सम्झनाको तरेलीमा नम्रता र भद्रताकी पर्याय कमरेड चन्द्रा थानी

स्मृति

मानिसको जीवनको परिभाषा उसको कर्मले निर्धारण गर्छ । असल कर्म गर्नेहरू मरेर पनि शदीयौँसम्म बाँचिरहन्छन् । भौतिक शरीर रहनु वा नरहनु भनेको पृथक् कुरा हो । मानिस बाँचिरहन चाहन्छ । एकखाले मानिस भौतिक शरीरको अस्तित्व रहनु वा उपस्थिति जनाउनु, उभ्याउनुलाई बाँच्नु ठान्दछन् भने अर्काखाले मानिस अर्थात् माक्र्सवादीहरू यो दुनियाँ परिवर्तनका लागि आफूले गरेका कर्महरूको सारलाई बाँच्नु वा जीवनको सार्थकता रहनु भन्ठान्छन् । यस अर्थमा माक्र्सवादीहरूको जीवन गैरमाक्र्सवादीहरूको तुलनामा बढी सार्थक र जीवन्त रहन्छ । अझ माक्र्सवादी स्रष्टा त कहिल्यै मर्दैन किनकि ऊ कालजयी सिर्जनाहरूका कारण अमर बन्छ ।

लेखक : अशोक सुवेदी

‘कमरेड चन्द्रा थानी रहनुभएन…’, २०७७ साल भदौको एक दिन एक्कासि दुःखद् र अपत्यारिलो समाचार आएर हृदयमै धक्का दिने गरी कानमा ठोक्कियो । कुनै पनि कोणबाट पत्यार लाग्ने र सामान्य रूपमा सहन सक्ने विषय थिएन यो । हामी त केपी वली र पुष्पकमल दाहालहरूले सञ्चालन गरिरहेको सामाजिक दलाल फासिवादी सत्ताको दमनमा थियौँ र राजनीतिक प्रतिबन्ध झेलिरहेका थियौँ । प्रतिबन्धित र भूमिगतजस्तै जीवन व्यतित गरिरहेका भए पनि पूरै सम्पर्कविहीन भने थिएनौँ किनकि जिम्मेवारी पनि पूरै सम्पर्कविहीन हुनेजस्तो थिएन । कमरेड चन्द्रासँग भेट र सम्पर्क नभएको केही समय भइसकेको भए पनि सहयोद्धा रहिसकेको आत्मीय मानिसको मृत्युजस्तो दुःखद् कुरा पत्याउन सहजै नसकिने रहेछ । फेरि त्यस्तो कुनै लामो समयसम्म रोगले थलिएको खबर पनि सुनिएको थिएन तर छिनभरमै सामाजिक सञ्जालहरू कमरेड चन्द्राप्रति श्रद्धाञ्जलीका शब्द र तस्बिरहरूले भरिँदै गएपछि पत्याउनुबाहेक अर्को विकल्प थिएन मसँग । उहाँको मृत्यु भएको हो भन्ने पक्कापक्की भएपछि नेपालको प्रगतिशील सांस्कृतिक, साहित्यिक क्षेत्रमा कमरेड चन्द्राले पुर्याएको योगदानका बारेमा मनमा कुराहरू खेलिरहे । उहाँसँगका सहकार्यका पलहरू पनि हृदयका पानाहरूमा पल्टिरहे ।

कमरेड चन्द्रा थानीको जीवनी, व्यक्तित्व र कृतित्वका विभिन्न पाटाहरू छन् । यहाँ कुनै पनि पाटाका बारेमा रौँचिरा अध्ययन गर्ने जमर्को गरेको छैन, त्यो भिन्नै सन्दर्भमा गरौँला । यतिबेला उहाँको स्मृति गर्ने सन्दर्भ छ । उहाँको सबैभन्दा बिर्सिनसक्नुको स्वभाव भनेको वर्गमित्र र स्वभाव मिल्नेहरूसँगको अत्यन्त आत्मीयता र घनिष्ठता हो । यो अविस्मरणीय छ । नजिकबाट चिनजान भएको समयदेखि दुईवटा ठूल्ठूला आन्तरिक पार्टी विद्रोहका बीच पनि उहाँसँगको आत्मीयता कहिल्यै कम भएन । पुष्पकमल दाहाल समूहसँगको विद्रोहको समयमा हामीले अवसरवाद र संशोधनवादसँग जमेर लड्यौँ, दुई वर्षअघिदेखि नै । वर्गसङ्घर्ष र अन्तरसङ्घर्ष दुवै समयमा हामी सँगसँगै रह्यौँ । चन्द्रामा वर्गमित्रप्रति अगाध माया र दुस्मनप्रति चरम घृणा गर्ने स्वभाव थियो । यो उहाँको अनुकरणीय स्वभाव हो ।

एक प्रगतिशील महिला स्रष्टाले छन्दमा कविता लेख्ने र वाचन गर्ने कुरा असहज र अपत्यारिलो नै थियो तर उहाँले त्यो सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । उहाँ एक राजनीतिककर्मी, क्रान्तिकारी विचारकी स्रष्टा हुनुहुन्थ्यो । उहाँका खास केही विशेषता थिए जो अरूसँग मेल खाँदैनथे । तिनै गुण र स्वभावले उहाँलाई चन्द्रा थानी बनाएको थियो । उहाँको अपत्यारिलो निधनको खबरसँगै यिनै कुराहरू सम्झिएर मन भारी भयो । पछिल्लो समयमा हामी एउटै पार्टीमा नभए पनि एउटै आन्दोलनमा भने थियौँ । हामी क्रान्तिमा थियौँ तर पनि दूर भूगोलबाट कमरेड चन्द्रा हामीलाई बधाई र शुभकामना प्रदान गरिरहनुभएको हुन्थ्यो । उहाँको संवेदनशील र मिलनसार स्वभावका कारण उहाँ हाम्रो एउटै आन्दोलनमा हुनुहुन्न भन्ने अनुभूति पनि नभएजस्तो लाग्थ्यो । यो उहाँको क्रान्तिप्रतिको इमानदारी र खास विशेषता थियो ।

आज भारी मनले कमरेड चन्द्रा थानीलाई, उहाँसँगको सहकार्यलाई इमानदारीसाथ सम्झिइरहेको छु । समयको चापले चक्रपाणि सरले दिएको समयसीमा भत्किसकेको छ तर पनि चाप र तीव्रतामै भए पनि एकजना प्रिय कमरेडलाई सम्झिन्छु भन्ने प्रतिबद्धता व्यक्त गरेको छु ।

औपचारिक रूपमा मसँग कमरेड चन्द्राको परिचय अर्थात् उहाँको जीवनी, व्यक्तित्व र कृतित्वका पाटाहरूलाई व्यक्त गर्ने सूची यसप्रकार रहेको छ ः चन्द्रा थानीको जन्म सुर्खेतको बयलकाँडामा २०१७ साल चैत १६ गते भएको हो । उहाँका बुबा र आमाको नाम प्रजापति र भूमिदेवी थानी हो । उहाँका आमाबाबाका उहाँ, दुई बहिनी र ३ भाइसहित ६ जना सन्तान हुनुहुन्थ्यो । उहाँ परिवारको पहिलो सन्तानका रूपमा जन्मिनुभएको थियो ।

कमरेड चन्द्राले प्राथमिक शिक्षाको अध्ययन स्थानीय प्राथमिक विद्यालयमा,
हाईस्कुलसम्मको अध्ययन पब्लिक हाइस्कुल (हाल जन उच्च मावि) मा र

उच्च शिक्षा (स्नातक) काठमाडौँ बागबजारस्थित पद्मकन्या क्याम्पसमा हासिल गर्नुभएको थियो । ०३८ साल असार ४ गते सुर्खेत सालकोट निवासी चक्रपाणि शर्मासँग वैवाहिक जीवनमा बाँधिनुभएकी चन्द्राका तीन छोरी (सुस्मिता, स्मिता, अस्मिता) र एक छोरा (गेहेन्द्र) हुनुहुन्छ । छोरीज्वाइँ टङ्क अर्याल, अजय ढकाल, सुशील अर्याल र नातिनातिना आर्यन अर्याल, आयन्स अर्याल, स्प्रिहा, स्मेरा ढकाल, प्रिसिला अर्याल छन् ।

चन्द्राले २०३९ सालदेखि २०४१ सालसम्म जनता मावि विद्यापुर सुर्खेतमा र सूर्यप्रकाश मावि पलौंटेमा अध्यापन पनि गर्नुभयो । २०३५ सालमा अखिल (छैंटौँ) बाट राजनीतक जीवन आरम्भ गर्नुभएकी चन्द्रा २०३७ सालमा पद्मकन्या क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुका तर्फबाट कोषाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । उहाँले २०३८ सालमा नेकपा चौथो महाधिवेशनमार्फत कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । २०७७ साल भदौमा निधन हुने बेलासम्म पनि उहाँले सक्रिय राजनीतिक जीवन रोज्नुभयो । जीवनको अन्तिम समयमा उहाँ नेकपा (क्रान्तिकारी माओवादी) मा क्रियाशील हुनुहुन्थ्यो । क्रान्तिकारी माओवादीको चुनावी वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका तर्फबाट उहाँ २०७४ सालको निर्वाचनमा सङ्घीय संसद्मा समानुपातिक तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

कृतित्वका रूपमा उहाँका ‘सङ्कल्प’ (कवितासङ्ग्रह, २०५१), ‘नारीचेतना’ (कवितासङ्ग्रह २०५५ं), ‘कत्लेआम’ (काव्य, २०६८) कृति प्रकाशित छन् भने फुटकर रूपमा साहित्य सौगात, साहित्य सुमन, साहित्य कोसेली, रातो थँुगालगायत विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित छन् । उहाँका ‘पुतली’ (खण्डकाव्य), ‘काँचको घर’ (कवितासङ्ग्रह) प्रकाशोन्मुख छन् । प्रगतिशील लेखक सङ्घ, नेपाल, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, मध्यपश्चिम साहित्य परिषद्, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, इच्छुक सांस्कृतिक प्रतिष्ठान, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा (क्रान्तिकारी माओवादी) मा रहेर उहाँले राजनीति, संस्कृति र साहित्यको सेवा गर्नुभयो । उहाँले प्रतिभा पुरस्कार (सुर्खेती कल्याण समाज काठमाडौंँ २०५२), इच्छुक स्मृति पुरस्कार (इच्छुक सांस्कृतिक प्रतिष्ठान काठमाडौँ २०७३) प्राप्त गर्नुभएको छ भने विभिन्न सन्दर्भमा भारत, बङ्गलादेश, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलियाको भ्रमण गर्नुभएको छ ।

हामी जनयुद्धमा लामबद्ध भइसकेपछि काठमाडौँमा आयोजित शनिबारे साहित्यिक कार्यक्रमहरूमा आक्कलझुक्कल भेट हुन्थ्यो कमरेड चन्द्रासँग तर पनि चिनजान भने थिएन । मञ्चमा उभिएर सुरिलो र नम्र स्वरमा छन्दोबद्ध कविता वाचन गर्दै गरेको सुनियो भने अनुहार नदेखेरै अलि टाढैबाट पनि भन्न सकिन्थ्यो यो चन्द्रा थानीको स्वर हो । विकृति, विसङ्गतिप्रति अतिशय वितृष्णा र आक्रोश थियो उहाँको । त्यसैले उहाँले आफ्नो अलग परिचय बनाउनुभएको छ । चक्रपाणि सर र कमरेड चन्द्राबीचको सम्बन्ध भने मैले अलि पछि नै थाहा पाएको हुँ, पार्टी एउटै भएपछि ।

कमरेड चन्द्रासँगका जनयुद्धको शान्तिपूर्ण अवतरण र खुला जीवन आरम्भ भएपछि बढी चिनजान र घनिष्ठता भएको हो मेरो । कमरेड चन्द्रासँग कहिले भयो औपचारिक परिचय ? एकिन नभए पनि अलि धूमिलधूमिल स्मृति मात्र छ मसँग । तर हामी एक समय निकै नजिक भयौँ सांस्कृतिक आन्दोलनमा । माओवादी आन्दोलन र पार्टीलाई मातृका, टेक, विष्णु, युवराजजस्ता मानिस प्रवेश गरेर दूषित बनाइरहेको समयमा एउटा कञ्चन निष्ठा लिएर आन्दोलनमा होमिनुभएको थियो चन्द्रा । त्यसै समयमा हो हामी संशोधनवाद र अवसरवादका विरुद्ध मज्जासँग जमेर लडेको । मूल नेतृत्वमा रहेर अन्तरसङ्घर्ष सञ्चालन नगरे पनि उहाँले मलाई अवसरवादका विरुद्ध लड्न राम्रो शक्ति र समर्थन दिनुभएको थियो । त्यो मोर्चा हामीले राम्ररी जित्यौँ पनि । पुष्पकमल दाहालकी छोरीका वस्त्र बोकेर हिँड्ने विष्णु–बलरामले बोकेको दास मनोवृत्ति र सामन्ती संस्कृतिका विरुद्ध हामीले विद्रोह बोलेका थियौँ एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ काठमाडौँमा । मेरो नेतृत्वमा भएको उक्त मोर्चा पुष्पकमल दाहाल र कमरेड किरणको टेबुलमा पुगेर हाम्रो पक्षमा फैसला हुँदै अघि बढेको थियो । काठमाडौँमा महासङ्घको क्रान्तिकारी धारको नेतृत्वको जिम्मा मेरो थियो । २०६८ सालमा मेरो सम्पादन संयोजकत्वमा प्रकाशित अखिल नेपाल जनसांस्कृतिक महासङ्घ काठमाडौँको मुखपत्र ‘चन्द्रागिरि’ पल्टाएर हेरेँ मैले । चन्द्रा पनि क्रान्तिकारी विचार समूहबाटै सम्पादनसमूहमा हुनुहुन्थ्यो । त्यो प्रकाशनले अवसरवादसँग निर्णायक सम्बन्धविच्छेद र विद्रोहको धावा बोलेको थियो । हामीले साथसाथ रहेर विद्रोह गरेका थियौँ ।

२०६७ साल असार २५ गते पुरानोबानेश्वर गुरुकुलमा कमरेड सीपी गजुरेल र कमरेड विप्लवलाई प्रमुख÷मुख्य र क. अनिल शर्मा, डा. ऋषिराज बराल, माइला लामा, मोहलाल चन्द आधार, प्राडा नन्दीश अधिकारी, प्राडा जगदीशचन्द्र भण्डारीलगायतलाई अतिथि बनाएर लोकार्पण गरिएको मेरो लेखन, सम्पादन, निर्देशन र निर्माण रहेको ‘जनविद्रोहको पूर्वाभ्यास’ वृत्तचित्रको लोकार्पणको विषयलाई लिएर बलराम तिमल्सिना, रेणु दाहाल, विष्णु भण्डारीलगायत आत्मसमर्पणवादीहरूले विवाद निकाले र मसहित कमरेड चन्द्रा, हिसन समाल, राजु एन राई, सङ्गम लिम्बू, क्रान्ति मल्ल, वसन्त जीएम, पदम महत, कासीराम भुसाललगायत ९ जनालाई किरण पक्षधर भन्दै कारबाही गरे । त्यतिबेला जनसांस्कृतिक महासङ्घ काठमाडौँमा क्रान्तिकारी धारको नेतृत्व मैले र अवसरवादी धारको नेतृत्व भण्डारीले गर्थे । कमरेड चन्द्राले सहर्ष क्रान्तिकारी धारलाई समर्थन गर्नुभयो र विष्णुले जति प्रलोभन दिँदा पनि क्रान्तिकारी धारबाट विचलित हुनुभएन । उहाँले अवसरवादी षड्यन्त्रविरुद्ध पार्टीमा दिइएको मुद्दामा सगर्व हस्ताक्षरसमेत गर्नुभयो र अवसरवादी प्रवृत्ति नामेट नभएसम्म क्रान्तिकारी आन्दोलन अघि नबढ्ने निष्कर्ष सुनाउनुभयो ।

पछिल्लो समय अर्थात् उहाँको दुःखद् निधन हुने समयमा हाम्रो पार्टी फरक थियो तर भावना र काम गर्ने स्पिरिट फरक थिएन । उहाँ सुर्खेततिरै सङ्गठनमा व्यस्त छु भन्नुहुन्थ्यो । काठमाडौँ आएको समयमा फोन गरेर आरामबिमार सोध्नुहुन्थ्यो । अपरकर्णालीलगायत भारतलाई सुम्पिएका असमान सम्झौताविरुद्धको आन्दोलनमा लामबद्ध भएको पाउँथेँ । त्यस बेला पनि अनामनगरमा समयसमयमा भेट भइरहेको थियो । एक सच्चा देशभक्त स्रष्टा हुनुहुन्थ्यो उहाँ । शिष्टता, भद्रता र सौम्य कमरेड चन्द्राका विशेषता थिए । मानिसको भौतिक शरीरको अनुपस्थितिमा फूलबुट्टा भरेर सिँगार्ने, आफू राम्रो देखिन अरूको मुहारमा कालो पोतिदिएर कुरूप बनाउने र आन्दोलनमा अघिदेख नै लामबद्ध छु भन्ने भ्रम पार्न इतिहास र आन्दोलनलाई भ्रष्टीकरण गर्ने कुसंस्कार व्यापक छ । त्यो रोग हाम्रो माओवादी आन्दोलनमा पनि सरेको छ तर कमरेड चन्द्राको जीवनी, व्यक्तित्व र कृतित्वका बीचमा तादात्म्य थियो र उहाँलाई कुनै सिँगारपटारको आवश्यकता थिएन । निरन्तर वर्गसङ्घर्षमा लामबद्ध कमरेड चन्द्राले अन्तरसङ्घर्षहरूमा फरक मतको प्रत्यक्ष नेतृत्व वा अगुवाइ गर्नुभएन तर उहाँभित्रको विद्रोही तुफान र छाल भने हाम्रा भेटहरूमा व्यक्त भइरहेको पाउँथेँ म ।

पातलो शरीर, नम्र व्यवहार, नरम स्वभाव, विचारमा दृढता र व्यवहारमा परिपक्वता । सुललित छन्दमा प्रायः साहित्यिक कार्यक्रमहरूमा कविता वाचन गर्दै गरेकी । प्रिय कमरेड चन्द्रा थानीको स्मरण गर्नासाथ आउने बिम्बहरू हुन् यी । एकीकृत जनसांस्कृतिक आन्दोलन प्रचण्ड समूहसँग विद्रोह गरेसँगै अर्कोतर्फ मोडियो । कमरेड मोहन वैद्य ‘किरण’ को नेतृत्वमा प्रचण्ड समूहसँग राजनीतिक विद्रोह भएपछि नेकपा –माओवादी निर्माण भयो र सांस्कृतिक आन्दोलन पनि अलि धारिलो भयो तर पनि प्रचण्डको भद्दा पतनका असर र बाछिटाहरूले हाम्रो राजनीतिक–सांस्कृतिक आन्दोलनसमेत अछुतो रहेन । प्रचण्डको भैँसीपूजाको वैचारिक पतन र क्यान्टोमेन्ट भ्रष्टाचारको असर सहिदका नाउँमा स्थापित प्रतिष्ठित संस्थाहरूसम्म प¥यो । तर उहाँले त्यस किसिमका गैरमाक्र्सवादी र संशोधनवादी संस्कृतिको डटेर प्रतिरोध गर्नुभयो, साथ दिनुभयो । आदर्शप्रति निष्ठावान्, सच्चरित्रता र नैतिकतावान्, पद्धति र अनुशासनप्रति सदा सचेत र चिन्तित हुनुहुन्थ्यो कमरेड चन्द्रा । त्यसैले वैचारिक, राजनीतिक र सांस्कृतिक आन्दोलनहरूमा भ्रष्टीकरण भएको देख्न नसकेर हामी विचार र व्यवहार मिल्नेहरू घन्टौँ बहस, छलफल गथ्र्यौं । अग्रजहरूको सम्मान गर्नुपर्छ भन्ने मेरो प्रस्तावना र अभियान उहाँलाई अत्यन्त मनपरेको थियो । राणा शासनविरुद्ध गठित मुक्ति सेना र त्यसैको पछिल्लो स्वरूप रक्षा दलका सदस्य एवम् कवि हितप्रसाद उपाध्याय र सामाजिक अभियन्ता ममतामयी आमा जूनमाया सुवेदीको सम्मानमा स्थापना गरेको हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आयोजनामा रामेछाप सिर्जनानगरमा आयोजित साहित्यिक–सांस्कृतिक कार्यक्रममा काठमाडौँदेखि सिर्जनानगरसम्म पुगेर चन्द्राले तीन दिनसम्म वातावरण साङ्गीतिक र स्मरणीय बनाउन ठूलो सहयोग र उत्प्रेरणा दिनुभयो । ममतामयी आमालाई भेटेर अनुभव, अनुभूति र विचारसँग गाँसिएका उद्देश्यपूर्ण छलफल र बहसहरू गर्नुभयो । मेरा तीन दिदी बिहनी– उर्मिला, इन्दिरा र मीरासँग आमाबाबाका योगदानहरूका बारेमा परिचर्चा गर्नुभयो र मैले आरम्भ गरेको सांस्कृतिक अभियानलाई सराहना गर्दै यसको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘आँखामा राख्दा पनि नबिझाउने’ भन्ने पदवी कसैलाई मिल्छ भने त्यो कमरेड चन्द्राका लागि मिल्छ । उहाँसँगको त्यही आत्मीयताका कारण हाम्रो पहलमा उहाँका काव्यकृतिहरूको लोकार्पण र परिचर्चा गराइयो । उहाँ त्यसबाट पनि प्रभावित हुनुभयो । आफ्नै पहल र नेतृत्वमा स्थापित सिर्जनाअभियानहरू रामेछाप साहित्य प्रतिष्ठान, माक्र्सवादी साहित्य प्रतिष्ठान, हित–जून साहित्य प्रतिष्ठानहरूका कार्यक्रममा आमन्त्रित हुनुभयो र सुन्दर सिर्जना पस्किनुभयो । उहाँसँग प्रलेस नामको गैसस र पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ दुवैमा सहकार्य गरियो । उहाँ अविचलित रूपमा आफ्नो विचारमा दृढ भएर प्रस्तुत हुनुभयो ।

कमरेड चन्द्रा एक दृढ राजनीतिकर्मी, महिलानेत्री, जनसंस्कृतिकर्मीका साथै प्रगतिशील साहित्यकार–कवि र त्यसमा पनि विशेषतः छन्दकवि हुनुहुन्थ्यो । जनयुद्धको मूल नेतृत्वको वैचारिक, राजनीतिक पतनका विरुद्ध हामी मजाले जमेर लड्यौँ र एक किसिमको विजय पनि हासिल ग¥यौँ विद्रोह गरेर । त्यो रोग यतिबेलाको कोरोना भाइरस सङ्क्रमणजस्तै भएर महामारीका रूपमा तलसम्म र आफूलाई क्रान्तिकारी दाबी गर्दै आएका पात्रहरूसम्म पनि प्रवृत्तिका रूपमा मौलायो । जनमुक्ति सेनाले पाउने रकममा सुप्रिम कमान्डरबाटै भ्रष्टाचार भएका खबरहरूले हामीलाई विस्मित बनाइरहेको समयमा सांस्कृतिक आन्दोलनका सुप्रिमोहरूबाट सांस्कृतिक आन्दोलनको इतिहास र सहिदका नाउँमा स्थापित सांस्कृतिक संस्थानहरूलाई पनि भ्रष्टाचारको अखडा बनाएका अप्रिय सन्दर्भहरूले हामी क्रान्तिप्रति चिन्तित संस्कृतिकर्मीहरूलाई औधी पिरोल्यो र हामीले विद्रोह बोल्यौँ । क्रान्तिकारी सांस्कृतिक आन्दोलनहरूमा गैरक्रान्तिकारीहरू मिसिए र कञ्चन रक्तिम आन्दोलनलाई फोहोरी बनाए । क्रान्तिकारीहरूलाई कमजोर बनाउने र सांस्कृतिक अभियानहरूबाट कटाउने षड्यन्त्र सुरु भयो । आन्दोलन र अभियानहरू अवसरवादीहरूका गढ बन्दै गए । सहिदका नाउँमा स्थापित अभियानहरूमा पनि प्रचण्ड प्रवृत्तिले स्थान पाएको सुन्दा चन्द्रा पनि विस्मित हुनुभयो र भ्रष्टहरूलाई दुत्कार्नुभयो । इतिहास, राजनीति, संस्कृति र आर्थिक रूपमा भ्रष्टहरू जन्मिए । भ्रष्टहरूलाई ढाकछोप गर्नेहरू पनि देखिए तर चन्द्राले त्यसलाई हृदयैदेखि दुत्कार्नुभयो ।

यसरी समग्र जीवन क्रान्तिकारी राजनीतिक–सांस्कृतिक आन्दोलन र सिर्जनाकर्ममा लगाउँदालगाउँदै कमरेड चन्द्रा हामीबाट अप्रत्यासित रूपमा बिदा हुनुभयो । कमरेड चन्द्राको भौतिक शरीर हामीबीच नरहे पनि उहाँले छोडेका अमिट छापहरू छन् हामीसँग । उहाँका कालजयी रचनाहरू छन् । तिनले क्रान्तिकारीहरूलाई विचलित हुन दिँदैनन्, निरन्तर अघि बढिरहन प्रोत्साहित गर्छन् । कमरेड चन्द्रा, एक असल कमरेडका रूपमा हामी तपाईंलाई सदा सम्झिरहनेछौँ ।

२७ माघ, २०७८

सिर्जनानगर

(साउन १३ गते लोकार्पित ‘स्मृतिमा चन्द्रा थानी’ पुस्तकबाट)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :