क्रान्तिकारी ध्रुवीकरण अभियान र युवा–विद्यार्थीको दायित्व

क्रान्तिकारी ध्रुवीकरण अभियान र युवा–विद्यार्थीको दायित्व

नेपालमा संसदीय व्यवस्थाको प्रारूप दलाल पुँजीवादी व्यवस्था हावी भैसकेपछि आन्दोलनमा जुन प्रकारका विकृतिहरू देखापरेका थिए दलाल पुँजीवादी व्यवस्थाले नेपालको क्रान्तिकारी आन्दोलनलाई विकृत पार्ने र विचलित पार्ने काम गरेको छ । त्यसबाट बच्दै सचेत रूपमा नेपाली जनताको भविष्य र राष्ट्रको स्वाधीन तथा आमूल परिवर्तनका पक्षमा क्रान्तिकारी विद्यार्थीको भेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास गरेको छु । त्यसका लागि क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी योजनाहरू बनाएर अघि बढ्नेछ भन्ने कुरामा विश्वस्त छु ।

म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु– यो देशको परिवर्तनका लागि लामो समयदेखि योद्धाहरूले जीवनअर्पण गर्नुभएको छ । क्रान्तिकारीहरुको रगत बगेको छ । हजारौँ योद्धाहरूले हाँसीहासी बलिदान गर्नुभएको छ । यसबाट केही परिवर्तनहरू भए पनि आमूल परिवर्तन हुनसकेको छैन । आर्थिक क्रान्ति, राजनीतिक क्रान्ति, सांस्कृतिक क्रान्ति, राजनीतिक क्रान्तिसहित आमूल परिवर्तन गर्नुपर्ने क्रान्ति जो हुनुपर्ने हो त्यो भएको छैन । दलाल पँुजीवाद अर्थात् साम्राज्यवादका दलालहरूले आज क्रान्तिलाई विकृत तरिकाले पेस गर्ने गरेका छन् । क्रान्ति भनेको युद्ध हो, मारपिट हो, हतियार हो, आन्दोलन हो भन्ने तरिकाले पेस गरेका छन् । आज जल्दाबल्दा समस्याहरूका विरुद्ध लडिरहेको नेपालको भविष्य हातमा बोकेका विद्यार्थी–युवाहरूको आन्दोलनले क्रान्ति भनेको बमबारुद मात्र होइन, यो आन्दोलन हो । यो त परिवर्तन हो भन्ने कुरा स्थापित गर्न जरुरी छ । क्रान्ति भनेपछि मानिसहरूलाई डराउने, तर्सिनेखालको बनाइएको छ । साम्राज्यवादीहरूले उनीहरूका मिडियामार्फत क्रान्ति र आन्दोलनलाई विकृत पार्नेखालका भ्रमहरू छरिरहेका छन् । हामीले यसको जबाफ दिन जरुरी छ ।

विद्यार्थी भनेको बन्दै गरेको राष्ट्रको भविष्य हो । यसले समाजवमा जनताका दुस्मनहरुले फैलाएका भ्रमहरूको जबाफ दिनुपर्छ । क्रान्ति भनेको आमूल परिवर्तन हो । मानिसहरू भन्ने गर्दछन्– तिमीहरू कति क्रान्ति गर्दछौ ? तर यसो होइन । नेपालमा आमूल परिवर्तन गर्ने क्रान्ति भएकै छैन । नेपालमा क्रान्ति आवश्यक छ । नेपालमा आन्दोलनमा धोकाधडी र विश्वासघात हुँदै आएको छ । नेपाली काङ्ग्रेसको पालामा पनि सशस्त्र युद्ध भएको हो तर त्यहाँ नेतृत्वले विश्वासघात गर्यो । त्यसका विरुद्ध फेरि सङ्घर्ष गर्नुपर्यो । यस्तै झापा आन्दोलनमा पनि नेतृत्वले विश्वासघात गर्यो । त्यसपछि प्रचण्डको नेतृत्वमा नेपालमा सशक्त प्रकारको आन्दोलन अघि बढ्यो । त्योभन्दा अघिपछि भएका आन्दोलनका पनि तमाम खुट्किलाहरू छन् । तर नेपालमा १० वर्षसमम चलेको जनयुद्धले गणतन्त्र ल्यायो ।

गणतन्त्र आएपछि अब कति क्रान्ति गर्ने भन्ने मानिसहरूको भनाइ छ, त्यसको जबाफ दिन जरुरी छ, उनीहरूका भनाइहरूलाई शुद्धीकरण गर्न जरुरी छ । समाजमा क्रान्ति हुँदै र परिवर्तन हुँदै गएन भने त्यो समाज ‘कोल्याप्स’ हुनछ । आज नेपाल साम्राज्यवादको कठपुतली बनेको छ, पराधीन बनेको छ । यसको कारण भनेको नेपालमा आमूल परिवर्तनसहितको क्रान्ति भएको छैन । यसकारण एउटा नयाँ आमूल परिवर्तन गर्ने क्रान्तिको जरुरी छ । त्यसैले हामीले इन्क्लाव जिन्दावाद भनिरहनुपर्ने अवस्था आएको छ । ती नाराहरू चोकचोकमा, स्कुलस्कुलहरूमा लगाउनुपर्दछ । तपाईंहरूले ‘वान सोलुसन रिभोलुसन’ भनेर जुन पोस्टर ल्याउनुभएको रहेछ, यो सिर्जनशील काम हो । यस्तो काम युवाबाट मात्र सम्भव छ । सबै समस्याहरूको समाधान नै क्रान्ति हो भनेर हरेक मान्छेलाई बुझाउन जरुरी छ । आज क्रान्तिबाट भाग्ने कुरा र क्रान्तिलाई विशृङ्खलित गर्ने कुरा नेतृत्वमा देखापरेको छ । यो पछिल्लो समय विप्लवमा देखापर्यो । अत्यन्तै सूक्ष्म र छद्म तरिकाले देखापर्यो । उनले मान्छेलाई दिग्भ्रमित पार्ने तरिकाले क्रान्तिको बाटो छोडे । अहिले पनि विप्लवजीले हामी कहाँ संसदीय व्यवस्थामा जान्छौँ र ? हामी त क्रान्तिकारी हौँ भनेर भनिरहेका छन् तर व्यवहारमा उनी संसदीय व्यवस्थामा छिरिसकेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले म लेनिनजस्तो रौँचिरा अध्ययन गर्नसक्ने होइन, मोटोमोटो अध्ययन गर्ने व्यक्ति हुँ भनेका थिए । विद्यार्थीहरू लेनिनजस्तो रौँचिरा अध्ययन गर्ने हुनुपर्दछ ।

लेनिनले आजभन्दा एक सय दस वर्ष अगाडि संसदीय चुनाव प्रयोग गर्नुभएको थियो भन्दै विप्लव नजानिँदो गरी, मसिनो तरिकाले संसदीय व्यवस्थामा छिरे । चुनावको प्रश्न भनेको कार्यनितिक प्रश्न हो । लेनिनले संसदीय व्यवस्था भन्ने खराब व्यवस्था हो भन्ने प्रमाणित गर्नका लागि चुनावी कार्यनीति प्रयोग गरेका थिए र यसमा उनी सफल पनि भए । हामीले पनि २०४८ सालमा ५ पार्टीको एकतापछि चुनाव उपयोगको कार्यनीति लिएका थियौँ । त्यो परिस्थिति लेनिनको समयको जस्तो परिस्थिति थियो । त्यसले पार्टी र क्रान्तिलाई डुबाएन, बरु अगाडि लिएर गयो । आज विप्लवले जुन परिवेशमा चुनावमा भाग लिए, उनी यो संसदीय व्यवस्थाका खराबीहरूलाई उजागर गर्नका लागि होइन, त्यही व्यवस्थालाई टेको लगाउनका लागि चुनावमा गएका हुन् । विप्लवले बाहिर के कुरा गरे, त्यो कुराले मतलब राख्दैन । उनले के काम गरे, त्यो कुराले अर्थ राख्छ । जब एउटा महासचिवले पार्टी दर्ता गर्दछ, त्यसले यो संविधानका नीति–विधिहरू शिरोपर गरेर काम गर्दछु भन्ने वाचा गरेको हुन्छ । भित्र औँठाको छाप लगाएर त्यहाँभित्र छिरिसकेको हुन्छ तर त्यसले बाहिरबाहिर भने चर्का कुरा गर्दछ । यसो गरेको खण्डमा केही मान्छेलाई भ्रम पर्दछ जसले यसको रहस्य थाहा पाएको हुँदैन । विद्यार्थी, युवा कमरेडहरूले यो कुरा थापा पाउनुपर्छ । जसले यो रहस्य बुझे उनीहरूले के थाहा पाए भने विप्लवहरूले पनि जनतालाई धोका दिए । जसरी विगतमा माधव नेपाल र केपी ओलीहरूले धोका दिएका थिए त्यसैको शृङ्खलामा चित्रबहादुर केसीहरूले वा सीपी मैनालीहरूले वैचारिक रूपमा धोका दिएका थियो, त्यसैगरी विप्लवहरूले पनि धोका दिएका छन् ।

हामीले १२ औँ केन्द्रीय समितिको बैठकमा गम्भीर प्रकारको बहस गर्यौँ । त्यसमा अत्यधिक बहुमत हामीले भनेको कार्यदिशा र लाइनमा भयो । त्यसलाई हामीले विचारको सर्वोच्चता भनेका छौँ । त्यतिबेला जसले जेसुकै भने पनि सही विचारले प्रतिनिधित्व गरेको थियो । हामीले विप्लवलाई यही सही विचारको रक्षा र पालना गर्ने कुरा भनेका थियौँ । तर त्यसको ४ दिनपछि नै विप्लवले त्यो विचारलाई उल्ट्याइदिए । त्यसको ४ दिनपछि नै उनीहरू काठमाडाैँ आएर पार्टी दर्ता गर्नेदेखि लिएर चुनावमा भाग लिने काम गरे । त्यसपछि हामीले विचारको सुप्रिमेसी (सर्वोच्चता) सहित त्यतिबेलाको केन्द्रीय समितिको अत्यन्तै ठूलो बहुमतसहित पार्टी पुनगर्ठन प्रक्रिया अगिाडि बढायौँ । उनले ११ दिन लामो बहसलाई केही पनि होइन जसरी त्यसलाई लत्याइदिए । यसलाई हामीले विप्लवको मात्र कुरा होइन, यो नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेको प्रवृत्तिको कुरा हो भनेका छौँ ।

नेपालमा समग्र क्रान्तिको प्रक्रिया अघि बढाउने भन्दा पनि एउटा सानो कोटरी बनाउने र पैसा उठाउने खराब विरासत छ । विप्लवले पनि केही मान्छेलाई वरिपरि राख्ने, पैसा उठाउन र त्यसैमा रमाउने गरे । उनमा सङ्गठनात्मक रूपमा निषेधात्मक अधिभूतवाद, दार्शनिक रूपमा सारसङ्ग्रहवाद र आर्थिक रूपमा जुझारु अर्थवाद देखियो । सबै कुरा पैसा उठाउनेमा मात्रै केन्द्रित भए । त्यसबाहेक अरु केही देखिएन । एकीकृत जनक्रन्ति भनेको उनले गरेको नयाँ कुरा होइन, यो त पहिले नै प्रचण्डले भनेको फ्युजनको कुरा हो । उनले यो नितान्त नयाँ कुरा हो भने । यो उनीभित्रको अधिभूतवाद हो । कुरा क्रान्तिकारी गर्ने र भित्र चन्दा उठाउने जो प्रवृत्ति देखियो त्यसबाट हामी सचेत हुन जरुरी छ । युवा विद्यार्थी साथीहरू, यस्तो खालका खराबीहरूबाट हामी मुक्त हुनुपर्छ । त्यस्तो खालको काल्पनिक रोमान्टिसिज्म (रुमानीवाद) बाट मुक्त हुनुपर्छ र राष्ट्र र परिवर्तनको जिम्मेवारीको उत्तरदायित्व बोकेर अघि बढ्नुपर्छ ।

विद्यार्थी साथीहरू, तपाईंहरूले के कुरा बुझ्नुपर्दछ भने हामीले भनेको कुरा के मार्क्सवाद–लेनिनवाद–माओवादसँग आधारित छैन ? अथवा हेगेल र फायरबाखको द्वन्द्ववादसँग आधारित छैन ? के हामीले भनेका सिद्धान्तहरू इपेक्युरेस र होमोसको सिद्धान्तसँग आधारित छैन ? निश्चय नै छन् । हामीले नयाँ पार्टी बनाएर सशक्त प्रकारको हतियार तयार पारेका छौँ । हामी कुनै भ्याकुममा छैनौँ । नयाँ पार्टी, विचार र दृष्टिकोणसहित अघि बढेका छौँ ।

विद्यार्थी साथीहरू, विद्यार्थीहरूको र विद्यार्थी आन्दोलनको मुख्य काम भनेको शिक्षामा भैरहेको व्यापारीकरण र निजीकरण अन्त्यका लागि आन्दोलन गर्ने हो । हरेक मानिसको नैसर्गिक अधिकार भनेको शिक्षा प्राप्त गर्नु हो किनभने जब शिक्षा हुँदैन समाजको विकास गर्न सक्दैन । शिक्षाले ज्ञान पैदा गर्दछ । ज्ञानले सीप पैदा गर्दछ । सीपले मानिसका लागि द्रव्य पैदा गर्दछ । द्रव्यले सुख पैदा गर्दछ भन्ने कुरा वैदिक शास्त्रमा पनि पाइन्छ । शिक्षामा कसैले व्यपार गर्नु हुँदैन । नेकपा (बहुमत) ले भनेको कुरा शिक्षामाथिको व्यापार अन्त्य हुनुपर्दछ । राज्यले हरेक नागरिकलाई नर्सरीदेखि उच्च स्तरको शिक्षा समान तरिकाले सबै नागरिकलाई दिनुपर्दछ । जहाँ शिक्षा र स्वास्थ्यमाथि व्यापार हुन्छ त्यो देश सभ्य हुँदैन । आज हाम्रो देश दैत्यहरूबाट शासित छ । शोषक र दलालहरूबाट शासित छ । यसको अन्त्यका लागि विद्यार्थीले आन्दोलन गर्नुपर्दछ ।

आज यी सबैखाले समस्या समाधानका लागि हाम्रो पार्टीले नयाँ क्रान्तिको प्रक्रिया अघि बढाएको छ । नयाँ जनवादी कार्यभारसहितको नयाँ वैज्ञानिक समाजवादी क्रान्ति हाम्रो पार्टीको कार्यदिशा हो भने यसलाई पूरा गर्ने कार्यक्रम भनेको स्वाधीन संयुक्त सरकार हो । स्वाधीन संयुक्त सरकार निर्माणका लागि हाम्रो कार्यक्रम भनेको संसदीय व्यवस्थाको अन्त्य हो । राजनीतिक स्थिरता, शान्ति, समृद्धि र स्वाधीनता हाम्रो कार्यक्रम हो र यो कार्यदिशा शृङ्खलामा छ । विद्यार्थीहरूले हरेक नागरिकको गाँस, बास र कपासको नैसर्गिक अधिकारका लागि लड्नुपर्छ । यसका लागि परिवर्तन आवश्यक छ भन्ने नारा विद्यार्थीहरूले लगाउनुपर्छ ।

अर्को कुरा हामीले कम्युनिस्ट एकताको प्रक्रिया चलाएका छाैँ । कम्युनिस्ट आन्दोलनलाई संस्थागत र एकताबद्ध तरिकाले अघि बढाउनका लागि हामीले हरेक क्षेत्रका क्रान्तिकारीहरूबीच ध्रुवीकरण गर्नुपर्छ । क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी कार्यक्रममा यहाँको दलाल पुँजीवादलाई अन्त्य गरेर राष्ट्रिय पुँजीको निर्माणको विकास गर्दै राष्ट्रिय स्वाधीनताको आन्दोलनद्वारा अघि बढ्नका लागि हामीले कम्युनिस्ट एकताको प्रक्रिया अघि बढाएका हौँ । हामीले जनसमाजवादी मञ्चसँग भर्खरै एकता गरेका छौँ । बृहत् क्रान्तिकारी कम्युनिस्ट एकताका कुरा गर्दा हामीलाई पार्टी फुटाएको आरोप लाग्न सक्छ तर हामीले पार्टी फुटाएका होइनौँ गलत प्रकारको प्रवृत्ति र कार्यदिशाका विरुद्ध सम्बन्धविच्छेद गरेका हौँ । हाम्रो भेलाले विप्लवलाई कारबाही गरेर निष्कासन गरेको हो । विप्लव पार्टीमा मूल्य, मान्यता र आदर्शलाई लत्याएर जसरी संसदीय व्यवस्थाभित्र प्रवेश गरे, उनी र त्यो प्रवृत्तिलाई कारबाही गरेर हामीले नेकपा (बहुमत) बनाएका हौँ । यो नेपालभरिका कम्युनिस्ट क्रान्तिकारीहरूको बहुमतको केन्द्र हो । हामी सबैखाले कम्युनस्टि क्रान्तिकारीहरूलाई एकताबद्ध गर्दै अघि बढ्न चाहन्छौँ । यसको सुरुआत हामीले गरेका छौँ । यो भेलाले सशक्त युवा नेतृत्वको टिम निर्माण गर्दै हिजोको जस्तो अवसरवादका विरुद्ध लड्दै विद्यार्थी आन्दोलनलाई नयाँ तरिकाले अघि बढाउनेछ भन्ने विश्वाससहित शुभकामना दिन चाहन्छु ।

(नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेला उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा पार्टी संयोजक कञ्चनले दिएको शुभकामना मन्तव्यको सार ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :