विप्लव समूहको विक्षिप्तता

विप्लव समूहको विक्षिप्तता

वैचारिक रूपमा स्खलित बनिसकेपछि र राजनीतिक चरित्र गुमाइसकेपछि कुनै राजनीतिक समूहलाई राजनीतिक चरित्र धान्न कति मुस्किल हुँदो रहेछ भन्ने कुरा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले पछिल्लो समयमा लगातार प्रदर्शन गरेको अराजनीतिक चरित्रले प्रस्ट पारेको छ । हो, यतिबेलाको मुख्य प्रश्न क्रान्तिकारी पार्टी निर्माण, दिनदिनै अतिक्रमण हुँदै गरेको राष्ट्रियता रक्षाको आन्दोलन, महँगी तथा मूल्य वृद्धिविरुद्धको सङ्घर्ष र अझ पछिल्लो समयमा राष्ट्रघाती नागरिकता विधेयकविरुद्धको आन्दोलन नै प्रधान हो र मुलुकका क्रान्तिकारी शक्तिहरू राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयलाई लिएर आन्दोलन उठाइरहेका पनि छन् तर यसै मेसोमा संसदीय संशोधनवादी बनेर दलाल प्रतिक्रियावादी सत्ताको चुनावमा गएको विप्लव समूहले देशव्यापी रूपमा उक्त समूहबाट विद्रोह गरेर क्रान्तिकारी आन्दोलनमा लामबद्ध बन्दै गरेका क्रान्तिकारी नेता–कार्यकर्तामाथि गरेको निम्नस्तरको व्यवहारले उक्त समूहका क्रियाकलापप्रति निन्दा, खेद र भत्र्सना गर्नुपर्ने अवस्थामा पुर्याएको छ ।

पछिल्लो घटनाक्रमअनुसार यही आइतबार सर्लाही जिल्लामा भ्रमवश विप्लव समूहमा रहेका र उक्त समूहको राजनीतिक–वैचारिक पलायनको यथार्थ बुझेपछि विद्रोह गर्दै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा ध्रुवीकरण भएका नेता–कार्यकर्ताको घरघरमा पुगेर सानो समूहमा बचेका विप्लव समूहका कार्यकर्ताले आफूले विद्रोह गर्दा गरेको हस्ताक्षर नक्कली भएको बताइदिन र त्यसका लागि जुन पद र जति पैसा आवश्यक परे पनि दिन आफूहरु तयार रहेको प्रलोभन र धम्की दिएको समाचार र त्यसपछि विद्रोह गरेका नेता–कार्यकर्ताले जारी गरेको प्रतिरोध वक्तव्य हेर्दा विप्लव समूहले सामान्य वामपन्थी चरित्र पनि गुमाइसकेको आभास हुन्छ ।

हुनत यसअघि वैशाखको अन्तिम साता नेकपा (बहुमत) ले चितवनमा आयोजना गरेको विशेष राष्ट्रिय भेलामा सहभागी भएर फर्किएका कपिलवस्तुका केही क्रान्तिकारी नेतालाई अपहरण गरेर तस्बिर खिचाउँदै विप्लव समूहमै रहेको भ्रमपूर्ण प्रचार गरेपछि नै उक्त समूह क्रान्तिकारी आन्दोलनबाट विक्षिप्त बन्दै गएको देखिएको थियो । त्यसपछि अखिल क्रान्तिकारीको काठमाडौँमा आयोजित विशेष राष्ट्रिय भेलामा आउँदै गरेका क्रान्तिकारी युवा विद्यार्थीलाई अवरोध पुर्याएको घटना होस् वा उदयपुरमा जिल्ला भेला गरिरहेका क्रान्तिकारी विद्यार्थी नेता र पार्टीका कार्यकर्तामाथि गरिएको आक्रमणको प्रयास होस्, यी कुनै पनि घटना एउटा क्रान्तिकारी, कम्युनिस्ट नाउँधारी समूहले गर्न त के सोच्न पनि नसक्ने विषय हुन् । लाठी, मुङ्ग्री गरेर, अपरहण गरेर, धम्क्याएर वा लोभ्याएर क्रान्तिकारी शक्तिले आत्मसमर्पण गर्ने भए निरङ्कुश जहानिया शासनविरुद्ध साहित्यको माध्यमबाट विद्रोह बोल्ने कृष्णलाल अधिकारीदेखि गङ्गालाल श्रेष्ठ र दोरम्बा–बेथानलगायत देशैरका मोर्चाहरू सामूहिक रूपमा प्रतिरोध गर्दागर्दै बलिदान दिएका क्रान्तिकारी युवाहरूले पलायनको बाटो रोजिसकेका हुन्थे । त्यसयताका हरेक विद्रोह, क्रान्ति, युद्ध वा आन्दोलनहरूमा निरङ्कुश राजतन्त्रले हजारौँ र लाखौँको सङ्ख्यामा युवा र योद्धाहरूलाई अनेक प्रलोभन र धम्की दिँदा पनि उनीहरूले विद्रोहको बाटो परित्याग नगरेको र बरु बलिदानको बाटो रोजेको गौरवपूर्ण इतिहास नेपालको राजनीतिक आन्दालनले बोकेको छ । त्यसैले क्रान्तिकारीहरुका लागि बलिदान प्रिय हुन्छ, व्यक्तिगत जीवन र नाफाघाटा गौण र त्यज्य विषय हुन्छ ।

विप्लव समूहले क्रान्तिकारी राजनीतिक मार्ग परित्याग गरेर दलाल पुँजीवादको बाटोमा आत्मसमर्पण गरिसकेको छ । नेकपा (बहुमत) ले विप्लव समूहमाथि केही गम्भीर दार्शनिक, वैचारिक र आर्थिक अभियोगहरू लगाएको छ र उक्त समूहले यी अभियोगहरूको राजनीतिक खण्डन गर्न सकेको छैन । नेकपा (बहमुत) ले विप्लव समूह दार्शनिक रूपले सारसङ्ग्रहवादी बनिसकेको निष्कर्ष निकालेको छ । आफू र आफ्नो गुटप्रति आत्मसमर्पण नगर्नेहरूलाई विभिन्न लाञ्छना लगाउँदै पार्टी र आन्दोलनबाट बाहिर निकाल्नु, तीनबुँदे गर्दै आत्मसमर्पण गर्नुदेखि पार्टी निर्णयविपरीत दलाल पुँजीवादी सत्ताले आफ्नो रक्षाका लागि गराएको चुनावमा जानुलाई पनि एकीकृत जनक्रान्ति भन्दै उक्त समूहले आफ्नो सारसङ्ग्रहवादी चरित्र प्रस्ट पारिसकेको छ । मुख्य विषयवस्तुलाई सहायक र सहायक विषयलाई मुख्य बनाएर आफ्नो स्वार्थपूर्तिमा लागेको उक्त समूहका मुख्य व्यक्ति विप्लवले पुँजीवाद कि वैज्ञानिक समाजवाद शीर्षक पुस्तकमा उपेन्द्र यादवदेखि एमाले हुँदै प्रचण्डहरूसम्मले समाजवाद स्वीकारिसकेको अवस्थामा संसद्‌बाटै समाजवाद घोषणा गर्नसकिने संसद्‌वादी विचार प्रकट गरेर आफ्नो वैचारिक, राजनीतिक स्तर र गन्तव्य प्रस्टा पारिसकेका छन् । यसरी उक्त समूह देखिएरै संसदीय संशोधनवादी बनेको छ । संसद्‌वादले विचारले होइन, साम, दाम, दण्ड, भेद नीति प्रयोग गर्छ र जनतालाई झुक्याउँछ । अल्पमतको शासन गर्छ र शोषण, दमन र व्यभिचारलाई प्रजातन्त्रको पगरी भिराइदिन्छ । अहिले विप्लवहरू केपी वली, माधव नेपाल र प्रचण्डहरुले बोकेको त्यही संशोधनवादी, पलायनवादी बाटोमा लागिसकेका छन् । त्यसैले उक्त समूहले क्रान्तिकारी शक्तिमाथि गर्ने यस्ता हर्कत गर्नु सामान्य बनेको छ ।

विप्लव समूह साङ्गठनिक रूपले निषेधात्मक अधिभूतवादी बनेको नेकपा (बहुमत) को निष्कर्ष छ । सङ्घर्षका दृष्टिले उक्त समूह आत्मसुरक्षावादी बनिसकेको छ । विगतमा सङ्घर्षका कार्यक्रम घोषणा गरिदिएर विप्लव–प्रकाण्डहरू विभिन्न बहाना बनाएर लुक्ने गरेको र नेता–कार्यकर्तालाई अर्थ सङ्कलनका लागि होम्ने गरेको नेकपा (बहुमत) का नेताहरूले सार्वजनिक रूपमै बताइरहेका छन् । एक बैठकमा विप्लवले आफूलाई एमसीसी, एनसेलविरुद्ध अमेरिकामा मुद्दा चलाउन लागिरहेको, आफूलाई गोन्जालो बनाउन र पार्टीभित्र अन्तरसङ्घर्ष चलिरहेको समय पारेर इन्काउन्टर गर्ने योजना बनाएकाले आफू चुनावमा जान बाध्य भएको बताएर आफू आत्मसमर्पणवादी बनेको स्वीकार गरेका थिए । नेकपा (बहुमत) का नेताहरूलाई विप्लव समूहमाथि आर्थिक रूपले जझारु अर्थवादी बनेको, अर्थ सङ्कलनका लागि विभिन्न स्थानमा विस्फोट गराउने र बार्गेनिङ गरेर रकम उठाउने, नदिएमा फेरि विस्फोट गराउने गरेको अभियोग पनि लगाएका छन् । तर विप्लव समूहले यी कुनै पनि अभियोगहरूको खण्डन गर्न सकेको छैन । विप्लव समूहमाथि यति गम्भीर र सङ्गीन आरोप र अभियोगहरू छन् । क्रमशः यी विषय प्रमाणित हुँदै गएपछि उक्त समूहमा अल्मलिएर बसेका क्रान्तिकारीहरू विद्रोह गर्दै नेकपा (बहुमत) मा लामबद्ध हुने क्रम बढेपछि उनीहरू साम, दाम, दण्ड, भेदमा लागेको बुझ्न कुनै गाह्रो छैन । बाहुबल वा लोभ–प्रलोभनले राजनीतिक आन्दोलन अघि बढ्न र दिगो हुन सक्दैन । सर्लाहीका विद्रोही योद्धाहरूले चेतावनी दिएझैँ विप्लव समूहले क्रान्तिकारीहरूमाथि यस्तै हर्कत दोहोर्याउँदै गएमा अवस्था जटिल हुन सक्छ, चेतना भया ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :