२० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसको सन्देश

२० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवसको सन्देश

२०६० साल साउन ३२ गते रामेछापको दोरम्बा–डाँडाकटेरीमा २१ जना योद्धाहरूको बलिदान भएको दिन हो । दोरम्बा हत्याकाण्ड भएको १९ वर्ष पुगेर २० वर्ष लागेको छ र फेरि पनि माओवादी शीर्ष नेताहरूले दोरम्बा डाँडाकटेरीमा महान् सहिदहरूको चिहानमाथि उभिएर सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सहिदको बलिदानका आदर्शहरू कमजोर बन्दै गएको समयमा जनयुद्धबाटै आएका दुईवटा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू– नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा बलिदान स्थलमा पुगेर स्मृति दिवस मनाउनु र सहिदका सपना पूरा गरेरै छोड्ने शपथ खानु ठूलो महत्वको विषय हो ।

दोरम्बा हत्याकाण्ड नेपालको राजनीतिक कालखण्डकै एक कुख्यात हत्याकाण्ड हो । यद्यपि जनयुद्धको समयमा फासिवादी शासकहरूले देशभर सयौँ सामूहिक हत्याकाण्डहरू मच्चाएर जघन्य युद्धअपराधहरू गरेका छन् तर पनि सरकार र युद्धरत पक्षबीच युद्धविराम भएर वार्ता भइरहेको समयमा मच्चाइएको कुख्यात हत्याकाण्ड भएकाले यो संसारभरकै विद्रोहीहरूका लागि पनि ठूलो क्षति हो र अविस्मरणीय र प्रतिशोधपूर्ण घटना हो । यस हत्याकाण्डले बारम्बार पेरिस कम्युनका कम्युनार्डहरूको सामूहिक हत्याकाण्डलाई स्मरण गराउँछ । पेरिस कम्युन जितेर पनि अनुभवको कमीका कारण हारिएको एक ऐतिहासिक मोर्चा थियो भने दोरम्बा जित्दाजित्दै वार्ताको मोर्चामा बसेको समयमा युद्धविराम भङ्ग गराउन र देशलाई पुनः युद्धको भुमरीमा फसाउनका लागि गरिएको शाही अमेरिकी फासिवादी सत्ताको ठूलो षड्यन्त्र र कत्लेआम थियो । यो जघन्य हत्याकाण्डलाई मुक्तिप्रेमीहरूले कहिल्यै बिर्सिने छैनन् र सदैव आततायी सत्तासँग बदलाभाव लिइराख्नेछन् ।

इतिहासले पाठ मात्र सिकाउँदैन, ऊर्जा पनि दिन्छ । दोरम्बा हत्याकाण्डले ठूलो क्षतिका बीच पनि क्रान्तिकारीहरूलाई पाठ पनि सिकाएको छ र अजश्र ऊर्जा पनि दिएको छ । दोरम्बा हत्याकाण्डपछि भङ्ग भएको सरकार र माओवादीबीचको वार्ता र पुनः सुरु भएको युद्धले सामन्ती राजतन्त्रको जरोकिलो नै उखेलिदिएको र क्रान्तिकारीहरूलाई विजय नहोउन्जेल लडिरहन र सचेत बनिरहन पाठ सिकाएको इतिहास पनि साथमै छ ।

यो साता तत्कालीन शाहीसत्ताले मच्चाएको कुख्यात दोरम्बा हत्याकाण्डको २० औँ स्मृति दिवस हो । रामेछाप जिल्लाको पश्चिमी भूगोलमा पर्ने दोरम्बा– डाँडाकटेरीको उच्च पहाडी भूभागमा २०६० साल साउन ३२ गते शाही सत्ताको सैनिक मेजर राममणि पोखरेलको नेतृत्वमा खटिएका शाही अमेरिकी सेनाका जल्लादहरूले सरकार–माओवादीबीच दाङको हापुरेमा संविधानसभालाई केन्द्र बनाएर भइरहेको वार्ता भङ्ग गर्ने र देशलाई पुनः गृहयुद्धमा धकेल्ने योजना, षड्यन्त्र र उद्देश्यले निहत्था माओवादी नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी हात बाँधेर घिस्याउँदै लाम लगाएर बीभत्स र क्रूर तरिकाले नृशंस हत्या गरेका थिए । शाहीसत्ता र तिनका मतियारका रूपमा रहेका काङ्ग्रेस–एमाले संविधानसभाको चुनाव चाहँदैनथे । उनीहरू संविधानसभाको चुनाव भएमा शाहीसत्तासँगै प्रतिक्रियावादी संसदीय व्यवस्था ढलेर जनसत्ता स्थापना हुने त्रासले त्यसका विरुद्ध थिए । जनगणतन्त्र नेपाल निर्माण गर्ने लक्ष्य राखेर महान् जनयुद्धमा लामबद्ध भएका माओवादी नेता, कार्यकर्ता र क्रान्तिकारी जनताले संसद्वादीहरूलाई राजतन्त्रका विपक्षमा मोर्चा बनाउने कार्यक्रमसहित पुँजीवादी नारा ल्याएको थियो संविधानसभा चुनावको तर शाहीसत्ता, अमेरिकीलगायत विश्वका प्रतिक्रियावादी सत्ता र शासकहरू नेपाली जनताको हातमा न्यूनतम् शक्ति पनि हस्तान्तरण भएको सहन सक्तैनथे । परिणामतः दुवै सत्ताका सेना आआफ्नो क्याम्पबाट पाँच किलोमिटर टाढा ननिस्किने सर्त उल्लङ्घन गर्दै रातारात जिल्ला सदरमुकाम मन्थलीबाट बीसौँ कोस टाढा दोरम्बा पुगेर क्रान्तिकारीहरूको नृशंस हत्या गर्यो र वार्ता भङ्ग गराई देशलाई युद्धमा धकेल्यो ।

दोरम्बा हत्याकाण्डमा तत्कालीन शाही अमेरिकी सेनाले रामेछाप जिल्ला जनसरकार प्रमुख बाबुराम लामा पुष्प, प्रदीप दोङ ‘रक्तिम’, अम्बिका दाहाल ‘ललिका’, सङ्गीता, हर्कबहादुर तामाङ यथार्थ, रवि चौहान ‘समीर’, उमा कार्की ‘सहारा’, श्याम तामाङ ‘इन्क्लाब’, पदमराज गिरी ‘असल’, विष्णुमाया थापामगर ‘बिमा’, ठूलोराम तामाङ ‘छोक्पा’, सानोराम तामाङ ‘तारा’, लक्ष्मण तामाङ ‘छाया’, जमिन, सोम, विमला, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर ‘विवेक’, चतुर्मान थामी ‘समर’, उषासहित २१ जना क्रान्तिकारी नेता, कार्यकर्ता र माओवादी शुभेच्छुकहरूको बीभत्स हत्या गर्यो । सोही घटनापछि द्विपक्षीय वार्ता भङ्ग भएर माओवादी पुनः जनयुद्धमा गयो भने शाही अमेरिकी सेना राजतन्त्र लम्ब्याउने खेलमा लागेर पुनः युद्ध थोपर्न र हत्याकाण्ड मच्चाउनतिर लाग्यो ।

दोरम्बा हत्याकाण्ड नेपालमा संविधानसभाको चुनावबाट राजतन्त्रको अन्त्य गर्ने वैधानिक बाटोको समेत विरुद्ध थियो । साम्राज्यवाद र उसका दलाल तथा मतियारहरूले माओवादी जनयुद्धलाई दमनबाटै सिध्याउन रचेको गम्भीर प्रपञ्च थियो त्यो । यो कुरा हत्याकाण्डमा सुराकीको काम गर्ने रेलीमाई तामाङ, भीमबहादुर तामाङलगायतले जनकारबाहीमा पर्नुअघि जनअदालतमा दिएको बयानबाट पनि प्रमाणित भएको छ । तर उक्त हत्याकाण्डका मतियार शाही अमेरिकी मेजर राममणि, काङ्ग्रेसलगायत विभिन्न पार्टीमा मुन्टो लुकाएर बसेकाहरू अझै पनि खुलेआम जनविरोधी हर्कत गर्दै हिँडेका छन् । क्रान्तिकारीहरूका लागि यो दुःखको कुरा हो ।

वर्गसङ्घर्ष जारी छ । दोरम्बा हत्याकाण्ड हुँदा जनयुद्धका नायक भनिएकाहरू आज प्रकारान्तरले वर्गसङ्घर्ष नै परित्याग गरी हिजो आफ्नै टाउकाको मूल्य तोक्नेहरूसँग सत्ता साझेदारी गरिरहेका छन् । उनीहरूका लागि दोरम्बाको आलो घाउ कोट्ट्याउनु भनेको आफ्नै खुट्टामा बन्चरो हन्नुसरह बनेको छ । तिनले वर्गप्रतिबद्धता भुलेका छन् र शत्रु र मित्रको छ्यानबिन गर्नै नसक्ने गरी मानसिक सन्तुलन गुमाएका छन् । केही पात्र र प्रवृत्ति वर्गसङ्घर्षबाट भागे पनि वर्गसङ्घर्ष जारी छ र त्यो वैज्ञानिक समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्त गर्ने उद्देश्यसाथ अर्को शिराबाट अघि बढिरहेको छ ।

खुसीको कुरा, ठीक यसै बेला संसदीय संशोधनवादीहरूलाई कारबाही गरेर किनारा लगाउँदै जनयुद्धबाटै आएका क्रान्तिकारी शक्तिहरूबीच एकताप्रक्रिया आरम्भ भएको छ । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच बनेको एकता संयोजन समितिले नयाँ उचाइमा दोरम्बालगायत हत्याकाण्ड र महान् वर्गसङ्घर्षमा बलिदान गर्ने दसौँ हजार सहिदका अधुरा सपना क्रान्तिमार्फत पूरा गर्ने आशा जगाएको छ । परिवर्तनकारी जनता र सहिद–बेपत्ता योद्धा–घाइते परिवारले वैज्ञानिक समाजवादी क्रान्तिले नै जनयुद्धकालमा सामूहिक हत्याकाण्ड मच्चाउने राममणिहरू र तिनका आदेशकर्ता तथा योजना निर्माताहरूलाई जनकारबाही गर्नेछ र वैज्ञानिक समाजवादी सत्ताको रत्तरञ्जित झन्डा फरफराउनेछ ।

जनगणतन्त्र नेपाल, वैज्ञानिक समाजवादी नेपाल स्थापना गरेर साम्यवादसम्म पुग्ने सपना देख्दै आरम्भ गरिएको महान् जनयुद्धका क्रममा नेपाल आमाका दसौँ हजार सुन्दर छोराछोरीले बलिदान गरे । हजारौँ अङ्गभङ्ग र बेपत्ता भए । हजारौँ घरबार र परिवारविहीन भए तर त्यत्रो त्याग र बलिदान गरेर आएको पार्टीको मूल नेतृत्व नै दलाली, गद्दारी र आत्मसमर्पणको बाटो रोज्दै जनता, पार्टीनेता र कार्यकर्ताको बलिदानीमाथि धोका दिएर दुस्मनसामु लम्पसार पर्यो । आज प्रचण्ड र बाबुरामहरू हिजो क्रान्तिकारीको टाउकाको मोल तोक्ने शेरबहादुर देउवाहरूकै क्याम्पमा शरण लिन पुगेका छन् भने क्रान्तिकारीहरूमाथि जनयुद्धकालमा झैँ फेरि घरघरमा पक्राउ पुर्जी टाँसिएको छ । जनयुद्ध आरम्भ गर्दा जनयुद्धलाई सम्झौतामा टुङ्ग्याउनु अपराध हुनेछ भन्दै जनतालाई युद्धमा लामबद्ध हुन प्रेरित गर्नेहरू आज राजनीतिक, वैचारिक रूपमा पूर्ण रूपमा पतीत बनेर विश्व–प्रतिक्रियावादसँग निर्लज्जतापूर्वक जीवनको भिक मागिरहेका छन् र हाँसीहाँसी बलिदान गर्ने सहिदको त्याग, शौर्य र बलिदानको घोर अपमान गरिरहेका छन् । राजनीतिक र वैचारिक रूपमा यो भौतिक मृत्युभन्दा पनि ठूलो पतन हो ।

जे होस्, नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) का शीर्ष नेतृत्वले २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस हत्यास्थलमै पुगेर संयुक्त रूपमा मनाएका छन् र सहिदका सपना पूरा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको क्रान्तिकारी आन्दोलनका लागि यो सुखद सन्देश हो । सहिदको बलिदानीलाई मनन गर्दै क्रान्ति अघि बढाउने र नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारसहित वैज्ञानिक समाजवादी क्रान्ति पूरा गरेर देशमा वैज्ञानिक समाजवाद स्थापना गर्न यसले नयाँ ऊर्जा, प्रेरणा र हौसला दिएको छ । यसले श्रमिक–उत्पीडित जनता र विभिन्न संसदीय संशोधनवादी कित्ताहरूमा अल्मलिएर बसेका क्रान्तिकारीहरूलाई पनि क्रान्ति पूरा गर्न, सहिदका सपना पूरा गर्न नयाँ ऊर्जा र प्रेरणा दिनेछ भन्ने अपेक्षासहित दोरम्बा मोर्चामा बलिदान गर्ने २१ जनासहित सम्पूर्ण सहिदहरूमा हार्दिक श्रद्धाञ्जली ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :