नेकपा (बहुमत) सिन्धुलीको बैठकद्वारा १५ सदस्यीय भेला आयोजक समिति गठन

नेकपा (बहुमत) सिन्धुलीको बैठकद्वारा १५ सदस्यीय भेला आयोजक समिति गठन

सिन्धुली : नेकपा (बहुमत) सिन्धुलीको बैठकले १५ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ । बैठकले पार्थ कटुवाल संयोजक रहेको भेला आयोजक समिति गठन गरेको हो । बैठक कटुवालको अध्यक्षता र पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् सिन्धुली–रामेछाप–दोलखा जिल्ला इन्चार्ज विनय शर्माको प्रमुख आतिथ्यमा बसेको हो ।

बैठकले सहिद परिवारलाई नियमित न्यूनतम् आर्थिक सहयोग गर्ने, राष्ट्रघाती एमसीसी सम्झौता, एनसेलको ठगी, महँगी, भ्रष्टाचारविरुद्ध जिल्लाभर सङ्घर्ष सञ्चालन गर्ने, सङ्गठन विस्तार अभियान चलाउने निर्णय गरेको छ । त्यसैगरी बैठकले सिन्धुली जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास तयार पार्ने, छुवाछूत, महिला हिंसा, सामाजिक विकृति–विसङ्गतिविरुद्ध सङ्घर्ष गर्ने, भ्रष्टाचार, कालोबजारी, कमिसनखोरीको अनुगमन र निगरानी गर्दै भ्रष्टाचारीलाई जनकारबाही गर्नेलगायत निर्णय पनि गरेको जनाइएको छ ।

बैठकपछि आयोजित राजनीतिक–वैचारिक प्रशिक्षणमा पार्टी इन्चार्ज शर्माले सिन्धुलीको कम्युनिस्ट आन्दोलनको इतिहास उठाएर क्रान्ति सम्पन्न गर्न प्रतिक्रियावादी, दलाल पुँजीवादी सत्ता र कम्युनिस्ट नाउँका संसद्वादी संशोधनवादीका विरुद्ध सशक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताए । पार्टी पुनर्गठन गर्नुपर्नाको कारण प्रस्ट पार्दै उनले एकता र ध्रुवीकरणको माध्यमबाट फेरि क्रान्ति अघि बढाइने पनि बताए ।

बैठकमा परिचयात्मक कार्यक्रमका साथै सहभागी पार्टी जिल्ला सदस्यहहरूले आआफ्नो कार्यक्षेत्रको अनुभूतिमूलक रिपोर्टिङ गरेका थिए । कार्यक्रममा पार्टी जिल्ला सदस्यहरू रवि, जित खड्का र पत्रकार नकुल चौलागाईंले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :