के प्रोक्सी युद्ध वास्तविकतामा बदलिन सक्छ ?

आठ वर्षपछि रुस—युक्रेन युद्धको आक्रामकतामा भीषण वृद्धि भएको छ । पहिलो सन् २०१४ मा ‘मिन्स्क शान्ति सम्झौता’ भएसँगैे केही समय सिथिल भएको युद्ध गत २४ फेब्रुअरीदेखि झनै भयानक भएको छ । बीबीसीका अनुसार फेब्रुअरी १८ का दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा युक्रेनमा ‘विशेष सैन्य अभियान’ मार्फत घोषणा गरिएको यो युद्ध केवल रुस र युक्रेनमा मात्र सीमित भएको छैन कि यसले विश्यव्यापी रूप लिएको छ । विश्वका सबै शक्तिराष्ट्रहरू यस युद्धमा सम्मिलित छन् । प्रभावित छन् । साम्राज्यवादी विश्व दुई ध्रुवमा स्पष्ट विभाजित भएका छन् । दोस्रो विश्वयुद्धपछिको यो नै ठूलो ध्रुवीकरण हो ।

किन गर्यो रुसले आक्रमण ?

भ्लादिमिर पुटिनले ‘युक्रेनमा रहेका रुसी जातिले त्यहाँको राज्यविरुद्ध गरेको सङ्घर्षलाई दबाउन सेना परिचालन गरिरहेकाले उनीहरूको सुरक्षाका लागि’ विशेष सैन्य अभियान सञ्चालन गर्नुपरेको बताएका थिए । सोभियत सङ्घबाट अलग भएदेखि नै युक्रेन कहिल्यै पूर्ण विकसित र स्वतन्त्र नरहेको र पश्चिमा देशहरूको कठपुतली भएको आरोप पुटिनले लगाउँदै आएका थिए । पुटिन रुसको सुरक्षाका लागि युक्रेन नाटोमा सामेल नहोस् र यसको सुनिश्चितता युक्रेन र पश्चिमा देशबाट चाहन्थे । युक्रेनको अन्य कुनै गुटको हिस्सा नबनोस् र सैन्यकरण बन्द गरोस् भन्ने रुस चाहन्थ्यो । रुस समर्थित भनिएका युक्रेनीहरूले लुहान्स्क र डोनेट्स्क क्षेत्रमा विद्रोह गरी कब्जामा लिइरहेका थिए । रुसी समर्थित भनेर चिनिएका युक्रेनका तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिचले २०१३ युरोपियन सङ्घको प्रस्तावलाई नमानेपछि पश्चिमाहरूको सहयोग, समर्थन र योजनामा गरिएको आन्दोलनबाट उनलाई अपदस्त गरिएको थियो ।

यसबाट पश्चिमा देश र युक्रेनसँग रुस भयङ्कर रिसाएको थियो । युक्रेनमा रुसी जातिले विद्रोह गरिराखेका थिए । उनीहरूको विद्रोहलाई रुसले मलजल गरिराखेको थियो । वास्तवमा त्यो विद्रोहलाई हेर्ने दृष्टिकोण नै दुईवटा बनेको थियो । एकातिर रुस थियो, अर्कोतिर पश्चिमा देशहरू । त्यसमा पनि युरोपियन सङ्घ र नाटोको दृष्टिकोण फरक थियो । त्यही बेलादेखि त्यहाँ दुईध्रुवीय अघोषित युद्ध चलेको थियो । डोनबासमा युद्ध चलिरहेको थियो । उक्त युद्धले पश्चिमाहरूको निद्रा बिथोलिएको थियो । उनीहरूको कठपुतली राष्ट्रपति पी पोरोसेन्कोले धानिरहेका थिएनन् । त्यही क्रममा ५ सेप्टेम्बर २०१४ मा बेलारुसको मिन्स्कमा १२ बुँदे पूर्ण सम्झौता भयो । त्यसलाई मिन्स्क शान्ति सम्झौता भनिन्छ । तर द गार्जियनको २३ जनवरी २०१५ मा छापिएको समाचारअनुसार उक्त सम्झौता पूर्ण रूपले नाकाम भयो ।

२३ जनवरी २०१५ को रसियन समाचार एजेन्सी तासमा ‘युक्रेनले ठूलो क्षति बेहोर्नु परेको छ’ शीर्षकमा छापिएको समाचारमा छापिएको डोनेत्स्क पिपल्स रिपब्लिकका प्रवक्ता इडुवार्ड बसुरिनले ‘मिन्स्क ज्ञापनपत्रलाई विकसित रूपमा स्वीकार गरिनेछैन’ भनेका थिए । यी तथ्यहरूले युक्रेनमाथि रुसले आक्रमण गर्ने वातावरण बनाइदिएको थियो ।

युद्धको मोर्चा

रुसले पहिलो चरणमा २४ फेब्रुअरीदेखि ७ अप्रिलसम्म युद्ध चलायो । उसले राजधानी क्विबीलाई प्रभाव पर्ने गरी उत्तरी मोर्चा, उत्तरपूर्वी मोर्चा, दक्षिणी मोर्चा, पूर्वी मोर्चा, दोस्रो चरणमा दक्षिणपूर्वी आक्रामक (८ अप्रिल—अहिलेसम्म) मोर्चा, डानबास मोर्चा, माइकोलाइभ—ओडेसा मोर्चा, निप्रो—जापोरिज्जिया (Dnipro–Zaporizhzhia front), मारियापोल विजयजस्ता मोर्चा रुसले लड्यो । बीबीसी, सीएनएनजस्ता बेलायत, अमेरिका नियन्त्रित सञ्चारमाध्यमहरूले अहिले पनि एउटा भ्रमपूर्ण समाचार प्रसारण गरिराखेका छन्– युक्रेन रुससँग युद्ध एक्लै लडिरहेको छ जब कि २०१४ को युद्धमा अमेरिकाले युक्रेनलाई ८.१४ बिलियन अमेरिकी डलर सहयोग गरेको थियो । अमेरिकाको राज्य विभागको राजनीतिक सैन्य ब्युरोले १ जुलाई २०२२ मा सार्वजनिक गरेको सूचनाअनुसार अमेरिकाले अहिलेसम्म डस्ने पद्धति भएका १४ सयभन्दा बढी एन्टी एयर क्राफ्ट, ६ हजार ५ सयभन्दा बढी प्रतिकबच प्रणालीको जावेलिन, ७ सयभन्दा बढी स्विचेबल प्रणालीको अनम्यान्ड एरियल, १२६ वटा १५५ एमएम हाउत्जर र ४ लाख १० हजार राउन्ड १५५ एमएम आर्टिलरी, ३६ हजार राउन्ड १०५ एमएम आर्टिलरी, १ सय २६ ट्याक्टिकल भेइकल टु टाउ १५५ एमएम हाउत्जिर्स, १९ रिकभर गर्ने ट्याक्टिकल उपकरण, एइट हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम्स एन्ड एमुनेसन, टु नेसनल एड्भान्स्ड सर्फेस—टु—एयर मिसाइल सिस्टमस (एनएएसएएमएस), २० एमआई—१७ हेलिकोप्टरहरू, सयौँ आर्मोड हाई मोबिलिटी मल्टिपर्पोज ह्विल्ड भेहिकल्स, २ सयवटा एम ११३ आर्मोड पर्सोनाल क्यारियरहरू, १० हजारभन्दा बढी ग्रेनेड लन्चर र साना हतियारहरू, ५९ खालभन्दा बढी राउन्ड साना हतियारयारका गोलीहरू, ७५ हजार सेट शरीर कबच र हेल्मेटहरू, १२१ फोनेक्स गोस्ट ट्याक्टिकल अनआर्मड एरियल सिस्टम, लेजर—गाइडेड रकेट सिस्टम, अनआर्मड कोस्टल डिफेन्स भेसेलहरू, २६ काउन्टर—आर्टिलरी राडर्स पुमा अनम्यान्ड एरियल सिस्टम्स, ४ वटा काउन्टर—मोटार्स राडर्स, ४ वटा एयर सर्भिलेन्स राडर्स, ४ वटा एयर सर्भिलेन्स राडर्स, २ हार्पन कोस्टल एन्ड रिभेराइन प्याट्रोल बोट्स, १८ कोस्टल एन्ड रिभेराइन प्याट्रोल बोट्स, एम १८ ए १ क्लेमोर एन्टि—पर्सोनेल म्युनिसन, सी—४ एक्प्लोसिभ्स एन्ड डेमोलिसन इक्विपमेन्ट फर अब्स्ट्याक क्लियरिङ, ट्याक्टिकल सेक्योर कम्युनिकेसन्स सिस्टम्स, हजारौँ नाइटभिजन डिभाइस, थर्मल इम्याजिनरी सिस्टम, अप्टिक्स, एन्ड लेजर रेन्जफान्डर्स, कमर्सियल स्याटेलाइट इम्याजिनरी सर्भिसेस, एक्सप्लोसिभ अर्डनेन्स डिस्पोजल प्रोटेक्टिभ गियर, केमिकल बायोलोजिकल, रेडियोलोजिकल, न्युक्लिअर प्रोटेक्टिभ इक्विपमेन्ट, मेडिकल सप्लाइज टु इन्क्ल्युड फस्ट एड किड, इलेक्ट्रोनिक जामिङ इक्विमेन्ट, फिल्ड इक्विमेन्ट एन्ड स्पेयर्स पार्ट्स र फन्डिङ फर ट्रनिङ, मेन्टनेन्स, एन्ड सस्टेनमेन्ट दिएको छ । यी हतियार, उपकरण, तालिम युक्रेनलाई उपलब्ध गराउनु भनेको अमेरिकी सेनाकै उपस्थिति हुनु हो ।

रुसले युक्रेनविरुद्धको युद्धमा उसको पछिल्लो सबैभन्दा शक्तिशाली खिन्जाल नामको हाइपरसोनिक मिसाइल प्रयोग गरेको छ जो ध्वनिभन्दा ५ गुणा बढी गतिमा २ हजार किलोमिटर पर मार हान्न सक्छ । साथै रुसले युद्ध प्लेन एमआईजी—३१ को प्रयोग गरेको छ । इस्कालान्डर बालेस्टिक मिसाइल जसले ५ सय किलोमिटरसम्म मार गर्न सक्छ । त्यसैगरी भ्याकुम बम जसलाई थर्मोबारिक पनि भनिन्छ, क्लस्टर बम रुसले प्रयोग गरिराखेको छ । यी तथ्यहरूले परमाणविक हतियारबाहेकका अहिलेसम्म दोस्रो विश्वयुद्धपछि बनाइएका र प्रयोगमा नआएका हतियार र प्रविधिको प्रयोग रुस—युक्रेन युद्धमा भएको छ ।

विश्वमा परेको प्रभाव

दुई वर्ष कोभिड—१९ बाट ग्रसित भएको विश्व अर्थतन्त्रलाई ठूलो नकारात्मक प्रभाव पार्न सक्छ भन्ने प्रक्षेपण गरिएको थियो । एकल ध्रुवीय साम्राज्यवादको अन्त्य हुनेछ । सैन्य रणनीतिमा नयाँ अभ्यास हुनेछ । यी ३ वटा प्रभाव विश्वमा पर्नेछ भन्ने अड्कल गरिएको थियो । यी ३ वटै प्रभाव अहिलेसम्म स्पष्ट देखिएको छ ।

अर्थतन्त्रमा प्रभाव

रुस र युक्रेन दुवै वस्तु उत्पादन गर्ने मुख्य देशहरू हुन् र खाद्य वस्तु, जीवांश तेल र ग्याँसको अत्यधिक मूल्य वृद्धि वा रोकावट भएकाले विश्व अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव परेको छ । रुस र युक्रेनमा उत्पादित गहुँ र खानाको मूल्य विश्वमा ३० प्रतिशतसम्म बढेको छ । यसले गर्दा विश्वको अर्थतन्त्रको वृद्धि सुस्त हुन पगेको छ भने मुद्रास्फीति भएको छ । विश्व बैङ्कले २०२२ को वसन्तसम्म पुग्दा मध्यएसिया र युरोपको अर्थतन्त्रमा यो द्वन्द्वले ठूलो धक्का दिएकाले मानवीय सङ्कट पैदा गरेको बताएको छ । ‘युद्धअघि नै निरन्तर कोभिड—१९ प्रकोप, भूराजनीतिक तनावलाई तीव्र पार्ने, समष्टि आर्थिक समर्थनमा ह्रास र आपूर्तिमा ढिलाइ हुने अवरोधहरूलाई पुनः प्राप्ति एकदमै सुस्त भएको छ’, विश्व बैङ्कले टिप्पणी गरेको छ । अमेरिका, बेलायतजस्ता देशको निर्देशनमा चलेका सञ्चारमाध्यमहरूले एकतर्फी मात्र समाचार बजाइराखेका छन्– रुसले यो युद्धमा ठूलो आर्थिक सङ्कट बेहोर्नुपरेको छ ।

वास्तवमा, अमेरिकी ध्रुवमा खडा भएका बेलायत, जापान, दक्षिणकोरिया, फ्रान्सलगायत देशले रुसमाथि नाकाबन्दी लगाएका छन् । तर रुसले युद्ध लड्दालड्दै पनि उसको व्यापारमा कुनै कमी भएको छैन, बरु झनै बढेर गएको छ । युद्धको सुरुआतपछि रुसले तेल बेचेर मात्र ९९ अर्ब अमेरिकी डलर कमाएको छ । ३ सय अर्ब डलर त व्यापारबाट फाइदा गरेको जनाएको छ जहाँ युक्रेन र अमेरिकाको आर्थिक अवस्था भने कमजोर भएको छ । विश्वमा अहिलेसम्म भएका कुनै पनि युद्ध यस्तो छैन जुन देश युद्धमा फसेको होस् तर पनि आर्थिक कारोबारमा घाटा नहोस्, फाइदामा रहोस् । पहिलो विश्वयुद्धमा अमेरिकाको सहभागिता थिएन तर उसले हतियार बेचेर प्रशस्त आम्दानी गरेको थियो । दोस्रो विश्वयुद्धमा पनि अमेरिकाको त्यही रणनीति थियो तर युद्धमा फस्यो । आर्थिक रूपमा पनि राम्रो भएन । तर रुसले अहिले युद्धकै क्रममा विश्व–अर्थतन्त्रलाई आफ्नै वरिपरि घुमाएको छ ।

युक्रेनमा अमेरिकी डलर ५.५ भन्दा कम कमाउनेलाई गरिबीको रेखामुनि रहेको मानिन्थ्यो । त्यस समयमा १.८ प्रतिशत मात्र रहेको थियो तर अहिले १.९ प्रतिशत पुगेको छ । संयुक्तबाट निर्मित मोडेलले ३० प्रतिशत जनसङ्ख्यालाई नकारात्मक असर पार्ने अनुमान गरिएको छ । सेन्टर फर ग्लोबल डेभलपमेन्टको ब्लगका लेखहरूलाई उद्धृत गर्दै विश्वबैङ्कले प्रतिदिन १.९ अमेरिकी डलरभन्दा कम आय गर्ने ४ करोड मानिसलाई गरिबीको रेखामुनि धकेलेको छ ।

यसरी हेर्दा रुस–युक्रेन युद्धले विश्वका प्र्रायः सबै देशको अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक प्रभाव परेको छ । यसको पछिल्लो उदाहरण हो– श्रीलङ्का । पेट्रोलियम पदार्थको अभाव हुनु र यसका कारण भएको मूल्य वृद्धिले उपभोग्य सबै वस्तुको स्वतः मूल्य वृद्धि हुन पुगेको छ । धेरै कारणहरूमध्ये श्रीलङ्कामा भएको आर्थिक सङ्कट र जनताले गरेको विद्रोहका कारण त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री निवासलाई जनताले कब्जा गरेका छन् । युक्रेनको युद्ध देखाएर नेपालमा पनि मूल्यवृद्धि तीव्र रूपमा भएको छ ।

राजनीतिक प्रभाव

मङ्गलबार, जुलाई २८, २०२२ को द गार्जियन पत्रिकाले ‘रुस–युक्रेनको युद्धको जी—७ को प्रतिक्रिया, सम्मेलनमा रुस युद्ध हाबी’ शीर्षकको मुख्य समाचार नै छापेको छ । जर्मनीमा भएको उक्त सम्मेलनमा ‘रुसलाई आर्थिक र राजनीतिक दबाब बढाउने’ एकसूत्रीय निर्णय लिएको कुरा जर्मन चान्सलर तथा जी ७ का वर्तमान अध्यक्ष ओलाफ सोल्जले सुनाएका थिए । उक्त सम्मेलन भैराख्दा रुसले युक्रेनमाथि भीषण बमवर्षा गरिराखेको थियो । जुन २७ मा बीबीसीका लागि लेखेको समाचारमा उक्त सम्मेलनमा बोरिस जोन्सन जसले भर्खरै मात्र राजीनामा दिएका थिए— ले मजाक गर्दै ‘विश्वका धनी जी—७ राष्ट्र र युरोपियन युनियनका थप देशहरूले गम्भीर मांसपेशी दाउनुपर्ने’ लेखेकी छिन् जब कि विगतका बैठकहरू अस्पष्ट—ध्वनिका वाचाहरू भरिएका हुन्थे । गत वर्षको बैठक ‘ब्याक बेटर वोल्र्ड इनिसिएटिभ’ का रूपमा लिइएको थियो जब कि बभेरियाको यस जी—७ को बैठकले चीनको प्रभावलाई मत्थर गर्न विशेषगरी उदीयमान अर्थतन्त्रको पूर्वाधार विकासका लागि भनेर ६ सय बिलियन डलर छुट्ट्याइएको छ । बभेरियामा प्रवेश गर्दा नै जोइ बाइडेनले जी ७ र नाटोका नेताहरूलाई ‘रसियाको आक्रमणसँग सामना गर्न सँगसँगै रहौँ’ भनेका थिए ।

माथिका तथ्यहरूले रुसको युक्रेनमाथिको आक्रमणले विश्वका अति शक्तिशाली भनिएका देशहरूको अवस्था के बनाइदिएको रहेछ भन्ने स्पष्ट बुझ्न सकिन्छ । गएको जुलाई ५ मा कन्जरभेटिब पार्टीको सरकारका अधिकांश मन्त्रीहरूले राजीनामा दिएपछि बेलायतका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । गत वर्ष संयुक्त राष्ट्रसङ्घबाट भएको चुनावमा चीनले रुसका विरुद्ध भोट हालेन र भारत तटस्थ बस्यो । नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिको उल्लङ्घन गर्दै युक्रेनका पक्षमा मतदान गरेको थियो ।

यस्ता तथ्यहरू कैयौँ छन् जो २०१४ देखि लगातार सार्वजनिक भएका छन् । अमेरिकाका साझेदार वा सहकर्मी देशहरूले रुसमाथि प्रतिबन्ध लगाउने, एक्ल्याउने, युद्धले ध्वस्त पारिदिने धम्की दिइरहेका हुन् । तर ती धम्की, नाकाबन्दीको बेवास्ता गर्दै आएको छ । अहिले नेटो, युरोपियन युनियनमा रहेका सबै देश एक भएर रुसविरुद्ध खनिएका छन् । तर रुस एक्लै उनीहरूको प्रतिवाद मात्र गरिराखेको छैन, आफ्नो लक्ष्यमा हिँडिरहेको छ । यद्यपि रुस समाजवादी देश होइन र भ्लादिमिर पुटिन साम्यवादी पनि होइनन् । उसको एक मात्र उद्देश्य हो– विश्वमा कायम रहेको अमेरिकी हैकमलाई तोडिदिने । एकलध्रुवीय साम्राज्यवादी विश्वलाई बहुध्रुवीयमा परिणत गर्ने र आफ्ना सहयात्रीहरूसहितको ध्रुवको नेतृत्व गर्ने र अमेरिकाजस्ता देश जसले विश्वमा हतियारको भरमा साम्राज्य कायम गरेका छन् उनीहरूलाई युद्धमा धकेलिदिने ।

अन्त्यमा

दोस्रो विश्वयुद्धमा जर्मन नाजीवाद वा हिटलरको दादागिरी निस्तेज पार्न ‘३ ठूला’ सोभियत सङ्घ, अमेरिका, बेलायतजस्ता देशका प्रमुखहरू जोसेफ स्टालिन, फ्र्याङ्कलिन रुजबेल्ट, विस्टन चर्चिललगायत लगभग २८ वटा देशका प्रमुखको गठबन्धन थियो र तर अमेरिका, बेलायतजस्ता अरू देशहरूले दोस्रो विश्वयुद्धमा नाजीवाद र फासिवादलाई हराउन खासै भूमिका निर्वाह गरेनन् । अन्त्यमा ‘३ अक्ष’ भनेर चिनिएका हिटलरको जर्मनी, इटालीको मुसोलिनी र जापानका सम्राट्को बलियो गठबन्धनलाई अन्तिम र जबर्जस्ती ध्वस्त पार्नका लागि केवल स्टालिनको सोभियत सङ्घलाई छाडिएको थियो । अन्ततः फेब्रुअरी २, १९४३ मा सोभियत सङ्घले कहिल्यै नउठ्ने गरी जर्मन साम्राज्यवादलाई घुँडा टेकाएको थियो ।

भ्लादिमिर पुटिन त्यही देशका नागरिक हुन् । त्यही विश्वयुद्धको समापनको ७ वर्षपछि पुटिनको जन्म भएको थियो । अहिले उनको पालामा ठीक उल्टो भएको छ । रुजबेल्ट वा चर्चिलको देशका शासकहरूको योजना, सहयोग, समर्थन र ऐक्यबद्धतामा चलाइएको नक्कली (प्रोक्सी) युद्धको एक पक्षको पुटिनले खुलै नेतृत्व गरेका छन् ।

रुस–युक्रेन युद्धलाई लिएर विश्व–राजनीतिक वृत्तमा दुईवटा बहसको सुरुआत भएको छ । एउटा पक्ष रुसले जे गर्यो ठीक गर्यो । अमेरिकाले युक्रेनलाई उचालेको हो । रुसले जसरी पनि युक्रेनमाथि कब्जा जमाउनुपर्छ भन्ने तर्क छ । अर्को तर्क रुसले गल्ती गर्यो । उसले युक्रेनमाथि आक्रमण गर्नु हुँदैनथ्यो । यी दुवै तर्कहरू पूर्ण छैनन् । सोभियत सङ्घको विघटन पश्चिमाहरूको योजनामा भएदेखि सिङ्गो सोभियत सङ्घ १५ वटा टुक्रामा विभाजित हुन पुगेको थियो । यसबाट पुटिन जो सोभियत सङ्घ हुँदा केजीबीमा काम गरेका र सेनाको लेफ्टिनेन्ट कर्नेल पनि बनिसकेका थिए उनमा एक किसिमको अहंकारको भूत चढेको थियो । त्यसका लागि आफूले शासन गरेका २४ वर्ष उनले त्यहीँ खर्चे र राष्ट्रियताको नारा दिएर अगाडि बढे । उनले आफू साम्यवादी नहुँदानहुँदै पनि लेनिन र स्टालिनको सहारा लिए ।

पुटिन जसरी पनि युक्रेनलाई थकाएर, थिलथिलो पारेर, उसका सहयोगीहरूलाई युद्धमा फसाएर रुस, चीन, जनगणतन्त्र कोरिया र अमेरिकाविरोधी इरानसहितको साम्राज्यवादविरोधी मोर्चा खडा गर्न चाहन्छन् । अहिलेसम्मको अवस्था हेर्दा उनी सफल भएको पनि देखिन्छ । यो ५ महिनाको युद्धमा रुस अगाडि बढिराखेको छ । युक्रेन, यसका समर्थक र पृष्ठपोषकहरूका सबैजसो योजना र षड्यन्त्र नाकाम भएको छ ।

२८ असार, २०७९

प्रतिक्रिया दिनुहोस्