वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्तिकारी युवालाई आह्वान

युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेला काठमाडौँमा सुरु

वैज्ञानिक समाजवाद स्थापनाका लागि क्रान्तिकारी युवालाई आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालको राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ । भेलाको उद्घाटन नेकपा (बहुमत) का संयोजक कञ्चनले गरेका छन् ।

भेला उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी संयोजक कञ्चनले नेपालको राज्य व्यवस्था दालाल पुँजीवादी व्यवस्था रहेकाले यसलाई समाप्त गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए । उनले भने, ‘दलाल व्यवस्थाको चरित्र भनेको आफ्नो देशका कुनै पनि उत्पादन नगर्ने तर विदेशबाट आएको सामानबाट कर जम्मा गर्ने र त्यो करबाट राज्य सञ्चालन गर्ने हो । हाम्रो देशमा ३५ हजार राष्ट्रिय उद्योग दर्ता भएका छन् तर ती कुनै पनि उद्योग ठीक तरिकाले चल्दैनन्, सबै बन्द छन् । चलेका करिब २५ सय उद्योग सबै विदेशी लगानीमा छन् । आज मानिसहरू मिटरब्याजले प्रताडित भएका छन् । नेपालका बैङ्कहरू सबै विदेशीहरूबाट सञ्चालित छन् । ती सबै बैङ्कको उद्देश्य कमाउने हो, जनतलाई सेवा दिने होइन । यो दलाल संसदीय व्यवस्थाको तरिका हो ।’

प्रमुख अतिथि कञ्चनले अगाडि भने, ‘अब देशमा कुनै पनि खालका उद्योगहरू भएनन् भने उत्पादन गर्ने कुरा भएन अनि विदेशबाट सामान ल्याएर देश चलाइन्छ । साराका सारा युवाहरू विदेशमा छन् । नेपालमा जुन मालसामानहरू विदेशमा बन्छन् र ती सामान बनाउन नेपालका युवा विदेश जान बाध्य छन् । नेपालमा भएका साना कामहरू केवल गुजाराका लागि मात्र छन् । देशमा व्यापार–व्यवसाय र उद्योगहरू जनताका छैनन्, विदेशी व्यापारीहरूका छन् । आज यो दलाल संसदीय व्यवस्थाको अन्त्यका लागि दलाल पुँजीवाद अन्त्य गर्नुपर्छ र त्यसका लागि युवाहरू चनाखो हुन जरुरी छ ।’

कञ्चनले अगाडि भने, ‘यहाँ एकाधिकार दलाल पुँजीवादी वर्ग निकै चलाख छ । दलालहरूले नेकपा (बहुमत) हाम्रो दुस्मन हो भनेर बुझ्छ तर जनताले यो कुरा बुझ्दैनन् । दलाल पुँजीवादले कसरी शोषण गरेको छ, एकाधिकार पुँजीवादी वर्गले हामीले मुख खोल्नेबित्तिकै कुरा बुझ्छ तर जनताले कुरा बुझ्दैन । तसर्थ युवाहरूको काम भनेको दलाल पुँजीवादी व्यवस्थाले कसरी जनतालाई शोषण गरेको छ । जनतालाई कसरी कङ्गाल बनाएको छ भनेर जनतालाई बुझाउने हो । जनतालाई बुझाउनका लागि युवाहरू जनतामा जानुपर्छ ।’

प्रमुख अतिथि कञ्चनले युवालाई सम्बोधन गर्दै भने, ‘हामीले करिब ६० वर्षदेखि जनतलाई यो व्यवस्थाका बारेमा बुझाउँदै आएका छौँ जसको कारण नेपालमा ठूलाठूला परिवर्तन सम्भव भएको छ । आज आर्थिक प्रणाली र सामाजिक संरचनाहरू उथलपुथल भएका छन् । दस वर्षको जनयुद्धले उथलपुथल पारेको छ तर नेपालमा परिवर्तन भए पनि, केही प्रगतिहरू भए पनि आमूल परिवर्तन हुनु आवश्यक छ । आज हामीले आमनेपाली जनताको जीवनमा परिवर्तन गर्नु आवश्यक छ । आज राज्यका कारण कोही पनि मानिस सुरक्षित छैन । नेपालका पहाडका टाकुराहरूमा विदेशी दलालहरू र साम्राज्यवाद डलर लिएर घुुमिरहेका छन् । राष्ट्रिय सुरक्षामा गम्भीर खालको खतरा पैदा भएको छ । आज सबै युवा एकजुट हुन आवश्यक छ । एक भएर मात्र हुँदैन, युवाहरूले लिने कार्यदिशा पनि सही हुुनुपर्दछ । सही राजनीतिक कायदिशा र सही कार्यक्रम आवश्यक छ । युवाहरूका लागि निश्चित प्रकारको कार्यदिशा, कार्यक्रम र कार्ययोजना चाहिन्छ । सही राजनीतिक कार्यदिशा र कार्यक्रम भएको खण्डमा मात्र परिवर्तन सम्भव छ । आज हामीले निर्माण गरेको सही कार्यदिशा जनताको घरघरमा पुर्याउन आवश्यक छ ।’

उनले सम्बोधन गर्दै अगाडि भने, ‘आज नेपालमा नयाँ खालको परिवर्तनको आवश्यकता छ र त्यसलाई पूरा गर्न हामीले नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी कार्यदिशा बनाएका छौँ । यसलाई जनतामा लग्नु आवश्यक छ । जनताका सबैखाले समस्याहरूको वैज्ञानिक तरिकाले समाधान गर्नका लागि, आर्थिक, राजनीतिक, सामाजिक सांस्कृतिक सबै हिसाबले परिवर्तन गर्नका लागि हामीलाई वैज्ञानिक समाजवाद चाहिएको छ । त्यसैले हामीले नयाँ जनवादसहितको वैज्ञानिक समाजवाद भनेका छौ । यो कार्यदिशामा पुग्नका लागि हामीले कार्यक्रम स्वाधीन संयुक्त सरकार भनेका छाैँ । यो सरकार स्वाधीन छैन । यो दलाल छ । नेपालका कुनै पनि संसद्वादी नेताहरू एमसीसी पास गर्न चाहँदैनथे तर उनीहरू स्वाधीन शासन व्यवस्थाभित्र नभएकाले यो पारित गर्न बाध्य भए । आज स्वाधीन बन्नका लागि आफ्नो निर्णय आफँैले गर्ने अवस्थामा पुग्नका लागि हामीलाई स्वाधीन सरकार चाहिएको छ । संसदीय व्यवस्थाको अन्त्य, शान्ति, समृद्धि, स्वाधीनताका नारा जनताका बीचमा लैजानु आवश्यक छ । आज युवाहरूले जनता र राष्ट्रलाई स्वाधीन बनाउने नारा लिएर जनतामा जान आवश्यक छ । यो संविधानभित्रबाट स्वाधीन सरकार बन्दैन । यसको ठाउँमा नयाँ स्वाधीन संविधान लेख्न आवश्यक छ । यसका लागि काठमाडौँमा १० औँ लाख मानिसहरू सडकमा आउन आवश्यक छ । लाखौँलाख युवकयुवती आन्दोलनमा आउन आवश्यक छ ।’

संयोजक कञ्चनले अगाडि भने, ‘नेपालका जनता स्वाधीन बन्न चाहन्छन् । सबै राष्ट्रिय उद्योगी–व्यापारीहरू स्वाधीन बन्न चाहन्छन् । आज जमिन, पानी, नदी, खानी सबै विदेशीहरूको हातमा पुगेको छ । आफ्नो देशको सम्पत्ति आफ्नो हातमा छैन भने त्यो स्वाधीन हुन सक्दैन । आज हरेक नेपालीको आय प्रतिव्यक्ति २० हजार डलर पुगेको खण्डमा कुनै पनि युवाले विदेशमा गएर बाथरुम सफा गर्नुपर्ने छैन । आज हामी आधारभूत कुराका लागि पनि सङ्घर्ष गर्नुपर्ने अवस्थामा छौँ । मानव जातिको प्रगतिको मुहान शिक्षा हो तर यसको समानताका लागि हामीले सङ्घर्ष गर्नुपर्ने छ । शिक्षा र स्वास्थ्यमाथिको व्यापारीकरणका विरुद्ध सङ्घर्ष गर्नुपर्ने अवस्था छ । आज ठूलाठूला अस्पतालहरू जनताको सेवामा होइन, लुट्नका लागि खोलिएका छन् । त्यसकारण संरक्षण गर्नुपर्ने अस्पतालहरू बम हानेर ध्वस्त पार्नुपर्र्ने अवस्था सिर्जना भएको छ किनकि ठूलाठूला अस्पतालहरू जनतालाई सेवा गर्न होइन, लुट्न बसेका छन् । संसारको सबैभन्दा बढी धनी देश चीन बन्दैछ । चिनियाँ जनताले त्यहाको च्याङ्काई सेक सरकारलाई ध्वस्त पारेर चीन आधुनिक चीनमा प्रवेश गरेपछि यो सम्भव भएको हो । लाखाैँ चिनियाँ जनताले रगत बगाएका कारण आजको आधुनिक चीन बनेको हो । यस्तै रुस, फ्रान्स अर्थात् युरोपहरू जे बनेका छन् त्यहाँका जनताको विद्रोहका कारण सम्भव भएको हो ।’

प्रमुख अतिथि कञ्चनले अगाडि भने, ‘आज नेपालमा हामीले स्पष्ट कार्यदिशा निर्माण गरेका छौँ । हाम्रो राष्ट्रिय भेलाले पूर्ण कार्यदिशा निर्माण गरेको छ । नेपाली क्रान्तिको यो कार्यदिशालाई सिर्जनात्मक रूपले प्रयोग गर्ने ठूलो चुनौती बनेको छ । यो कार्यदिशा लागू गर्न हामीलाई सशक्त पार्टी चाहिन्छ । कार्यदिशा लागू गर्न युवाहरूको जुझारु दस्ता चाहिएको छ । यो भेलाले देशलाई अघि बढाउनका लागि एउटा सशक्त युवा दस्ताहरूको टिम निर्माण चयन गर्नुपर्छ ।

भेलामा नेकपा (बहुमत) का कार्यालय सदस्य तथा पार्टी प्रवक्ता (सुदर्शन), कार्यालय सदस्यहरू दीपक, गम्भीर, आजाद र केन्द्रीय सचिवालय सदस्यहरू शरद रसाइली, प्रवीण, अटल, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक खेम थपलिया, अखिल नेपाल टे«ड युनियन महासङ्घका अध्यक्ष विनोद थापा, अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल बुद्धीजीवी सङ्गठनकी संयोजक देवकला अधिकारी, अखिल (क्रान्तिकारी) का अध्यक्ष मिलन राई, पार्टी केन्द्रीय सल्लाहकार समितिका सदस्य ढुण्डीराज अधिकारीलगायत अतिथिको उपस्थिति थियो ।

कार्यक्रममा जनसांस्कृतिक महासङ्घका थपलियाले भने, ‘संसारभरिका श्रमजीवीहरूको जुन खालको भोगाइ छ, यो दृष्टिकोणको समस्या हो । हाम्रो दृष्टिकोण भनेको माक्र्सवादी, द्वन्द्वात्मक भौतिकवाद हो । हाम्रा बुझाइ र दृृष्टिकोणमा दर्शन जोडिएन भने यो सही तरिकाले अघि बढ्न सक्दैन । हाम्रो दृष्टिकोण सही बनेको खण्डमा हामी जनसमुदायमा सही कुरा पुर्याउन सक्छौँ र दृष्टिकोण बनेन भने हामी सही कुरा जनतामा पुर्याउन सक्दैनौँ ।’ उनले आज घरघरमा क्रान्ति र परिवर्तन चाहिएको र त्यो परिवर्तन गर्ने युवाहरूको दस्ता चाहिएको बताए ।

नेकपा (बहुमत) का सल्लाहकार समितिका सदस्य अधिकारीले विभिन्न खालका आरोहअवरोह पार गर्दै यहाँसम्म आइपुग्दा यही नेतृत्वले क्रान्ति गर्ने छ भन्ने विश्वास रहेको बताए । उनले भने, ‘यो नेतृत्वले विप्लवले जस्तो हली बनाउनेछैन बरु क्रान्तिको उज्यालो बाटो देखाउनेछ भन्ने विश्वास छ । युवाहरूलाई कुनै पनि बहाना बनाएर क्रान्तिबाट भाग्ने छुट छैन । देश निर्माणको जिम्मेवारी युवाहरूको हातमा छ ।’

अखिल(क्रान्तिकारी) का अध्यक्ष राईले भने, ‘हामीले नयाँ विश्वास र नयाँ आशाको रक्षा र संरक्षण गरेका छौँ । यसका लागि युवा सङ्गठनको निकै महत्वपूर्ण भूमिका रहेको छ । जहाँ युवा जनस्वयम्सेवक हुन्छ त्यहाँ भ्रष्टाचारीहरू, दलाल र तस्करहरूको सातो जानुपर्छ । यो देशका दलालहरूलाई ठेगान लाउनसक्ने नेतृत्वको निर्माण हुने अपेक्षा गरेको छु । यसका लागि युवा सङ्गठनसँग अखिल क्रान्तिकारी सहकार्य गर्न तयार रहेको छ ।’

अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठले नेपालका लाखौँ युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नका लागि यो युवा सङ्गठनले विशेष भूमिका निर्वाह गर्ने आशा व्यक्त गरे । नेपालका लाखौँ युवाहरूका पक्षमा लड्न, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका पक्षमा काम गर्न युवा सङ्गठनले जुझारु नेतृत्व निर्माण गर्नुपर्ने उनले बताए ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष विनोद थापाले लाखाैँ युवाहरूलाई विदेशमा पलायन गराउने यो दलाल संसदीय व्यवस्थाका दलालहरूका विरुद्ध लड्नका लागि युवा सङ्गठन जुझारु तरिकाले अघि बढ्ने विश्वास व्यक्त गरे । रााष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा युवा सङ्गठन निरन्तर लड्ने र भेलाले क्रान्तिकारी जुझारु नेतृत्व निर्माण गर्ने विश्वास उनले व्यक्त गरे ।

अखिल नेपाल क्रान्तिकारी पत्रकार सङ्गठनका केन्द्रीय संयोजक कमल बुढाले निकै सुदृढ र सशक्त सङ्गठन निर्माण गर्ने विश्वास लिएको बताए । उनले जनयुद्धमा हासिल गरेको ज्ञानलाई व्यवहारमा लागू गर्ने र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने कुरामा सहकार्य गर्नका लागि आफू तयार भएको भन्दै शुभकामना दिए ।

राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक दर्शन नेपालीले समाजवादी क्रान्तिको कार्यदिशालाई लक्ष्यमा पुर्याउनका लागि युवाहरूको भूमिका निकै माथि हुने बताए ।

भेलामा देशैभरिबाट १५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । भेलाको उद्घाटनसत्रमा पुरानो युवा सङ्गठन नेपालको नाम परिवर्तन गरी युवा जनस्वयम्सेवक नेपाल बनाइएको छ । मङ्गलबार सुरु भई बुधबारसम्म चल्ने उक्त राष्ट्रिय भेलाले नयाँ नीति, कार्यक्रमका साथै युवा जनस्वयम्सेवकको केन्द्रीय समिति चयन गर्नेछ ।

भेलाको अध्यक्षता सङ्गठनका संयोजक हरिश भट्टले र सञ्चालन आयोजक समिति सदस्य वीरेन्द्र विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :