबहादुरलाई जिम्मा लगाएको थियो । रामेछापका माओवादीहरू बढी दोरम्बामा जमघट हुने भएकाले दोरम्बालाई विशेष स्थानका रूपमा हेरिएको थियो । मैले एक साताअगाडि दोरम्बामा बैठक हुँदैछ भन्ने कुरा थाहा पाएँ । ललिका दोरम्बा आउँदा बैठकस्थल पत्ता लगाउन प्रयत्न गरेँ तर पत्ता लगाउन सकिनँ । बैठकस्थल पत्ता लगाएर मलाई फोन गरि खबर दिनू भन्ने जिम्मा भीमबहादुर दाइलाई दिएर म काठमाडौँ गएँ । साउन २९ गते भीम दाइले बैठक युवराज मोक्तानको घरमा बस्ने कुरा पत्ता लगाई मलाई सम्पर्क गर्नुभयो । यसैका आधारमा दोरम्बा हत्याकाण्ड घटाउने योजना काठमाडौँमा बसेर बनायौँ । साउन ३१ गते नै भकुन्डे र रामेछापको सेनाको सम्पर्क मिलाएर दुवैतिरको सेना गाल्बाबजारमा भेट्ने प्वाइन्ट बनाएर पठायौँ । यसरी साउन ३२ गते दोरम्बा हत्याकाण्ड गराइयो ।

दोरम्बा नरसंहारको आन्तरिक रहस्य

शाही सरकार गल्दै गएको थियो र युद्धविराममा लतारिएको थियो । प्रत्यक्ष रुपमा साम्राज्यवादी आडभरोसा र साथसहयोग पाएपछि ऊ हापुरेमा चलिरहेको शान्तिवार्ता बिथोलेर मुलुकलाई थप रणमैदान बनाउन चाहन्थ्यो । स्थानीय स्तरमा रामेछाप जिल्लामा माओवादीको वैचारिक लडाइँ त्यतिबेला प्रतिक्रियावादी सत्ताधारीका साथै संशोधनवादी धारसँग थियो । जनयुद्धको राप र तापले प्रतिक्रियावादी र संशोधनवादी शक्तिलाई विच्छेद गराइदिएको थियो । जनयुद्ध घनीभूत रूपले विकास भएका जिल्लामध्ये रामेछाप अग्रपङ्क्तिमा आउने भएकाले र माओवादी ठूलो शक्ति बन्दै गएकाले सत्ताधारी र संशोधनवादी दुवैको निशानामा माओवादी परेको थियो । राजतन्त्र पक्षधर शक्तिका साथै कम्युनिस्ट नाउँधारी एमाले, प्रतिक्रियावादी धारको नेतृत्व गर्ने काङ्ग्रेसलगायत सबै शक्ति जिल्ला सदरमुकाममा खुम्चिएका थिए । जनयुद्धले जिल्लाका २५ वटै प्रहरीचौकी विस्थापित गर्दै सदरमुकाम मन्थली र पुरानो सदरमुकाम रामेछापडाँडामा सीमित पारिदिएको थियो । माओवादीको शक्ति बढेको सहन नसकेका प्रतिक्रियावादी र संशोधनवादीहरू माओवादीविरुद्ध योजना बनाइरहेका थिए ।

युद्धविराम सहमतिअनुसार दुवै सत्ताका सेना ५ किलोमिटरभन्दा टाढा निस्कन पाउँदैनथे । त्यतिबेला अमेरिकी सेनाले तत्कालीन शाहीसेनाका लागि नयाँ सैन्यविन्यास मिलाएको थियो । मोर्चाबन्दी लडाइँमा देशैभर शाहीसेना पराजित बनिरहेको थियो । ऊ अमेरिकी योजनाको नयाँ फौजी रणनीति लागू गर्न चाहन्थ्योे । अमेरिका रामेछापको भूमिबाटै आफ्नो सैन्य रणनीति प्रयोग गर्ने योजना बनाइरहेको थियो । दोरम्बा हत्याकाण्ड शाही अमेरिकी सेना र उसको आडमा बनेको कठपुतली सरकारको गम्भीर योजनाको परिणाम थियो । फलस्वरूप युद्धविराम र शान्तिवार्ता जारी रहेको समयमा युद्धविराम नै भङ्ग गरी देशलाई गृहयुद्धमा झोस्ने षड्यन्त्रलाई मूर्तता दिँदै दोरम्बा नरसंहार मच्चाइयो र २१ जना महान् योद्धाले जनयुद्ध जारी छ, महान् सहिदहरू लालसलामको नारा लगाउँदै रामेछापको माटोमा तातो–रातो क्रान्तिकारी रगत रोप्नुपर्ने अवस्था उत्पन्न भयो ।

दोरम्बा हत्याकाण्ड भएको १९ वर्ष पूरा भएर २० वर्ष लागिसकेको छ । यसबीचमा अपत्यारिला राजनीतिक घटनाक्रमहरू भएका छन् । दसौँ हजार सहिदको रगतले जाज्वल्यमान बनेको जनयुद्धलाई केही लोभीपापी र कायरहरूले धोका र सम्झौता नराम्ररी फसाइदिएका छन् भने हिलोमा फुलेको कमलको फूलजस्तै सम्झौता र धोकाका बीचबाट क्रान्तिकारी विचार र क्रान्तिकारी नेतृत्व निर्माण हुँदै वैज्ञानिक समाजवाद स्थापनाका लागि अघि बढिरहेको छ । जनयुद्धकालीन मुख्य नेतृत्व र त्यसपछि क्रान्ति अघि बढाउने सपना बाँड्ने केही अगुवाहरूले दलाल पुँजीवादको सेवा गर्दै वर्गसङ्घर्ष र महान् सहिद–बेपत्ता योद्धाका सपनालाई घात गरे पनि क्रान्तिकारी विचार, नेतृत्व र क्रान्तिकारी आशावाद महान् सहिदहरूको चिहानबाट उठिरहेको छ । २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसका सन्दर्भमा हामीले नयाँ उचाइबाट शपथ लिनुपरेको छ– दोरम्बालगायत मोर्चामा बलिदान गर्ने महान् सहिदहरू लालसलाम ! नयाँ शैलीको जनयुद्ध जारी छ ! वैज्ञानिक समाजवादी क्रान्ति जिन्दावाद ! वैज्ञानिक समाजवाद जिन्दावाद !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :