किन भएन दोरम्बा नरसंहारका दोषीमाथि कारबाही ?

नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त आयोजनामा २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस सम्पन्न

किन भएन दोरम्बा नरसंहारका दोषीमाथि कारबाही ?

डाँडाकटेरी (रामेछाप) : रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा निःशस्त्र २१ जना माओवादी नेता–कार्यकर्तालाई नियन्त्रणमा लिई गरिएको सामूहिक हत्याकाण्डको १९ वर्ष पूरा गरी २० वर्ष लागेको छ । उक्त घटनामा सहादत प्राप्त गर्ने सहिदहरूको सम्झनामा दोरम्बा हत्याकाण्ड स्मृति दिवस सम्पन्न भएको छ । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त आयोजनामा रामेछाप, दोरम्बास्थित डाँडाकटेरीमा रहेको सहिदपार्कमा दोरम्बा हत्याकाण्ड स्मृति दिवस सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल ‘गौरव’, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ तथा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का केन्द्रीय, ब्युरोस्तरीय र जिल्लास्तरीय नेता, दुवै पार्टी निकट रहेका विभिन्न जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ताको आतिथ्य र सहभागिता थियो ।

कार्यक्रममा युद्धविरामको नीतिविपरीत तत्कालीन सत्ताले दोरम्बामा विद्रोही माओवादीका नेता–कार्यकर्ताको हत्या गरेको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले बताए । ‘युद्धविरामको समयमा सेना ब्यारेक क्षेत्रको ५ किमिभित्र मात्र बस्ने सहमतिविपरीत र एकले अर्काका विरुद्धको गतिविधि रोक्नुपर्नेमा राज्यपक्षबाट गरिएको दोरम्बा हत्याकाण्ड युद्धनीतिविपरीत रहेको छ’, गजुरेलले भने ।

कार्यक्रममा नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सहिदहरूको सपना पूरा गर्न देशको राजनीतिक व्यवस्था परिवर्तन गर्नु अनिवार्य रहेको बताए । ‘वर्तमान राज्यव्यवस्था जनताका पक्षमा छैन । जनताको चाहना र सहिदका सपना पूरा गर्न राजनीतिक व्यवस्था परिवर्तन गर्नु अनिवार्य भएको छ’, कञ्चनले भने ।

सहिदहरूको प्रतिमामा माल्यार्पणपछि सुरु भएको कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) रामेछापका सचिव लाङ्घालीले गरेका थिए । साथै कार्यक्रमको अध्यक्षता नेकपा (बहुमत) रामेछापका संयोजक ज्ञानबहादुर खड्का ‘उजिर’ ले गरेका थिए । उक्त कार्यक्रममा स्थानीय जनता तथा सरोकारवालाको व्यापक सहभागिता थियो ।

दोरम्बा हत्याकाण्डमा तत्कालीन शाहीसेनाले नेकपा (माओवादी) रामेछाप जिल्ला जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’, प्रदीप दोङ ‘रक्तिम’, अम्बिका दाहाल ‘ललिका’, सङ्गीता, हर्कबहादुर तामाङ यथार्थ, रवि चौहान ‘समीर’, उमा कार्की ‘सहारा’, श्याम तामाङ ‘इन्क्लाब’, पदमराज गिरी ‘असल’, विष्णुमाया थापामगर ‘बिमा’, ठूलोराम तामाङ ‘छोक्पा’, सानोराम तामाङ ‘तारा’, लक्ष्मण तामाङ ‘छाया’, जमिन, सोम, विमला, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर ‘विवेक’, चतुरमान थामी ‘समर’, उषासहित २१ जना माओवादी नेता, कार्यकर्ता र पार्टी शुभेच्छुकहरूको हत्या गरेको थियो । शाहीसेनाले बैठक बस्ने तयारी भइरहेको युवराज मोक्तानको घर घेरा हाली निहत्था माओवादी नेता–कार्यकर्तालाई कब्जामा लिएर निर्ममतापूर्वक हत्या गरी शवलाई भीरबाट लडाइदिएको थियो ।

जनयुद्धको नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुईपटक सरकारको नेतृत्वमा पुग्दासमेत हत्याकाण्डमा संलग्नमाथि कारबाही नहुनु तथा समग्र जनताको जीवनस्तर सुधार गर्न नसक्दा संसदीय व्यवस्थाप्रति जनताको चरम वितृष्णा जागेको छ ।

तत्कालीन नेकपा (माओवादी) र तत्कालीन सरकारबीच युद्धविराम भई दाङको हापुरेमा शान्तिवार्ता चलिरहेकै अवस्थामा तत्कालीन शाही नेपाली सेनाका मेजर राममणि पोखरेलको नेतृत्वमा रहेको सेनाले माओवादी कार्यकर्ताहरूको बीभत्स सामूहिक हत्या गरेको उक्त घटनाले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गरेको थियो । राष्ट्रिय मानवअधिकार आयोगले त्यतिबेलै घटनाको अध्ययन गरी सरकारबाट मानवअधिकार उल्लङ्घन भएकाले दोषीहरूलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो । तर घटना भएको २० वर्ष लागिसक्दा पनि अपराधीहरूलाई कारबाही नगरिएको भन्दै सरकारको विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :