हामीलाई फेरि चे ग्वेभारा चाहिएको छ

हामीलाई स्वतन्त्र, मुक्त र समृद्ध समाजवादी नेपाल चाहिएको छ

हामीलाई फेरि चे ग्वेभारा चाहिएको छ

समय समीक्षा

कसैले छाम्यो मेरो छातीभित्र दौडिरहेको
हजार मेगावटको उत्पीडनको करेन्ट ?
– कवि बीपी विद्रोही

देश उसै त दलाल पुँजीवादी सत्ताका कारण थिलथिलो छ । मानिसले गाँस, बास र कपास पाएका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगारीविहीन मानिस भरपर्दो विकल्पको खोजीमा छ । त्यो विकल्प वर्तमान दलाल पुँजीवादी अर्थात् ऐँजेरु सत्ता वा व्यवस्थाले दिन सक्तैन । दिन सक्ने भए संसारमा पुँजीवाद भएका र धनी मानिएका मुलुकका मानिस सुखी, सम्पन्न र शान्त हुनुपथ्र्यो । अमेरिका आफूलाई एक नम्बर धनी र सुखी भनिदिए हुन्थ्यो भन्ने चाहन्छ तर त्यहीँका मानिस सुरक्षित छैनन् । अरू मानिसका त कुरै छाडौँ, भर्खर विद्यालय जान थालेका शिशुहरूको सामूहिक हत्या भएको सनसनीपूर्ण खबर केही दिनअघि मात्र सार्वजनिक भएको थियो । अमेरिकी साम्राज्यवाद विभिन्न बहानामा अरू मुलुकमा गएर वृद्धदेखि बालकसम्मको हत्या गर्छ तर आफ्नै देशका नागरिकलाई सुरक्षा दिन सक्तैन । अलि अस्वाभाविकजस्ता लाग्ने पूर्वराष्ट्रपति जग्गा दलाल डोनाल्ड ट्रम्पले त मुखै खोलेर भनेछन्, युक्रेन र जेलेन्स्कीलाई रुससँग लड्न हतियार र रकम दिनुभन्दा आफ्नो देशका विद्यालयका बालबालिकाको सुरक्षामा खर्च गर …।

लेखक : अशोक सुवेदी

जबजब देशमाथि साम्राज्यवादी षड्यन्त्र र स्वार्थहरू मडारिन थाल्छन्, जबजब देशका दलाल शासकहरू राष्ट्रघाती लेन्डुपलाई ‘आराध्यदेव’ मानेर पूजा गर्न र उसकै कुकर्मको सिको गर्न थाल्छन्, त्यसपछि महान् क्रान्तिकारी चे ग्वेभाराको सम्झना मात्र हुँदैन, उनको खोजी हुने गर्छ । साम्राज्यवादी आक्रमण बढिरहेको समयमा नेपालमा यतिबेला फेरि चे ग्वेभारा अर्थात् महान् क्रान्तिकारीहरू र महान् क्रान्ति/जनयुद्धको खोजी भएको छ । अमेरिकी साम्राज्यवाद विकासका नाउँमा एमसीसी लाद्नासाथ अब साम्राज्यवादी याङ्की नेपाल भित्र्याउने षड्यन्त्रमा छ र नेपालका दलाल शासकहरू एमसीसीजस्तै फेरि एसपीपी नाउँको अमेरिकी सैनिक अभियान नेपाल भित्र्याउने सम्झौता पारित गर्ने दाउमा छन् । हो, यस्तो बेलामा कमरेड चेको असाध्यै सम्झना आउँछ ।

महान् क्रान्तिकारी चेले कुनै दिन कविता लेखेका थिए :
हाम्रो ललाटमा विद्रोहको ताराले भरिएको छ
हामी बाटो लागौँ
ज्वालामुखीमय उदाउँदो भविष्यका लागि
गुप्त बाटोहरूको झोक्कालाई पछार्दै
तिमीले माया गरेका हरित भूमिलाई स्वतन्त्र पार्दै
हामी बाटो लागौँ
थुप्रै अत्याचारको वदला लिँदै
हाम्रो ललाटमा विद्रोहको ताराले भरिएको छ

कसम खाएका छौँ जित्छौँ कि त मर्छौं
जब पहिलो गोलीको आवाज सुनियो, बुझियो
जसै झसङ्ग भएर किशोरी निद्रामै उठ्छिन्
हामी त्यहाँ पुग्नेछौँ
शान्त पार्न हामी योद्धाहरू त्यहाँ हुनेछौँ ।

जव तिम्रो आवाजले चार झोक्काको घोषणा गर्छ
भूमिसुधार, न्याय, रोटी र स्वतन्त्रता
हामी तिम्रो आवाजलाई उचो पार्न त्यहाँ हुनेछौँ
हामी त्यहाँ पुग्नेछौँ ।
त्यो दिन जङ्गली पशु आफैँबाट घाइते हुन्छ
हाम्रो मुक्तिको उद्देश्यले
हामी तिमीसितै हुन्छौँ चुम्दै विशाल अभियान
हामी त्यहाँ हुन्छौँ ।
नसोच तिनीहरूले थर्काउलान् भनेर
हतियारको उपहारले सुसज्जित छौँ
हामी एउटा राइफल, गोलीहरू
लट्ठीहरू माग्छौँ
त्यो सिवाय अरु होइन ।
उनीहरूले सुकाएर ढाल्न सक्छन् भने
हामी केवल क्युबालीको आँसुलाई सोध्न सक्छौँ
लडाकुहरूका लागि हावाले उठाएको पत्करझैँ
इतिहासको भल÷बाढीले बगाउनेछ
त्योभन्दा बाहेक केही छैन ।

हो कमरेड चे, आज फेरि मेरो मुलुकमाथि अमेरिकी साम्राज्यवाद आफ्ना क्रूर र बर्बर सैनिक र हतियार लिएर घुस्न खोज्दैछ । मेरो देशका लेन्डुपहरूले एमसीसी पारित गरेर उसलाई निम्ता दिइसकेका छन् । ऊ फेरि एसपीपी नाउँको हत्यारो सम्झौता लाद्दैछ । कमजोर सत्ता र कमजोर तथा बदनाम शासकहरू सत्तामा भएको समयमा उताबाट हतियार बोकेर साम्राज्यवाद आउँदैछ । हामी यता चेलाई बोलाइरहेछौँ, चे जन्माउने वाचा गरिरहेछौँ ।

ठीक दुई महिनाअघि त्यतिबेलाका पार्टी महासचिव विप्लवले मलाई अमेरिकाले गोन्जालो बनाउँदैछ, नेपालमै इन्काउन्टर गरेर मार्दैछ । यसरी मृत्युको मुखमा बसेर कसरी म क्रान्ति अघि बढाउन सक्छु र ! त्यसैले मैले तीनबुँदे गरेर आउनुपर्यो भनेर आत्मसमर्पणकारी भाषा बोल्दा सायद उनको मनमा यसरी नै साम्राज्यवाद आउँदैछ भन्ने मनमनमा लागिरहेको हुनसक्छ । हामीले त हाम्रो त्यतिबेलाको क्रान्तिनायकमा चेको त्याग, शौर्य र बलिदान देखिरहेका थियौँ तर हामीले देखेको चे चे होइन रहेछ । ऊ त कायर पो रहेछ । उसले क्रान्तिबाट मुख नफर्काएको भए, तत्कालीन सत्तासँग तीनबुँदे गरेर त्यही सत्तालाई स्वीकार गर्ने सम्झौतामा हस्ताक्षर नगरेको भए अर्थात् प्रचण्डले जस्तै क्रान्तिलाई भन्दा आफ्नो, व्यक्तिगत जीवन, परिवार र सम्पत्तिलाई माया नगरेको भए क्रान्ति अझै अघि बढिसकेको हुन्थ्यो र साम्राज्यवादलाई घुस्न यति सहज हुने थिएन । राष्ट्रघात गर्ने, देशको राजस्व मार्ने एनसेललाई बम हानेर तर्साउँदै उहीसँग पैसा मागेर आफ्ना लागि घर बनाउने विचार पलाउने थिएन । एनसेल र जनतामाथि अन्याय लाद्ने दलालहरूका विरुद्ध सङ्घर्ष गर्ने योद्धाहरू अझै जेलमै छन् । सहयोद्धाहरूलाई जेलमा कोचेर आफू महल बनाउनेतिर लाग्ने थिएन । जे होस्, संसदवादी संशोधनवादविरुद्ध फेरि विद्रोह भएको छ र क्रान्तिसँगै क्रान्तिकारी ध्रुवीकरण अघि बढिरहेको छ । यो खुसीको कुरा हो ।

साम्राज्यवाद एकातिर सहायताको नाउँमा राष्ट्रियता समाप्त पार्न डलरसँगै हतियार र सैनिक पनि लिएर आउँदैछ, अर्कातिर सुन्दरी प्रतियोगिताका नाउँमा हाम्रा चेलीहरूको अस्मिता पनि लिन आउँदैछ । मानिस त श्रमले, सीपले, मेहनतले, इमानदारी र सङ्घर्षले पो सुन्दर हुन्छ, कहीँ खैरो रङ त कहीँ गाला, कपाल, तिघ्रा र नितम्बले सुन्दर हुन्छ ? हो, त्यसै भन्छ साम्राज्यवादी संस्कृति । मानिस अझ महिला बुद्धि र श्रमले होइन रे, शरीरका अङ्गहरू र त्यसको पनि प्रदर्शनले सुन्दरी हुन्छन् रे ! नेपालमा पनि त्यो विकृति भित्रिएको छ । जनयुद्धअघि र जनयुद्धकालमा क्रान्तिकारी महिलाहरूले शरीरका अङ्ग प्रदर्शन गरेर गरिने कथित सुन्दरी प्रतियोगिताको मापनलाई खारेज गरेका थिए । सिङ्गो आन्दोलनले महिलाको सौन्दर्य मापन गर्ने साम्राज्यवादी तरिका खारेज गर्दै न्यायका लागि लड्ने हतियारधारी क्रान्तिकारी छापामार र जनमुक्ति सेनाका योद्धाहरूलाई सुन्दर घोषणा गरेको थियो । सहिद, सहिद परिवार, बेपत्ता योद्धा, तिनका परिवार र घाइते–अपाङ्गलाई सुन्दर घोषणा गरेको थियो । सहिद परिवार, बिधुवा र दलितहरूसँग विवाह गर्ने कामलाई सुन्दर घोषणा गरेको थियो । श्रम र पसिनालाई सुन्दर र मूल्यवान् घोषणा गरेको थियो ।

तर आज राजनीतिमा जस्तै संस्कृतिमा पनि प्रतिक्रान्ति भएको छ । हिजो जनयुद्धको नायकत्व गरेकोमा गर्व गर्ने तर आज यही दलाल पुँजीवादका भरिया बनेकाहरू कथित सुन्दरी प्रतियोगिताका नाउँमा फैलाइएको भाँडतन्त्रका विरुद्ध बोलेको सुनिँदैन, उल्टै समर्थन र सहयोग गरेको पो देखिन्छ । माक्र्सवादी स्रष्टाहरू कथित सुन्दरी प्रतियोगिताका नाउँमा गरिने यो ‘छाला र देहको व्यापार’ का विरुद्ध छन् ।

कवि युवराज नास्तिक लेख्छन् :

घातक सौन्दर्यचेतको अफिम चटाएर
वस्तुमा परिणत शरीरलाई
शृङ्गार र सुन्दरताको जामाभित्र
बन्धनका चुराले बेरेर
क्युफिटमा काठका गोलियासरह
कम्मर, स्तन र नितम्ब नाप्दै
बजारले माल बनाएर बेच्छ
नारी सौन्दर्य ।
गोरो मुहार र गोला आँखाहरूलाई
निम्छरा आँखा च्यातेर मूल्याङ्कन गर्छ पितृसत्ता
बजारीकरणको विज्ञापनभित्र छिराएर
कस्मेटिक लेपन गरेका मुलायम त्वचामाथि
सुन्दरताको बन्दुक पड्काउँदै
सांस्कृतिक आधिपत्यको नशामा लठ्याउँछ
र शोषणका दोकानहरू चलाउँछ पुँजीवाद
घातक सौन्दर्यचेतको अफिम…।

नेकपा (बहुमत) मा आबद्ध अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी र अखिल क्रान्तिकारीले यसप्रकारको महिला अस्मिता र मानवताविरोधी कथित सुन्दरी प्रतियोगिताको विरोध गर्दै तत्काल बन्द गर्न आह्वान गरेका छन् ।

जनता दिनदिनै भोक, रोग र शोकले मरेको मर्यै छ । महँगी बढेर मानिसलाई ढुङ्गो खाऊँ कि माटो खाऊँजस्तो भएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा पेसाकर्मीदेखि गृहिणीको भान्छासम्म प्रभावित भएको छ तर पार्टीका नेताहरू तातो न छारोका भाषण गर्दै बुख्याँचाजस्ता बनेको देख्दा स्रष्टाहरूको मन आक्रोशित बनेको छ । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो देश र जनताका समस्या एकातिर छन्, पार्टीको नाउँमा विभिन्नखाले पसल खोलेर बसेका केही थान नेताहरू भने अँधेरो कोठामा बसेर विज्ञप्ति लेख्दै, छाप्दै रमाउँदै गरिरहेका छन् । देश र जनताको समस्या समाधान गर्न अब केवल विज्ञप्ति होइन, बन्दुक दागेर दमन गर्ने शासनसत्ताका विरुद्ध उसले जस्तै बन्दुकले लड्ने लडाइँ लड्न आवश्यक देखिरहेका छन् माक्र्सवादी युवा कवि बीपी विद्रोही :

तेलको भाउ बढ्नुभन्दा पहिला आउँछ
आन्दोलन घोषणा भएको विज्ञप्ति
को पहिला सडकमा निस्कने
कसको भाषण चर्को
कसको अन्तरवार्ता पेचिलो ?
आजभोलि प्रतिस्पर्धा छ
जति–जति पाटी बढ्छन्
उति–उति आन्दोलन बढ्छ
भाउ र आन्दोलनबीच गहिरो सम्बन्ध छ
फलानो ख्रुस्चेब हो
फलानो लिनप्याओ हो
चिलानो ट्राट्स्की हो
ढिस्कानो च्याङ काइसेक हो
पार्टीपिच्छे लेनिनहरू छन्
पार्टीपिछे छन् माक्र्स र स्टालिनहरू
माओहरू
मजदुरहरू दास बन्नुपरेकोमा
कसैलाई चिन्ता छैन
किसानहरू झुन्डिनुपरेकोमा कसैलाई चासो छैन
दिदीबहिनीहरू लुछिएपछि
फेसबुकमा भाइरल हुन्छ
सञ्जाल र मिडियाले टन्न कमाउनु
न्याय हो
हात्तीको देखाउने र चपाउने दाँतजस्तो बनेको छ क्रान्ति ।
यसरी हुँदैन साथी
एकपटक पुनः उठाउनुपर्ने छ
हामीले झन्डा
एकपटक उठाउनुपर्नेछ
हामीले बन्दुक !

समयले कस्ताकस्ता नौरङ्गी दृश्यहरू बेसरम देखाइरहेको छ भने लिन प्याओहरू नै माओहरूलाई लिन प्याओ भनेर आत्मरति लिइरहेछन् । ट्राट्स्की, ख्रुस्चेब र बुखारिनहरू क्रान्तिका नारा लगाउँदै क्रान्तिकै ब्यानरमा अकूत धनसम्पत्ति जम्मा गरेर नयाँ बादशाह बनिरहेका छन् । तर क्रान्ति सङ्लिँदै गएको छ । समयले किनारामा फालिदिएका कचराहरूले कचकच गर्ने दिन अब सकिँदै गएका छन् ।

केही दिनअघि नुवाकोटमा माइला विक नाउँले चिनिका एक अधबैँसे पुरुषले बिजुलीको हाइटेन्सन तारमा झुन्डिएर दुनियाँलाई तमासा देखाए । उनी घन्टौँसम्म नाङ्गो तारमा आकाशमा झुन्डिँदा सामाजिक सञ्जालहरूमा उनी भाइरल भए । उनका केके समस्या थिए होलान्, आर्थिक, सामाजिक, मानसिक, व्यावहारिक पीडा र बाध्यताहरू थिए होलान् ! उनले आफ्ना गुनासा र समस्या सुनाउने माध्यम नाङ्गो तारलाई बनाए । यो तरिका कति ठीक हो, सत्य के हो त्यो बिस्तारै खुल्दै जाला तर स्रष्टा बीपीले भने उक्त घटनालाई वर्गसमस्यासँग तुलना गरेर राजनीतिक–वैचारिक रूप दिने प्रयास गरेका छन् :

म किन नबहुलाउने ?
मेरो वर्गलाई कहिले सद्दे देख्यौ र ?
मेरो नाम पछाडिको थरलाई कहिले सद्दे सोच्यौ र ?
मेरो भाषालाई कहिले सद्दे भन्यौ र ?
म माइला विक बहुलाएकै हुँ
ममाथि सोच्ने तिम्रो चेतना सद्दे नभएपछि
म बहुलाएको हुँ
मसँग बोल्ने तिम्रो ओठ सद्दे नभएपछि
म बहुलाएको हुँ
मलाई हेर्ने तिम्रा आँखा सद्दे नभएपछि
म बहुलाएको हुँ
मलाई थाहा छ मेरो घरमाथि टाँगिएको खम्बामा
सय मेगावाट बिजुली कुदिरहेको छ
के कसैले छाम्यो मेरो छातीभित्र दौडिरहेको
हजार मेगावटको उत्पीडनको करेन्ट ?
के कसैले देख्यो मेरो आँखामा युगौँदेखि चम्किरहेको
हजार भोल्टको आगो ?
सय फिटमाथि
सय मेगावाट करेन्ट
नाङ्गो हातले समाउने
म माइला विक
बाह्र फिट अग्लो
सय वर्ष पुरानो
तिम्रो जात व्यवस्थाको
रुद्रघण्टी समाउन सक्दिनँ होला ?
खबरदार ?
तिमी माइला विकहरूलाई
थप्दै जाऊ पागलको पगरी
माइला विकहरू बिजुलीको खम्बा मात्रै होइन
एक दिन तिम्रो सत्ताको धुरी चढ्न आइपुग्छन्
माइला विकहरूबाट सुरक्षित छैन तिम्रो सत्ता ।

मानिसलाई सत्ताले नै बहुलाउने बनाउँछ, कविको कुरा सत्य हो । मानिस जब खान पाउँदैन, लगाउन पाउँदैन, मानिसको जस्तो व्यवहार पाउँदैन । सधैँ अभाव, पीडा र ग्लानिमा बाँचेको मानिसको मस्तिष्कको एउटा सानो तन्तु छिन्यो भने ऊ बहुलाउँछ । अभाव, पीडा र भेदभावबीच पनि नबहुलाउनका लागि मान्छे क्रान्तिकारी बन्न सक्नुपर्छ, अझ कम्युनिस्ट बन्नुपर्छ । कम्युनिस्ट बन्ने प्रक्रियामा लागेको मानिस जस्तै अभाव र पीडा पनि छिचोलेर आफ्नो उद्देश्यमा, समाजलाई समानतामूलक, शोषण–उत्पीडनरहित, अन्याय, अत्याचार र विभेदरहित समाज– वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य राखेर अघि बढ्छ । कम्युनिस्ट बन्ने प्रक्रियामा लागेको मानिस त्यो यात्रीजस्तो हुन्छ जो लाखौँ कोस टाढाको यात्राका लागि हिँडेको छ र उसको यात्रा लक्ष्य भेदन गर्दै अघि बढेको छ । धेरै लामो यात्रामा हिँड्नका लागि त्यति नै समयसम्म पुग्ने दर्शन, विचार, राजनीति र कार्यक्रम तय गरेर हिँड्नुपर्ने हुन्छ । छोटो दूरीको यात्रामा जस्तो सामान्य खजाना बोकेर हिँडेको मानिसलाई समाजले छिट्टै माइला विक बनाइदिन्छ । कुनै मानिसलाई पागल घोषणा गरिदिएपछि समाजले आफूलाई केके न ठूलो ठान्छ । अरूलाई पागल बनाएर, होच्याएर, दमन गरेर आनन्दित हुन बानी परेको पुरातन चेतनाले नै हो माइला विकहरूलाई पागल घोषणा गर्ने । मानिसमा पागलपन आउँदै आउँदैन भन्ने होइन तर विशुद्ध एउटा पागल ११ घन्टासम्म आकाशमा तारको लट्ठामा झुन्डिएर कसरी बस्न सक्छ ? पागलपन हुनु र पागल हुनु फरक कुरा हुन् । कोही जानेर पागल हुन खोज्दैन । श्रमिक वर्गलाई पागल त सत्ताले नै बनाउँछ । मानिसलाई पागल बनाउने सत्तालाई जरैदेखि उखेल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :