सुन्दरी प्रतियोगिता नगराउन, सहभागी नबन्न र तत्काल खारेज गर्न महिला सङ्घ (क्रान्तिकारी) को चेतावनी

सुन्दरी प्रतियोगिता नगराउन, सहभागी नबन्न र तत्काल खारेज गर्न महिला सङ्घ (क्रान्तिकारी) को चेतावनी

काठमाडौँ : नेकपा (बहुमत) निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिले महिला हिंसा, हत्या र बलात्कारलाई प्रोत्साहन दिने कथित सुन्दरी प्रतियोगिता नगराउन, सहभागी नबन्न र तत्काल खारेज गर्न चेतावनीपूर्ण आग्रह गरेको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिकी संयोजक अञ्जना गुरुङले विज्ञप्ति जारी गरी यही असार ४ गते हुन लागेको सुन्दरी प्रतियोगिताको घोर भत्र्सना गर्दै त्यसलाई खारेज गर्न माग गरेकी हुन् ।

संयोजक अञ्जनाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो देशमा सन् १९९४ देखि ‘द हिडन ट्रेजर’ नामक संस्थाले सुरु गरेको सुन्दरी प्रतियोगिता आज विभिन्न भूगोल, जाति र भाषाको क्षेत्रमा समेत शृङ्खलाबद्ध जारी छ । यसैको निरन्तरतास्वरूप यही असार ४ गते हुन लागिरहेको सुन्दरी प्रतियोगिताको हाम्रो सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) घोर भत्र्सना र खारेजको माग गर्दछ । यो सुन्दरी प्रतियोगिताप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाली महिलाहरूले पितृसत्तात्मक पुँजीवादी व्यवस्थाबाट शोषण, उत्पीडन, हिंसा, हत्या, बलात्कारका कहालीलाग्दा पीडा भोगिरहेका छन् । महिला हिंसा, हत्या, शोषण, उत्पीडनका विरुद्ध आन्दोलनहरू भए तर महिलाका समस्याहरू जस्ताका तस्तै छन् । हाम्रो देशमा अहिले दलाल संसदीय व्यवस्था छ । पुँजीवादले महिलालाई आफ्नो कारखानामा उत्पादित माल बिकाउनका लागि प्रयोग गर्दछ । महिलाको दाँत, आँखा, नितम्ब, छाती, कम्मर, बोली, हाउभाउजस्ता शारीरिक अङ्गहरूका आधारमा प्रतिस्पर्धा गराएर सुन्दरी प्रतियोगिता गर्नु भनेको महिलालाई वस्तुका रूपमा बुझ्नु हो । हाम्रो देशको मौलिक सौन्दर्य, श्रम र मेहनतलाई बेकम्मा बनाएर पश्चिमा, खोक्रो, इतिहासबिनाको प्लास्टिक सुन्दरतालाई स्थापित गराउन बहुराष्ट्रिय कम्पनीको स्वार्थ पूरा गर्न दलाल संसदीय व्यवस्था लागिपरेको छ । पुँजीपतिहरूको सामान बिक्रीको साधन बन्दा व्यक्तित्व विकास भएको देख्ने र आफ्नो मानवीय मूल्य आफ्नो यौन आकर्षण एवम् बाहिरी अनुहारमा छ भनेर घोषणा गर्ने प्रतियोगितालाई कसरी सुन्दरी भन्न सकिन्छ ? यो त साम्राज्यवादले संसारभरि फैलाएको सांस्कृतिक अतिक्रमण हो ।’

प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘शारीरिक श्रम नगरेका, अनुभवहीन, हातमा ठेला नउठेका, दुःख नपाएका, पाउडर र लिपिस्टिकले छाला छोपेका, बच्चा नजन्माएका उन्मत्त यौवन भएका नारी सुन्दर हुन्छन् भन्ने चिन्तन आफैँमा कुरूप र विकृत चिन्तन हो । यो उपभोक्तावादी चिन्तन हो । सुन्दरी प्रतियोगिताले महिलाका जल्दाबल्दा समस्याहरूबाट ध्यान अन्तै विकेन्द्रित गर्ने, महिलाको सङ्घर्षशील चेतनालाई मत्थर पार्ने, वर्गीय चेतनालाई नष्ट गर्ने, सामूहिक भावनालाई नष्ट गरी व्यक्ति–व्यक्तिबीच शत्रुतापूर्ण प्रतिस्पर्धाको भावना जगाउने काम गरेको छ । पुँजीवादले ल्याएको आर्थिक विलासिता, श्रमजीवीको शोषण गर्ने, विकृत बनाउने वातावरण सुन्दरी प्रतियोगिताले तयार गरेको छ । यसले महिला हिंसा, हत्या र बालात्कारलाई प्रोत्साहन दिएको छ । त्यसैले महिलालाई मालका रूपमा बुझ्ने यस्तो सुन्दरी प्रतियोगितामा सहभागी नहुन सम्पूर्ण महिलाहरूलाई अनुरोध गर्दछौँ । आयोजकलाई सुन्दरी प्रतियोगिता कार्यक्रम नगर्न हाम्रो सङ्गठन जोडदार अनुरोध गर्दछ ।’ प्रेस विज्ञप्तिको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :