एउटा समाजवादी मुलुकको रोमाञ्चक यात्रा

एउटा समाजवादी मुलुकको रोमाञ्चक यात्रा

नियात्रा

जनवादी गणतन्त्र कोरिया अर्थात् उत्तरकोरिया सबैको पहुँचको ठाउँ होइन । यस मुलुकले विगतमा लामो समयसम्म जापानी–अमेरिकी साम्राज्यवादसँग निर्मम लडाइँ गरेर समग्र कोरियाको एउटा भूभाग जोगाएको छ र त्यसपछि त्यहाँ साम्राज्यवादलाई चियाउनसमेत दिएको छैन । उत्तरकोरियालाई हेर्ने खराब आँखा फुटाइदिन उसले नानाथरी शक्तिशाली हतियारहरू निर्माण गरेको छ । उसलाई जित्न त के बुझ्नसमेत मुस्किल भएपछि साम्राज्यवादी शक्तिहरू विशेषगरी अमेरिकी साम्राज्यवाद र उसका मतियारहरू उत्तरकोरियालाई बदनाम गराउन गोयबल्सहरू जन्माउँछन्, ठूलो लगानी गर्छन् र उसलाई राक्षसजस्तो कुरूप बिम्ब बनाएर दुष्प्रचार गर्छन् । वास्तविक कोरिया बुझ्न उसलाई हेर्ने आँट र सफा दृष्टिकोण हुनुपर्छ । ७० वर्षदेखि संसारका खराब आँखाहरूबाट कोरियाली भूमि, राष्ट्रियता, समाजवादी व्यवस्था र कोरियाली जनतालाई बचाइराखेको छ उसले । ५ महिना भारतले अघोषित नाकाबन्दी लगाउँदा हामी कति छट्पटाएका थियाैँ ? तर कोरियाले ७० वर्षदेखि सबैखाले नाकाबन्दी र आक्रमण सामना गर्दै आफूलाई आफ्नै खुट्टामा बाँच्नसक्ने बनाएको छ । कोरियामा लोकतन्त्र अर्थात् जनवाद छैन भन्ने कूपमण्डुकहरूलाई त्यहाँका जनता राष्ट्रियता, समाजवाद र एकताका लागि एकैसाथ लड्न र मर्न पनि तयार छन् भन्ने सफल उदाहरण पेस गरेको छ उसले ।

लेखक : अशोक सुवेदी

उत्तरकोरिया भ्रमणका हजारौँ अनुभूतिहरू छन् । उत्तरकोरियामाथि मेरो मनमा बर्खे भेलझैँ उर्लिएका प्रश्नहरूको बाढी देखेर हामीलाई कोरियाली सरकार र विशेषगरी कार्यक्रम आयोजक सङ्गठन कोरियन एसोसिएसन अफ सोसल साइन्टिस्ट (कास) ले हाम्रा लागि खटाइदिएका दोभासे (इन्टरप्रेटर) कमरेड ओले भनेका थिए, तपाईंसँग त प्रश्नैप्रश्नको बोरा छ कि क्या हो ?

हुन पनि उत्तरकोरियासँग सीधा पहुँच नभएका समग्र नेपाली र अझ विश्वकै न्यायप्रेमी र मुक्तिप्रेमी जनताले मनमा सोच्ने कुरा मसँग पनि थिए र मैले एउटा लेखक र पत्रकारको नाताले अलि बढी मुखरित गर्ने प्रयास गरेको थिएँ । मैले सोधेको थिएँ– उत्तरकोरियामा जनमुक्ति सेना कति छन् ? महिला, पुरुष र किशोरको सङ्ख्या कति छ ? जनताको उत्पादनको स्रोत के हो ? गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टीको स्तर वा मापो कस्तो छ ? केही मानिसले भन्ने गरेजस्तो जनता बन्दुकको नोकमुनि साह्रै दमनमा पो छन् कि ? भोकमरी र दमनमा पिल्सिएका जनता कोरिया सरकारको उत्पीडनबाट मुक्ति चाहन्छन् भनेर पश्चिमाहरूले गरेको प्रचार मिथ्या हो वा सत्य ? केही वर्षअघि मार्सल किम जोङ उन सत्तासीन भएपछि सैनिक जिम्मेवारी लिएका आफ्नै फुपाजु मारिएको सन्दर्भ के हो ? तपाईंहरू हामीलाई जनताले काम गरिरहेको ठाउँमा किन जान दिनुहुन्न ? जनताको वास्तविक जीवनशैली, स्तर, धारणा, मनोविज्ञान, देश, शासक र व्यवस्थाप्रतिको बुझाइ कस्तो छ ? आदिआदि ।

सायद मेरा यी सबै प्रश्नको उत्तर दिने हैसियत र अनुमति पनि नहुनसक्थ्यो कमरेड ओलाई तर पनि म एउटा जिज्ञासु बालकले आफ्ना अभिभावकलाई नयाँ ठाउँ र नयाँ विषयका बारेमा सोधेर हैरान पारेजस्तै बिहान भेटेदेखि बेलुका बिदा नहोउन्जेलसम्म सोधिरहेको हुन्थेँ र उनी आफूले सक्ने, मिल्ने विषयमा शब्दहरू तौलेर, जोखेर, विचारेर (मलाई त्यस्तो लागेको पनि हुनसक्छ) केही न केही बताइरहेका हुन्थे । कहिलेकहीँ उनी कुरा लगाएझैँ मेरा सहयात्री र अग्रज कमरेड माणिक लामालाई उजुरी गरिदिन्थे,

‘मिस्टर लामा, कमरेड सुवेदीलाई भनिदिनोस्, उहाँले मलाई अनेकथरी प्रश्न सोधेर हैरान पारिरहनुभएको छ….।’ कमरेड लामा भने मायालु र दयालु आँखाले मतिर हेर्दै मेरा सबै भोका प्रश्नहरूले न्याय पाउँदैनन् भन्ने अनुभूति दिलाइरहनुभएको थियो । पटकपटक कोरिया भ्रमण गरिसक्नुभएका उहाँका मनमा पनि जिज्ञासाहरू बाँकी नै थिए– उत्तरकोरियाले अमेरिकी साम्राज्यवादलाई हराबरा खेलाउनसक्नुमा किम इल सुङ, किम जोङ इल र किम जोङ उनको त्याग, शौर्य र विवेकले मात्र काम गरेको छ कि अरू पनि कुनै रहस्य छ ? त्यसैले उहाँ भलाद्मी बनेर कयौँ थाहा नपाएका कुरा पनि थाहा पाएझैँ गरिरहनुभएको थियो ।

कोरिया सरकारले संसारभरबाट साम्राज्यवादविरुद्ध ऐक्यबद्धता जनाउन र किम इल सुङ र किम जोङ इलले विकास र रक्षा गरेको विचारमा बहस गर्न भेला भएका बौद्धिक प्रतिनिधिहरूलाई खेलकुद र मनोरञ्जनसहितको बनभोजशैलीको ‘गेट टुगेदर’ मनाउन प्योङयाङबाट करिब डेढ घन्टा टाढा जाँदै गर्दा ‘लघु शङ्का’ का लागि एक छिन पनि गाडी नरोकेको आक्रोशमा कमरेड माणिकले भन्नुभएको थियो– यही जडताले त यसलाई सबैले एक्ल्याएका छन् नि ! उहाँले भनेका यी कुराबाट मैले उत्तरकोरियाले अपनाएको कसिलो व्यवस्था र शैलीलाई अलि नजिकबाटै थप अनुभूत गर्ने अवसर पाएको थिएँ । पिसाबले जति च्यापे पनि कमरेड ओले ९० किमि प्रतिघन्टाको गतिमा अरू गाडीलाई पछ्याइरहेको १०११ नम्बरको गाडी रोक्न मानेनन् । उनका आफ्नै विवशता थिए होलान् भनेर म यतिबेला गमिरहेको छु किनकि अमेरिकी साम्राज्यवादलाई ३० टनको हाइड्रोजन बमको सफल परीक्षण गरेर लगलग कपाइरहेको उत्तरकोरियाका जनता अनुशासित छन्, इमानदार छन् र देश, व्यवस्था र नेतृत्वप्रति जिम्मेवार छन् भन्ने कुराको प्रमाण मैले प्राप्त गरिसकेको थिएँ ।

कमरेड माणिकले उत्तरकोरियाको व्यवस्थाप्रति आफ्नो प्रतिक्रिया व्यक्त गरिरहँदा मेरो मनमा भने अरू नै कुरा खेलिरहेका थिए । कथम्कदाचित कमरेड ओले माणिक सरका लागि गाडी रोकिदिए भने ६ लेनको सडकका दायाँबायाँ झुत्ता हालेर फलेका मकैका बोटहरू र डेढ बित्ता लामा धानका बाला नजिकैबाट क्यामेरामा कैद गर्नेछु । कृषिमा रमिरहेका कोरियाली जनताका तस्बिर उतार्नेछु । उत्तरकोरियाली जनता भोकमरीले भुतुभुतु मरिरहेका छन् भन्नेहरूलाई ती मकैका घोगा र धानका बाला आफैँ गतिलो जबाफ हुनेछन् । मलाई उत्तरकोरियामाथि साम्राज्यवादीहरूले जनवाद र समाजवाद छैन भनेर गोयबल्स शैलीमा फैलाइरहेको भ्रम चिर्न र साम्राज्यवादको जुठोपुरो चाटेर उसकै लोलीमा बोली मिलाइरहेका तिनका एजेन्टहरूलाई मुखभरिको जबाफ दिन मन लागिरहेको थियो तर गाडी नरोकिएकाले मैले सडकवरिपरिको सौन्दर्य र लहलह झुलिरहेका विभिन्न किसिमका बालीहरूको दृश्यपान गरेरै चित्त बुझाएको थिएँ ।

गाडी नरोकिए पनि मैले फ्रेन्डसिप गेट टुगेदर मनाउन जाँदा प्योङयाङ गल्फ कोर्टसम्मको करिब डेढ सय किलोमिटरको यात्रामा के देखेँ भने उत्तरकोरियाली सरकारले जमिनको एक इन्च पनि खेर जान दिएको छैन । उर्वर जमिनमा घर बनाएको देखिएन । सम्म जमिनमा धान रोपेकाले नै लहलह बाला झुलेको देख्ने अवसर मैले पाएको थिएँ । सम्म परेको जमिनका बीचमा अलिकति खोल्सो आउनेबित्तिकै मकैका घोगा देखिन्थे । अलि भिरालो परेको जमिनमा मकै र कागुनजस्तो देखिने बाली लहलहाएको देखिन्थ्यो । अलि उच्च स्थानमा भने एक, दुई, तीनतले र कहीँकहीँ पाँच, दस, बीस वा त्योभन्दा पनि अग्ला घरहरू देखिन्थे । मैले अग्ला घरहरू देखाउँदै कमरेड ओलाई सोधेको थिएँ– यी घरहरूमा बस्ने त ठूलाबडा नै होलान् नि, हैन र ? उनले हल्का आक्रोशपूर्ण शैलीमा तर मुस्कुराउँदै जबाफ दिएका थिए, ‘कोरिया समाजवादी मुलुक हो कमरेड, यहाँ जनता सडकमा र नेता महलमा बस्ने भन्ने छैन । यी ठूला घरमा पनि जनता बस्छन् र साना घरहरूमा पनि …।’ मलाई नेपालका शासकहरूले आफ्ना दसौँ पुस्तासम्मका लागि धनमाल जोडेर मुलुक रित्याएका परिघटनाले तिनीहरूप्रति थुकथुकी लगाइरहेको थियो । सबैभन्दा पछिल्लो समयमा जनयुद्धका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका आर्थिक घोटालाप्रकरणले पनि हामी वाक्कदिक्क भइरहेका थियाैँ । पत्याउनै नसकिनेजस्तो तर तीतो सत्य भोगेको थिएँ मैले कोरियामा । कुनै पनि सेमिनारमा हिँड्नुअघि शयनकक्षमा असरल्ल छोडेर हिँडेका विभिन्न मुलुकका विभिन्न दरका मुद्रा बेलुका कोठामा फर्कंदा सिरानीनेर पट्ट्याएर राखिदिने र एक रूपैयाँ पनि तलमाथि नगर्ने इमानदार कर्मचारीलाई आफ्नै आँखाले देखेको थिएँ । अझै छक्कपर्दो कुरा त होटेलका ती कर्मचारीले ‘टिप्स’ का रूपमा हामीले दिन खोजेको केही रूपैयाँ लिनलाई गरेको आनाकानी, प्रतिरोध र उनीहरूको विनीतपन शब्दमा उतार्न मलाई मुस्किल परिरहेको छ । कोरियाली व्यवस्था बहसमै छ तर समाजवाद कति इमानदार हुन्छ ! भन्ने कुराको बलियो प्रमाणको एउटा उदाहरणका रूपमा लिएको थिएँ यसलाई मैले । मलाई लाग्छ, विश्व आतङ्कवादको नाइके अमेरिकी साम्राज्यवादका ठेकेदार बाराक ओबामा र नरेन्द्र मोदीलाई कसैले उपहार दिने हो भने उनले विभिन्न बहानामा त्यसलाई निजी बनाउनेछन् । बाटामा पैसा भेटे भने लुकाउनेछन् तर कोरियाली जनता निजी स्वार्थका लागि उपहार लिनुलाई पनि राज्यविरुद्धको गतिविधि ठान्छन् ।

कमरेड ओले भनेजस्तै कुरा नेपालस्थित कोरियाली दूतावासका कन्सुलर कमरेड किम सुहोले पनि भनेका थिए– हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजीविका समाजवादी छ । त्यसैले हामीलाई दुस्मनहरूले खेदो गर्छन् । उनीहरूले गरेको हल्ला केवल उत्तरकोरियाका विरुद्ध लक्षित नभएर समग्र कम्युनिस्ट व्यवस्था र समाजवादविरुद्ध लक्षित छ । त्यसैले तपाईंहरूजस्ता पत्रकार र लेखकले उत्तरकोरिया पुगेर साम्राज्यवादी होइन, आफ्नै आँखाले असली उत्तरकोरियालाई हेर्नुपर्ने हुन्छ…। कन्सुलर कमरेड किम र हाम्रा इन्टरप्रेटर कमरेड ओको भनाइ एउटै थियो र हामी पनि त्यही देखिरहेका थियौँ जुन कुरा उनीले भनेका थिए ।

कोरिया यात्राका क्रममा मेरो मनमा गहिरोसँग गढेका कुराहरू धेरै छन् तर एक, दुई, तीन गरेर भनिहाल्नुपर्दा केचाहिँ बिर्सनै सकिँदैन भने कोरियाली जनता आफ्नो गौरवशाली इतिहासप्रति गर्व गर्छन् । उन्नाईसौँ शताब्दीको आरम्भदेखि नै कोरियाली जनताले देशीय सामन्तवादका विरुद्ध लडे । त्यसपछि तिनले निर्ममतापूर्वक जापानी साम्राज्यवादसँग लड्नुपर्यो । सन् १९४५ मा जापानी साम्राज्यवादलाई हराएर देश निर्माणमा लागेका कोरियाली जनतामाथि १९५० मै अमेरिकी साम्राज्यवादको क्रूरतापूर्ण आक्रमण आइलाग्यो तर पनि उनीहरूले त्यसको डटेर सामना गरे र विजय प्राप्त गरेरै छाडे । उनीहरूको मनमा गढेर रहेको खुट्का, चिन्ता र विस्मय भनेको कोरिया प्रायद्वीपकै एउटा भूभागलाई अझसम्म अमेरिकी साम्राज्यवादले उपनिवेश बनाइरहेको छ । त्यसलाई उसले अलग्गै स्वतन्त्र मुलुक दक्षिणकोरिया भनेर ढाँटिरहेको छ । वास्तविक कोरियाबाट लज्जाजनक पराजय भोगेर आत्मसमर्पण गरे पनि दक्षिणी भूभागमा ऊ परेड खेलिरहेको छ । के प्रस्ट देखिन्छ भने साम्राज्यवादविरुद्ध लड्न र देशको रक्षा गर्न कोरियाली जनता आधा पेट खाएर बाँच्न गौरव गर्छन् तर उनीहरू दक्षिणजस्तो कसैको दास जीवन बाँच्न चाहँदैनन् । दक्षिणमा बसेर उत्तरलाई तर्साइरहेको ख्याक अमेरिकी साम्राज्यवादले उत्तरलाई मात्र नभएर शक्तिशाली चीन, रुस, मङ्गोलिया र जापानको पनि सुराकी गरिरहेको छ भन्ने कुरा सबैभन्दा बढी उत्तरकोरियाली जनतालाई थाहा छ । त्यसैले उनीहरूको मुखमा साम्राज्यवादलाई घृणा गर्न र दुत्कार्न धेरै थुक जम्मा भएको छ । हामीलाई घुमाउन लगिएका वार म्युजियमदेखि साइन्स–टेक्नोलोजी बिल्डिङसम्मको अध्ययनले कोरियाली जनता आफ्नो गौरवशाली बलिदानको इतिहासलाई कति सम्मान र आदर गर्छन् अनि कोरियाली जनताको हाड र मासुमा विजयको झन्डा फर्फराएर चैनको निद्रा सुत्ने साम्राज्यवादी सपना चकनाचुर पारिदिने वीर अग्रजहरूको कति धेरै इज्जत गर्छन् भन्ने देखाइरहेको थियो ।

हामीले भ्रमणका क्रममा गहिरोसँग बुझेको तथ्य के हो भने कोरियाली जनता कोरिया र आफूहरूलाई मुक्त गराउने क्रान्तिको नेतृत्वप्रति असाध्यै आदर गर्छन्, श्रद्धाको स्तरमा । कोरियाली समाजवादका प्रवर्तक तथा जुछे विचारका आविष्कारक राष्ट्रपति किम इल सुङ र नेता किम जोङ इलको शवलाई कोरियाली जनताले कुमसुसान प्यालेस अफ सनमा आँखाको नानी र मुटुलाई जस्तै माया गरेर राखेका छन् । ती शव मात्र होइनन्, कोरिया निर्माणको ज्वलन्त इतिहास र धरोहर पनि हुन् । महामानव कमरेड माओको शव राखिएको ठाउँमा पुग्नभन्दा कयौँ गुना बढी कडा परीक्षाहरू उत्तीर्ण गर्नुपर्छ किम इल सुङ र किम जोङ इलको शव राखिएको अत्याधुनिक, भव्य र विशाल दरबारभित्रका अन्तरकुन्तरमा पुग्न । करिब एक दर्जन स्थानमा कोरियाली सुरक्षाकर्मी र त्यत्ति नै स्थानमा स्वचालित यन्त्रको सुरक्षाको सामना गर्नुपर्छ । सोही स्थानमा पुग्ने क्रममा हो गुप्त रूपमा सुराकी गर्न गएको बीबीसीको एकजना पत्रकारलाई देशनिकाला गरिएको । करिब दुई दर्जन सुरक्षाघेरा र परीक्षा उत्तीर्ण गरिसकेपछि बाबुछोराको शव राखिएको बेग्लाबेग्लै हलमा पुगेर नतमस्तक नभएकै कारण उसलाई गलहत्याइएको कुरा बुझ्न पनि हामीलाई गाह्रो भएन किनकि कोरिया र कोरियाली जनतालाई स्वतन्त्रता, समानता र समाजवाद दिलाउने क्रान्तिको अगुवाइ गरेका नेताहरूको शवले सर्वहारावर्गका विरोधीलाई मात्र नतमस्तक हुन दिँदैन, सचेत सर्वहारावर्गको शिर कमरेड माओको शवमा झैँ स्वतः झुकिहाल्छ । त्यसैले महामानव माओको शवमा मात्र होइन, तीनतिरबाट दुवै बाबुछोराको शवमा नतमस्तक भएपछि मैले हृदयदेखि नै लालसलाम गरेको थिएँ । त्यतिबेला मैले कोरिया मुक्त पार्ने क्रान्तिमा लाग्दालाग्दै बलिदान गरेका कमरेड माओका सुपुत्र आनिङदेखि लाखौँलाख कोरियाली सहिदहरूको प्रतिबिम्ब त्यतै कतै देखिरहेको थिएँ ।

माओका छोरा आनइङको सम्झना आउँदा मलाई माओले गरेको लम्बेयात्रा र विशेषगरी कठिनाइपूर्ण दिनहरू बिताएको चिङकाङसान पर्वतलाई बिम्ब बनाएर लेखेको एउटा शक्तिशाली कविताको पनि सम्झना आइरहेको थियो । चिङकाङसानमा फेरि चढ्दा शीर्षक कविता यसप्रकार थियो :

बादल छुने मेरो पुरानो चाहना थियो
र म फेरि चढेँ चिङकाङसान ।
हाम्रो पुरानो किल्ला हेर्न
आएको छु धेरै टाढाबाट ।

पुरानो दृश्यलाई फेरेछन् नयाँ परिवेशहरूले
जहाँतहीँ कोइली गाइरहेछन्, भँगेरा कराइरहेछन्
तीरझैँ कावा खाइरहेछन् चिबे चराहरू
कलकलाइरहेछन् खोलानालाहरू,
र बाटो पहाड हुँदै आकासिँदैछ,
एकपटक हुआयाङ्ची कटेपछि
छैनन् कतै अप्ठ्यारा चुनौतीहरू ।

हुरी–बतास मच्चिरहेछ
जहाँ छन् मान्छेहरू
झन्डा र तुलहरू फहराइरहेछन् ।

चुट्कीमै बित्यो अठ्तीस वर्र्ष
अब हामी, नवौँ आकाशको चन्द्रमा पनि छुन सक्छौँ
सात समुद्र गहिराइको कछुवा पनि समात्न सक्छौँ
विजयको गीत र उल्लास बोकेर फर्केका छौँ हामी ।
असम्भव भन्ने छैन संसारमा केही–
उचाइलाई नाप्ने साहस छ भने ।
… … …

जुन किम इल सुङले आफ्नो व्यक्तिगत सम्पत्ति केही राखेनन् र समग्र जीवन देश र जनताको मुक्तिका लागि क्रान्तिमा समर्पण गरे, परिवारका सदस्यहरू गुमाए, सामन्तवादलाई मात्र होइन, शक्तिशाली जापानी तथा अमेरिकी साम्राज्यवादलाई धुलो चटाए, जुन किम जोङ इलले शक्तिशाली कोरिया निर्माणका लागि शक्तिशाली जनमुक्ति सेना र हतियारको अवधारणासहित सोङ्गुन पोलिटिक्स अघि सारे र सत्ताको प्रमुख पदमा रहँदा पनि बाबु बित्दाको दिनमा लगाएको एउटै ज्याकेट लगाएर जीवन बिताए, तिनको शव मात्र शव थिएन, सङ्घर्ष र क्रान्तिको उत्प्रेरक थियो । कोरियाली जनताको मात्र नभएर संसारभरकै सर्वहारावर्गको चासो र चिन्ताको विषय थियो । त्यसको रक्षा वर्गसङ्घर्षको ऊर्जासँग गाँसिएको महसुस गरेँ मैले । त्यसैले किम इल सुङ र किम जोङ इलको शव राखिएको स्थलदेखि उनीहरू दुवैजनाले आफ्ना लागि संसारभरबाट प्राप्त उपहारहरू देश र जनताका नाममा प्रदान गरेको स्थलको अवलोकन गरेपछि कोरियाली सरकारले उपलब्ध गराएको अनुभूति लेख्ने डायरीमा मैले अङ्ग्रेजी र नेपाली भाषामा लेखेको थिएँ– कोरियाली जनताले इतिहासको निर्माण मात्र होइन, रक्षाका लागि पनि ठूलो लगानी गरेका छन् । मितव्ययिता अपनाएर यो गौरवशाली इतिहासको रक्षा गर्नैपर्छ ।

हो, किम इल सुङ र किम जोङ इलको शवको सुरक्षा गरेकै शैलीमा वार म्युजियममा कोरियाली सहिदहरूको तस्बिर र इतिहास जोगाएर राखिएको देख्दा गर्वले ढक्क छाती फुल्यो मेरो । मेरो देशका शासकहरू जनताको त्याग, शौर्य र बलिदानको इतिहास मेटाउन उद्यत छन् । उनीहरूलाई जनताले १० वर्षअघिसम्म सञ्चालन गरेको जनयुद्धको रक्तरञ्जित इतिहास मेटाएर पश्चाताप गर्दै वर्गदुस्मनको टाङमुनि छिरेर कथित राजनेताको लाइसेन्स लिन हतारो छ तर कोरियाली जनताले क्रान्तिको अगुवाइ गर्ने नेता र अफ्ना वीर अग्रजहरूको इतिहास भाबी पुस्ताका लागि पनि जस्ताको तस्तै राखिदिएका छन् । त्यति मात्र होइन, राष्ट्रपति किम इल सुङ जन्मिएको म्याङयोङडेको अवलोकनपछि पनि मैले सङ्घर्षशील पुर्खाहरूको इतिहास जोगाउन कोरियाली सरकारले गरेको मेहनत, त्यहाँका जनताले देखाएको दृढता र तत्परतालाई सलाम गरेँ । कताकता आफैँ पनि आफ्नो जन्मथलो रामेछाप मन्थली सिर्जनानगरमा सामन्तका विरुद्ध लड्ने विद्रोही किसानका नाममा पचास फिट अग्लो स्तम्भ निर्माण गरेर सही काम गरेँछु भन्नेमा गौरवबोध भयो ।

कोरियामा हामी जहाँजहाँ पुग्यौँ ती सबै ठाउँ सरसफाइमा पनि अब्बल थिए । हामी पुगेका ठाउँमा सडक र भुइँमा सुत्दा पनि फोहोर नलाग्लाजस्ता सफा थिए । सडक, बस्ती र होटेल कतैतिर पनि प्रदूषण थिएन । धुलो नउडेका कारण आठ दिनसम्म पनि सर्टको कल्लर र जुत्ता कहिल्यै मैला भएनन् । कपडामा कुनै दाग लागेको देखिएन । जुत्तामा एकपटक पनि ब्रुस गर्नु परेन चीनमा जस्तै । किम इल सुङको जन्मघर र त्यहाँको वातावरण हेर्दा पुरातनपन्थीहरूले कल्पना गरेर भ्रम छरेको स्थान ‘स्वर्ग’ पनि त्यहाँभन्दा सफासुग्घर छैन/हुँदैन भन्ने लाग्यो । आखिर मान्छेले गर्दा नहुने के रहेछ र ? मालेमावादी उच्च विचारले युक्त मानिसहरू आत्मानुशासित भएपछि नै एक दिन मानिसमानिसबीचको विभेद हटेर समानता कायम हुनेछ र त्यसको उत्कर्ष साम्यवाद हुनेछ भनेर महान् विचारक माक्र्सले भनेको कुरा यही समाजको अध्ययन गरेर निकालेको निष्कर्ष हो । यहाँ हेर्दा क्रान्तिकारी पार्टीको झन्डामा गोलबन्द भएका, पार्टीको उच्च तहको नेतृत्व पनि कब्जा गरेका तर विचार र व्यवहार भने बुर्जुवाभन्दा निम्नस्तरका भएका व्यक्तिहरू पनि छन् । तिनले उत्तरकोरियाली समाजवादलाई बुझ्नु भनेको ‘अन्धाले हात्ती छामेजस्तो’ मात्रै हो । साम्यवाद स्थापना नहोउन्जेल, समाजवादी व्यवस्था आआफ्नै मौलिकता, विशिष्टतामा भएका क्रान्तिका आधारमा टिकेका र विशिष्ट शैलीका हुन्छन् भन्नेसम्म नबुझ्ने लालबुझक्कडहरूले पनि आफूलाई माक्र्सवादी नै हुँ भनेको सुन्नुपर्दा लाज लाग्छ ।

समाजवादले व्यक्तिका निजी समस्याहरू समाधान गरिदिन्छ । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी जनतालाई ग्यारेन्टी गरेपछि निजी सम्पत्तिको लालसा पनि रहँदैन । निजी सम्पत्तिको लालसा समाप्त हुने अवस्था भनेको साम्यवादको भ्रूण हो । हामी बसेको होटेलका उत्तरकोरियाली कामदारले हामीले कतिपल्ट प्रयास गर्दा पनि ‘टिप्स’ लिन मानेनन् । सधैँ कार्यक्रममा निस्किँदा ओछ्यानमा असरल्ल छाडेर हिँडेका अमेरिकी डलर, चिनियाँ मुद्रा र नेपाली रूपैयाँ कोठामा फर्किंदा अरू सामानजस्तै सपक्क मिलाएर राखेको पाइयो । अर्को दिनदेखि परीक्षण नै गरौँ न त भनेर डलरको सङ्ख्या तलमाथि पारेर पनि छोडियो तर अहँ, कहिल्यै पनि एक पैसा हिनामिना भएन । अरूको चोरेर वा उसै लिनु हुन्न, खानु हुन्न, सञ्चय गर्नु हुन्न भन्ने उच्च स्तरको चेतना पनि साम्यवादको भ्रूण हो भन्ने मेरो निष्कर्ष छ । राज्यले गरेको कडाइ वा आत्मानुशासनका कारण भए पनि यस्तो इमानदारी देखिनु अत्यन्त प्रशंसनीय कुरा हो हामी कम्युनिस्टहरूका लागि । यो त संसारभरकै कम्युनिस्टले सिक्नुपर्ने कुरा हो । कुरा आदर्शका गर्ने, समानताका गर्ने तर कामदार र मजदुरलाई शोषण गर्ने, ढाँटछल र कपट गर्ने पात्रहरू हाम्रै आन्दोलनमा पनि प्रसस्त देखिएका थिए । अझ त्यस्तै पात्रहरू कोरियाली व्यवस्थालाई सामन्ती राजतन्त्रसँग दाँज्ने घटिया चिन्तन देखाउँछन् । मलाई लाग्यो, उत्तरकोरियाली कामदार उत्तीर्ण भएको परीक्षामा आफूलाई एक नम्बर प्रजातन्त्रवादी भन्न रुचाउने साम्राज्यवादी अमेरिकाका राष्ट्रपति बाराक ओबामा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि असफल हुन्ने पक्का छ किनकि यिनलाई व्यक्तिगत सम्पत्ति र सञ्चयमा अत्यधिक लालसा भएकाले यिनले यसरी कोठामा छोडिएको रकमलाई ‘भेटिएको’ भन्दै र बाटामा पाएको पैसालाई ‘संयोग’ वा ‘परमेश्वरको कृपाले जुराइदिएको’ भन्दै खल्तीमा हाल्ने थिए ।

कमरेड ओले खटाएर भन्दाभन्दै पनि मैले के कुरा थाहा पाइसकेको थिएँ भने उत्तरकोरियामा जेल छैन । अपराध गर्नेहरूले अदालतले तोकेअनुसार श्रम गर्नुपर्छ । उत्तरकोरिया बेस्या र एड्समुक्त देश हो भन्ने पनि मैले थाहा पाइसकेको थिएँ । यो करमुक्त देश हो भन्ने कुरा थाहा पाएपछि मैले जनताप्रति प्रतिबद्ध कोरियाली व्यवस्थालाई सलाम गरेको थिएँ । अर्को रोचक लागेको विषय उत्तरकोरियाली सरकार र त्यहाँका जनताले वर्षमा एउटा नयाँ सहर निर्माण गर्दा रहेछन् । हामीलाई पनि प्योङयाङआसपासमा निर्मित त्यस्ता सहरमा लगियो । सडक, बिजुली, अस्पताल, विद्यालयदेखि जनताका लागि आवश्यक सबै संरचना निर्माण गरिएका त्यस्ता सहरमा पचास तलासम्मका घरमा जनता बस्छन् भन्ने सुन्दा साम्राज्यवाद र उसले संसारभर पालेका गोयबल्सहरूले फैलाएको हल्ला कति धेरै भ्रमपूर्ण र मिथ्या रहेछ भन्ने लागिरह्यो । मनमनै सोचेँ, जब यी झूटका पुलिन्दा र भ्रमका पर्दा खुल्छन् संसारभरकै जनताले साम्राज्यवादप्रति कस्ता शब्दले घृणा गर्लान् ! अहिले हामीसँग भएका शब्दकोशका शब्दहरू त्यसका लागि अपर्याप्त हुनेछन् ।

हामीलाई साइन्स एन्ड टेक्नोलोजी बिल्डिङ, किम इल सुङको जन्मस्थल म्याङयोङडे, फादरल्यान्ड लिबरेसन वार म्युजियम, किम इल सुङ र किम जोङ इलको युवा अवस्था र सङ्घर्षका दिनहरू झल्काउने युथ मुभमेन्ट म्युजियम घुमाएर कोरियाली विषयलाई अङ्ग्रेजी भाषामा अनूदित गरिदिने जनमुक्ति सेनाका महिला कमान्डरहरू र दोभासेहरूको नाउँ थाहा नपाउँदा आजसम्म पनि थकथक लागिरहेको छ । कोरिया यात्राका रोचक सन्दर्भ, तथ्य र भुल्न नहुने पात्रहरू धेरै छन् । तर पनि शक्तिशाली कोरियाका किम जोङ उनपछिका दोस्रो शक्तिशाली व्यक्ति वर्कर्स पार्टी अफ कोरिया उपाध्यक्ष किम की नामको विनयशीलता धेरै स्मरणीय रह्यो । त्यस्तै हामीलाई निम्ता गर्ने सङ्गठन कोरियन एसोसिएसन अफ सोसियल साइन्टिस (कास) का अध्यक्ष होङ चोल किल, उपाध्यक्ष थाई ह्योङ चोल, री किल सोङ, कोरियाली विचार, राजनीति र साहित्य नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशन गर्दा राम्रो हुन्छ भन्ने सुझाव दिँदा विनीत हुने सत्तासीन पार्टीको राजनीतिक ब्युरो तहका नेताहरू र री सोङ चोल, अर्को नेपाली समूहकी इन्टरप्रेटर कासकी चिफ एक्जामिनेन्ट रि जोङ ह्वाको क्रियाशीलता, तत्परता र दृढताले मलाई साह्रै लोभ्यायो ।

प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा मेरो झोलामा रहेका डेढ दर्जन पुस्तकका पानाहरू पल्टाइपल्टाई जिज्ञासा राख्ने सुरक्षाकर्मीहरूलाई पनि हार्दिक धन्यवाद दिनैपर्छ किनकि असली कोरिया हाम्रोजस्तो अराजकताले शासन गरेको मुलुक होइन । त्यहाँ सहायताका नाममा धर्म परिवर्तन गराउने निच काम हुँदैन । जनतालाई अराजकताका लागि भड्काउने गतिविधि क्षम्य हुन सक्तैन कोरियामा । नेपाली भाषामा लेखिएका पुस्तकहरू कुन उद्देश्यले कोरिया प्रवेश गराउन लागिएको होला भन्ने जिज्ञासा अध्यागमनका सुरक्षाकर्मीमा उठ्नु स्वाभाविक मात्र होइन, अत्यावश्यक थियो । मेरो लेखन, सम्पादन र प्रकाशनका करिब ६ दर्जनमध्ये मैले डेढ दर्जन राजनीतिक–साहित्यिक–सांस्कृतिक मूल्यका पुस्तक कोरियाली जनताका लागि उपहार लगिदिएको थिएँ । जब मैले पुस्तकको चाङ केलाउँदै हरेक पुस्तकका विषयवस्तु बताइदिएँ र यी पुस्तक कोरियाली जनताका लागि नेपालको क्रान्तिकारी आन्दोलनका तर्फबाट सिर्जनात्मक उपहार हुन् भन्ने प्रस्ट्याइदिएँ अध्यागमनका कर्मचारीका अनुहारमा एकाएक चमक आयो । उनीहरू आफैँले पश्चाताप र प्रायश्चितको शैलीमा ती पुस्तक झोलामा राखिदिएर बलिया र न्याना हातहरू मिलाए । मैले सोचेँ, कोरियाली जनता र तिनका प्रतिनिधि संसारकै न्यायप्रेमी जनताका असल मित्र हुन् । तिनीहरूको हृदयमा साम्राज्यवाद र जनताका शत्रुलाई चरम घृणा गर्ने ग्रन्थी पनि क्रियाशील छ भने सर्वहारावर्गका प्रतिनिधिलाई माया र सम्मान गर्ने कमरेडली भावनाको पनि उहापोह छ ।

अन्त्यमा ‘किम इल सुङ इज्म–किम जोङ इल इज्म’ को प्रस्ताव गरेर सुङ र इलका विचारमाथिसमेत बहस गराउने उत्तरको इच्छा, आशय र बाध्यतालाई हामीले अन्यथा लिनु हुँदैन । एउटा क्रान्तिको नेतृत्व गरेर सामन्तवाद, साम्राज्यवादलाई आफ्नो भूमिबाट परास्त गर्दैमा त्यो विचार, कार्यक्रम र योजना वादमा विकास हुनसक्छ कि सक्तैन ? यो गम्भीर छलफल र बहसको विषय हो । हामी उत्तरकोरियाली विचार ‘किम इल सुङ इज्म–किम जोङ इल इज्म’ हो भन्नेमा छैनौँ तर साम्राज्यवादलाई हराबरा खेलाइरहेको विचार र व्यवस्था साम्राज्यवादका एजेन्ट र केही पानीमरुवा तोरीलाहुरेले भनेजस्तो कमजोर, विकृत र निरङ्कुश भने छैन । साम्यवाद प्राप्त नभएसम्म कुनै पनि मुलुकमा स्थापना हुने व्यवस्था सिर्जनशीलता, सापेक्षता र मौलिकतासहितका हुनसक्छन् भन्ने विषय स्वीकार्न नसक्नेहरू माक्र्सवादी होइन, कठमुल्ला वा आदर्शवादी मात्र हुनसक्छन् । तिनले वर्गसङ्घर्ष सञ्चालन गर्न सक्ने कुरै हुँदैन ।

यो छोटो संस्मरणात्मक तथा अनुभूतिपरक लेखको अन्त्यमा मैले के बिर्सन मिल्दैन भने कोरियाले राष्ट्रिय दिवस मनाउने क्रममा सांस्कृतिक कार्यक्रम देखाएको स्थान फोङ ह्वा आर्ट थिएटरसम्म पनि अतिथिहरू र प्रतिनिधिहरूलाई जुन किसिमको उच्च आदर, सम्मान र प्रतिष्ठा प्रदान गरेर उत्कृष्ट जनवादी कलाहरूका माध्यमबाट विचार सम्प्रेषण गर्ने प्रयास गर्यो, यो अत्यन्तै सराहनीय छ । आफूजस्तै साम्राज्यवादपीडित मुलुकका बौद्धिकहरूलाई भेला गराएर मुक्त संसार निर्माण गर्ने एउटा वातावरण बनाइरहेको छ भन्ने उत्तरले व्यवहारमै देखाएको छ । यतिबेला सर्वहारा क्रान्तिको मौलिकता आवश्यक छ । एउटा मौलिकता उत्तरले जोगाइराखेको छ । त्यो हाम्रा लागि पनि ऊर्जा र प्रेरणाको विषय हो ।

(नेपाल–कोरिया लेखक/पत्रकार मञ्चद्वारा २०७३ साल कात्तिकमा प्रकाशित ‘जनगणतन्त्र कोरिया यात्रा र हाइड्रोजन भूकम्प’ नियात्रा/संस्मरणबाट उद्धृत ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :