अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले शिक्षा मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा बुझायो ज्ञापनपत्र

अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले शिक्षा मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा बुझायो ज्ञापनपत्र

काठमाडौँ : अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले केन्द्रीय कार्यक्रम अनुसार लुम्बिनी प्रदेशको शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न मागहरूसहित ज्ञापनपत्र बुझाएको छ । माननीय मन्त्री बसुउद्दीन खाँलाई सो मागपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा चर्काे शैक्षिक शुल्क खारेजी, छात्रवृत्तिको पारदर्शीता, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन/नियमावलीको कार्यान्वयन, सिटिईभिटी तथा सामुदायिक र निजी क्याम्पसहरूले लिइरहेको चर्काे र मनोमानी शुल्क नियन्त्रण, आम गरिखाने वर्गका बिद्यार्थीहरू विद्यालयको पहुँचबाट गइरहेको अवस्था अन्त्य, स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तक लगायतका १५ बुँदे विभिन्न शैक्षिक मागहरू समेटेर मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो । यस बिषयमा गम्भीर छलफलसमेत भएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री खाँले अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश समितिले विभिन्न शैक्षिक बिषयहरू समेटेर ज्ञापनपत्र बुझाएकोमा खुसि व्यक्त गर्दै आफूहरूले शैक्षिक क्षेत्रमा राम्रो गर्नका लागि सधैं तयार रहेको बताए । साथै उनले संघीय सरकार र स्थानीय तहसँग समन्वय गरेर पत्रमा उल्लेखित बिषयहरू कार्यान्वयनका लागि पहल लिने बताए ।

क्रान्तिकारीका लुम्बिनी प्रदेश इञ्चार्ज नवीन खड्काले संगठनले बुझाएको ज्ञापनपत्रमा उल्लेखित बिषयहरूमा सरकारको विशेष ध्यानाकर्षण हुनुपर्ने बताए । शिक्षा क्षेत्र आजको समयमा निःशुल्क हुनुको सट्टा सबैभन्दा बढी नाफा हुने व्यापार क्षेत्र जस्तो भएको भन्दै तत्कालै यसमा लगाम लगाउनुपर्नेमा जोड दिए । सरकारले शैक्षिक माफियाको घेरा तोडेर शिक्षा क्षेत्रमा आमूल परिवर्तनको लागि काम गर्न सुझाब दिँदै आफूहरूको मागबारे गम्भीर नभए सङ्घर्षमा उत्रिन बाध्य हुने समेत बताए ।

त्यस्तै क्रान्तिकारीका रुपन्देही जिल्ला संयोजक पारस राहादी मगरले स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तकको जिल्लामा एकरुपतामा कार्यान्वयन गराउन सुझाब दिए । साथै गाउँ गाउँबाट अध्ययनकै लागि शहर बजार केन्द्रीत हुनुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गर्न प्रदेशभरिका सबै स्थानीय तहमा शैक्षिक संस्थाहरूको समान स्तरोन्नती तथा गाउँमै स्तरीय र विद्यार्थीको रोजाइको बिषयको अध्यापनको व्यवस्था गर्नुपर्ने बताए । सबै सामुदायिक बिद्यालयमा पर्याप्त शिक्षक दरबन्दीको समेत व्यवस्था गर्नुपर्ने बताए ।

साथै लुम्बिनी बौद्ध विश्वविद्यालयमासमेत विभिन्न शैक्षिक मागहरू समेटेर ज्ञापनपत्र बुझाएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रीय कार्यालय लुम्बिनीमा पुगेर अखपल (क्रान्तिकारी) ले १० बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा अखिल (क्रान्तिकारी) र विश्वविद्यालयबिच भएको सहमति कार्यान्वयन, विश्वविद्यालयमा राजनीतिक भागबन्डाको अन्त्य, पाठ्यक्रम, पाठ्यपुस्तक, विज्ञ प्राध्यापक नियुक्ति, चर्काे शुल्क नियन्त्रण, विश्वविद्यालय, आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा यौंन हिंसाफ दुर्ववहार अन्त्य तथा विश्वविद्यालयद्वारा गठित अध्ययन समितिको प्रतिवेदन सार्वजनिकनिकीकरण, विश्वविद्यालयमा विद्यार्थी सङ्गठनको गतिविधिमाथिको प्रतिबन्ध खारेजीको बिषयहरू समेटिएको छ ।

विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र संकायका डीन डा. सञ्जीव हुमागाईले विद्यार्थीको मागहरूप्रति गम्भीर भएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । अखिल (क्रान्तिकारी)ले उठान गरेको बिषयहरू असाध्यै सान्दर्भिक भएको भन्दै विश्वविद्यालयले सहकार्य गरेर अघि बढ्नेमा विश्वास गर्न अनुरोध गरे ।

नेकपा (बहुमत) रुपन्देही संयोजक शुनिल, अखपल (क्रान्तिकारी) केन्द्रीय सदस्य सन्देश सापकोटा, नवलपरासी जिल्ला सचिव रिषी बस्याल, रुपन्देही जिल्ला सदस्य प्रवेश कण्डेल, संगिता नेपाली, अन्जु रसाइलीलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :