विद्रोह र क्रान्तिकारी ध्रुवीकरणले जगाएको आशा

विद्रोह र क्रान्तिकारी ध्रुवीकरणले जगाएको आशा

नेपालको कम्युनिस्ट आन्दोलनमा तेस्रो महाधिवेशनदेखि सुरु भएको टुट, फुट र विभाजनले आन्दोलनमा लामबद्ध उत्पीडित नेपाली जनतालाई कहिलेकहीँ निराश पनि बनाउने गरेको छ । तर कम्युनिस्ट आन्दोलनमा टुट, फुट र विभाजन मात्र भएको छैन, क्रान्तिकारी एकता र ध्रुवीकरण पनि भइरहेको छ । विभाजन हुँदा कमजोर बन्नु र एक हुँदा शक्तिशाली बन्दै आन्दोलन एउटा उपलब्धिसम्म पुग्नु स्वाभाविक प्रक्रिया हो । विभाजनको समयमा उत्पन्न निराशालाई एकता र ध्रुवीकरणले आशा, ऊर्जा र उत्साहमा रूपान्तरण गरिदिने गरेको छ । बीस, तीसको दशकभरि र चालीसको दशकको आरम्भमा देखिएको टुट, फुट र विभाजनको एउटा पट्ट्यारलाग्दो शृङ्खलालाई तोड्दै २०४७ सालको एकताकेन्द्र निर्माण र त्यसपछि २०५२ सालबाट आरम्भ भएको महान् जनयुद्धले एकता, ध्रुवीकरण र शक्तिशाली आन्दोलन निर्माणको एक किसिमको इतिहास नै कायम गरिदिएको थियो । जनयुद्धभरि जनयुद्धलाई हेर्ने दृष्टिकोण र राष्ट्रियताकै विषयलाई केन्द्रमा राखेर एमालेमा भएको विभाजनबाहेक कम्युनिस्ट आन्दोलनमा त्यति ठूलो विभाजन वा फुट देखिएन, बरु संशोधनवादी, अवसरवादी समूहहरूबाट विद्रोह गर्दै त्याग, शौर्य र बलिदानका नयाँनयाँ गाथा र विजयका झन्डाहरू फहराउँदै अघि बढेको महान् जनयुद्धले विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारीहरूलाई चुम्बकले फलाम तानेझैँ तानेर एउटै क्रान्तिकारी आन्दोलनमा समाहित गराएको थियो । नेकपा (मसाल) बाट भएका दुईदुईवटा विद्रोह, नेकपा एमालेको विभाजनपछि बनेको मालेका युवाहरूको विद्रोह र माओवादी आन्दोलनमा प्रवेश केही उल्लेख्य विद्रोह र ध्रुवीकरण थिए ।

जनयुद्धका कमान्डर मानिएका पुष्पकमल दाहाल र आफूलाई दोस्रो दर्जाको नेता भनाउँदै आएका बाबुराम भट्टराईले जनयुद्ध समाप्त भएको घोषणा गर्दै पुरानो सत्तासँग आत्मसमर्पण गरेपछि नेपालको कम्युनिस्ट आन्दोलन फेरि टुट, फुट र विभाजनको सिकार बन्न पुग्यो । एकातिर दसौँ हजार योद्धाको बलिदान, त्याग र समर्पणको प्रतिफलस्वरूप वाञ्छित उपलब्धि हासिल नहुँदै जनयुद्धमा प्रतिकार समिति बनाएर योद्धाहरूको हत्या गराउने, सुराकी गर्ने र जनयुद्धलाई सामाजिक फासिवाद र फासिवादी आतङ्क भन्ने/देख्ने संसद्‌वादी, संशोधनवादी, गैरक्रान्तिकारी अवसरवादी समूहहरू क्रान्तिकारी आन्दोलनमा हाबी बन्न थाले । क्रान्तिकारीहरू विघटित हुने र अवसरवादी, संशोधनवादी, माओवादविरोधीहरूको चाङ लाग्दा कवि पूर्ण विरामले भनेझैँ गोठका गाईहरूको बिचल्ली हुने र अर्नाहरूको रजाइँ हुने विडम्बनापूर्ण अवस्था उत्पन्न भयो । वर्गसङ्घर्ष र मुक्ति आन्दोलनका लागि यसप्रकारको घटना अप्रिय र दुःखद् थियो ।

यतिबेला माओवादी आन्दोलनबाट आएका शक्तिहरू मात्र दर्जनौँ चिरामा विभक्त भइसकेका छन् । तथ्याङ्कहरूका अनुसार प्रचण्डको अवसरवाद र संशोधनवादसँग विद्रोह गरेर नेकपा (माओवादी) गठन भएपछि मात्र पनि टुट, फुट र विभाजनबाट करिब डेढ दर्जन पार्टी र समूह निर्माण भइसकेका छन् । दुनियाँमै मालेमावादी आन्दोलन मुर्झाइरहेको र साम्राज्यवाद र संशोधनवादको दबदबा बढिरहेको समयमा संसारकै क्रान्तिकारीहरूमा आशाको दियो बाल्दै हिमालयको देशबाट सुरु भएको आकासे गर्जनले संसारलाई नै तरङ्गित पार्दै आशाको दियो जगाएको थियो तर जनयुद्धका मुख्य नेतृत्वका रूपमा स्थापित प्रचण्ड–बाबुरामहरूको पलायन र आत्मसमर्पणसँगै माओवादी आन्दोलन पनि टुटफुट र विभाजनको सिकार बन्यो । सत्तरीको दशकको उत्तराद्र्धसमम आइपुग्दा यो अत्यन्त निराशा बाँड्ने स्तरमा पतन हुन पुग्यो । मोहन वैद्यको नेतृत्वमा क्रान्ति आरम्भ हुन नसकेको भन्दै २०७१ सालमा विद्रोह गरेर बनेको नेकपा पनि विप्लवको क्रान्तिकारी रोमान्स र कल्पना–भावुकतावादसँगै दलाल संसद्‌वादमा पतन र पलायन भएपछि माओवादी आन्दोलनमै तुसारापात हुँदै निराशाका दिनहरू उत्कर्षमा पुगेका आकलनहरू भइरहेको समयमा विप्लव–प्रकाण्डको अवसरवादी, आत्मसुरक्षावादी झुण्डलाई कारबाही गर्दै र स्वैरकल्पनावादबाट मुक्त हुँदै नेकपा (बहुमत) निर्माण भएपछि क्रान्तिकारीहरूमा दबिएर बसेको क्रान्तिकारी आशावादले गौरवपूर्ण रूपमा पहल लिएको छ र क्रान्तिकारी ध्रुवीकरण आरम्भ भएको छ । हिजो विप्लव–प्रकाण्डले विभिन्न स्वार्थका कारण पार्टीमा काम गर्ने अवस्थाबाट वञ्चित गरेका जनयुद्धकालीन नेताहरूको रहरलाग्दो र विश्वासिलो पङ्क्ति क्रान्तिकारी ध्रुवीकरणमा उत्साहपूर्वक सहभागी हुनु माओवादी आन्दोलनमा मात्र नभएर नेपालको समग्र वर्गसङ्घर्षको प्रक्रियामै एउटा सुखद आरम्भ हो । छरिएर रहेका क्रान्तिकारीहरूका बीचका एकता र ध्रुवीकरण पहलले अलपत्रमा पारिएको क्रान्तिको बाँकी कार्यभार पूरा भएर वैज्ञानिक समाजवाद स्थापना हुनेमा संशय र द्विविधा अन्त्य गराउँदै लगेको छ । अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाका अवसरमा काठमाडौँको सडकमा जनमुक्ति सेनाको परेड स्मरण गराउँदै निस्किएका राता युवाहरूको मार्च पास्ट र क्रान्तिकारी गर्जनले क्रान्तिलाई धराशयी बनाउने षड्यन्त्रकारीहरूका सम्पूर्ण दुर्योजनालाई ध्वस्त पार्दै क्रान्ति सम्भव छ र अपरिहार्य छ भन्ने अवस्थालाई झनै उजागर गरिदिएको छ ।

कयौँ अवस्थामा क्रान्तिकारी, कम्युनिस्ट पार्टीहरू आवश्यकताले विभाजित हुन्छन्, यो अवस्था विभाजनभन्दा पनि विद्रोह हुन्छ । प्रचण्ड नेतृत्वको पार्टीबाट वैद्यको नेतृत्वमा नयाँ पार्टी निर्माण हुनु फुट र विभाजन नभएर ऐतिहासिक विद्रोह थियो र विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गर्दै नेकपा (बहुमत) को निर्माण हुनु त्यस्तै प्रकारको विद्रोह र आवश्यकता हो । सहमति, सम्झौता र आत्मसमर्पणको गोलचक्करमा फसेको नेपालको कम्युनिस्ट आन्दोलनमा नेकपा (बहुमत) र जनसमाजवादी मञ्चबीचको एकताले अब फेरि एकपटक विद्रोह, पार्टी एकता र ध्रुवीकरण अभियान आरम्भ गरेको छ । यो देश र श्रमिक वर्गका लागि अपरिहार्य आवश्यकता हो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू अत्यन्त कमजोर बनाइएको र वर्गसङ्घर्षलाई असम्भव परीकथाका रूपमा भ्रष्टीकरण गरिएको समयमा आत्मसुरक्षावादीहरूलाई कारबाही गर्दै नयाँ आन्दोलन उठ्नु र रोमान्सवादीहरूमा विभाजन र क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरण अभियानकै रूपमा सुरु हुनु सुखद अवसर हो ।

साम्राज्यवादले कम्युनिस्ट आन्दोलनलाई विभाजित र बदनाम गर्ने इतिहासदेखिकै बासी खेल खेलिरहेको छ । प्रचण्डहरूलाई संसद्वादी भासबाट उत्रिनै नसक्ने गरी डुबाउने र माओवादी आन्दोलन धराशयी बनाउने अमेरिकी–भारतीय–युरोपेली साम्राज्यवादको षड्यन्त्र र दुष्चक्रको नयाँ सिकार बन्दै विप्लवले पनि उठिसकेको वैकल्पिक क्रान्तिकारी आन्दोलनलाई संसद्‌वादमा लगेर समाप्त पार्ने दुश्चेष्टा गरेका छन् । कञ्चन, सुदर्शनलगायत एउटा भरपर्दो र आशालाग्दो क्रान्तिकारी तप्काले संसद्वादमा पतन हुँदै गरेको र साम्राज्यवादी डिजाइनमा समुद्रमा डुब्दै गरेको क्रान्तिको जहाजलाई डुब्नबाट बचाएर क्रान्तिकारी एकता र ध्रुवीकरण प्रक्रिया सुरु गरेको छ । यसले निराशाको कालो बादलले ढाक्दै लगेको क्रान्तिकारी आन्दोलन, वैज्ञानिक समाजवादी क्रान्तिको भविष्यलाई अब पतनको गर्तबाट जोगाएर अघि बढाएको छ । यो अब अभियानकै रूपमा अघि बढ्नुपर्छ र टुट, फुट र विभाजनका साथै सम्झौता, सहमति र आत्मसमर्पणको अनन्त र अन्त्यहीन शृङ्खला उल्ट्याउँदै एकता, ध्रुवीकरण, क्रान्ति र विजयको नयाँ इतिहास र कीर्तिमान कायम गर्नुपर्छ । यो आजको मात्र नभएर इतहासकै माग हो । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :