नेकपा (बहुमत) कैलालीले प्रधानमन्त्रीलाई बुझायो ६ बुँदे ज्ञापनपत्र

नेकपा (बहुमत) कैलालीले प्रधानमन्त्रीलाई बुझायो ६ बुँदे ज्ञापनपत्र

कैलाली : नेकपा (बहुमत) कैलालीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ ।

पार्टीले सरकारलाई पेट्रोलियम पदार्थलगायत सबै उपभोग्य वस्तुको तुरुन्त मूल्य घटाउन, जिल्लामा दूधजन्य, मासुजन्य, पशुपालन, माछा, कुखुरा, तरकारी, केरालगायत कृषि उपज उत्पादनका क्षेत्रमा बजार व्यवस्थापन गर्न, सिँचाइ, बिउ, मल र प्राविधिकहरूको समुचित व्यवस्थापन गर्नुका साथै कृषि बजारभित्रका बिचौलियाहरूको आतङ्कलाई निर्मूल पार्न, सरकारी स्वामित्वमा रहेका सार्वजनिक महत्वका स्थानहरूमा हुँदै आएको भूमाफियाको अनुचित चलखेललाई पूर्ण रूपमा नियन्त्रण गर्न माग गरेको छ ।

इन्चार्ज शेरबहादुर देउवा ‘शिखर’ र संयोजक प्रकाश रावल ‘अनमोल’ को हस्ताक्षर रहेको ज्ञापनपत्रमा महिला तथा बालबालिकामाथि बढ्दै गएको बालश्रम शोषण, घरेलु हिंसा, अपहरण, बलात्कार, हत्याजस्ता जघन्य अपराधका घटनालाई विभिन्न तरिकाले प्रभावित पार्ने प्रवृत्ति अन्त्य गर्न, यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिँदा यातायात ढुवानी, औद्योगिक तथा कृषि उत्पादन, स्वास्थ्य र शिक्षामा पनि खर्च बढेकाले वृद्धि गरिएको मूल्य घटाउन माग गरिएको छ ।

नेकपा (बहुमत) कैलालीले पार्टीले अघि सारेका जायज, न्यायपूर्ण, जनताका जीवनव्यवहारसँग सीधा सरोकार राख्ने विषयमा समयमै ध्यान आकृष्ट नभएमा जनतालाई आफ्नो नैसर्गिक र संवैधानिक अधिकारका लागि सङ्घर्षको कष्टसाध्य बाटो हिँड्नुपर्ने बाध्यात्मक वातावरण अन्त्य गर्न पनि सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :