नागरिकता विधेयक, एमसीसी, एसपीपी र महँगीको विरोधमा ६ दलीय मोर्चाद्वारा बारामा अन्तरक्रिया

नागरिकता विधेयक, एमसीसी, एसपीपी र महँगीको विरोधमा ६ दलीय मोर्चाद्वारा बारामा अन्तरक्रिया

सिमरा (बारा) : नेकपा (बहुमत) सहितको ६ दलीय मोर्चाले बाराको सिमरामा नागरिकता विधेयक, एमसीसी, एसपीपी र महँगीको विरोधमा अन्तरक्रिया आयोजना गरेको छ ।

कार्यक्रममा नेकपा (बहुमत) केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयन, नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माण, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य प्रल्हाद साह, नेकपा मसाल केन्द्रीय समन्वय समितिका प्रतिनिधि खगेश्वर शर्मा पौडेल र दीपकप्रसाद चौधरी, वाम बुद्धिजीवी मुनिन्द्रलाल कर्ण, सहिद परिवार कविता मोक्तानलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा (बहुमत) का सचिवालय सदस्य नयनले ५ दलीय गठबन्धन सरकार अमेरिका र भारतको डिजाइनमा चलिरहेको बताए । उनले नेपाललाई फिजीकरण, सिक्किमीकरण गर्ने योजनामा गठबन्धन सरकारले काम गरिरहेको पनि बताए ।

नेकपा (बहुमत) का नेता नयनले अब यो राज्यसत्ता गरिब, किसान, मजदुर वर्गको नभएर दलाल पुँजीवादीहरूको रहेकाले क्रान्तिकारीहरूले दलाल पुँजीवादी राज्यसत्तालाई ध्वस्त पारेर त्यसको ठाउँमा जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए ।

वाम बुद्धिजीवी मुनिन्द्रलाल कर्णले केपी ओली नेतृत्वको नेकपा (एमाले) र प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ढोङ्गी कम्युनिस्टहरू रहेको बताए । उनले नागरिकता विधेयक मधेसीको मात्र समस्या नभएर सिङ्गो देशको समस्या रहेको पनि बताए । एमसीसी, एसपीपी, नागरिकता विधेयकजस्ता राष्ट्रघाती निर्णय गर्दै हिँड्ने ५ दलीय राष्ट्रघाती गठबन्धन सरकारका विरुद्ध सम्पूर्ण देशभक्त नेपाली एक साथ उठेर सङ्घर्ष गर्नुपर्ने उनको भनाइ थियो ।

नेकपा मसाल केन्द्रीय समन्वय समितिका प्रतिनिधि खगेश्वर शर्मा पौडेलले प्रचण्डलाई अमेरिका र भारतले नचाइरहेकाले कहिले एमसीसी, कहिले एसपीपी र कहिले नागरिकता विधेयक बोकेर हिँडिरहेको धारणा राखे । उनले देशको विकास गर्न शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव वा बाबुरामहरूबाट सम्भव नरहेकाले क्रान्तिकारी परिवर्तनसहित क्रान्तिकारी शक्तिले सत्ता सञ्चालन गर्नुपर्ने पनि बताए ।

नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य प्रल्हादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेकपा मसाल केन्द्रीय समन्वय समितिका प्रतिनिधि दीपकप्रसाद चौधरीले गरेका थिए भने सञ्चालन नेकपा (बहुमत) महाधिवेशन आयोजक समितिका सदस्य तथा रौतहट–बारा इन्चार्ज सङ्केतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :