पक्राउ पुर्जी जारी गरी सहमति कार्यान्वयन नगर्ने षड्यन्त्रका विरुद्ध सङ्घर्ष गर्न बाध्य नबनाऊ : नेकपा (बहुमत)

पक्राउ पुर्जी जारी गरी सहमति कार्यान्वयन नगर्ने षड्यन्त्रका विरुद्ध सङ्घर्ष गर्न बाध्य नबनाऊ : नेकपा (बहुमत)

काठमाडौँ : ललितपुर जिल्ला अदालतले सोमबार तीनबुँदे सहमतिविपरीत विभिन्न नेताहरूको नाउँमा कथित पक्राउ पुर्जी जारी गरेपछि नेकपा (बहुमत) ले त्यसप्रति तीव्र प्रतिक्रिया व्यक्त गरेको छ । पार्टी प्रवक्ता एवम् पार्टीद्वारा गठित वार्ताटोलीका संयोजक हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सहमति कार्यान्वयनका विषयमा यसअघि सरकारका विभिन्न जिम्मेवार निकायसँग भएको छलफलको स्मरण गराउँदै सहमति कार्यान्वयन नगर्ने षड्यन्त्रका विरुद्ध सङ्घर्षको बाटो रोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् ।

प्रवक्ता सुदर्शनले नेपाल सरकारसँग गरिएको तीनबुँदे सहमतिको मुख्य मर्म नेपाली समाजको आर्थिक–सामाजिक रूपान्तरणको आवश्यकताप्रति प्रतिबद्ध रहेर वार्ता र संवादको तरिका अवलम्बन गर्ने साझा सहमति रहेको पनि स्मरण गराएका छन् । उनले राज्यको यसखाले गैरजिम्मेवारीपूर्ण कार्य आपसी असमझदारी बढाउने मात्र नभएर देशलाई जबर्जस्ती अशान्तिको मार्गमा धकेल्ने प्रपञ्च त होइन ? भन्ने गम्भीर आशङ्का बढिरहेको पनि प्रस्ट पारेका छन् ।

प्रवक्ता सुदर्शनले नेकपा (बहुमत) सरकारलाई देश र जनताप्रति इमानदार हुन तथा सहमति यथाशीघ्र कार्यान्वयन गरी सम्पूर्ण झूट्टा मुद्दाहरू एकमुष्ट खारेज गर्न तथा राजबन्दीहरू एकसाथ रिहा गर्न विशेष आग्रह पनि गररेका छन् ।

प्रवक्ता सुदर्शनद्वारा जारी प्रेस वक्तव्यको पूर्ण पाठ यसप्रकार रहेको छ :

तीनबुँदे सहमतिको मर्म र भावनाविपरीत ललितपुर जिल्ला अदालतद्वारा आजै जारी गरिएको पक्राउ पुर्जीबारे हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

१. नेपाल सरकारसँग भएको तीनबुँदे सहमतिको मुख्य मर्म नेपाली समाजको आर्थिक–सामाजिक रूपान्तरणको आवश्यकताप्रति प्रतिबद्ध रहेर वार्ता र संवादको तरिका अवलम्बन गर्ने साझा सहमति हो । तर विडम्बना ! देशमा राष्ट्रघात, बेरोजगारी, महँगी, कालोबजारी, घूस, भ्रष्टाचार, सामाजिक अपराध दिन दुई गुना, रात चौगुनाका दरले बढिरहेको छ । वैदेशिक व्यापारघाटा र ऋण खर्बौंंमा बढिरहेको छ । देश र जनताको भविष्यमाथि सङ्कटका यी पूर्वसङ्केतहरू हुन् । यो स्थितिमा हाम्रो पार्टी आर्थिक–सामाजिक रूपान्तरणको आवश्यकता र उद्देश्यप्रति प्रतिबद्ध रहेको आमजनता, जनउत्तरदायी तप्का र नेपाल सरकारलाई समेत पुनः स्मरण गराउँछ ।

२. आफ्ना गतिविधिहरू शान्तिपूर्ण सञ्चालन गर्ने हाम्रो पार्टीको प्रतिबद्धता हो र सम्पूर्ण झूट्टा मुद्दाहरू खारेज तथा राजबन्दीहरू रिहा गर्ने नेपाल सरकारको प्रतिबद्धता हो । हामी हाम्रो जिम्मेवारीप्रति प्रतिबद्ध छौँ । तर नेपाल सरकार आजको दिनसम्म आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्न आनाकानी गरिरहेको छ र टालटुले तरिका अवलम्बन गरिरहेको छ । राज्यका जिम्मेवार निकाय र अधिकारीहरूसँगको पटकपटकको भेटघाट, सहमति र प्रतिबद्धताविपरीत विभिन्न जिल्ला अदालतहरूबाट यसप्रकारका पक्राउ पुर्जीहरू जारी भैरहेका छन् । राज्यको यसखाले गैरजिम्मेवारीपूर्ण कार्य आपसी असमझदारी बढाउने मात्र होइन, देशलाई जबर्जस्ती अशान्तिको मार्गमा धकेल्ने प्रपञ्च त होइन ? भन्ने गम्भीर आशङ्का बढिरहेको छ । हामी नेपाल सरकारलाई देश र जनताप्रति इमानदार हुन तथा सहमतिको यथाशीघ्र कार्यान्वयन गरी सम्पूर्ण झूट्टा मुद्दाहरू एकमुष्ट खारेज गर्न तथा राजबन्दीहरू एकसाथ रिहा गर्न विशेष आग्रह गर्दछौँ । अन्यथा सहमति कार्यान्वयन नगर्ने षड्यन्त्रका विरुद्ध सङ्घर्षको बाटो अपनाउनु हाम्रो बाध्यता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :