तीनबुँदे सहमति कार्यान्वयन गर्न नेकपा (बहुमत) द्वारा सरकारसँग पत्राचार

पत्र प्राप्त भयो : गृहमन्त्री, सहमति लागू हुनेमा आशावादी छौँ : दिपक

तीनबुँदे सहमति कार्यान्वयन गर्न नेकपा (बहुमत) द्वारा सरकारसँग पत्राचार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सरकारसँग भएको तीनबुँदे सहमति अविलम्व लागू गर्न आग्रह गर्दै पत्राचार गरेको छ । नेकपा (बहुमत) ले बुधबार नेपाल सरकार गृहमन्त्रालयलाई सहमति लागू गर्न दवाव दिँदै पत्र पठाएको हो । पत्रमा नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र वास्तोला ‘कन्चन’ ले हस्ताक्षर गरेका छन् । पत्रमा पार्टी कार्यालय सदस्य तथा प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को संयोजकत्वमा वार्ता टोलीका पूर्व सदस्य रहेका पार्टी कार्यालय सदस्य उदयबहादुर चलाउने ‘दिपक’, पार्टी कार्यालय सदस्य एवम् कार्यालय सचिव गुणराज लोहनी र पार्टी नवौँ महाधिवेशन आयोजक समिति सदस्य देवकला अधिकारी सदस्य रहेको वार्ता टोली गठन गरिएको जानकारी पनि गराइएको छ ।

वार्ता टोलीका सदस्य दिपकले बिहीबार बिहान गृहमन्त्री बालकृष्ण खाडसँग टेलीफोन वार्ता भएको र गृहमन्त्रीले पत्र प्राप्त गरेको जानकारी दिएको बताए । उनले सरकारले सहमति लागू गर्नेमा आफू आशावादी रहेको पनि बताए । दिपकका अनुसार गृहमन्त्री खाडले समय मिलाएर बार्ता गर्ने बताएका छन् ।

तत्कालिन केपी ओली सरकार र तत्कालिन नेपाल कम्युनिस्ट पार्टीबीच पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, जेल तथा हिरासतमा राखिएका नेकपाका नेताकार्यकर्ता रिहा गर्ने, झुटा मुद्दा खारेज गर्ने र शान्तिपूर्ण तरिकाले समस्याको समाधान गर्ने सहमति भएको थियो । सहमति भएको डेढ वर्ष पुग्न लाग्दा पनि सरकारले निर्णय कार्यान्वयन नगर्दा पार्टीमा मात्र नभएर सरकारप्रति अविश्वास र आशंका बढिरहेको छ । सहमति अनुसार नेकपा (बहुमत) तत्कालिन नेकपा शान्तिपूर्ण राजनीतिक गतिविधिमा क्रियाशिल छ, भने सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नु बाहेक बन्दी रिहाई झुटा मुद्दा खारेज लगायतका निर्णय कार्यान्वयन गरेको छैन । हाल देशका विभिन्न जिल्लामा ३६ भन्दा बढी बन्दी झुटा मुद्दामा जेल जीवन विताइरहेका छन् भने हजारौँ नेता कार्यकर्ता माथिको झुटा मुद्दा खारेज भएको छैन । सरकारले हालसम्म राजनैतिक सहमतिबाट एकजना पनि बन्दी रिहा गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :