दोरम्बाका सहिदका सपना

दोरम्बाका सहिदका सपना

विप्लवी

साउन महिनाको अन्तिम दिन । जनयुद्ध लडेका माओवादीहरू भन्छन्, २०६० सालको साउन ३२ को कालो दिनपछि कताकता यो दिन नआइदिए पनि हुन्थ्योजस्तो लागिरहन्छ । सहिदहरूले रातो रगत बगाएर धर्ती मुक्त बनाउन बलिदान गरेको दिन हो साउन मसान्त । यो कोणबाट हेर्दा त्यो दिन मालेमाको आदर्श पछ्याइरहेकाहरूका लागि एउटा थप प्रण गर्ने दिन पनि हो । तत्कालीन राजतन्त्रात्मक फासिवादी सत्ताले युद्धविराम र शान्तिवार्ताका न्यूनतम् मूल्य–मान्यता पनि पालना नगरी रामेछापको दोरम्बा– डाँडाकटेरीमा माओवादीका २१ जना नेता–कार्यकर्तालाई लस्करै उभ्याएर छाती र छाउकोमा गोली दागेर हत्या गरेको दिन हो साउन मसान्त ।

माओवादी आदर्श प्राप्तिका लागि २०६० साल साउन ३२ गते दोरम्बामा जनताले बलिदान गरेका थिए । दोरम्बाको डाँडाकटेरीमा तत्कालीन रामेछाप जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’, अम्बिका दाहाल ‘ललिका’, प्रदीप दोङ ‘रक्तिम’, उमा कार्की ‘सहारा’, पदमराज गिरी, सानुराम तामाङ योञ्जन ‘तारा’, ठूलोराम तामाङ ‘छोप्पा’, लछुमन तामाङ, युवराज मोक्तान, लीला मोक्तान, चतुरमान थामी, सङ्गीता, टेकबहादुर थापामगर ‘विवेक’, विष्णुमाया थापामगर ‘विमा’, श्याम तामाङ ‘इन्क्लाब’, हर्क घिसिङ ‘यथार्थ’, रवि चौहान ‘समीर’, उषा, जमिन, सोनामलगायतले क्रान्तिकारीहरूको ‘तीर्थस्थल’ बनाएका थिए ।

इतिहासको सामान्य नियमअनुसार देश र जनतालाई पुरानै समय र व्यवस्थातिर फर्काउन खोज्ने र प्राप्त उपलब्धिहरूमाथि धावा बोल्ने प्रयास भइरहेको समयमा हिजो श्रमजीवी जनताका विरुद्ध युद्धको ऐलान गर्नेहरू, अन्यायपूर्ण युद्धका अनुयायीहरू यतिबेला न्यायको कठघरामा हुनुपर्ने थियो । तर कतै इतिहासले उल्टो मजाक गरेर विपन्न जनता अनि देशको मुक्तिका लागि खटिरहेका क्रान्तिको नेतृत्व, कार्यकर्ता र जनतालई नै कठघरामा थुनिरहेको पो छ कि भनेर चिन्ता गर्नुपर्ने समय पनि हो यो ।

जनयुद्धमा सहभागी भएर आएकाहरूलाई सहिदको रगत, घाइतेका अपाङ्ग शरीर, आफ्ना प्रिय सहयोद्धाहरूका शव, प्रियजनहरूका आँसु र पसिनाको भेल तरेर आएकाहरूका लागि दोरम्बा हत्याकाण्डको दिनले विगतमा जनताका सामु गरेका वाचा एकपटक पुनः स्मरण गर्न बाध्य बनाएको छ । झन्डै १० हजार सहिदको रगत, सपना र भावनाका विरुद्ध कदम चलिरहेका त छैनन् ? शान्ति, सहमति, सम्झौता आदिका नाममा कतै महान् आदर्शहरूलाई तिलाञ्जली दिँदै क्रमशः रसातलतिर भासिइरहेको त छैन समय ? आज आएर पनि पलायन हुनु, घेरामा पर्नु थियो र जनयुद्ध आरम्भताका जनताका सामुन्ने गरेका वाचाहरूबाट स्खलित हुँदै जानु थियो भने किन बगाइयो तीफदीको रगत ? किन चढाइयो दोरम्बामा २१–२१ जना होनहार क्रान्तिकारीलाई बलिमा ? हार्नै थियो र हार्दै जानुमा गौरव गर्दै जानु थियो भने किन बनाइयो दसौँ हजार सहिद–बेपत्ता, अपाङ्ग परिवारको बेहाल ? लाखौँ घरपरिवार विघटन भएर, हजारौँ बेपत्ता, घाइते तथा अपाङ्गहरूको जीवन किन भयो तहसनहस ? आज माओवादी आन्दोलनभित्रका इमानदार र क्रान्तिकारीहरू यो प्रश्न उठाउन थालेका छन् ।

क्रान्तिकारीहरू आशावादी हुन्छन् । उनीहरू भन्छन्– होइन, यस्तो हुनै सक्दैन । समयले कहिलेकहीँ उल्टो मजाक पनि गर्दाे रहेछ । क्रान्तिकारीहरूले २०६६ सालको साउन ३२ गते पनि सहिदको रगत बगेको दोरम्बाको माटो मुठीमा लिएर वाचा बाँधेका थिए— महान् सहिदहरू, हामी तिम्रा सुन्दर सपना पूरा नगरेसम्म, जनताको हत्या गर्ने र तिनलाई आदेश दिने र बचाउनेहरूको सुखको स्वर्ग नभत्काएसम्म एकरत्ति पछि हट्नेछैनौँ । हामीलाई सहिदले देखाएको बाटो प्यारो छ । हामीलाई न्यायपूर्ण मृत्यु प्यारो छ ।

जनयुद्ध आरम्भ गर्नुअघि माओवादीले आमजनतासामु व्यक्त गरेको प्रतिबद्धता २०५२ साल फागुन १ गते यसरी पर्चामार्फत अभिव्यक्त भएको थियो :

जनयुद्धको थालनीको हाम्रो यो योजना ‘राज्यसत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निम्ति राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र सङ्घर्षको प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने सुधारवाद, अराजकतावादलगायत सबै प्रकारका विचलनवादी प्रवृत्तिविरुद्ध निरन्तर सङ्घर्ष गर्न पार्टी आफ्नो प्रतिबद्धता जाहेर गर्छ ।

हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सांस्कृतिक क्रान्तिहरू चलाउँदै मानवजातिकै स्वर्णिम भविष्य साम्यवादको व्यवस्थासम्म जाने उद्देश्यमा आधारित हुनेछ ।

एकपटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आमजनताप्रति अपराध हुने कुरामा पनि हामी दृढ छौँ ।

यो सङ्घर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्ग्याउने साधन बन्न दिइनेछैन ।

यसरी हाम्रो सशस्त्र सङ्घर्ष सबै प्रकारका निम्न पुँजीवादी, सङ्कीर्ण, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवम् जातिवादी विभ्रमबाट सम्पूर्ण रूपले मुक्त रहनेछ । अहिले पनि यदि कसैले यही प्रतिक्रियावादी सत्ताभित्र सुधारवादी सङ्घर्षमा नै सीमित रहने कुरा गर्छ भने त्यो अर्काे गद्दारीको प्रक्रिया मात्र हुनेछ भन्ने तथ्य अब इतिहाससिद्ध भएको छ ।

दोरम्बा हत्याकाण्ड नेपालको इतिहासकै सबैभन्दा ठूलो, भीषण र नरसंहारकारी हत्याकाण्ड थियो । दोरम्बामा घटनापछि तत्कालीन सत्तासँगको दोस्रो वार्ता भङ्ग भएर मुलुकमा फेरि युद्ध अघि बढेको थियो । इतिहासमा भएका यस्तै त्याग, शौर्य र बलिदानको बलमा नेपालबाट राजतन्त्रको अन्त्य भएको थियो र मुलुक सङ्घीय, धर्मनिरपेक्ष गणतन्त्र घोषणा भएको थियो । दोरम्बाकै बलिदानको जगमा संविधानसभाको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको थियो ।

तर समय धुमिलधुमिल हुँदै गएको छ । दोरम्बाको भूमिमा पोखिएको क्रान्तिकारीको रगतबाट स्थापित सङ्घीय गणतन्त्र नेपलमा रूपान्तरणकारी युद्धमा कुनै लगानी नगरेकाहरूको रजाइँ चल्न थालेको छ । देशमा क्रान्तिकारीहरू ढल्दा खुच्चिङ गर्नेहरू आज माओवादीभित्रै सशक्त बन्दै गएका छन् । रगतको जगमा उभिएको संविधानसभामा क्रान्तिकारीहरू नै घेरिए । यो उल्टो चक्र अन्त्य गर्न पनि दोरम्बाका सहिदहरूको सपनालाई आधार बनाएर जनविद्रोहको नयाँ तयारी नगरी सुखै छैन । तर के आज हामी हाम्रा विगतका प्रतिबद्धताहरूबाट स्खलित त हुँदै गइरहेका छैनौँ ? सहिदहरूका बिम्ब र प्रतीकहरू बिस्तारै ढल्दै, गल्दै र घुर्मैलो इतिहास बन्दै गएको यो सङ्गीन घडीमा सहिदका सुन्दर सपना पूरा गर्न अरू दोरम्बा र बेथानहरू दोहोरिनेछैनन् भन्ने कसरी ग्यारेन्टी गर्न सकिन्छ र ?

(दोरम्बा हत्याकाण्ड : मुक्तिका लागि बलिदान २०६८ बाट)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :