नेकपा (बहुमत) का केन्द्रीय सल्लाहकार प्रह्लादको सालिक अनावरण

नेकपा (बहुमत) का केन्द्रीय सल्लाहकार प्रह्लादको सालिक अनावरण

जाजरकोट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सल्लाहकार सदस्य तथा जाजरकोटी कम्युनिस्ट आन्दोलनका होनहार योद्धा जयबहादुर राणा ‘प्रह्लाद’ को सालिक अनावरण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटको आयोजनामा मङ्गलबार उनको गृहनगर रिम्नामा कार्यक्रम आयोजना गरी सालिक अनावरण गरिएको हो । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले हालै निधन भएका प्रह्लादको सालिक अनावरण गरेका हुन् ।

सालिक अनावरण कार्यक्रममा प्रमुख अतिथि नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले जीवनभर क्रान्तिकारी आन्दोलनका पक्षमा लड्ने आफ्नो पार्टीका केन्द्रीय सल्लाहकार सदस्य प्रह्लाद एक निडर, क्रान्तिकारी योद्धा रहेको भन्दै क्रान्तिकारी आन्दोलन र नेपाली जनयुद्धमा उनको योगदान निकै माथि रहेको बताए । साथै उनले क्रान्तिकारी आन्दोलनलाई निरन्तर अघि बढाउनु र जनतालाई धोका नदिनु नै जाजरकोटका अग्रणी योद्धा प्रह्लादका सपनाहरूको रक्षा र सम्मान हुने विश्वास व्यक्त गरे । नेपाली जनताका सबैखाले समस्याहरूको समाधान गर्ने र क्रान्तिकारी आन्दोलनको रक्षा र विकास तथा जनयुद्धका उपलब्धिहरूको रक्षा क्रान्तिकारी शक्तिले मात्र गर्ने भएकाले बलियो क्रान्तिकारी एकता आवश्यक रहेको भन्दै नेता सुदर्शनले बृहत् क्रान्तिकारी एकताका लागि काम र प्रगति भइरहेको बताए । आफ्नो पार्टी र किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता अघि बढिसकेको जानकारी गराउँदै नेता सुदर्शनले अब नेपालमा क्रािन्तकारीहरूको बलियो धारा निर्माण हुने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गगन खड्का ‘जीवन’, प्रदेश उपाध्यक्ष ढकवीर राणा, नागरिक समाज जाजरकोटका अगुवा राजेन्द्रविक्रम शाह, नेकपा (बहुमत) का कर्णाली ब्युरो इन्चार्ज सङ्गम, केन्द्रीय सदस्यहरू मोतीराम, शीतल, प्रह्लादका श्रीमतीहरू ससिला राणा र जिरी राना, छोरा राजु राना, छोरी चित्रकला राना, सङ्गीता रानालगायत कार्यक्रममा अतिथि थिए । कार्यक्रममा नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा जाजरकोट इन्चार्ज धमिलले अध्यक्षता गरेका थिए भने तिलक विष्टले कार्यक्रम सञ्चालन गरेका थिए ।

मस्तिष्कघातबाट केही दिनअघि निधन भएका जाजरकोट रिम्ना निवासी जयबहादुर राना सहिदपिता हुन् । जनयुद्धमा उनका छोरा सहिद भएका थिए । प्रह्लाद पञ्चायती शासनविरुद्धको आन्दोलन, २०४६ सालको जनआन्दोलन हुँदै २०५२ सालदेखि सुरु भएको जनयुद्धको आरम्भदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पार्टीका विभिन्न शाखा तथा विभागहरूमा रहेर काम गरेका र जनयुद्धमा निकै ठूलो योगदान पुर्याएका प्रह्लादका कारण रिम्ना, पिपे, मैदेलगायत आसपासका गाउँहरू जनयुद्धकालदेखि नै क्रान्तिका अभेद्य आधारकिल्लाका रूपमा विकास भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :