क्रान्तिकारी पार्टीहरू एक हुँदै

क्रान्तिकारी पार्टीहरू एक हुँदै

काठमाडौँ : ब्यापक छलफल पछि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरेको छ । साथै पार्टी एकता प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समितिसमेत गठन गरेको छ ।

शुक्रबार नेकपा (बहुमत) का संयोजक कञ्चन र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले संयुक्त प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत पार्टी एकता प्रक्रियामा सामेल हुन हार्दिक आह्वान् गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आज नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) तथा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का दुवै नेतृत्व सहित वार्ता टोलीहरूका बीच संयुक्त बैठक बस्यो । ब्यापक छलफल पछि सो बैठकले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति गठन गरेको छ । यस अवसरमा हामी सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टी, सङ्गठन र व्यक्तित्वहरूलाई समेत यस प्रक्रियामा सामेल हुन हार्दिक आह्वान गर्दछौँ ।’

आधारभूत कुराहरूमा मिल्दै गएको स्रोतले जनाएको छ । वार्ता टोलीको १९ गतेको बैठकमा दुई पार्टीका प्रमुखहरूसहितको छलफलबाट पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरिएको थियो । साथै बाहिर छरिएर रहेका क्रान्तिकारी पार्टी, सङ्गठन/मोर्चा र व्यक्तिहरूलाई पनि यो एकता अभियानमा सहभागी हुन अपिल गरिएको छ ।

नेपालमा रहेका विभिन्न नामका कम्युनिस्ट पार्टीहरूको ठूलो हिस्सा संसदीय व्यवस्थामा आत्मसमर्पण गरेकाले जनतामा उत्पन्न भएको निरासा अविश्वासलाई यी क्रान्तिकारी पार्टीहरूबीचको एकता हुने सन्देशले विश्वास र आशा जगाइदिने अपेक्षा राखिएको छ भने, जवरजस्त क्रान्तिकारी ध्रुवको निर्माण हुने र वैकल्पिक शक्ति र सत्ताको निर्माण हुने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :