नेकपा (बहुमत) दाङद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न, स्वाधीन सरकार निर्माण गरौँ : कञ्चन

नेकपा (बहुमत) दाङद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न, स्वाधीन सरकार निर्माण गरौँ : कञ्चन

लुम्बिनी : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पहिलो जिल्ला सम्मेलन समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज दाङ घोराहीमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले देश साम्राज्यवादीहरूको क्रियास्थलबाट ग्रसित भई संसदीय व्यवस्थामार्फत नेपाललाई युक्रेन बनाउन थालेको हुँदा यस्तो आइपर्ने समस्या समाधानका निमित्त अन्त्य गर्न स्वाधिन संयुक्त सरकार गठन गरेर कार्यान्वयनमा जान सकिने बताए ।

बास्तोलाले अब स्वाधिन सरकार गठन हुनुपर्ने र स्वाधिन हुन सबैले चाहेको भएपनि अहिलेका पार्टीका नेताहरू स्वाधिन हुन नसकेको उहाँको भनाई छ । ‘स्वाधिन हुन सबैलाई मन छ, तर अहिलेका नेताहरू शेरबादुर देउवादेखि प्रचण्ड, माधव, केपी ओली सबै स्वाधिन हुुन सक्नुभएको छैन’ उनले भने, ‘किनकी कसैबाट दमिद, परिचालित हुनपरेको छ ।’

त्यसैका कारणले अहिले अमेरिकी सहयोग एमसीसी पास गर्ने मन नहुँदा नहुँदै पनि एमसीसी संसदबाट पास भएको बास्तोलाले बताए । कसैबाट दमित नहुनका लागि अबको आवश्यकता स्वाधिन सरकार गठन हुनुपर्ने उनले बताए । जसका लागि संसदीय व्यवस्थाको अन्त्य हुन नसके पनि प्रणालीको अन्त्य गर्नुपर्ने, राजनीतिक स्थिरताको ग्यारेण्टी हुनुपर्ने, सामाजिक रुपान्तरण हुनुपर्ने, शान्ति स्थापना हुनुपर्ने, समृद्धिको सुनिश्चिता, स्वाधिनता स्थापित हुनुपर्ने उनले मागसमेत राखे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला सचिव मनोहरा बुढाथोकी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का विश्व, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला अध्यक्ष चुरामणि बेलवासे, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का गोपाल खत्री, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष गणेश आचार्य र प्रध्यापक तथा बुद्धिजीवी रामप्रसाद जैसिले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज सार्दूल, केन्द्रीय सदस्य सितल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) लुम्बिनी ब्युरो सदस्य दिग्दर्शन, जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक मुक्ति गैरे, अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष दिपक बिष्ट र नेपाल पत्रकार महासंघ दाङ जिल्ला शाखाका अध्यक्ष दुर्गालाल केसी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियोे भने कार्यक्रमको अध्यक्षता तिलक, स्वागत मन्तव्य नारायण भण्डारी र सञ्चालन बिष्णु ओलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :