नेकपा (बहुमत) का नेता–कार्यकर्ता हातहातमा रित्ता ग्याँस सिलिन्डर र तरकारी बोकेर प्रदर्शनमा

नेकपा (बहुमत) का नेता–कार्यकर्ता हातहातमा रित्ता ग्याँस सिलिन्डर र तरकारी बोकेर प्रदर्शनमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भदौ २ गतेदेखि राष्ट्रिय जागरण तथा सङ्गठन निर्माण अभियान सञ्चालन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र पार्टीका सम्पूर्ण जनवर्गीय सङ्गठनहरू देशव्यापी रूपमा सडक आन्दोलनमा होमिएका छन् । अभियानकै क्रममा पार्टीले आइतबार उपत्यकालगायत देशभरि भ्रष्टाचार, महँगी, मूल्य वृद्धि, राष्ट्रघातका विरुद्ध देशव्यापी जनप्रदर्शन गरेको छ । प्रदर्शनकारीहरूले हातहातमा तरकारी, खाली ग्याँस सिलिन्डर र प्लेकार्ड बोकेका थिए ।

काठमाडौँको त्रिपुरेश्वरदेखि सुरु भएको जनप्रदर्शन सुन्धारा, नयाँसडक, वसन्तपुर हुँदै असनमा गएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सम्बोधन गर्दै युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय अध्यक्ष हरिश भट्टले देशमा व्याप्त चरम महँगी, भ्रष्टाचार, कालोबजारी, तस्करी र राज्यले मिलोमतो गरी गरेको व्यापारका विरुद्ध सम्पूर्ण उत्पीडित जनता एक भएर सडक सङ्घर्षमा होमिनुपर्ने बताएका थिए ।

वार्षिक खर्बौंको कृषिजन्य उपभोग्य वस्तुको आयात तत्काल बन्द गरिनुपर्ने र उक्त सम्पूर्ण उपभोग्य वस्तु स्वदेशमा उत्पादन गर्न युवा जनशक्तिलाई विदेश पलायन हुन रोकेर राष्ट्रको खर्बौं रकम जोगाउन राज्यले ध्यान दिनपर्ने भट्टले बताए । वार्षिक करिब ४ खर्ब हाराहारीको कृषिजन्य आयातमा तत्काल प्रतिबन्ध लगाएर उक्त उपभोग्य वस्तु स्वदेशमा उत्पादन गर्ने नीति निर्माण गर्न राज्य गम्भीर बन्नुपर्नेमा भट्टले जोड दिएका थिए ।

राज्य यतिबेला कमिसनखोरहरूको चक्करमा परेर जनतालाई विषादीयुक्त तरकारी ख्वाइरहेकाले उक्त कार्य तत्काल बन्द गर्न पनि अध्यक्ष भट्टले चेतावनी दिए । देश यतिबेला भीषण सङ्कटमा परेको, आर्थिक रूपले सङ्कटग्रस्त, राजनीतिक रूपले भ्रष्टाचारमा लिप्त राज्यका सम्पूर्ण निकायहरू निष्प्रभाबी बनेको, जनता त्यसबाट आजित रहेको र यसको एउटै समाधान समाजवादी क्रान्ति र समाजवादी सत्ता रहेको पनि भट्टले बताए ।

कार्यक्रम सञ्चालन गर्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष वीरेन्द्र शाहले सत्तासीनहरू भ्रष्टाचार, कमिसन र तस्करीमा लिप्त रहेको, आफ्नो सत्ता र चुनावी क्षेत्र जोगाउन मात्र ध्यान केन्द्रित गरेकाले सम्पूर्ण उत्पीडितहरू एक भएर सडक सङ्घर्षमा उत्रिनुपर्ने र दलाल सत्तालाई फ्यालेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा बागमती ब्युरो इन्चार्ज शरद रसाइलीका साथै पार्टीका काठमाडौँ जिल्ला इन्चार्ज दीपेन्द्र चलाउनेको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :