क्रान्तिकारी पार्टीहरूबीच एकता–प्रक्रियाले दिएको सन्देश

क्रान्तिकारी शक्ति र मुक्तिका लागि लडिरहेका जनतालाई खुसीको सन्देश प्रवाह गर्दै र दलाल पुँजीवादी लुटेराहरूको खुसीको स्वर्गमाथि धावा बोल्दै नेपालका दुई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकताप्रक्रिया प्रक्रिया अघि बढेको छ । यसले ‘कम्युनिस्टहरू फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन्’ भनेर प्रतिक्रियावादीहरूले जनतामा पारेको भ्रम र इमानदार जनतामा कम्युनिस्ट पार्टीहरू मिलिदिए हुन्थ्यो, क्रान्ति छिटो सम्पन्न भइदिए हुन्थ्यो भन्ने जनताको इमानदार र पवित्र भावनामा पनि क्रान्तिकारी आशावादको रक्तसञ्चार गरेको छ ।

पार्टीहरू किन विभाजित हुन्छन् वा एउटा पार्टीबाट किन अरू पार्टीहरूको जन्म किन हुन्छ भन्ने विषयले लामो व्याख्या र विश्लेषणको माग गर्दछ । क्रान्तिकारी दर्शन, विचार, सिद्धान्त, राजनीति र कार्यक्रम एउटै भएका वा एउटै हुनसक्ने प्रबल सम्भावना भएका पार्टीहरूका बीचमा एकता हुनु अत्यन्त सुखद र अत्यावश्यक पक्ष हो । प्रतिक्रियावादी, अवसरवादी, संसदीय संशोधनवादी अर्थात् पुँजीवादी र दलाल पुाजीवादी शक्तिहरू आफ्नो सत्तास्वार्थको निहित उद्देश्य पूरा गर्न एकताका नाउँमा बारम्बार गठबन्धनहरू बनाइरहेका हुन्छन् । उनीहरूबीचको एकता, गठबन्धन वा मोर्चा देश र जनतामाथि कसरी ब्रह्मलूट गर्ने, कसरी राज्यशक्तिको दुरुपयोग र दोहन गर्ने, कसरी अत्याचारी व्यवस्था र शासनसत्ता लम्ब्याउने भन्नेमा केन्द्रित हुन्छ भने क्रान्तिकारी र विशेषतः कम्युनिस्टहरूबीचको एकता देश, जनता र श्रमिक सर्वहारा जनताको मुक्ति र समाजवाद स्थापनालाई केन्द्रमा राखेर हुने गर्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा पनि यसप्रकारका फुट, विभाजन, पुनः एकता र ध्रुवीकरणका धेरै लामालामा शृङ्खलाहरू सञ्चालन भएका छन् । फुट वा विभाजनको समयमा जनतामा निराशा देखिने गरेको छ भने क्रान्तिकारी ध्रुवीकरण र एकताले क्रान्तिकारी शक्ति र श्रमिक जनतामा ठूलो उत्साह र खुसी ल्याउने गरेको छ । यो स्वाभाविक प्रक्रिया पनि हो । नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकताका लागि आन्तरिक वार्ताहरू हुँदै गर्दा र पछिल्लो समयमा एकता संयोजन समिति नै गठन भएको सन्देश प्रवाह हुँदा नेपालका मात्र होइन, संसारकै क्रान्तिकारी कम्युनिस्टहरूबीच खुसीको सन्देश प्रवाह भएको छ । यो प्रक्रिया र सन्देशले नेपालमा अवसरवादी र आत्मसमर्पणवादी नेतृत्वले रछ्यानमा फ्यालेको रक्तरञ्जित झन्डा र सहिद–बेपत्ता योद्धाका सपनाको उच्च सम्मान मात्र गरेको छैन, अलपत्रमा पारिएको जनवादी– वैज्ञानिक समाजवादी क्रान्ति छिट्टै पूरा हुने प्रक्रिया अघि बढ्ने सन्देश पनि प्रवाह गरेको छ । यो अत्यन्त सुखद सन्देश हो । अब यसलाई निर्णय र कार्यान्वयनको चरणमा अघि बढाउनुपर्छ र जनतालाई अर्को खुसीको सन्देश प्रवाह गर्नुपर्छ ।

यतिबेला मुलुकको राष्ट्रियता अत्यन्त सङ्कटमा परेको छ । भारतीय साम्राज्यवादको लुट, दोहन र हस्तक्षेपले देश थिलथिलो भएको अवस्थामा अमेरिकी साम्राज्यवाद एमसीसी र एसपीपी लिएर सीधै देशको संसद्बाट हस्तक्षेपकारी अवस्थामा भित्रिएको छ । हिजोसम्म मुलुकका लागि कागजी बाघ मात्र देखिएको साम्राज्यवादको नग्न उपस्थिति र नेपालका दलाल पुँजीवादी शासकहरूको दास र लाचारपनले मुलुक कति बेला सिरिया, लिबिया, युक्रेन, अफगानिस्तान वा इराक बनाइने हो, कुनै टुङ्गो छैन । एकातिर साम्राज्यवादी स्वार्थहरूलाई मुलुकको संसद्बाटै देशभित्र प्रवेश गराएर देशलाई अन्त्यहीन युद्धको भुमरीमा फसाउने षड्यन्त्र भइरहेको छ र देशका शासकहरू त्यसका मतियार वा गोटी बनिरहेका छन् भने अर्कातिर देशभक्त शक्ति र जनताको व्यापक विरोध र विद्रोहलाई कुल्चिँदै संसद्बाटै राष्ट्रघाती नागरिकता विधेयक पारित गरी विभिन्न बहानामा नेपाल छिरेका भारतीय नागरिकलाई नागरिकता बाँडेर वास्तविक जनतालाई अल्पमतमा पार्ने र मुलुकलाई फिजी बनाउने खतरा बढेको छ । खराब व्यवस्था र खराब शासकहरूका कारण महँगी, भ्रष्टाचार, कमिसनखोरी, बेरोजगारी, प्रतिभा पलायन, दलाली, आत्मसमर्पण मुलुकका स्थायी रोग बनेका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय शासकहरूका लागि सत्तादोहन गर्ने साधन बनेका छन् । अभाव र शोषणले जनताको जीवन उठ्नै नसक्ने अवस्थामा पुगेको छ । मिटरब्याजी, सूदखोरीलगायत शोषण र अत्याचारले जनतालाई सडकमा पुर्याएको छ । राज्यसत्ता र सरकारको उपस्थिति देशको रक्षा र जनताको सेवाका लागि होइन, दोहन, शोषण र व्यभिचारका लागि मात्र भएको छ । सरकार आफैँ वा आफूभन्दा अघिल्ला सरकारहरूले गरेको निर्णय, सहमति कार्यान्वयन नगरेर क्रूर र फासिवादी बन्दै गएको छ । सत्तासङ्कट शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने सहमति गरेको सरकारले सहमति कार्यान्वयन गर्नु त परै जाओस् उल्टै पार्टी नेताहरूमाथि पक्राउ पुर्जी जारी गरेर आफ्नो फासिवादी हर्कत प्रदर्शन गरिरहेको छ । यस्तो विकराल अवस्थामा देशमा एउटा शक्तिशाली र भरपर्दो क्रान्तिकारी कम्युनिस्ट आन्दोलन बन्नु र अघि बढ्नु अत्यावश्यक थियो र नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकताप्रक्रियाले देश र जनताका लागि आवश्यक मात्र होइन, ढिला भइसकेको क्रान्तिकारी आन्दोलन अघि बढ्ने र सफलतासम्म पुग्ने आशा र अपेक्षा बढेको छ । यो अत्यन्त सुखद सन्देश हो ।

कम्युनिस्ट मात्र होइन, अरू पार्टी र शक्तिहरू पनि बारम्बार फुटिरहेका र समयसमयमा फेरि जुटेका देखिन्छन् । नेपालकै राजनीतिक इतिहासमा पनि आफूलाई प्रजातान्त्रिक भनाउने तर दलाल पुँजीवादको सेवक र अगुवा नेपाली काङ्ग्रेस पार्टी पनि बारम्बार फुट्ने र जुट्ने गरेको इतिहास छ । पछिल्लो चरणमा जनयुद्धले उचाइ र व्यापकता लिँदै गर्दा विद्यमान प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा काङ्ग्रेस पार्टी फुटेर तत्कालीन राजा ज्ञनेन्द्र शाहीको कदमको समर्थन गरेको थियो र पुरस्कारस्वरूप उनले शाही प्रधानमन्त्रीको पद पाएका थिए । एउटा स्वार्थ पूरा भएपछि र सत्तासङ्कट र अस्तित्वसङ्कट गहिरिएपछि पुनः उक्त पार्टी पनि जुटेको इतिहास ताजै छ । नेपालमा संशोधनवादको प्रवर्तक र प्रयोगकर्ताका रूपमा रहेको एमाले पनि बारम्बार फुट्दै र जुट्दै गरेको इतिहास छ । सामन्ती राजतन्त्रका पक्षपार्ती राप्रपा, मधेसवादीहरू र अन्य क्षेत्रीय, जातीय समूहरूको त फुट्ने र जुट्ने कुनै सङ्ख्या र सीमा नै छैन । देशी–विदेशी शक्तिहरूको स्वार्थ र इशारामा प्रतिक्रियावादी शक्तिहरू फुट्दा देश र जनतालाई फाइदा हुन्छ भने जनताको अपेक्षा र देशको आवश्यकतामा कम्युनिस्ट क्रान्तिकारीहरू जुट्दा देश र श्रमिक जनतालाई फाइदा हुन्छ । प्रतिक्रियावादी शक्तिहरू अस्तित्वरक्षाका लागि गठबन्धनका नाउँमा मोर्चा बनाएर जुटिरहेको समयमा, देश र जनतामाथि शोषण, दमन र युद्धको कालो बादल मडारिइरहेको अवस्थामा एउटै उद्देश्य भएका क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबीच एकता नहुँदा प्रतिक्रियावादी र यथास्थितिवादी शक्तिले फाइदा लिइरहेका थिए । यो एकताप्रक्रियाले सार्थकता र पूर्णता पाएपछि भने फेरि एकता र क्रान्तिकारी ध्रुवीकरणको एउटा नयाँ लहर आउनेछ भने प्रतिक्रियावदी शक्ति कमजोर बन्नेछ । दलाल पुाजीवादको अन्त्य र मुलुकमा वैज्ञानिकसमाजवाद स्थापनाका लागि पनि यो एकताप्रक्रिया ऐतिहासिक महत्वको हुने निश्चित छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :