हाम्रा सङ्घर्षमय आठ वर्ष

विशेष सम्पादकीय

प्रिय पाठक,

वर्गसमाजमा सञ्चार मोर्चा आवाजविहीनहरूको आवाज हो । वगसङ्घर्षमा यसले सङ्गठक, प्रचारक र आन्दोलनकर्ताको भूमिका निर्वाह गर्छ । यसै उद्देश्यले आरम्भ गरिएको रातो खबरको गौरवपूर्ण यात्रा सात वर्ष पूरा गरी आठ वर्षमा प्रवेश गरेको छ । हाम्रो जीवनमा विगतभन्दा यो वर्ष अत्यन्त पेचिलो रह्यो । घोषित शत्रुसँगभन्दा आन्दोलनमा घुसेका संशोधनवादीसँगको सङ्घर्ष बढी पेचिलो बन्यो । हुनत यसअघि दलाल पुँजीवादी सत्ताले तत्कालीन नेकपामाथि प्रतिबन्ध लगाएका दुई वर्ष पनि ठूलठूला चुनौतीको सामना गर्दै हाम्रो गौरवशाली यात्रा अघि बढाएका थियौँ ।

यसबीचमा दलाल पुँजीवादी सत्ताका फासिवादी हर्कतको प्रतिरोध गर्ने क्रममा १२ जना योद्धाको बलिदान भयो भने हजारौँ योद्धाले जेल र हिरासतको सामना गर्नुपर्यो । अझै पचास हाराहारी योद्धा अन्यायपूर्ण जेलजीवन बिताइरहनुभएको छ भने उहाँहरू दलाल सत्ताका सबै आरोपहरू खारेज गर्दै बन्द पर्खालभित्रबाट प्रतिरोध गरिरहनुभएको छ । हजारौँ योद्धामाथि लगाइएका झूट्टा मुद्दाहरू फिर्ता गरिएको छैन । हामीले पनि फासिवादी सत्ताको सामना गर्दै प्रतिरोध गर्यौँ । हामी दलाल पुँजीवादी सत्तालाई चुनौती दिन चाहन्छौँ– वर्गसङ्घर्षको इतिहासमा क्रान्तिकारीहरूले हारेको इतिहास छैन । आठ वर्ष प्रवेशका अवसरमा हामी फेरि वर्गसङ्घर्षको प्रक्रियामा श्रमिक वर्गका पक्षमा निरन्तर सङ्घर्षमा छौँ र दलाल पुँजीवादी सत्ता ध्वस्त भएर वैज्ञानिक समाजवाद स्थापना नहुँदासम्म निरन्तर क्रान्तिकारी मोर्चा समालिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

यसबीचमा रातो खबर स्थापना गर्दाका केही साथी यात्राबाट छुटेका छन् । उनीहरू क्रान्तिकारी मोर्चाबाट अलग हुँदै संसदीय संशोधनवादी बनेका छन् । संस्थापकमध्येका एक विप्लव र उनको समूह दलाल पुँजीवादी चुनावी बत्तीको पुतली बनेको छ । रातो खबरको जन्म नै सबैखाले प्रतिक्रियावाद, अवसरवाद, पलायनवाद, संशोधनवाद, कायरता र सम्झौतावादका विरुद्ध सङ्घर्षको मोर्चाका रूपमा भएको थियो । संस्थापकमध्येका अरू सबै हामी क्रान्तिकै पक्षमा छौँ । यस अर्थमा प्राब्दा, स्क्रा, जनदिशा र जनादेशले क्रान्तिकालमा निर्वाह गरेको भूमिकामा रातो खबर निरन्तर क्रियाशील छ । विप्लवहरूसँगको अन्तरसङ्घर्षमा रातो खबर प्रकाशनको सम्पूर्ण शक्ति संसदीय संशोधनवादबाट विद्रोह गर्दै र डोजर प्रवृत्तिका धम्कीहरूको प्रतिरोध गर्दै वैज्ञानिक समाजवादका पक्षमा छ । नेपाली क्रान्तिका लागि यो सुखद सन्देश हो । हामी हाम्रो यात्रामा प्रतिबद्ध रहँदै हाम्रा सहयोद्धा, शुभचिन्तक, मित्र, सहयोगीहरूलाई विगतमा झैँ सबैखाले समस्याहरूको सामना गर्दै सहयात्राका लागि आह्वान गर्दछौँ ।

अशोक सुवेदी
सम्पादक
रातो खबर प्रकाशन गृह

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :