राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा देशभर ६ दलीय गठबन्धनको विरोधसभा

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा देशभर ६ दलीय गठबन्धनको विरोधसभा

काठमाडौँ: राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, महँगी, कालोबजारीलगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरूलाई लिएर ६ वाम घटकले बिहीबार देशभर विरोधसभा गरेका छन् ।
यसैक्रममा काठमाडौँमा आयोजित विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले शासकहरूले राष्ट्रघात र जनघातका हरेक सीमा पार गरिसकेको बताए । नेता गजुरेलले जनताको धैर्यको बाँध टुट्न थालिसकेकाले शासकहरूले बालुवाटार र सिंहदरबार छाडेर भाग्नुपर्ने दिन आउने पनि बताए ।
राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गर्न दलालहरूले राष्ट्रपतिलाई दबाब दिइरहेको चर्चा गर्दै नेता गजुरेलले नेपाललाई फिजीजस्तो बनाउने राष्ट्रघाती काममा राष्ट्रपतिले लालमोहर नलगाउने कुरामा आफूहरू विश्वस्त रहेको पनि बताए । राष्ट्रपतिलाई नागरिकता विधेयक संसद्लाई नै फिर्ता पठाउन आफूहरूले भेटेरै आग्रह गरेको जानकारी दिँदै नेता गजुरेलले राष्ट्रपतिले प्रमाणीकरण गरे पनि राष्ट्रघाती नागरिकता विधेयक आफूहरूले नमान्ने बताए ।
राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, महँगी, कालोबजारीलगायत देश र जनताका समस्याहरूलाई लिएर ६ वाम घटकले आयोजना गरेको कार्यक्रममा नेकपा (बहुमत) का कार्यालय सदस्य बाबुराम गजमेरले देशका शासकहरूका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरू गम्भीर समस्यामा पर्दै गएको बताए । उनले यस किसिमका सबैखाले समस्याको समाधान वैज्ञानिक समाजवादी व्यवस्थामा हुने बताए ।
कार्यक्रममा नेकपा (मसाल) समन्वय समितिका नेता ओमबहादुर, संयुक्त क्रान्तिकारी मोर्चा नेपालका प्रतिनिधि माधव दाहाललगायत नेताहरूले विरोध मन्तव्य राखेका थिए ।
रत्नपार्क शान्तिबाटिकामा भएको कार्यक्रमको अध्यक्षता नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले गरेका थिए भने सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) का पीबीएम तथा प्रदेश ३ का इन्चार्ज चन्द्रहरि सुवेदीले गरेका थिए ।
मकवानपुर, चितवन, कास्कीलगायत जिल्लामा पनि ६ दल/मोर्चाको आयोजनामा बिहीबार नै प्रदर्शन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :