सुदूरपश्चिममा सरकारी बेथितिविरुद्ध सङ्घर्ष घोषणा गर्दै ‘विद्यार्थी सँगसँगै’ अभियान सुरु

सुदूरपश्चिममा सरकारी बेथितिविरुद्ध सङ्घर्ष घोषणा गर्दै ‘विद्यार्थी सँगसँगै’ अभियान सुरु

धनगढी (कैलाली) : अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज सुरेन्द्र धानुकले विज्ञप्ति जारी गर्दै ‘विद्यार्थी सँगसँगै’ भन्ने मूल नारासहित सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दुई महिना विद्यार्थीहरूका बीचमा ‘प्रज्वल सङ्गठन सुदृढीकरण अभियान’ सञ्चालन गरिने जनाएका छन् । उनले यस अभियानमा जोडिन सम्पूर्ण विद्यार्थीलाई आह्वान पनि गरेका छन् ।

सङ्गठनको बैठकपछि जारी विज्ञप्तिमा सरकारी विद्यालयहरूमा लगाइएको शुल्क, खेताला शिक्षकको विगबिगी, शिक्षकहरूको लापरबाही र मनोमानी, विद्यालयको भौतिक संरचना निर्माणमा हुने भ्रष्टाचार, शिक्षा क्षेत्रसँग जोडिएको सार्वजनिक सम्पत्तिको दुरुपयोगलगायत बेथितिका विरुद्ध सङ्घर्ष गरिने पनि जनाइएको छ ।

निजी विद्यालयहरूले लिइरहेको चर्को शुल्क, तोकिएको छात्रवृत्ति नदिने समस्या र शिक्षा ऐन, नीतिनियमविपरीत मनोमानी तवरले सञ्चालन भैरहेका विद्यालयहरूका विरुद्ध सङ्घर्ष गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

सुप विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डा, परीक्षा नियन्त्रण कार्यालयसँग सम्बन्धित समस्या र विश्वविद्यालयमा भएका सम्पूर्ण बेथितिका विरुद्धमा सङ्घर्ष सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी प्रस्तावित गेटा मेडिकल कलेजलाई तत्काल मेडिकल विश्वविद्यालय बनाउन राज्यसँग जोडदार माग गरिएको छ ।

विज्ञप्तिमा सार्वजनिक यातायातका साधनको भाडामा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर्न सम्बन्धित निकाय र राज्यसँग माग गरिएको छ भने सुप प्रदेशमा भएका जातीय विभेद, महिला हिंसा, जाँडरक्सी–जुवातास, लागूपदार्थ दुव्र्यसनीलगायत सम्पूर्ण सामाजिक विकृति–विसङ्गतिविरुद्ध सङ्घर्ष गर्ने जनाइएको छ ।

विज्ञप्तिमा सुप प्रदेशका पहाडी जिल्लाका स्वास्थ्यचौकीहरूमा आवश्यक स्वास्थ्यकर्मी पठाउन पनि राज्यको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिको प्रथम पूर्ण बैठक साउन ११ गते सङ्गठनका प्रदेश इन्चार्ज सुरेन्द्र धानुकको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का सेती–महाकाली ब्युरो इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य महान्को प्रमुख आतिथ्य र अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष वीरेन्द्र शाहको विशिष्ट आतिथ्यमा कैलालीको धनगढीमा सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :