मिटरब्याजी, भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने नेकपा (बहुमत) दाङको निर्णय

मिटरब्याजी, भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने नेकपा (बहुमत) दाङको निर्णय

दाङ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङको पहिलो पूर्ण बैठक तुलसीपुरमा सम्पन्न भएको छ । बैठकले मिटरब्याजी, भ्रष्ट र दलालहरूलाई कारबाही गर्ने निर्णय गरेको छ । पार्टीले जनतालाई मनमौजी रूपमा महँगो ब्याज लगाउने र उक्त ब्याज असुली गर्न पटकपटक सास्ती दिने सहकारी संस्था र मिटरब्याजीहरूलाई कारबाही गर्ने भएको हो । त्यस्तै महँगी, कालोबजारी, भष्टाचारलगायत श्रमिक जनताका समस्याहरूका विरुद्ध पनि पार्टीले सङ्घर्ष गर्ने भएको छ ।

बैठकका प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज शार्दूलले बैठकमा सहभागी जिल्ला समिति सदस्यहरूले उठाएका प्रश्नहरूको जबाफ दिँदै पार्टीका आगामी नीति र कार्यक्रमका विषयमा प्रस्ट पारेका थिए । नेपालका कम्युनिस्ट पार्टी पटकपटक किन फुट्छन् र क्रान्ति सम्पन्न गर्न किन बारम्बार अवसरवादका विरुद्ध विद्रोह गरिरहनुपर्छ भन्ने विषयमा उनले कार्यकर्ताहरूलाई प्रशिक्षण दिएका थिए ।

बैठकमा पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् दाङ जिल्ला इन्चार्ज तिलकले कार्यकर्तालाई क्रान्तिका लागि धैर्य गर्दै पार्टी आन्दोलनमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न आह्वान गरेका थिए । पटकपटक नेतृत्वले धोका दिएको स्मरण गराउँदै उनले नेतृत्व बेइमान हुनुमा कार्यकर्ताहरूको पनि विशेष भूमिका हुने भएकाले अन्धभक्त नहुन कार्यकर्ताहरूलाई सुझाव दिएका थिए । बैठकको सञ्चालन पार्टीका दाङ जिल्ला संयोजक वीरेन्द्रले गरेका थिए ।

विभिन्न जवस–मोर्चाहरूको कार्यविभाजन गर्दै बैठक सम्पन्न भएको जानकारी नेकपा (बहुमत) ले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :