विप्लवलाई एकीकृत जनक्रान्ति भनेकै थाहा छैन : कञ्चन

‘उनीहरूले हामी सधैँभरि यो व्यवस्थाको सेवा गर्छौं भनेर सरकारसँग ल्याप्चे लगाएका छन्’

महोत्तरी : नेकपा (बहुमत) मधेस ब्युरोको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न भएको छ । महोत्तरीको बर्दिबास ८ डिपुटोलस्थित शिशु आधारभूत विद्यालयमा शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा मधेस ब्युरोअन्तर्गत रहेका जिल्लाका उल्लेखनीय सङ्ख्यामा जिल्ला समिति सदखस्यहरू सहभागी थिए ।

उपस्थित जिल्ला समिति सदस्यहरूलाई प्रशिक्षण दिँदै नेकपा (बहुमत) का संयोजक कञ्चनले विप्लवको दिमागमा निम्नपुँजीवादी रुमानीवाद रहेको र उनले सरकारको कोठाभित्र ल्याप्चे लगाएर म सधैँभरि यो व्यवस्थाको सेवा गर्छु भनी स्वीकार गरेको बताए । विप्लवलाई एकीकृत जनक्रान्ति भनेको के हो भन्ने नै थाहा नभएको पनि उनले बताए ।

प्रशिक्षण दिँदै संयोजक कञ्चनले भने, ‘विप्लवले बाहिरबाहिर संसदीय व्यवस्था मान्दिनँ भनेर देश, जनता र वर्गलाई झुक्याएर छन् । वास्तवमा प्रचण्ड, केपी ओली, शेरबहादुर देउवा र पछिल्लोक्रममा विप्लवहरूलाई संसदीय व्यवस्था मान्दैनौँ भन्ने नैतिकता छैन ।’

कञ्चनले अगाडि भने, ‘केन्द्रीय समितिका जम्मा १२ जना सदस्यको चुनावलाई प्रयोग गर्ने मत लिएर विप्लव संसदीय व्यवस्थामा गए । केन्द्रीय समितिका ४५ जनाले चुनावमा जानु हुँदैन भनेका थिए ।’

संयोजक कञ्चनले अगाडि भने, ‘अहिले तत्काल स्वाधीन संयुक्त सरकारका लागि सङ्घर्ष गर्ने कार्यनीति बनाएका छौँ । स्वाधीन संयुक्त सरकारमा पुग्नका लागि संसदीय व्यवस्थाको अन्त्य हुनु पर्दछ । राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण, शान्ति, समृद्धि, जमिनमाथि सबैको अधिकार हुनुपर्दछ । अहिले जसले सबैभन्दा धेरै पैसा दिन्छ उही प्रधानन्यायाधीशको उम्मेदवार बन्छ । यसरी आएको मानिसले जनताका पक्षमा सही न्याय दिन सक्छ ? त्यसैगरी नेपालका निजी अस्पताल बधशालामा परिणत भएका छन् । समाज वा व्यवस्था राम्रो छ भने मात्र मानिस राम्रो हुन्छ । त्यसैले यो व्यवस्था बदल्नु पहिलो सर्त हो । बहुमत भनेको कुनै पनि दाग नलागेको विचारको सर्वश्रेष्ठता हो । अहिले नेपाली जनतालाई प्यालिस्टिनी बनाउने खतरा छ । नेपालमा कम्युनिस्ट पार्टी बटमलाइनमा आएको छ । अब जुटको सुरुआत भएको छ । विप्लवजीको कार्यदिशामा न प्रवेश थियो, न त निकास छ । विप्लवलाई नै एकीकृत जनक्रान्ति भनेको के हो थाहा छैन ।’

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले पार्टी नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै भने, ‘नेपाली जनतालाई २००७ सालदेखि धोका भएको छ । प्रचण्डले जनयुद्धमा धोका दिए । त्यही धोका दिए भनेर मोहन वैद्यसहित विद्रोह गरेका थियौँ । त्यसपछि किरणले सकेनन् भनेर विद्रोह गरियो । २०७१ साल मङ्सिर ८ गते विद्रोह गरेर नेकपा बनेको थियो ।’

नेता सुदर्शनले अगाडि भने, ‘यसबीचमा क्रान्तिको तयारी गर्न भनेर विप्लवको नेतृत्वमा ८ वर्षसम्म विभिन्न खालका सङ्घर्ष गरिएको थियो । यसक्रममा भएको सङ्घर्षका क्रममा १२ जना सहिद भए । अहिले आएर उनीहरू संसदीय व्यवस्थामा फर्किए । आठौँ महाधिवेशनले पारित गरेको पार्टी सजातीय विपरीतहरूको एकत्व भन्नेलाई पार्टी प्रकाण्डको विरोध गर्नेहरूलाई कारबाही गर्ने हतियार बनाइयो । विप्लवहरूले फेसबुकबाट कारबाही गरेको हल्ला गरे । भेषराज भुसाल, खम्ब बीसी (एटम), चूडामणि ओली (आदर्श), धीरेन्द्रा उपाध्याय, शशी दनुवारलगायत केन्द्रीय सदस्यहरूलाई पार्टी नीति र निर्णयविपरीत चुनावमा उठाइयो । भेषराज भुसाल, धीरेन्द्रा उपाध्याय र शशीको त जमानत नै जफत भयो । चूडामणि ओली र खम्ब बीसी पनि नराम्रोसँग हारे । विप्लवहरू नाङ्गो रूपमा संसदीय संशोधनवादी हुन् ।’

नेता सुदर्शनले भने, ‘हिजो पार्टीमा विप्लवहरूले सङ्गठनमा निषेधात्मक अधिभूतवाद लागू गरे । चित्त नबुझे गैहाल भन्नुको कारण यही हो । खारा कारबाही भएपछि प्रचण्ड डराएका थिए । त्यसैगरी विप्लवलाई सशस्त्रले घेराउ गरेपछि डराएर ३ बुँदे गरे । मर्न डराउने त प्रचण्डहरू नै थिए नि । पछिल्लो क्रममा विप्लव पनि मर्न डराए । सङ्घर्षका दृष्टिकोणले आत्मसमर्पणवादी बने ।’

नेता सुदर्शनले अगाडि भने, ‘हामीले विप्लवजीहरूका ५ वटा कमजोरी रहेको भनेका छौँ । दलाल पुँजीवाद भनेको महोत्तरीमा फलाएको जैविक (अर्गानिक) काँक्रो विदेशीलाई सस्तोमा बेच्ने र विदेशमा फलाइएको सुई लगाएको इनअर्गानिक (अजैविक) काँक्रो महँगोमा किनेर खाने हो । यसलाई ऐँजेरु पुँजीवाद पनि भनिन्छ ।’

नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य गुणराजले प्रशक्षिण दिँदै भने, ‘विप्लवले प्रशिक्षणमा पार्टीले २ सय बिघा जग्गा किनेको, ६ वटा घर बनाएको भन्दै हिँडेका रहेछन् । यत्रो सम्पत्ति जोड्ने पैसा कहाँबाट आयो ? यसबाटै थाहा हुन्छ हिजो बम पड्काउन लगाएर कमाएको पैसाले उनीहरूले के गरेका रहेछन् ?’

नेता गुणराजले अगाडि भने, ‘१२ जना साथीहरूको रगतको मूल्य उनीहरूले के गरेका रहेछन् ? केमा लगाएका रहेछन् ? यसले पनि उनीहरूको अवस्थाबारे जानकारी हुन्छ । वैज्ञानिक समाजवाद स्थापना गर्ने भनेर एकीकृत जनक्रान्तिका नाममा भएको सङ्घर्षको उपलब्धिलाई संसद्वादी संशोधनवादको दलदलमा फसाइयो । यो कुरा बुझेर जनताले चुनावमा भोट नदिएर जमानत नै जफत गराएर ठूलो कारबाही गरेका छन् ।’

प्रशिक्षणमा सहभागी पार्टीनेता–कार्यकर्तालाई स्वागत गर्दै महाधिवेशन आयोजक समितिका सदस्य गौरीनारायण मण्डलले मधेस आन्दोलन भइरहे पनि आन्दोलनबाट कुनै समस्या समाधान नभएको बताए । केवल जुधाउने काम भएको, धर्मका नाममा, मन्दिरका नाममा जग्गा कब्जा गर्ने काम भएको पनि उनले बताए । उनले भने, ‘यहाँ जुधाइएको छ । जुधाउने भ्रममा नपरौँ । पहिला यहाँ धान प्रशस्त उब्जाउ हुन्थ्यो । अहिले भारतबाट अन्न ल्याउनु पर्दछ । यहाँ मल उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्छ र सिँचाइको व्यवस्था गर्नु पर्दछ । साम्प्रदायिक दङ्गा गर्ने केपी ओली र ओलीसँग मिल्ने उपेन्द्र यादव–महन्थ ठाकुरले सत्तामा जानका लागि मधेस र मधेसीका आवाजहरू भुलेका छन् ।’

नेकपा (बहुमत) मधेस ब्युरोका इन्चार्ज नयनको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको सञ्चालन पार्टी महाधिवेशन आयोजक समिति सदस्य रेखाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :