विप्लवबाट क्रान्ति सम्भव छैन : संयोजक कञ्चन

नेकपा (बहुमत) मकवानपुर—चितवन—नवलपुरको संयुक्त वैचारिक तथा राजनीतिक प्रशिक्षण सम्पन्न

विप्लवबाट क्रान्ति सम्भव छैन : संयोजक कञ्चन

गैँडाकोट : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले भ्यासेक्टोमी गरेको पुरुष वा ल्याप्रोस्कोपी गरेकी महिलाले बच्चा जन्माउन नसकेजस्तै विप्लवबाट क्रान्ति सम्भव नरहेको बताएका छन् । नेकपा (बहुमत) मकवानपुर, चितवन र नवलपुर जिल्लाको संयुक्त आयोजनामा बिहीबार नवलपुरको गैँडाकोटमा सम्पन्न राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा उनले विप्लवबाट क्रान्ति सम्भव नरहेको बताएका हुन् । पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को प्रमुख आतिथ्य तथा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, केन्द्रीय कार्यालय सचिव गुणराज लोहनीसहितको उपस्थितिमा प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षण दिँदै संयोजक कञ्चनले भने, ‘विप्लव जुझारु र जनताले पत्याएको भन्ने लागेर हामीले उनलाई नेता स्वीकारेका थियौँ । उनीसँग वैचारिक हिसाबले चुनावमा जाने कुरा भयो । विप्लवले पहिलोपटक २०७८ साल वैशाखको १० औँ बैठकमा एउटा प्रसङ्गमा चुनावमा भाग लिनुपर्ने हुनसक्छ भन्दा मलाई अचम्म लाग्यो । विप्लवले चुनावमा जानुपर्छ भन्ने कुरा प्रमाणित गर्ने प्रयासस्वरुप सङ्गठन राम्रो छैन तर जनमत राम्रो छ भन्ने कुरालाई अघि सारेका थिए । संयुक्त मोर्चा अझै फराकिलो बनाउनुपर्छ । हामी चुनावमा गयौँ भने हामी कोही बिग्रँदैनौँ भनेका थिए । विप्लवले चुनावमा ३ लाख भोट आउँछ भने, प्रकाण्डले ५ लाख भोट आउँछ भने । उनीहरूले किरणको जस्तो हुँदैन, १२० ठाउँमा जितिन्छ भन्ने दाबी गरेका थिए । यसको कारण उनीहरूले चुनावलाई संसदीय व्यवस्थामा प्रवेश गर्ने तुरुपका रूपमा प्रयोग गरेका रहेछन् ।’

संयोजक कञ्चनले भने, ‘हामीले चुनावमा जाने कुरा सैद्धान्तिक रूपले गलत हुन्छ भन्यौँ । अहिलेको सन्दर्भमा चुनावमा जानु भनेको यो संविधान मान्नु हो । वैज्ञानिक समाजवादको एजेन्डा छोड्नु हो । केपी ओलीले चितवनमा जम्मा गरेको ५ लाख जनताले क्रान्ति गर्दैन । क्रान्ति जनताले गर्दछ । संसदीय भासमा डुबेर विप्लवको टुप्पी मात्र बाँकी रहेको छ भनेका थियौँ । बहिष्कार गर्दा ५–७ जनालाई उडाइदिनु पर्दछ भनेर प्रकाण्डले नै भनेका थिए ।’

पार्टी संयोजक कञ्चनले अगाडि भने, ‘विप्लवले अब गल्ती नगर्ने कुरा गर्नुभयो तर गल्ती गर्दै जानुभयो । अहिले संसारका सबैजसो कम्युनिस्ट पार्टीले लेनिनले संसद्को प्रयोग गरेका थिए भन्दै चुनावमा भाग लिएका छन् । विप्लवले पार्टीले लामो समयसम्म गरेको मेहनत पानीमा फ्याँके । प्रकाण्डले केपीले आफूलाई नटेरेको कुरा गरे । केपीले तपाईंहरू कसरी कम्युनिस्ट पार्टीको नेता हुनुभयो ? केन्द्रीय समितिले चुनावमा नजाने निर्णय गर्ने, तिमीहरू चुनाव सार भन्न आउने ? भनेर थर्काएछन् । अमर झाँक्रीले एमालेको सूर्य चिह्नमा चुनाव लड्न भनेछन् । विप्लवले तपाईंहरू बाहिर जानुस् भनेर वैशाख १३ गते फोन गरेका थिए । गल्ती गर्ने विप्लव—प्रकाण्ड, कारबाही हामीलाई भयो । अनि हामीले राष्ट्रिय भेला बोलायौँ । दस्ताबेज लेख्यौँ ।’

उनले अगाडि भने, ‘भ्यासेक्टोमी गरेको पुरुष वा ल्याप्रोस्कोपी गरेकी महिलाले बच्चा जन्माउन सक्दैन भनेजस्तै विप्लवबाट क्रान्ति सम्भव छैन । विप्लव निम्नपुँजीवादी रोमाञ्चवादी बने । विप्लवको सङ्घर्ष पैसा उठाउनका लागि भएकाले उनमा जुझारु अर्थवाद देखापर्यो । विप्लवको एकीकृत जनक्रान्तिको कार्यदिशा वर्षामा कुहिरो लागेको डाँडोजस्तो भएपछि नेकपा (बहुमत) ले राष्ट्रिय भेला आयोजना गरी नयाँ कार्यदिशा, कार्यनीति र कार्यनीतिक कार्यक्रम पारित गरेको हो ।’

पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टी प्रवक्ता तथा वार्ता टोली प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले भने, ‘१४ सालमा फोहोरा दरबारमा नयाँ जनवादी क्रान्तिको कार्यदिशा बन्यो तर महासचिव केशरजङ्ग रायमाझीले पार्टीलाई दरबारमा लगेर बुझाए । तेस्रो महाधिवेशनपछि कम्युनिस्ट पार्टी विभाजित नै भयो । झापामा सीपी मैनाली, मोहनचन्द्र अधिकारीहरू मिलेर झापा विद्रोह गरेका थिए । झापालीहरू आफ्नो देशमा पार्टी अध्यक्ष चाहिँदैन, चीनको अध्यक्ष माओ नै हाम्रो पनि अध्यक्ष हो भन्ने गर्दथे । निर्मल लामाले ७ सालको घटनालाई क्रान्ति भन्न पुगे । यसलाई नै लिएर पार्टी फुट्यो र मशाल र चौम बने ।’

उनले अघि भने, ‘मैले विप्लवलाई धेरै कुरा सोधेँ एकीकृत जनक्रान्ति के हो भनेर । अन्त्यमा उहाँले सामरिक कार्यदिशा हो भन्नुभयो । विप्लवजीको सारसङ्ग्रहवादी प्रवृत्ति रहेको छ । नमिल्ने चीजलाई घालमेल गर्ने प्रवृत्ति रहेछ । उहाँले चुनावमा भाग लिनु पनि एकीकृत जनक्रान्ति हो भन्नुभयो । विप्लवहरू राजनीतिक रूपमा संसदीय संशोधनवादी बनेको निष्कर्ष हामीले निकाल्यौँ । उहाँहरू साङ्गठनिक रूपमा निषेधात्मक अधिभूतवादी हुनुहुन्छ । थबाङ महाधिवेशनले निर्णय गरेको सजातीय विपरीतहरूको एकत्वको दुरुपयोग गरेर पार्टीभित्रका आफ्ना विरोधीलाई ठीक लगाउने काम गर्नुभयो । सङ्घर्षका हिसाबले उहाँहरूमा आत्मसुरक्षावाद देखापर्यो । १२ जना सहिदको रगतलाई उहाँहरूले बिर्सनुभयो । व्यक्तिगत सम्पत्तिले डर पैदा गर्दछ । त्यही सम्पत्तिले विप्लवलाई काँतर बनायो । दुस्मनले अस्त्र प्रयोग गर्यो भने जनताले विद्रोह गर्नेछन् । त्यसको नेतृत्व हाम्रो पार्टीले गर्नेछ ।’

पार्टीका तीन जिल्लाका नेता–कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिँदै नेकपा (बहुमत) का कार्यालय सदस्य एवम् पार्टीको केन्द्रीय प्रकाशन, प्रचार तथा प्रसार ब्युरोका इन्चार्ज गुणराज लोहनीले विप्लव–प्रकाण्डको आत्मसमर्पणवादी चिन्तन, प्रवृत्ति र व्यवहारले क्रान्ति नगर्ने निष्कर्ष निकालेरै पार्टी पुनर्गठन गरिएको बताए ।

उक्त प्रशिक्षण कार्यक्रममा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की संयोजक अञ्जना, आशिष, बुद्धि, माधव, विश्वास, सहिद परिवारका तर्फबाट लक्ष्मी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला इन्चार्ज महेश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीलाई चितवन जिल्ला संयोजक विजयले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टी नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज ध्रुव खड्काले गरेका थिए ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष महेश चैधरीले प्रमुख अतिथि, अतिथिलगायत सबै सहभागीलाई धन्यवाद व्यक्त गर्दै प्रशिक्षण समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :