मकवानपुरमा राष्ट्रघात, जनघात, महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन

मकवानपुरमा राष्ट्रघात, जनघात, महँगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन

हेटौँडा : संयुक्त सङ्घर्ष समितिद्वारा आयोजित राष्ट्रघात, जनघात, महँगी र भ्रष्टाचारविरुद्धको प्रदर्शन मकवानपुर जिल्लाको हेटौँडामा भव्य रूपमा सम्पन्न भएको छ ।
हेटौँडाको सीमाचोकबाट सुरु भएको विरोध जुलुस बुद्धचोक, कान्तिपथ, स्कुल रोड हुँदै पुनः सीमाचोक पुगेर सभामा परिणत भएको थियो । विरोधसभामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) र संयुक्त क्रान्तिकारी मोर्चाका नेताहरूले सम्बोधन गरेका थिए ।
विरोधसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सेक्रेटरी दिनेश बड्तौलाले वर्तमान दलाल सत्ताले अमेरिकी साम्राज्यवादको कठपुतलीका रूपमा काम गरेको र लगातार राष्ट्रघात, जनघात र भ्रष्टाचार गर्दै अगाडि बढिरहेको बताए । यसप्रकारको जनविरोधी कार्यबाट राष्ट्र र जनतालाई मुक्त गर्न सशक्त सङ्घर्ष अघि बढाएर दलाल पुँजीवादी सत्ता अन्त्य गर्नुपर्ने धारणा उनले राखे ।
नेकपा (बहुमत) का जिल्ला संयोजक शक्तिले सुगौली सन्धिदेखि सुरु भएको राष्ट्रघात, जनघात आजसम्म पनि नरोकिएकाले राष्ट्रिय स्वाधीनताका लागि दलाल सत्ताको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।
नेकपा मसालका प्रतिनिधि रामहरि धितालले राष्ट्रघाती नागरिकता विधेयक अस्वीकार गर्न राष्ट्रपतिलाई अनुरोध गर्दै राष्ट्रघाती सरकारको कुनै अर्थ नभएको बताए ।
संयुक्त क्रान्तिकारी मोर्चाका तर्फबाट केदारनाथ दुलालले यो व्यवस्थाका कारण राष्ट्रघात र जनघात बढेकाले यसको अन्त्य गर्न सबै क्रान्तिकारी तथा देशभक्त जनसमुदाय एकताबद्ध हुन जरुरी भएको बताए ।
कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मनकुमार न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :