नयाँ यात्रा, नयाँ अभियान !

नयाँ यात्रा, नयाँ अभियान !

नयाँ यात्रा

वैचारिक सर्वोच्चतालाई आधार मानेर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को गठनकै प्रक्रियामा हामीले सबैभन्दा पहिलो कुरा नेपाली क्रान्तिको कार्यक्रम, कार्यदिशा, कार्यनीति र कार्यनीतिक कार्यक्रमहरूलाई ठोस र सपाट पार्ने काम गर्यौँ । यसको श्रेय प्रिय कमरेड विप्लवलाई जान्छ । यसको मुख्य कारण के हो भने मूल रूपमा विप्लवसँग २०७३ सालको आठौँ महाधिवेशनदेखि भएका छलफल, बहस र अन्तरसङ्घर्षको केन्द्र बनेको कार्यक्रम, कार्यदिशा र कार्यनीति थिए । ठीक त्यसैगरी वैचारिक अस्पष्टता हुँदाहुँदै र नेतृत्वको नियत नै गलत रहँदारहँदै पनि भएका वर्गसङ्घर्ष, स्वाधीनताका आन्दोलन, जनजीविका र जनतन्त्रलाई लिएर भएका शृङ्खलित र विशृङ्खलित आन्दोलनले नेपाली क्रान्तिको नयाँ यात्राको जग बनाइदियो । जुन विषयमा विप्लव—प्रकाण्ड—सन्तोष एन्ड कम्पनीले कहिल्यै पनि प्रवेश गर्ने साहस नै गरेको थिएन । गएको वैशाखको हाम्रो केन्द्रीय समितिको बैठकमा कार्यक्रम वैज्ञानिक समाजवाद, कार्यदिशा समाजवादी क्रान्ति, कार्यनीति स्वाधीन संयुक्त सरकार र कार्यनीतिक कार्यक्रमहरूको मार्गचित्र बनाइयो । उक्त मार्गचित्रमा यात्रा गर्ने अठोट गरियो । यो मार्गचित्रको सामान्य रेखाङ्कन नेपालका लागि नयाँ हो ।

नेपालका घागडान साम्यवादी विद्वान्हरूले हाम्रो यो नयाँ यात्रालाई लिएर खिसिट्युरी गर्न सक्छन् । जसरी विप्लवले हाम्रो यात्राको सामान्य जानकारी नराख्दै एक हरफ भन्नुभयो, नेकपा (बहुमत) ले कुनै नयाँ कुरा ल्याएको छैन, सबै हामीले लेखेका कुरा हुन् । खास कुरा के हो भने नेपाली कम्युनिस्टहरू जसले झापा विद्रोह गरे, हामीले जनयुद्ध गर्यौँ यी दुवै नेपाली राजनीतिक इतिहासका महान् र गौरव गर्ने परिघटनाहरू हुन् । तर यी दुवै हतियारबद्ध सङ्घर्षहरू कमरेड माओले बनाएको नयाँ जनवादी क्रान्तिको कार्यदिशा हो । नेपाली सच्चा क्रान्तिकारीहरूका लागि अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्यसंरचनालाई ध्वस्त पार्नसक्ने मार्गचित्र थियो । महान् जनयुद्धले सामन्तवादको केन्द्र र आधारलाई ध्वस्त पारेको थियो तर राष्ट्रिय पुँजीको विकास हुन सकेन, दलाल पुँजीवादले केन्द्रीय सामन्तवादको स्थान लिन पुग्यो । यो यथार्थलाई प्रचण्डहरूले बुझ्न सकेनन् । यो यथार्थलाई नबुझेर जनयुद्ध चल्दै गर्दा नेपाली क्रान्तिलाई अगाडि बढाउन आवश्यक पर्ने नयाँ कार्यदिशाको माग राखेको थियो । त्यही आवश्यक नयाँ कार्यदिशाको रेखाङ्कन गर्ने यात्राको सुरुआत भएको छ ।

नयाँ अभियान

नेकपा (बहुमत) को दोस्रो पूर्ण बैठकले विशेष राष्ट्रिय भेलाले तय गरेको नयाँ यात्राको नयाँ अभियान हामीले जेठ १५ गतेदेखि सुरु ग¥यौँ । हामीले अभियानको कार्यविधि बनाएका थियौँ । पहिलो थियो– देशभरिका जिल्लास्तरीय नेताहरूलाई विभिन्न पायक पर्ने स्थानमा केन्द्रीकृत गरी नयाँ बनाइएको नयाँ कार्यक्रम, कार्यदिशा, त्यो कार्यदिशालाई भौतिक रूपमा व्यक्त गर्ने सङ्गठन र त्यो सङ्गठनले गर्ने सङ्घर्षका आधारभूत समान बुझाइ बनाउने कार्यविधि बनाइएको थियो । कार्यविधि किन बनाउनुपर्ने हुन्छ भने सही विचारले राजनीतिमा परिणत गर्ने, त्यो राजनीतिलाई सफल पार्न भौतिक शक्ति चाहिन्छ, त्यही भौतिक शक्तिले गर्ने सङ्घर्षले मात्र क्रान्ति गर्दछ, रूपान्तरण गर्दछ । त्यसैले नयाँ अभियानको आवश्यकता परेको थियो । त्यही नयाँ अभियान जेठ १५ गते काठमाडौँबाट सुरु गरियो ।

उपत्यकाका विगतमा नेकपामा रहेका ७० प्रतिशतको आसपासमा जिल्ला समितिका सदस्यहरूको ऊर्जापूर्ण उपस्थिति थियो । उनीहरूको आक्रोश पनि सहज बुझ्न सकिन्थ्यो । आक्रोशको केन्द्र एकीकृत जनक्रान्तिका प्रवर्तक, त्यसका एक मात्र उत्तराधिकारी, भाबी उत्तराधिकारीहरूप्रति थियो । यसको मुख्य कारण थियो १२ औँ केन्द्रीय समितिले लिएको निर्णयविपरीत विगतको चुनावमा केन्द्रीय सदस्य, पार्टीका नेता, एकीकृत जनक्रान्तिका नाममा गरिएका सङ्घर्ष, सङ्घर्ष गर्दा रगत बगाएका सहिदको परिवारलाई भाग लिन जबर्जस्ती गर्नु, नेतृत्वले जे सोचेको थियो, जस्तो भ्रम फैलाएको थियो तर परिणाम ठीक उल्टो आयो । कमरेड कञ्चनको नेतृत्वमा हामीले जे आरोप लगाएर विशेष राष्ट्रिय भेला गरेर विप्लव र प्रकाण्डलाई कारबाही गरेर नेकपा (बहुमत) सङ्गठित गरेका थियौँ त्यो सिद्धान्तमा मात्र नभएर व्यवहारमा पनि पुष्टि भएको थियो ।

१७ गते हामी पोखरा पुगेका थियौँ । २०७८ साल चैत १८ गते चितवनमा भएको केन्द्रीय प्रशिक्षणमा कास्कीका तत्कालीन सेक्रेटरी कमरेड गोकुलले गजबको विद्रोह बोल्नुभएको थियो । त्यहाँको मुख्य नेतृत्व, उसले लिएका गलत वैचारिक, राजनीतिक, साङ्गठनिक, आर्थिक क्रियाकलापका विरुद्ध । विप्लवजीलाई उक्त कुरा असोजमा नै थाहा थियो किनभने असोजमा चितवनमै भएको राष्ट्रिय प्रशिक्षणमा नै गोकुलले स्पष्ट रूपमा राख्नुभएको थियो । तर विप्लवहरूले सुन्ने कान लगाउनुभएन । गण्डकमा सिङ्गो कास्की जिल्ला पार्टीले नेतृत्व गरेको छ । विप्लवजीहरूले संसद्वादी संशोधनवादको दिशा समातेपछि उत्पन्न भएको निराशालाई नयाँ ऊर्जामा रूपान्तरण गरिदियो । संयोजकसहितको टिमले आदरणीय बेपत्ता योद्धा कमरेड पूर्ण पौडेलकी ममतामयी आमा मोतीमायालाई भेट्दा उहाँले ‘विप्लवले फेरि अर्को गद्दारी गरे, उनी प्रचण्डपथमा हिँडे’ भन्नुभयो । उहाँले बाबुहरू जसले मेरो पूर्णजस्तै बेपत्ता योद्धाहरूको सपना बोकेर अभियानमा हिँड्छ, उनीहरूतिर म बाँचुन्जेल लाग्छु भन्नुभयो । उहाँका यी अभिव्यक्तिले हामीलाई एकातिर हामी सही छौँ भन्ने, हामीले लिएको विचारमा अझ बढी दृढ बनायो । अर्कातिर हामीले असीमित ऊर्जा प्राप्त गर्यौँ ।

वैचारिक दृढता र नवीकरणीय ऊर्जा लिएर हामी १९ गते चितवन पुग्यौँ । चितवन असाध्यै राजनीतिक जिल्ला हो । विगतका सबैखाले संशोधनवादका विरुद्ध चितवन सतिसालझैँ उभिएको छ । प्रचण्डहरूको नाङ्गो संशोधनवाद वा अन्य मिहीन वा लुकेको संशोधनवादजस्तै अहिलेको विप्लवहरूकोे संसदीय संशोधनवादका विरुद्ध विद्रोह मात्र गरेन, विप्लवीय संशोधनवादी जमिनमा रहेका सबै विषालु काँडेझारहरूलाई उखेलेर मल बनाउने खाडलमा पुर्ने काम गर्यो र चितवनलाई सफाचट गर्ने काम महेश, ध्रुव, विजयहरूले गरेका थिए । त्यसैले विप्लवहरूको दादागिरी, कहाँसम्म भने डोजर नेतृत्वको प्रतिकार समिति र त्यसका सबैभन्दा बलियो खम्बा रहेका छेरुवाहरूको धम्कीलाई पूर्ण निस्तेज गर्दै वैशाख २१ गतेदेखि २३ गतेसम्म राष्ट्रिय भेला सम्पन्न गरिएको थियो । त्यही ऐतिहासिक पृष्ठभूमिमा प्रशिक्षण गर्न पुगेका थियौँ । वृद्ध, प्रौढ र युवाहरूको उपस्थिति थियो ।

रातारात हामी विप्लवजीले ठान्ने ‘बिर्ता भूमि’ मा पुग्यौँ । हामीले जे सोचेका थियौँ, त्यहाँको परिस्थिति ठीक उल्टो देखियो । पहिलो, लुम्बिनीका सबै जिल्लाबाट जिल्ला सदस्यहरूको उपस्थिति रह्यो । कैयौँ जिल्लाबाट बहुमतभन्दा बढी जिल्ला सदस्यहरू आएका थिए । दाङजस्ता जिल्लाबाट त्यहाँ नयाँ डनहरूको धाकधम्की, लोभलालचलाई निस्तेज पार्दै गाडी रिजर्भ गरेर जिल्ला सदस्यहरू आइपुग्नुभयो । यसरी कमजोर ठानिएको क्षेत्रमा दिनभरि प्रशिक्षण सञ्चालन भयो । त्यस क्षेत्रमा नेता–कार्यकर्ताहरू कुण्ठित रहेका थिए । पूर्वमहासचिवको वर्तमान निवासबाट शेरमानहरूले विद्रोह गर्नुभएको थियो । चितवन राष्ट्रिय भेलाबाट फर्किनेबित्तिक्कै अपहरणको शैलीमा राता अपहणकारीहरूले शेरमानजीलाई लगेका थिए । उक्त अपहरणको विवरण शेरमानले सुनाउँदा हामीलाई पूर्वकमरेडहरूप्रति आक्रोश र घृणा जागेन, बरु दया जागेर आयो । ती साथीहरूले किन सोचेनन् होला जिन्दगीभर कम्युनिस्ट भएर प्रतिक्रयावादी सेना–पुलिसको चरम यातना पचाएका, सबै गुमाएका शेरमानहरूले छाडिरहेका छन् ? खैर, यो उनीहरूको कुरा हो । उनीहरूले ‘नवौँ महाधिवेशनलाई कम्युनिस्ट विचार, मूल्य, मान्यता र आदर्शको उत्सवका रूपमा सम्पन्न गरौँ !’ भनेका रहेछन्, हेर्दै जाऔँ ।

२१ गतेको बिहान हामी सुर्खेतका लागि हिँड्यौँ । दिउँसो १२ बजे ढकेरी पुग्यौँ । असाध्यै गर्मी थियो । धर्मेन्द्र सरको टिनले छाएको घरमा टिन तातेर बसिनसक्नु थियो । उहाँकी बुहारीले सानो बच्चालाई रुवाउँदै टिनले छाएको भान्सामा जेठको मध्याह्नको चर्को घाममा हामीलाई खाना पकाइरहेको दृश्य कम पीडादायी थिएन । भोकले लखतरान परेका हामी सबैले प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै खाना खाएका थियौँ । खाना खाँदा अनुहारबाट पसिना बगिराखेको थियो नै, हाम्रा कुहिनाबाट पनि पसिना बगिरहेको थियो । खाना खाएर हामीले सुर्खेतका लागि बाटो ततायौँ । सुर्खेत पुग्दा साँझको ७ बजिसकेको थियो । सुर्खेत पनि गर्मीका लागि बाँकेभन्दा कम थिएन । हामी जुन होटेलमा बसेका थियौँ, त्यस होटेलमा बिजुली रहेनछ । कमरेड सुदर्शन र म एउटै खाटमा सुत्यौँ । रातभरि गर्मीले त सतायो नै, मौरी भुनभुनाएझैँ लामखुट्टेको सङ्गीतमय सुताइ भयो । मलाई फाइदा नै भयो किनभने सुदर्शन कमरेड लामखुट्टेका कारण सुत्न नसकेर कम्बल हम्किएको हम्कियै गर्नुभयो ।

२२ गते बिहानबाट कार्यक्रम सुरु भयो । कमरेड प्रकाण्डको क्षेत्रमा कार्यक्रम हुँदै थियो । गएको फागुन महिनामा प्रकाण्डले कालीकोटमा संसदीय पार्टीहरू सबै एकतिर हुँदा पनि आफूले कालीकोटबाट चुनाव जित्ने घोषणा गरेको भिडियो भाइरल भएको थियो । कर्णालीको प्रशिक्षणमा सबै जिल्लाबाट जिल्ला सदस्यहरूको उत्साहवद्र्धक उपस्थिति थियो । अझ वयोवृद्ध कम्युनिस्ट नेता लीलाधर गौतमको उपस्थितिले कार्यक्रमलाई उत्साहित बनाउनुका साथै गौरवपूर्ण बनाएको थियो । कार्यक्रम समयमा नै सकियो । सुताइमा गएको रातले नै निरन्तरता पायो । भोलिपल्ट बिहानको खाजा खाएर विद्यापुरतिर लाग्यौँ । बाटोमा लीलाधर कमरेडको घरमा बस्यौँ । दुईजना छोरा, बुहारी र एकजना नातिनी बस्नुभएको रहेछ । एक–डेढ घन्टा उहाँहरूसँग बसेर नेपाली कम्युनिस्ट आन्दोलनको समीक्षा गरियो । कमरेड लीलाधरको वैचारिक स्पष्टता र विगतका घटनाहरू सुन्न पाउँदा नयाँ अनुभूति हुनुका साथै उत्साहित बनायो । त्यहाँबाट हामी लाग्यौँ विद्यापुर कछुवाको गतिमा । कारण थियो त्यहाँको कच्ची बाटो जहाँ अडकिल्दा ढुङ्गाहरू बिच्छ्याइएका थिए । म २०६८ सालमा त्यही बाटो मोटरसाइकलमा जाँदा चिप्लिएर दर्जनौँ ठाउँमा लडेको थिएँ जसले गर्दा मेरो शरीरभरि चोटैचोट लागेको थियो ।

हामीले विद्यापुरमा धर्मेन्द्र सरको भाइको घरमा खाना खायौँ । त्यहाँबाट घाटगाउँमा भेरी नदी तर्यौँ । कर्णालीमा छुट्टै पुल बनेको रहेछ । तर हामी गएको दिन त्यो पुलबाट कुनै पनि गाडी चलाउन दिइएको रहेनछ । त्यसैले २ सय तिरेर फेरीबाट पारि गयौँ । त्यो पुलको उद्घाटन भएको रहेनछ । सायद कुनै नेताले उद्घाटन नभएकाले गाडी चलाउन नदिइएको होला । हामीले बुझ्दा अघिल्लो दिन चल्न दिइएको रहेछ । पछि माथिबाट फोन आएकाले रोकिएको भन्ने बुझियो । संसदीय व्यवस्थाको सुन्दरता होला पुलको उद्घाटन नगरीकन गाडी चल्न नदिने ।

हामी कच्ची बाटोमा गुडिरहेका छौँ । वरपर झुप्रा घरहरू छन् । हाम्रो गाडीले फालेको धुलो र धुवाँले पुरिँदै गरेका यी घरहरू यो बाटो पक्की बन्दै गर्दा विस्थापित हुन्छन् । हामी पितमारी पुग्दा कैलालीका महान, झलक, मीनराजलगायत ३ दर्जन साथीहरू माला र अबिर लिएर बसेका रहेछन् । हामीले उहाँहरूको माला र अबिरलाई शिष्ट तरिकाले अस्वीकार गर्यौँ । त्यो दिन कैलालीको तापक्रम ४४ डिग्री पुगेको जानकारी साथीहरूले दिएका थिए । त्यो दिन मेरो गृह गाउँ टीकापुर बसियो । भोलिपल्ट खाना खाएर नारायणपुर हुँदै धनगढी जाने हुलाकी मार्ग समात्यौँ । भजनीमा धर्मेन्द्र सरको सालाको घरमा खाजा खायौँ । अत्तरिया पुग्दै गर्दा ७ बजेको थियो । रातभरि गर्मीका कारण सुत्न सकिएन । राती दुईपटक नुहाइयो । पानी सुक्दै गर्दा पसिनाको धारा लाग्थ्यो ।

कैलाली जिल्लाले जनयुद्धको तयारी, जनयुद्धकाल, सबैखाले संशोधनवादका विरुद्धको विद्रोहमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । यसपालिको संसदीय संशोधनवादका विरुद्ध पनि अद्वितीय भूमिका निर्वाह गरेको छ । ओमप्रकाश पुनलाई त चैतको बैठकमा प्रवेश निषेध गरेको थियो । अहिले कपिलवस्तु केन्द्रीय कार्यालयबाट विशेष लगानी गरिराखिएको छ । तर प्रतिफल शून्य नै छ । यसैको परिणाम सबैभन्दा बढी जिल्ला सदस्यहरूको उपस्थिति सेती–महाकालीबाट यहाँको प्रशिक्षणमा भएको थियो । २४ गते प्रशिक्षण भव्य रूपमा सम्पन्न भयो । अत्तरिया र धनगढीको उखर्माउलो गर्मीजत्तिकै उत्साह प्रशिक्षणमा व्यक्त भएको थियो । २५ गते हामी धनगढी बस्यौँ, ब्युरोको बैठकमा । २६ गते दिउँसोको खाना खाएर फेरि केही कच्ची केही पक्की बाटोमा हाम्रो गाडी गुड्यो हुलाकी मार्गमा । नेपालगन्ज पुग्दै गर्दा झमक्कै साँझ परेको थियो । खाना खान ढकेरी पुग्यौँ । खाना खाएर हिँड्दा रातको १० बजेको थियो । राती १ बजे बुटवल पुगियो । प्रवेशलगायत साथीहरूले बस्ने व्यवस्था गर्नुभएको रहेछ । जति पूर्व लागियो उति–उति गर्मी कम हुँदै गयो । यसको एउटा कारण देशको आधाभन्दा बढी क्षेत्रमा हामीले प्रशिक्षण सकेका थियौँ । दोस्रो, पूर्वतिर लगातार पानी परिहेको थियो ।

राती ढिलो सुतेकाले बिहान छिटो उठ्न सकिएको थिएन तर पनि उठ्नै थियो किनकि आज जसरी पनि महोत्तरी पुग्नुथियो । कालो चिया पिएर भत्किएको पूर्व–पश्चिम मार्गमाथि उफार्दै हामीलाई लिएर गाडी अगाडि बढ्यो । नेपालको वर्तमान राज्यसत्ताजस्तो भत्किएको र पानीले चिप्लो बनाएको बाटोमा गाडीले गति लिन सक्ने कुरै भएन । धौधौ दाउन्ने पुगियो । असाध्यै भोक लागेको थियो । अरू साथीहरूले खाजा खानुभयो । मैले नियमितजस्तै फलफूल खाएँ । १ बजेतिर चितवन पुग्यौँ । त्यहाँ महेश, विजय, कृष्ण, समीरहरूले खाना खाने व्यवस्था गरेका रहेछन् । उनीहरूसँग खाना खाँदै भलाकुसारी गरेर हिँडिहाल्यौँ । पथलैयामा निरजलाई फोन गरेर खाना पकाउन भनेको थिएँ । उहाँहरूले लक्ष्मी सान्ताङको घरमा माछाको झोल र भात पकाउनुभएको रहेछ । हामीलाई त्यहाँ बस्ने फुर्सद थिएन किनकि रातको १० बजिसकेको थियो । छिटोछिटो खाना खाएर सामान्य हेलो–हाई गरेर लाग्यौँ महोत्तरीतिर । रातको १ बजेको हुँदो हो बर्दिबास पुग्दा । धर्मेन्द्र, सुदर्शन सर र भाइहरूको सुत्ने व्यवस्था बजारमा नै गरिएको रहेछ । मलाई गौरीले सय मिटर जाने हो भनेर मोटरसाइकलको पछाडि राखेर दौडाउनुभयो । त्यहाँबाट ७ किलोमिटर तल झमानसिंह कमरेडको घर रहेछ । मलाई त्यहीँ पुर्याइयो । म त्यहाँ पुग्दा ६ जना साथीहरू माछा सुकाएझैँ भुइँमा सुतेका थिए । म पनि त्यसैमा लामबद्ध भएँ । साथीहरू मच्छरले सुत्न दिएन भन्दै थिए । म पिल्टनेबित्तिक्कै भुसुक्कै निदाइछु । राती मुसलधारले पानी परेछ । चिसो महसुस गरेर म कपडा छाम्न थालेँ तर भेटिएन ।

हामी उठ्दा पानी पर्न बन्द भएको थियो । आज खाना सामूहिक खाने गरी बनाइएको रहेछ आधारभूत विद्यालयमा । शनिबारको दिन थियो । साथीहरू मधेसका ८ वटै जिल्लाबाट आइरहेका थिए । खान ढिलो भएकाले कार्यक्रम सुरु भैहाल्यो । ९४ जना जिल्ला समितिका सदस्यहरू उपस्थित हुनुहुन्थ्यो । २ बजेतिर खाना तयार भयो । कार्यक्रम रोकेर खाना खाइयो । ६ बजेतिर कार्यक्रम सकियो । पानी परिराखेकाले स्कुलको बन्द कोठामा पनि खासै गर्मी महसुस भएन । बोल्दा भने पसिना आउँथ्यो । सबै साथीहरू उत्साहित हुँदै लालसलाम भन्दै मुट्ठी कसेर हिँड्दै गरे । हामी पुनः कमरेड झमानसिंहको घरमा गयौँ । त्यहाँ गएर कालो चिया खाइयो । चिया मेरो एक मात्र नशा हो । कुवेर घिमिरेले आज रातको बसाइको व्यवस्था गर्नुभएको रहेछ । उहाँसँग ४ वर्षपछि भेट भयो । भेटमा माइला लामाको कोपभाजनमा परेका कारण सक्रिय हुन नसकेको गुनासो गर्नुभयो । माइला लामा मेरा मन पर्ने योद्धा हुन् तर माइला लामाले दुःख दिएर आन्दोलनमा निरन्तरता दिन नसकेको गुनासो गर्ने मैले धेरै भेटेको छु ।

कुवेरका दाजुले मीठो कविता सुनाउनुभयो । साँझ धेरै बेर कुरा गरेर बस्यौँ । बिहान पनि कुवेरले आफूकोमा नै खाना खाएर जान आग्रह गर्नुभयो । लौकाको तरकारी र भात मीठो गरी खाइयो । मलाई लौका असाध्यै मन पर्छ । त्यहाँबाट हामी हिँड्यौँ । सुदर्शन सरसहित २ जना भाइहरू काठमाडौँ लाग्नुभयो । ३० गते उहाँको तारेख थियो, मुद्दाको । बैजनाथ बाजेको पेडामा २–२ वटा पेडा खाएर खाजाको गर्जो टार्यौँ । इटहरीमा कमरेड निर्मललगायत साथीहरूसँग भेट भयो । हामी लगातार कैलालीदेखि हिँडिरहेका थियौँ । थोरै थकावटजस्तो भएको थियो । मेरो शरीरमा गर्मीका कारण घाउ देखिएका थिए । इटहरीमा सोचेको भन्दा कम गर्मी रहेछ । पानी परिरराखेको थियो ।

३० गते बिहान ११ बजे नै कार्यक्रम सुरु भयो । उदयपुर, सुनसरी, धनकुटा, झापालगायत जिल्लाबाट ठूलो सङ्ख्यामा जिल्ला सदस्यहरू उपस्थित थिए । उदयपुरमा पुराना साथीहरू, त्यसमा पनि विवेक कुमालको निर्देशनमा लक्ष्मण पौडेलले केही लठैत लगाएर साथीहरू चढेर आएको गाडी रोकेर थर्काएछन् । हाम्रा साथीहरू धेरै भएकाले उनीहरूले रोक्न सकेनन् । केही समय ढिलो गर्ने काम गरे । विप्लवको पार्टीबाट जबर्जस्ती स्थानीय चुनावमा उठ्न लगाइएका मदनबहादुर दनुवार पनि आउनुभएको थियो । उहाँ पूर्वडीसीएस पनि हो । लक्ष्मण पौडेलले उहाँको नागरिकता खोसेर चुनावमा उठ्नका लागि उम्मेदवारी दिन लगायो भन्दै हुनुहुन्थ्यो । लक्ष्मणजीको दादागिरी बढी नै रहेछ । उनका कर्तुतहरू साथीहरूले सुनाउनुभयो । उदयपुरमा विप्लवले नेतृत्व गरेको नेकपाको केन्द्रीय समितिको बैठक बस्नुभन्दा एक दिनअगाडि १९ जनाको जिल्ला समितिमा १३ जना बहुमतमा रहेको भनी बैठक बसेको थियो । सायद यो झड्काबाट बेहोस हुन पुगेकाहरूको होस अहिलेसम्म आएको छैन क्यार !

हामीलाई फेरि पनि हतार थियो । त्यसैले हामी ३१ गते बुटवलका लागि दौडियौँ । खाना खान बर्दिबास पुग्यौँ । साँझ चितवन पुग्यौँ । त्यहीँ रात बिताएर बुटवलतिर लाग्यौँ । असार १ गते महिलाको राष्ट्रिय भेला थियो । वर्षाको सामना गर्दै राम्रो उपस्थितिमा राष्ट्रिय भेला भव्य भयो । त्यही उत्साह लिएर हामी काठमाडौँ पुग्यौँ । अब हाम्रो पहिलो काम थियो बन्दी साथीहरूलाई छुटाउने । काठमाडौँ गएर संयोजकसहित वार्ताटोलीले नेकपा (माके) का अध्यक्ष प्रचण्डलाई भेट्यो । संयोजकले हामीले बनाएको कार्यक्रम, कार्यदिशाको व्याख्या गर्नुभयो । प्रत्युत्तरमा प्रचण्डले ठीक छ, तपाईंहरू अगाडि बढ्नुस् भन्नुभयो । उहाँले अर्को पनि रोचक कुरा सुनाउनुभयो– विप्लवले मलाई भेटेपछि तुरुन्तै नारायणकाजीलाई भेटेर अनावश्यक उचाले । हामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्यौँ । गृहमन्त्रीलाई भेट्यौँ । भेटमा हामीले बन्दी साथीहरूको विवरणसहित नाम बुझाएका थियौँ । गृहमन्त्रीले ‘पहिलोपटक यसरी लिखित आयो । अहिलेसम्म विप्लवहरूले दिएका छैनन्’ भने । त्यसपछि हामी केन्द्रीय कारागार, भद्र बन्दीगृह र नख्खु जेलमा गएर बन्दी साथीहरूसँग घण्टौँ कुरा गर्यौँ । उहाँहरूमा भयानक आक्रोश थियो, विप्लवहरूले बन्दी छुटाउनेबारेमा केही नगरेको र संसदीय व्यवस्थामा आत्मसमर्पण गरेकोमा । पीडा व्यक्त गर्दा आँसु झरेका थिए भने आक्रोश व्यक्त गर्दा आगो ओकलेको भान हुन्थ्यो । नख्खु जेलबाट बाहिरिँदै गर्दा मैले दीपकजीलाई भनेको थिएँ– सही विचार कहाँबाट आउँछ ? उहाँले मेरो यस्तो प्रश्न गराइलाई निकैबेर गम खानुभयो । मैले मनमनै भनेँ– माओले १९६४ मा नै यसको उत्तर दिनुभएको छ– वर्गसङ्घर्ष, उत्पादनका लागि सङ्घर्ष र वैज्ञानिक प्रयोग । सच्चा माओवादीलाई यो उत्तर थाहा छ । आजको बन्दीसँगको भेट, अझ नख्खुमा रहेका साथीहरूसँगको भेटले एकपटक आफैँलाई प्रश्न गर्न मन लाग्यो– सही विचार कहाँबाट आउँछ ? माओको उत्तर सही छ– वर्गसङ्घर्षबाट । साथीहरू सङ्घर्ष गर्दै गर्दा गिरफ्तारीमा पर्नुभयो । अहिले चार पर्खालभित्र सङ्घर्ष गरिराख्नुभएको छ । आज उहाँले भोगेको पीडा, व्यक्त गरेको आक्रोश, वर्गीय प्रेमले ओतप्रोत सामीप्य र विश्वासले विचार निर्माणमा टेवा पुर्याइरहेको थियो । यो भेटले हामीलाई ऊर्जा दियो, उत्साहित बनायो र सही विचारमा दृढतापूर्वक लाग्ने प्रेरणा दियो ।

गएको हाम्रो अभियानमा केही रोचक तर दुःखद् जानकारी पनि लिन पाइयो । ३१ गते हामी सागरनाथमा गएका थियौँ । कुमार पौडेलको घरमा पुग्दा आमा, दिदी र श्रीमती धनकुमारी खड्का बसिराख्नुभएको रहेछ । केहीबेरपछि बुबा आउनुभयो । बुबाले आउनेबित्तिक्कै कुमारको हत्याको प्रसङ्ग उठाइहाल्नुभयो । केही दिनअगाडि विप्लव ५ मिनेट मात्र बसेर गएको प्रसङ्ग सुनाउनुभयो । हामी दुई घन्टा बसेर उहाँहरूका कुरा सुन्यौँ । बुबा बोल्दै गर्दा हामी द्रवीभूत भयौँ– आमा, दिदी र श्रीमती रोइरहनुभएको थियो । कुमारको हत्यामा पार्टीको जिम्मेवार मान्छे लागेको भन्नुभयो । यत्ति भनिरहँदा मैले उहाँको भनाइ रेकर्ड गरेँ । उहाँको पार्टीको जिम्मेवार मान्छे कुमारजीको हत्यामा संलग्न भएको र ४१ लाखको सहमति भएको तर कुमारजीको हत्यापछि उक्त पैसा नदिएको पनि भन्नुभयो । बुबाले गरेको कुरामा आमा, दिदी र श्रीमतीले सहमति जनाइराख्नुभएको थियो । बुबाले यी सबै कुरा समेटेर महासचिव विप्लवलाई लिखित बुझाउँदा पनि अहिलेसम्म कुनै सुनुवाइ नहुँदा आफूहरूलाई थप दुखित बनाएको गुनासो गर्नुभएको थियो । उहाँहरूका कुराले एकातिर अचम्मित बनायो भने अर्कोतिर दुखित तुल्यायो । यत्रो आरोप लाग्दा पनि छानबिनसमेत नहुनुले अझ पनि कैयौँ रहस्य रहेको बुझ्न कुनै आइतबार कुर्नुपर्ने भएन ।

निष्कर्ष

पार्टी निर्माणको छोटै समयमा नेपाली क्रान्तिको कार्यदिशा निर्माण गरियो । त्यही कार्यदिशाको व्याख्या गर्दै देशैभरि प्रशिक्षण चलाइयो । प्रशिक्षण मात्र चलाइएन, स्थानीय तहसम्म पार्टी समिति निर्माण भयो । यसक्रममा १ हजार चार सय १४ जना त जिल्ला पार्टी सदस्यहरू मात्र प्रशिक्षित भएछन् । यो आफैँमा ठूलो उपलब्धि हो । हामी गर्वका साथ भन्न सक्छौँ– विभिन्न डर, तिकडम, लोभको सामना गर्दै देशैभरि पूर्वपार्टीको ६९ प्रतिशत सङ्गठन बहुमतमा आबद्ध रहेको छ । जो कमरेडहरू जहाँ सङ्गठित हुनुहुन्छ, उहाँहरू चट्टानसरि अभेद्य हुनुहुन्छ । यसबीचमा नमुनाकृत सङ्घर्षहरू गएका छन् । महिला, सङ्गठन र युवाहरूको राष्ट्रिय भेला भव्य एवम् सानदार रूपले सफल भएका छन् । पार्र्टी सङ्गठनका कामहरू विद्युतीय गतिमा भैराखेका छन् । छोटै समयमा पार्टीले बहुमतको पहिचान बनाएको छ ।

हामीसँग सबैभन्दा जटिलता आर्थिक क्षेत्रमा देखापर्यो । पैसाजति उनीहरूले कुम्ल्याएका थिए । हामी बुङ्गै रह्यौँ । कैयौँ अवस्थामा हामीसँग गाडी भाडा हुँदैन । यस्ता अभावले हामीलाई साम्यवादी भावना र वर्गप्रति प्रतिबद्ध बनाइराखेको छ । वास्तवमा वर्गप्रतिको निष्ठा अभावमा झनै बढी हुन्छ । मुखमा साम्यवाद फलाक्ने व्यवहारमा विकृत पुँजीवाद लागू गर्ने र घुमिफिरी दलाल पुँजीवाद वा संसद्‌वादको चुत्थो नोकर बन्न जानेहरूलाई यस्तो अनुभव हुँदैन ।

अब आयो अबको कित्ताबन्दी कोसँग हो भन्ने कुरा । राजनीतिक रूपमा दलाल पुँजीवादी संसदीय व्यवस्था र वैचारिक रूपमा संसदीय संशोधनवादसँगको कित्ताबन्दी हो । त्यसैले विप्लवजीहरूसँग अब धेरै विमति राख्न, उहाँहरूको विचारको भण्डाफोर गरिरहन आवश्यक छैन । उहाँहरू घोषित रूपमा नै राजनीतिक रूपमा दलाल संसदीय पुँजीवादी व्यवस्थालाई स्वीकार गरिसकेपछि र वैचारिक रूपमा संसदीय संशोधनवादी भैसकेपछि एमाले, नेकपा (एस), नेकपा (माके), मोहनविक्रमले नेतृत्व गरेको नेकपा (मसाल) जस्ता वामपन्थी संसद्‌वादीभन्दा उहाँहरू के मानेमा फरक हुनुभयो र ?

२१ असार, २०७९

प्रतिक्रिया दिनुहोस्