नेकपा (बहुमत) को किल्ला बन्यो विप्लवको गृहजिल्ला

नेकपा (बहुमत) को किल्ला बन्यो विप्लवको गृहजिल्ला

कपिलवस्तु : विप्लवको गृहजिल्ला कपिलवस्तु नेकपा (बहुमत) को किल्ला बनेको छ । कपिलवस्तुमा आज नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जिल्ला भेला भव्य रूपमा सम्पन्न भएको छ । कपिलवस्तुको शिवनगर नगरपालिकानजिकै नेकपा (बहुमत) को जिल्ला भेला सम्पन्न भएको हो । भेलामा सयौँ नेता–कार्यकर्ताको उपस्थिति थियो ।

भेलामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले कम्युनिस्ट पार्टी गरिब, किसान र मजदुरको पार्टी भएको बताए । उनले नेपालका कम्युनिस्ट पार्टीहरू त्यस्तो नभएर जनताका बिरुद्ध, देशका विरुद्ध जाने, मालिकहरूको सेवा गर्ने, सत्तामा पुगेर धोका दिने र पतन हुने गरेको उदाहरण प्रस्तुत गरे । यसैकारण आफूहरू निरन्तर त्यस्ता धोकेबाजका विरुद्ध श्रमजीवी वर्गका पक्षमा लडिरहेको नेकपा नेता शार्दूलले बताए ।

भेलामा कपिलवस्तु जिल्ला इन्चार्ज रहेका पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य शेरमानले विप्लवको वैज्ञानिक विचार नभएकाले उनी पार्टीभित्र र जनतामा पनि हारेको बताए । गुन्डागर्दी शैलीमा प्रस्तुत हुने, कम्युनिस्ट, वैज्ञानिक र परिवर्तनशील विचारबाट च्यूत भएकै कारणले १२ औँ केन्द्रीय समितिको बैठकमा विप्लव आफैँले ल्याएको स्थानीय चुनाव उपयोगको कार्यक्रम पार्टीकै अत्यधिक बहुमतले खारेज गर्दा पनि उनले पार्टी निर्णय उल्लङ्घन गर्दै चुनावमा जाँदा क्रान्तिकारी जनसमुदायले शर्मनाक पराजित गरिदिएको शेरमानले बताए । क्रान्तिकारी जनता र कार्यकर्ताको चाहनाविपरीत गएमा कसरी पराजित भइन्छ भन्ने कुरा प्रचण्डको गद्दारीदेखि विप्लवको गद्दारीसम्म आउँदा प्रस्ट भएको उनको भनाइ थियो । ‘क्रान्तिकारीहरूमाथि धोका दिनु भनेको पराजित हुनु हो’, उनले भने ।

वीरबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भेलामा रामशरण कोरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन टुकबहादुर पुनले गरेका थिए ।

भेलाले वीरबहादुर विश्वकर्माको संयोजकत्वमा १९ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको छ । उक्त भेलाको अवसर पारेर नेकपा माओवादी केन्द्रका नेता महमद खान नेकपा (बहुमत) मा ध्रुवीकरण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :