अखिल क्रान्तिकारीद्वारा नेपाल–भारत सिमानामा काँडेतार लगाउन आह्वान, शैक्षिक माफियालाई कारबाही गर्ने कार्यक्रम सार्वजनिक

अखिल क्रान्तिकारीद्वारा नेपाल–भारत सिमानामा काँडेतार लगाउन आह्वान, शैक्षिक माफियालाई कारबाही गर्ने कार्यक्रम सार्वजनिक

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाले लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत देशभर भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्न र नेपाल–भारत सीमामा काँडेतार लगाउन माग गरेको छ । अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाले गरेका निर्णयहरू सार्वजनिक गर्न आज काठमाडौँ अनामनगरस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचत अध्यक्ष मिलन राईले सङ्घर्षका केही निशाना सार्वजनिक गर्दै दलाल शिक्षकहरू, विदेशी शैक्षिक संस्थालाई त्रिविको जग्गा सित्तैँमा वा नाउँ मात्रको शुल्कमा दिने शैक्षिक व्यापारीहरूमाथि धावा बोल्ने निर्णय सुनाए ।

यसअघिका शैक्षिक आन्दोलनहरू नेतृत्वले पैसासँग साटेको तीतो यथार्थ प्रस्तुत गर्दै अध्यक्ष राईले भने, ‘सहिद प्रज्वलका बहिनी कलशा र मनीषा शाहीलाई साक्षी राखेर उहाँहरूबाट शपथ खाएका छौँ– बरु बलिदान हुन तयार छौँ तर महान् सहिदका सपनाहरूको हत्या हुन दिनेछैनौँ । बलिदान भएर पनि दलाल पुँजीवादी राज्यसत्ता र शैक्षिक व्यापारीकरणविरुद्ध सम्झौताहीन सङ्घर्ष गर्नेछौँ । वैज्ञानिक समाजवाद स्थापना गरेरै छोड्नेछौँ ।’

अध्यक्ष राईले शैक्षिक घोषणापत्र तयार पार्ने, वैज्ञानिक समाजवादी शिक्षाका अवधारणा सार्वजनिक गर्ने कार्यक्रम पनि सार्वजनिक गरे । संसद्वादमा लुट्पुटिइरहेका विद्यार्थी सङ्गठनतर्फ सङ्केत गर्दै उनले भने, ‘संसद्‌वादी कलो खान छाडेर विद्रोह सङ्घर्षमा आउनुस्, एकता र क्रान्ति सम्भव छ ।’ उनले गगन थापाजस्ता वल्र्ड बैङ्कका सदस्यहरूलाई क्रान्तिकारी विद्यार्थी आन्दोलन आवश्यक नरहेको भनेर अफवाह फैलाउने कुनै नैतिक आधार नभएको बताए । उनले आक्रोशित हुँदै भने, ‘त्यस्ता पात्रलाई चारपाटा मुडी काठमाडौँ कटाएर मात्र हुँदैन, कालोमोसो, जुत्ताको माला र सिस्नुपानी लगाउँदै सडकमा घिसार्नुपर्छ ।’ विप्लवतर्फ लक्षित गर्दै उनले कुनै एक्ले वीरले नभएर जनता र क्रान्तिकारी शक्तिको बलमा क्रान्ति सम्पन्न हुने बताए ।

अखिल क्रान्तिकारीकी नवनिर्वाचित महासचिव रूपा बुढामगरले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सङ्गठनका उपाध्यक्ष वीरेन्द्र शाह, सचिव नवराज भट्ट र कोषाध्यक्ष दीपक बिष्टले पनि विप्लव समूहमा आबद्ध अखिल क्रान्तिकारीबाट विद्रोह गर्दै नयाँ सङ्गठन निर्माण गर्नुपर्ने कारण र अबको विद्यार्थी आन्दोलनको स्वरूपका बकारेमा चर्चा गरेका थिए । उनीहरूले आफूहरू बलिदान भएर पनि क्रान्तिकारी विद्यार्थी आन्दोलनको विरासत जोगाउँदै क्रान्ति सम्पन्न गर्न तयार रहेको उद्घोष गरेका थिए ।

पत्रकार सम्मेलनमा विशेष राष्ट्रिय भेलाले गरेका निर्णयहरू समेटिएको प्रेस विज्ञप्ति वितरण गरिएको थियो । अध्यक्ष मिलन र महासचिव रूपाले हस्ताक्षर गरेको विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको मूल प्रवाह हाम्रो गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) को ऐतिहासिक विशेष राष्ट्रिय भेला महान् सहिद कमरेड सनराइजको स्मृति दिवसका अवसरमा २०७९ असार १२, १३ र १४ गतेसम्म काठमाडौँको परोपकार माविमा सम्पन्न भयो । भेला आयोजक समितिका संयोजक कमरेड मिलन राईको अध्यक्षतामा सम्पन्न भएको विशेष राष्ट्रिय भेलाको उद्घाटन प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक क. कञ्चनले गर्नुभयो । उद्घाटन समारोहमा पार्टी प्रवक्ता क. सुदर्शन, पार्टी सल्लाहकार समितिका अध्यक्ष क. असारे काका, सचिव क. पवन, पार्टी कार्यालय सदस्यहरू क. दीपक, क. प्रविर, क. गम्भीर, सङ्गठनका पूर्वअध्यक्षहरू शरद रसाइली र पूर्णबहादुर सिंह, पूर्वमहासचिव दीपेन्द्र चलाउने, महान् सहिद प्रज्वलकी बहिनी मनीषा शाही, पार्टीका ९ औँ महाधिवेशन आयोजक समितिका सदस्यहरू, जनवर्गीय सङ्गठनका प्रमुख/प्रतिनिधिहरू, विभिन्न पार्टी निकट मित्र विद्यार्थी सङ्गठनका प्रमुख/प्रतिनिधिहरूलगायत देशैभरका ३०० प्रतिनिधि÷पर्यवेक्षकको उपस्थिति रहेको थियो । तीन दिनसम्म चलेको विशेष राष्ट्रिय भेलाले मिलन राईको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दै भेला भव्यतापूर्वक सम्पन्न भयो । नवनिर्वाचित केन्द्रीय समितिलाई महान् सहिद कमरेड प्रज्वल शाहीकी बहिनी मनीषा शाहीले शपथग्रहण गराउनुभयो । नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक महान् सहिद क. प्रज्वल शाहीकी बहिनी तथा सङ्गठनकी नवनिर्वाचित केन्द्रीय सदस्य क. कलशा शाहीको अध्यक्षतामा सम्पन्न भयो । विशेष राष्ट्रिय भेलाबाट निम्नमहत्वपूर्ण, ऐतिहासिक र दूरगामी निर्णयहरू लिइएको छ :

१. विशेष राष्ट्रिय भेलाले निम्नानुसारको केन्द्रीय समिति निर्वाचित गरेको छ :

अध्यक्ष– मिलन राई
उपाध्यक्ष– वीरेन्द्र शाह
महासचिव– रूपा बुढामगर
सचिव– नवराज भट्ट
कोषाध्यक्ष– दीपक बिष्ट

सदस्यहरू : सुरेन्द्र बस्नेत, सुरेन्द्र धानुक, लक्ष्मी शाह, टेकेन्द्र पाठक, नवीन खड्का, इन्दु ओली, पारस राहदी मगर, डीबी शाही, कमला परियार, अमृत श्रेष्ठ, गगन परियार, उपेन्द्र परियार, पदम विक, विनय खड्का, प्रेमप्रशान्त बोहोरा, आयुष घिमिरे, प्रदीप बमजन, हरि बिष्ट, एकराज राई, विकास राई, गोविन्द विष्ट, रमेश सुनार, महेश अधिकारी, विकल्प खत्री, विशाल जिरेल, मिम ऐडी, प्रवेश रुम्बा, दिनेश जोशी, बीपी भट्ट, कोपिला अधिकारी, राजन साउद, निराजन किराँती, कलशा शाही, सपना मगर, रूपा सेन ठकुरी, सुमन श्रेष्ठ, केशव भट्टराई, रोशन यादव, शिव सदाशङ्कर, लक्ष्मण तामाङ, केश घले, मनीषा परियार, दीपक भण्डारी, सुनिल भुल, प्रकाश भट्ट, हरिश ऐरी, मोहन धामी, दीपेन्द्र सिंह, सुनदेवी शाही, नवराज विश्वकर्मा, तिलक बिष्ट, सोमपाल कामी, पदम नेपाली, सन्देश सापकोटा, निर्मला खड्का, वीरेन्द्रकुमार मण्डल, दिलिप दास, अब्दुलसतार अन्सारी, निशान कटुवाल, बाला राई, सयन्द्र राई, आइसा भुजेल, गणेश थापा, हिम्मत परियार, स्मृति कार्की, वीरेन्द्र नेपाली, कृष्ण खड्का, सुदीप शाही, विकास रसाइली, राजन राई, प्रवीण ठाकुर, विजयप्रकाश मल्ल, महेन्द्र आचार्य र अरू पछि थप गर्ने ।

२. विशेष राष्ट्रिय भेलामा प्रस्तावित वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक अवधारणा पारित गरेको छ ।
३. भेलाले सङ्गठनको आगामी मूल कार्यदिशा राजनीतिक–शैक्षिक तय गरेको छ ।
४. विशेष राष्ट्रिय भेलाले शैक्षिक सङ्घर्षका निशानाहरू ठोस गरेको छ । ५. भेलाले शैक्षिक घोषणापत्र निर्माण गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

६. भेलाले निम्न समसामयिक प्रस्तावहरू पारित गरेको छ :

क) विप्लव नेतृत्वको नेकपाभित्र देखापरेको दार्शनिक रूपले सारसङ्ग्रहवाद, राजनीतिक रूपले संसदीय संशोधनवाद, सङ्गठनात्मक रूपले निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, सङ्घर्षमा आत्मसुरक्षावाद र आर्थिक हिसाबले जुझारु अर्थवादका विरुद्ध निर्णायक सम्बन्धविच्छेद गरी निरन्तर क्रान्तिको मार्गमा अघि बढिरहेको कार्यप्रति यो विशेष राष्ट्रिय भेला हार्दिक स्वागत एवम् ऐक्यबद्धता जाहेर गर्दछ ।

ख) दलाल संसदीय व्यवस्थाको विकल्पमा स्वाधीन संयुक्त सरकार निर्माण गरी राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति समृद्धि र स्वाधीनता कायम गर्न जोडदार माग गर्दछ ।

ग) नेपालको शिक्षामा भएको निजीकरण, चरम व्यापारीकरण र साम्राज्यवादी हस्तक्षेप तत्काल अन्त्य गर्न जोडदार माग गर्दछ ।
घ) साम्राज्यवादी देशहरूले साना र कमजोर मुलुकमा गरिरहेको अन्यायपूर्ण हस्तक्षेप र उत्पीडनको घोर विरोध गर्दै संसारभर श्रमजीवी र उत्पीडित जनताका पक्षमा भइरहेको सम्पूर्ण क्रान्तिकारी सङ्घर्षको दृढ समर्थन गर्दछ ।

ङ) नेपालको राष्ट्रियता र सार्वभौमिकतासमेत खतरामा पर्ने गरी अमेरिकी सैन्य रणनिति इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको राष्ट्रघाती MCC सम्झौता र SPP सम्झौतालगायत विगतमा गरिएका राष्ट्रियताविरोधी, अन्यायपूर्ण सम्पूर्ण सन्धिसम्झौता खारेज गर्न जोडदार माग गर्दछ ।

च) वैज्ञानिक समाजवादी शिक्षा वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै प्राप्त हुने हुँदा वैज्ञानिक समाजवादका लागि वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा दृढतापूर्वक लामबद्ध हुन आमविद्यार्थीलाई अपिल गर्दछ ।

छ) माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा निःशुल्क हुनुपर्ने विषयलाई पूर्ण कार्यान्वयन गरी अनिवार्यसमेत गर्न जोडदार माग गर्दै शिक्षामा भएको विभेदको अन्त्य गरी समान शिक्षा लागू गर्न माग गर्दछ ।

ज) विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म भइरहेको राजनीतिक भागबन्डाको पूर्ण अन्त्य गर्न जोडदार माग गर्दछ ।

झ) मेडिकल शिक्षामा भएको मेडिकल माफियाको दादागिरी अन्त्य गरी सरकारको लगानीमा मेडिकल कलेजहरूको विस्तार गरी प्रतिभा र पुँजी पलायन हुनबाट रोक्न माग गर्दछ ।

ञ) विदेशी सम्बन्धन प्राप्त कलेजहरूको अनियमितता र मनोमानीको कडाइपूर्वक नियमन गरी मापदण्दविपरीत सञ्चालित कलेजहरू खारेज गर्न जोडदार माग गर्दछ ।

ट) ३ बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न र राजनीतिक आस्थाका आधारमा दलाल पुँजीवादी सत्ताले फासिवादी चरित्र प्रदर्शित गर्दै लगाएको सम्पूर्ण मुद्दा खारेज गर्नुका साथै जेलजीवन बिताइरहनुभएका सङ्गठनका केन्द्रीय सदस्य विकास राईलगायत सम्पूर्ण आस्थाका बन्दीहरूलाई तत्काल निःसर्त रिहा गर्न जोडदार माग गर्दछ ।

ठ) लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत देशभर अतिक्रमित सम्पूर्ण भूमि फिर्ता गरी सिमानामा काँडेतार लगाउन र खुला सिमाना बन्द गर्न जोडदार माग गर्दछ ।

ड) बढ्दो छात्रा हिंसा नियन्त्रण गर्न, कथित सुन्दरी प्रतियोगिता खारेज गर्न र छात्रा सशक्तीकरण कार्यक्रम हरेक शिक्षालयमा सञ्चालन गर्न जोडदार माग गर्दछ ।

ढ) बढ्दो महँगी नियन्त्रण गर्न र ग्याँस, पेट्रोलियम पदार्थ, यातायातमा दिने भनी सम्झौता भएको सहुलियत पूर्ण रूपमा कार्यान्वयन गराउन यो भेला माग गर्दछ ।

ण) राज्यद्वारा बेपत्ता पारिनुभएका तत्कालीन महासचिव पूर्ण पौडेल, विपीन भण्डारी, दिलबहादुर राईलगायत सम्पूर्ण बेपत्ता योद्धाहरूको स्थिति सार्वजनिक गर्न यो भेला जोडदार माग गर्दछ ।

त) जनयुद्धका महान् सहिद बेनोज अधिकारी, एकीकृत जनक्रान्तिका महान् सहिद क. प्रज्वल शाहीलगायत सम्पूर्ण महान् सहिदहरू र नेपाली विद्यार्थी आन्दोलनका सम्पूर्ण सहिदहरूप्रति यो भेला उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछ ।

भेलालाई भव्य र ऐतिहासिक रूपमा सफल बनाउन भेलामा सहभागी भई उद्घाटन गर्नुहुने नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक क. कञ्चन, पार्टी प्रवक्ता क. सुदर्शनलगायत पार्टीका कार्यालय सदस्य, सचिवालय सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । भेलालाई सफल पार्न अहोरात्र मेहनत र हामीलाई दिशानिर्देश गर्नुहुने सङ्गठनका फ्याक्सन इन्चार्ज क. समरजङ्गलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछौँ । प्रतिकूल समयका बाबजुद पनि भेलामा सहभागी हुने अतिथि, प्रतिनिधि/पर्यवेक्षक कमरेडहरू, पत्रकार मित्रहरूलाई धन्यवाद भन्न चाहन्छौँ । भेला सम्पन्न गर्न सहयोग गर्नेहुने सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौँ । अनुहार र भाषणमा क्रान्ति खोज्नेहरूका विरुद्ध विद्रोह गर्दै नेपाली विद्यार्थीमा नयाँ संस्कृतिको निर्माण गरेका छौँ । समग्रमा विद्यार्थी आन्दोलनलाई प्रतिपक्षी चरित्रको भूमिकामा निरन्तर अगाडि बढाउँदै वैज्ञानिक समाजवादी क्रान्तिको अग्रदस्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :