सपना मुर्दा बनाउने बगरेहरूबाट सावधान !

सपना मुर्दा बनाउने बगरेहरूबाट सावधान !

समय समीक्षा

पश्चिम नेपालबाट अत्यन्त नमिठो र हृदयभेदी समाचार आएको छ, जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड गरिएको छ ! जीवित हुँदा पनि दलित भनेर जिउँदै मार्ने विवेकशून्य पुरातन चेतनाले देश र जनतामाथिको विभेदको अन्त्यका लागि बलिदान गर्दा पनि इवि साधिरहेको छ सेतु विकहरुको सालिकमाथि । यस्तो बर्बर, क्रूर र अमानवीयताका लागि यो अश्लील, भद्दा र दलाल पुँजीवाद दोषी छ । यो नग्न पुँजीवादलाई लिपपोत गरेर कथित प्रजातन्त्र भनाउनेहरू दोषी छन् र दोषी चेतनाको बलमा टिकेको सामन्ती–पुँजीवादी पागलपन दोषी छ । एकातिर नवराज विकहरू जिउँदै मारिएका छन् कथित उच्च जातकी महिलासँग प्रेम गरेको निहुँमा, अर्कातिर सेतु विकहरूको सालिकले बलिदानपछि पनि ‘चैनको अनुभूति’ गर्न पाएको छैन । यो आजको तीतो यथार्थ हो । पुँजीवादले न्यायका पक्षपातीहरुमाथि जीवन रहँदासम्म मात्र होइन, भौतिक अस्तित्व नरहँदा पनि आक्रमण गरिरहन्छ । सायद यही र यस्तै सन्दर्भलाई लिएर कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र जारी गर्दा नै भनेका थिए– युरोपमा कम्युनिस्टको भूत सल्बलाइरहेको छ । मृत्युको मुखमा पुगिसकेको पुँजीवाद क्रान्तिकारी विचारबाट मात्र होइन, क्रान्तिकारीहरुका सालिकबाट पनि तर्सिरहेको छ र क्रान्तिकारी अस्तित्वमाथि ढुङ्गा बर्साउन प्रायोजन गरिरहेको छ ।

लेखक : अशोक सुवेदी

सेतु विकहरू अर्थात् न्यायका पक्षमा जीवन अर्पिएका पददलितहरु मृत्युपछि, बलिदानपछि पनि समाजमा, चोकमा, अस्तित्वमा रहनु हुँदैन भन्ने पाखण्डले यतिबेला पनि शासन गरिरहेको छ । यो सेतु विकमाथि मात्र होइन, युगमाथिकै बज्रप्रहार हो । यो पाखण्डलाई मलजल गर्ने, हुर्काउने, टिकाउने प्रणालीप्रति क्रान्तिकारीहरू आक्रोश व्यक्त गरिरहेका छन् । दलाल पुँजीवादीहरू कथित चुनावबाट आततायी सत्ता र आफ्नो निष्कण्टक भविष्य टिकेको भ्रममा मख्ख छन् तर स्रष्टा अग्निराज पौडेल ‘अराप’ भने यो आततायी सत्ता टिकाउने कथित निर्वाचनको भण्डाफोर गरिरहेका छन् :

रङ्गीविरङ्गी सपना
आश्वासनका पोका
मासुभात र रक्सीको सगुनले
लठ्याएर
फेरि सौदागरहरू
उधारो सौदाबाजीमा
मुन्टो झुकाएर
झन्डा उठाएर
दुवै हात जोडी
भीक्षान्देहीको शैलीमा
पाँचबर्से जागिर पक्का गराउन
तपाईं/हाम्रो घरआँगनमा
नयाँ–पुराना अनुहार
नन्दीभृङ्गी अघिपछि लगाएर
ठूलाठूला बाचा गर्दै
सिनोवरिपरि
झिँगा भन्केजस्तै
फन्को मार्दैछन् फेरि पनि !

दलाल शासक र तिनका मतियार दलहरूका लागि मानौँ जनता सिनो हो र हरेक पाँच वर्षमा गिद्दहरू सिनो लुछ्न विभिन्न असम्भव वाचाकसम खाँदै झुम्मिएका छन् । दलालहरूको जात्रा नसकिँदै अचाक्ली महँगी बढाएर जनतालाई थला पारिएको छ भने अत्याचारको मारमा पिल्सिएका जनताको कोमल चेतनामाथि लाठी र कोर्रा बर्साउँदै नवराज विकहरूको हत्याको दुई वर्षपछि फेरि सेतु विकहरूको सालिकमाथि बर्बर शैलीले पत्थर हिर्काइएको छ । केवल सेतु विकको सालिक फुटाइएको छैन, शोषण, दमन, अन्याय, अत्याचार र विभेदबाट मुक्ति प्राप्तिका लागि दस वर्षसम्म भएको जनयुद्ध र जनयुद्धको बल र जगमा सडक–आन्दोलनका रूपमा अभिव्यक्त सीमान्तकृत, पददलित जनताको सपना र परिवर्तनकारी चेतनामाथि हम्मर बजारिएको छ । शोषण र विभेदको जगमा टिकेको पुँजीवादको चरित्र नै यस्तै हो ।

कवि अग्निराज पौडेल ‘अराप’ ले यस्तो अराजक भीड जन्माउने चुनावी प्रक्रिया र व्यवस्थालाई चित्रण गर्दै लेखेका छन् :

गर्छु भनेको केही गर्दैन
गर्दिनँ भनेको दोहोर्याइरहन्छ
साधुलाई शूली चढाउँछ
चोरलाई चौतारो सुम्पन्छ
विदेशीका पाउमा लम्पसार परेर
राज्यको ढुकुटीमा दाइँ गर्छ
परिवर्तनको संवाहक ठानेको
मेरो अमूल्य मत
भ्रष्टाचार र राष्ट्रघातको
मतियार बनिरहेको छ
तर पनि म मौन छु
खाली पेट, नाङ्गो शरीर लिएर
नारा लगाइरहेको छु
अनि
आफ्नो अमूल्य मत बेचिरहेको छु
उही पुरानो भीडमा मिसिएर…

स्रष्टा अरापले सचेत जनतालाई अब चेतनाहीन भीड र मुशण्डहरूको पङ्क्तिबाट अलग भएर यो दासता र बर्बरताका विरुद्ध जारी क्रान्तिको अग्रपङ्क्तिमा लामबद्ध हुन पनि आह्वान गरेका छन् ।

एकातिर श्वेतसत्ताले हजारौँ–लाखौँ नवराज विकहरूलाई जिउँदै भेरीमा बगाइरहेको छ, युवाहरूलाई अर्धमृत बनाएर अरबका खाडीहरूमा धकेलेर लास बनाएर फिर्ता ल्याइरहेको छ भने यो खराब अवस्थाबाट मुक्ति पाउने आशामा क्रान्तिमार्गमा लामबद्ध बनेका योद्धाहरूको सपना, रगत र पसिना निचोरेर कयौँ ठगहरू भव्य महल बनाइरहेका छन् र क्रान्ति सम्भव छैन भन्दै बत्तुराइरहेका छन् ।

विपन्न वर्गको मुक्तिका सपना बेचेर आफ्ना सन्तान–दरसन्तानलाई सुखी बनाउने स्वप्नहन्ताका कुटिल कर्महरूबाट स्रष्टा वीरेन्द्र शाहको हृदय छियाछिया बनेको छ । बारम्बार अगुवाहरूले क्रान्तिमार्गमा धोका दिएपछि स्रष्टाको आहत हृदयले भनिरहेछ :

आफूभन्दा बढी
अरूमाथि गर्नु हुन्न रहेछ विश्वास
विश्वासघातको बज्रपातले
विक्षिप्त हुने गरी !
अन्तिम गन्तव्यको टुङ्गो नलाग्दै
सुरुआत गर्नु हुन्न रहेछ यात्रा
बीच बाटोमै अलपत्र पर्ने गरी !
भत्केको घरको पुरानै जगमा
ठड्याउनु हुन्न रहेछ
रङ्गीचङ्गी महल
एउटा सानो भूकम्पको धक्काले
गल्र्यामगुर्लुम ढल्ने गरी !
आऊ साथी
चकनाचुर नहुने गरी
सपनाहरू स्पातिलो बनाऔँ
नकाँप्ने र नडग्मगाउने
मजबुत तिघ्राहरू बनाऔँ
अरूले दिएको धोखामा विक्षिप्त नहुने गरी
आफैँमाथि विश्वास गरी अघि बढौँ
नअल्मलिने गरी
अघि बढ्ने गन्तव्यको
स्पष्ट रूपरेखा कोरौँ
हरेक भूकम्पका धक्काहरूलाई नै
उल्टै धक्का दिने बलियो र नयाँ जग हालौँ
फेरि
रातो झन्डा उचाल्दै
क्रान्तिको नयाँ बाटोमा अघि बढौँ !!

स्रष्टा वीरेन्द्रले सानो चोटले यो हिम्मत जुराएका होइनन् । दस हजार योद्धासहित झन्डै १७ हजार नेपालीको रगत बग्ने गरी नेपाली भूमिबाट वसन्ते गर्जन सुरु गरेको महान् जनयुद्धका नायक भनिएका प्रचण्ड–बाबुरामहरूले दसबर्से जनयुद्धको त्याग, शौर्य र बलिदानमाथि भुत्भुते खन्याएपछि सहिदका सपना पूरा गर्ने प्रतिबद्धता गर्दै मोहन वैद्यसहितका नेताहरूले विद्रोह गर्दै गठन गरेको नेकपा (माओवादी) पनि सुस्तायो वा क्रान्तिको पहल गरेन भनेर जोडतोडका साथ विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन गरिएको थियो २०७१ सालमा । क्रान्तिको नयाँ र विकसित कार्यदिशाका नाउँमा एकीकृत जनक्रान्तिको घोषणा गरएको थियो र १२ जना योद्धाले एकीकृत जनक्रान्तिका नाउँमा बलिदानसमेत गरिसकेपछि विप्लव पनि केही लोभीपापीहरू लिएर बदनाम र बासी उही प्रचण्डपथ समात्न पुगे । विप्लवलाई आँखा च्म्लििएर विश्वास गरिएको तर उनी पनि प्रचण्ड–बाबुरामले झैँ क्रान्ति र बलिदानलाई धोका दिँदै दलाल संसद्वादमा छिरेको आक्रोश, आवेगपछि विवेक समालेर कञ्चन–सुदर्शनको नेतृत्वमा नयाँ क्रान्तिको पुनर्गठन गर्नुपरेको÷गरिएको सन्दर्भ स्रष्टा वीरेन्द्रले आफ्नो सिर्जनाका माध्यमबाट कलात्मक शैलीले प्रस्तुत गरेका छन् । ‘श्रमिक दिवसको शुभकामना’ शीर्षक अर्को सिर्जनामा कपटी र धोकेबाजरूप्रति व्यङ्ग्य गर्दै उनी भन्छन् :

मजदुर मुक्तिको सपना बाँडेर
मजदुरको रगत र पसिनाबाट
जन्मेको सपना लुटेर
सरकार र सत्ताको मालिक भएर
तिनै मजदुरको झुपडीमा आगो लगाउनेलाई
श्रमिक दिवसको शुभकामना !
झुपडीवालहरूका लागि
लड्छु भन्ने कमरेडहरूलाई पनि
जो रातारात कमाउरेड भए
महल, मदिरा र महफिलमा रमाए
आज सत्ता, शक्ति उनैको छ
उनै छन् बलशाली
भनीकन कहाँ साध्य छ र हजूर !
सबै–सबै उनैको छ
केही नभएको त मजदुरसँग मात्र हो !
शुभकामना उनलाई पनि
जो हिजो मजदुरलाई
महलको मालिक बनाउँछु भन्थे
आज उसलाई एउटा
चुहिने झुपडीको हकदार बन्न दिएनन्
त्यति मात्रै कहाँ हो र
उसलाई
आफ्नै एक त्यान्द्रो
सपनाको मालिक पनि बन्न दिएनन् !
अलपत्र क्रान्तिका
अनगिन्ती विक्षिप्त सपनाहरूमाथि ठडिएको
नेता महोदयज्यूको
एका सहरमा रहेको
सिसमहलको माथिल्लो तलाबाट ….
हामी बगेका, डुबेका, भासिएका र
उजाडिएका मजदुरहरूलाई दिनुभएको
श्रमिक दिवसको शुभकामना बहिष्कार गर्दै
अलपत्र क्रान्तिका अनगिन्ती
विक्षिप्त सपनाहरू जीवित राख्दै
रातो झन्डा र रगतले
फेरि पनि रङ्गिन तयार
तिनै मजदुरका झुपडीहरूबाट…

दुःखी, गरिब, सर्वहाराका लागि क्रान्तिको नाउँ बेच्दै धन थुपार्ने र विभिन्न बहाना बनाएर क्रान्तिकर्मबाटै भाग्ने प्रवृत्तिविरुद्ध स्रष्टाहरूमा आक्रोश र आवेग चुलिएको मौसम हो यो । यद्यपि श्रमिक जनताले यसलाई नियतिका रूपमा लामो समयदेखि बेहोर्दै आएका छन् । नेपाल, भारत, चीन, रुस र अन्यत्र पनि कम्युनिस्टको नाउँ लिएर श्रमिकविरुद्ध दलाल वर्गसँग मितेरी गाँस्ने प्रपञ्च र षड्यन्त्रहरू नकारात्मक विरासतका रूपमा दोहोरिँदै आएका छन् । क्रान्तिकारीहरूले बारम्बार दलालहरूले भुइँमा फ्याँकेको झन्डा उठाएँदै क्रान्ति अघि बढाएकैले जनतालाई हात लग्यो शून्यसम्म हुनुपरेको छैन यद्यपि दलाल पुँजीपति वर्गले सीमित गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता पनि कब्जा गरेको छ । श्रमिक जनता निरन्तर त्याग र बलिदान गर्ने तर सत्तामा निरन्तर दलाल वर्ग हाबी हुने भएपछि आवेग बढ्ने कुरा स्वाभाविक मात्र होइन, अपरिहार्य नै हो ।

दलाल पुँजीवादी राज्यसत्ताले अन्य क्षेत्रझैँ शिक्षा पनि घोषित रूपमै दुई वर्गका लागि बेग्लाबेग्लै बनाइदिएको छ । श्रमिक जनताले दुःख गरीगरी, ऋणपान गरीगरी, सकीनसकी, खाईनखाई आफ्ना सन्ततिलाई केही शिक्षा दिलाउँछ तर त्यो शिक्षाले आफ्नो जीवनमा केही काम गर्दैन । मुलुकलाई शैक्षिक बेरोजगार र विदेशीहरूका लागि अदक्ष र सस्ता कामदार उत्पादन गर्ने कमसल कारखानामा परिणत गरिएको छ । श्रमिक जनतालाई जीवन जिउनकै लागि धौधौ बनाइदिएर र अन्यत्रै भुलाइदिएर शासकहरू सत्ताको तर मारिरहेका छन् । स्रष्टाहरूको हृदय यस विषयमा झन् धेरै गहिरोसँग फाटेको देखिन्छ । ‘तेरो पढाइले के गर्यो’ शीर्षक कवितामा रसुवाली कवि भन्छन् :

बूढा भए हजुरबुबा
बेरोजगार नाती
सहरमा भोकै हिँड्छ
चार हिउँद बितिसक्यो
आमाले फरिया किन्न नसकेको
भाइ स्कुल भर्ना गर्न धौधौ छ घरमा
बालाई असारे रोपाइँ गर्दागर्दै
टाइफाइड भयो
धन्न उधारो उपचार गर्यो मेडिकलको साहूले
सहरमा
निभ्दै गरेको टुकीजस्तो अनुहार बोकेर
बाँच्छ एउटा बेरोजगार
महँगीविरुद्धको
हरेक आन्दोलनमा धाउँदाधाउँदै
फाटिसक्यो रत्नपार्कमा किनेको जुत्ता
सुकिसक्यो भिटामिन डी कमी भएको स्वर
एउटा प्रश्न जीवित छ–
तेरो पढाइले गर्यो ?

पहिलो कुरा त पढ्नै नसक्ने, जसोतसो पढ्न सके पनि दोस्रो दर्जाको शिक्षा पढ्न सक्ने, त्यही पनि भनेको विषय पढ्न नपाउने, कसैगरी पढिहाले पनि सत्तामा आफ्नो कोही नहुँदा शैक्षिक प्रमाणपत्रहरू यतैकतै फ्यालेर कामको खोजीमा मुग्लानिनुपर्ने र बाकसमा लास बनेर फर्किनुपर्ने समस्या सानो र कमजोर होइन, प्रायः सबै विपन्न परिवारले भोगेको जीवन्त र ज्वलन्त प्रश्न हो । यही समस्या समाधान गर्ने भनेर कम्युनिस्टहरू जनवादी, वैज्ञानिक अनिवार्य शिक्षाको नारा लगाउँदै आन्दोलन उठाउने र अलि शक्ति जम्मा भएपछि सत्तासीन दलाल वर्गतिरै, पुरानु व्यवस्थातिरै दगुर्ने रोगले सताएको छ । त्यसैले माक्र्सवादी स्रष्टाहरूले आवाजविहीन, बेरोजगारहरूका आवाज सिर्जनाका माध्यमबाट उठाउने गरेका छन् । यिनै आवाजहरू एक दिन जनदबाब, जनआन्दोलन, जनसङ्घर्ष हुँदै सशस्त्र सङ्घर्ष, जनयुद्धमा रूपान्तरित हुन्छन् र पुरानो सत्ता धर्खराउँदै ढल्छ । त्यही भग्नावशेषमा उभिन्छ वैज्ञानिक समाजवाद ।

पुरानो सत्ता ढाल्न भनेर हिँडेका केही पात्र र प्रवृत्तिहरूले अत्यन्त भद्दा प्रहसन गरेकाले स्रष्टाहरू तिनलाई दुत्कार्दै नयाँ आन्दोलन उठाउने सल्लाह दिइरहेका छन् । धोकेबाजहरूले जनतालाई धोका दिए पनि क्रान्तिकारीहरूले नम्र र विनयी भएर अघि बढ्नुपर्ने स्रष्टा ढुण्डीराज अधिकारीको सुझाव छ । ‘हामीले त क्रान्तिकारी भई देखाउनु छ’ शीर्षक कवितामा उनी भन्छन् :

देशभक्तिको गीत गाऊँ, नगाऊँ स्तुतिगान
सम्मान पाउन अरूलाई दिनुपर्छ सम्मान
देशकै सन्तान बन्नुपर्छ टोले बन्नु हुन्न
क्रान्तिकारी योद्धा बनौँ झोले बन्नु हुन्न
देशका लागि लड्नेहरू पत्ती–तास हैन
बन्नुपर्छ बहादुर–वीर कसैको दास हैन
कहीँ पनि धन–पैसामा फ्याट्ट बिक्नु हुन्न
टेकिएका दह्रा पाइला फुत्त झिक्नु हुन्न
जनताका सेवक बनौँ हामी क्रान्तिकारी
बोक्नुपर्छ जनताले बोकाएको भारी
जनताको घर–दैलो जाऊँ सबै अहम् त्यागी
भन्नुपर्छ लडेका छौँ श्रमिककै लागि
हाम्रो पहिचान नम्रता हो नम्र बनौँ जहिले
घमण्डले मात्तिएर हिँड्नु हुन्न कहिले
मन्द मुस्कान मीठो वचन बोली बोल्नुपर्छ
अशक्त र निमुखासँग नाता जोड्नुपर्छ
हाम्रो लक्ष्य वर्गविहीन समाज निर्माण गर्नु
दुःखी रोगी दुखियारीको दुःख हरण गर्नु
जनघाती, देशघातीलाई हामीले छान्नुपर्छ
द्रव्यपिशाच सूदखोरलाई छड्के हान्नुपर्छ ।

यो हैरानीबाट मुक्ति पाउन श्रमिक वर्गले दलाल पुँजीवादसितको लडाइँ जित्नैपर्छ । यसअघि जित्नै लागेको लडाइँ नेतृत्वले गद्दारी गरेका कारण धोका भयो । मुख्य नेतृत्व नै लडाइँको मैदान छोडेर भागेपछि यो विषम परिस्थिति उत्पन्न भएको हो । प्रत्येक प्रतिकूलतालाई अनुकूलतामा बदल्नु क्रान्तिकारीहरूको सबैभन्दा ठूलो शक्ति र कला हो । यो शक्ति इमानदारहरूले मात्र प्राप्त गर्न र प्रयोग गर्न सक्छन् । आन्दोलनमा घुसेका स्वार्थी, लम्पट र कायरहरूका लागि क्रान्ति र विजय गर्ने होइन, भन्ने कुरा मात्र हुन्छन् । देश र जनताको कुरा उठाएर केही शक्ति र धन लाभ भएपछि आन्दोलनबाटै कायर भएर भाग्नेहरू त इतिहासका कलङ्क मात्र हुन् । तिनलाई जनताले रगत बगाएर निर्माण गरेको गौरवशाली इतिहासको नाउँ लिने अधिकार पनि हुँदैन ।

सङ्घर्ष जित्नका लागि शत्रु पहिचान हुनुपर्छ । श्रमिक वर्गको मुख्य शत्रु पुँजीवाद, साम्राज्यवाद र संसद्वादी संशोधनवाद हुन् । ‘अनि पो जितिन्छ लडाइँ’ शीर्षक कवितामा कवि बीपी विद्रोहीले क्रान्तिकारीहरूमा यसरी जाँगर भर्ने प्रयास गरेका छन् :

हामीमाथि लाद्ने अत्याचारको यात्री बोकेर
साँढे पाँच गियरमा हुइँकिरहेको
दलाल सत्ताको गाडीलाई
सुनसान जङ्गलमा रोकेर
बुझाइदिऊँ जनसेनाको डिभिजनलाई
अनि पो जितिन्छ लडाइँ ।
पुरानो सत्ताले
क्रान्तिकारीहरूका विरुद्ध कस्तोखाले लेख्दैछ
षड्यन्त्रको दस्ताबेज
चियो त्यता गरौँ ।
हिन्दप्रशान्त सागर भएर
हाम्रो माटोमा छिर्न चाहिरहेको साम्राज्यवादलाई
कोलकाता बन्दरगाहमै रोकौँ
समुद्रमा एम्बुस थापौँ
अनि पो जितिन्छ लडाइँ ।
विश्वशान्तिको खोल ओढेर
झ्यालबाट छिर्न लागेको धार्मिक अतिवादलाई
भन्टाबारीबाटै फर्काइदिऊँ
अनि पो जितिन्छ लडाइँ ।
एउटा कमरेडले अर्को कमरेडको जरो खनेर
अर्को कमरेडले अर्को कमरेडको हाँगो लाछेर
कसरी जितिन्छ लडाइँ ?
हाम्रो रुद्रघण्टीबाट
पल्मनरी धमनी र शिरा हुँदै
हाम्रो मस्तिष्कसम्म पुग्न चाहिरहेको पुँजीवादलाई
नाकको डाँडीमै रोकौँ
अनि पो जितिन्छ लडाइँ ।
कमरेड,
पुँजीवाद हाम्रो आँगनमा नाङ्गै नाचिरहेको याम
हाम्रो काम धेरै छ
सचेत बनौँ
जिम्मेवार बनौँ
पुँजीवादविरुद्ध लडौँ ।

लड्नुपर्ने पुँजीवादका विरुद्ध हो श्रमिकहरूले तर केही कुम्ल्याएर भागेकाहरू क्रान्तिकारीहरूमाथि पो खनिइरहेका छन् । क्रान्तिका नाउँमा जनताको रगतपसिना खर्चेर प्राप्त गरिएको रकम एक ठाउँमा थुपारेर दलाल पुँजीवादको सेवक बन्ने नयाँ–पुरानो ‘डोजर’ र धुन्धुकारी प्रवृत्ति नेपालको क्रान्तिकारी आन्दोलनभित्र ऐँजेरुका रूपमा हिजोदेखि नै भित्रिँदै आएको हो धानमा मिसिएको घाँस ‘सामा’ जस्तै । खेतमा बाला नपसाउन्जेल धान हो कि सामा हो, चिन्न नसकिने, बाला लाग्ने बेलासम्म गाँज हालेर मुख्य बालीलाई नोक्सान पारिसक्ने यो छद्मभेषी झारलाई निमिट्यान्न पार्न पनि क्रान्तिको आँधी सृष्टि गर्नैपर्छ । क्रान्तिको डढेलोले नै यो ऐँजेरु वा सामा प्रवृत्तिको अन्त्य भएर नेपालीको मुहार फेर्न सक्छ । नेपाल आमाको कोख क्रान्तिकारी शिशु जन्माउन अभ्यस्त छ । यस अङ्कको समय समीक्षाको अन्त्यमा आफ्नै एउटा कविताको अंश पस्किँदै बिदा माग्छु :

किन धमाधम मुर्दा जन्माइरहेछ समय ?
गर्भाधान त लालशिशुकै लागि गरेकी थिइन् क्रान्तिआमाले
कुन दुष्टले ठक्कर दियो फेरि पेटमा
र जन्माइन् मुर्दा ?
देशभक्त, क्रान्तिकारी योद्धा जन्माउने
मेरी आमाको सुपरिचित कोख
मुर्दा जन्माउनै सक्तैन ।…
बतासको एउटा सानै झोक्काले
उति पर हुत्याइदियो उसलाई रछ्यानमा ।
पहाड नै ढाक्थ्यो उसको गर्जन हिजो
आज मुसाको जत्ति पनि निस्किँदैन आवाज
अजङ्गको पहाड थियो ऊ
आज एउटा पत्करले छोपिदिएको छ उसलाई
कसरी गरूँ विश्वास ?
एउटा अजङ्गको पहाड बन्दै गरेको
मेरो आस्थाको चौथो ‘महानायक’ पनि
पानीले रुझेर मरेको मुसोझैँ
पुरिएको छ नितान्त केही पत्करमा !
दुष्ट सत्ताले गल्ली बढारेर थुपारेको
दुर्गन्धित चुनावी पत्करमा !
किन यति छिट्टै फिर्ता भयो ऊ
जनक्रान्तिको मैदानबाट
किन अपत्यारिलो ढङ्गले बत्तेतोड भाग्यो ऊ !
अंशमा कुलोमाथिको बारी परेकैले
कम्युनिस्ट बनिटोपलेको दोस्रो छविलाल बन्यो ऊ
२÷४ घर, केही पैसा र सौ–पचास बिघा जमिनको लोभी
चुत्थो, ढँटुवारे जमिनदार पो निस्कियो ऊ
छरपस्ट सडकबाट जम्मा पारिएका
ज्यूँदा सपनाहरूको हत्यारो रहेछ ऊ
गेरुवस्त्रे बगरेहरूको भीडमा
श्वेतवस्त्रे बगरे जन्मियो ऊ
बगरेहरूबाट सावधान !
स्वप्नहन्ताहरूबाट सावधान !
सपना–मुर्दा बनाउने
मुर्दाहरूबाट सावधान !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :