वैज्ञानिक समाजवाद जिन्दावाद ! नवौँ महाधिवेशन जिन्दावाद !

वैज्ञानिक समाजवाद जिन्दावाद ! नवौँ महाधिवेशन जिन्दावाद !

नेकपा (बहुमत) को नवौँ महाधिवेशन ऐतिहासिक जनयुद्ध दिवसको दिन पारेर आगामी फागुन १ गतेबाट सुरु हुने भएको छ । एकीकृत जनयुद्धको कार्यदिशा, वैज्ञानिक समाजवादको कार्यक्रम र संसदीय व्यवस्था अन्त्यको कार्यनीतिक कार्यक्रम पारित गर्दै नेकपा (बहुमत) को दोस्रो पूर्ण बैठकले यो निर्णय गरेको हो । संसद्‌वादी संशोधनवादमा फसेको विप्लव समूहलाई कारबाही गरी पुनर्गठन भएको नेकपा (बहुमत) को दोस्रो पूर्ण बैठकको ऐतिहासिक महत्व रहेको छ ।

मुलुकमा नयाँ जनवादी क्रान्ति, वैज्ञानिक समाजवादी क्रान्ति हुँदै साम्यवाद स्थापना गर्ने उद्देश्यले स्थापित नेपालको कम्युनिस्ट आन्दोलन निरन्तर सङ्घर्ष, क्रान्तिकारी ध्रुवीकरण, फुट, विभाजन र विद्रोह हुँदै अघि बढेको छ । २००६ सालमा कमरेड पुष्पलालको पहल र नेतृत्वमा स्थापित कम्युनिस्ट पार्टी स्थापनाका ७३ वर्षमा दर्जनौँपटक वर्गसङ्घर्ष र अन्तरसङ्घर्षका सीधा र घुमाउरा यात्राहरू पार गर्दै अघि बढेको छ । मूल नेतृत्वबाट हुने दलाली, गद्दारी र आत्मसमर्पणका विरुद्ध सचेत क्रान्तिकारी तप्काले उठाउने क्रान्तिकारी झन्डाले नै कम्युनिस्ट आन्दोलन जोगिँदै आएको छ । कम्युनिस्ट आन्दोलन जोगिनु भनेको राष्ट्रिय वा अन्तर्राष्ट्रिय जनविरोधी, प्रतिक्रियावादी शक्तिका साथै विद्यमान संसद्‌वादी संशोधनवादी, सुधारवादी शक्तिहरूबाट राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलन जोगिनु हो । नेत्रविक्रम चन्दको नेतृत्वको नेकपाबाट विद्रोह गर्दै र विप्लव–प्रकाण्डहरूलाई कारबाही गर्दै नेकपा (बहुमत) को पुनर्गठनले फेरि एकपटक क्रान्तिकारी झन्डा जोगाएर क्रान्तिकारी आशावाद जाग्रत गरेको छ र नेकपा (बहुमत) को आगामी फागुन १ गतेदेखि सुरु हुने नवौँ महाधिवेशनले नेपाली क्रान्तिका कार्यभारहरू पूरा गर्न अझ ठोस नीति, कार्यक्रम र योजनाहरू समृद्ध गर्दै क्रान्ति अघि बढाउने र पूरा गर्ने अपेक्षा गरिएको छ ।

बारम्बार राज्यसत्ताको दमन, प्रतिबन्ध, आन्तरिक घात र प्रतिघात झेल्दै अघि बढेको कम्युनिस्ट आन्दोलन अन्यथा २०१२ सालमै मनमोहनले राजालाई बिन्तीपत्र हालेर गद्दारी गरेपछि अघि बढ्न सक्ने थिएन । राजा महेन्द्रले कू गरेर संसदीय व्यवस्था खाइदिएपछि कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध होस् वा केशरजङ्ग रायमाझीले पार्टी र आन्दोलन दरबारमा बुझाएर राजतन्त्र स्वीकार्ने कबुल गर्दै आन्दोलनमै गद्दारी गर्दा होस्, क्रान्तिकारीहरूले विद्रोहको झन्डा बिसाएनन् । त्यसैको प्रतिफल २०२८ सालमा झापाबाट विद्रोहको भ्रूण रोपियो । क्रमशः २०५२ सालमा क्रान्तिकारी विद्रोह र आन्दोलनले जनयुद्धको आकार ग्रहण गर्न सक्यो । संसारभरकै प्रतिक्रियावादी, संशोधनवादी, यथास्थितिवादी शक्तिको हातबाट रक्तरञ्जित क्रान्तिकारी झन्डा खोसेर रक्षा गरिँदै आएकाले नै जनयुद्धमा घात गर्दै पलायन र गद्दारीको बाटो समातेका प्रचण्ड–बाबुरामको संसद्‌वादी बाटोका विरुद्धको विद्रोह सम्भव भएको थियो । हो आज पनि पलायनवादी नेत्रविक्रम चन्दहरूको समूहबाट कञ्चन, सुदर्शनलगायत क्रान्तिकारी नेताहरूले क्रान्तिकारी झन्डा खोसेर क्रान्तिको भविष्य सुरक्षित गरेका छन् ।

निरन्तरको वर्गसङ्घर्ष र अन्तरसङ्घर्ष र विद्रोहकै कारण क्रान्तिकारी झन्डा आजसम्म सुरक्षित छ । यसमा नेपाल र संसारकै क्रान्तिकारी, श्रमिक उत्पीडित सर्वहारा वर्ग र क्रान्ति सञ्चालन गरिरहेका शक्तिहरूले गर्व गर्नुपर्छ– क्रान्तिको बिउ मरेको छैन । बिउ नमरेसम्म क्रान्तिको सम्भावना कायमै रहन्छ । मनमोहन, केशरजङ्ग, मदन भण्डारीहरूकै पथ समात्न पुगेका प्रचण्ड–बाबुराम र अन्त्यमा त्यही नकारात्मक विरासतको सिकार भएका नेत्रविक्रम चन्दको सारसङ्ग्रहवादलाई नयाँ क्रान्तिकारी विद्रोहले प्रतिस्थापन गरेको छ र सुधारवादको निरन्तरता र षड्यन्त्रमा क्रमभङ्ग गर्दै क्रान्तिको नयाँ मार्ग कोरेको छ ।

कम्युनिस्ट आन्दोलनकै निरन्तरतामा पछिल्लोपटक ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा तय गर्दै ९ वर्षअघि नेत्रविक्रम चन्दको नेतृत्वमा पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको मूल नेतृत्व अर्थात् विप्लव र उक्त पार्टीका प्रवक्ता रहेका खड्गबहादुर विकमा वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा विचलन आएर संसद्‌वादी संशोधनवादमा पतन भएपछि क्रान्तिकारीहरूले मालेमावादी विद्रोहको झन्डा उठाएका छन् र क्रान्तिको नयाँ खाका कोरेका छन् । चन्दको सारसङ्ग्रहवादी कार्यदिशाबाट विद्रोह गरेर पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले वैज्ञानिक समाजवाद– साम्यवाद स्थापनाका लागि क्रान्तिको झन्डा उठाएको हो । नेकपा (बहुमत) ले वैज्ञानिक समाजवाद स्थापनाका लागि वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा पनि तय गरेको छ । त्यसका लागि जनदबाब, जनसङ्घर्ष र सशस्त्र जनविद्रोहका माध्यमबाट दलाल पुँजीवादी सत्तालाई प्रतिस्थापन गर्ने स्वाधीन, समृद्ध संयुक्त सरकारको नारा पनि अघि सारेको छ । गत वैशाख २१ देखि २३ गतेसम्म चितवनमा सम्पन्न ऐतिहासिक विशेष राष्ट्रिय भेलाबाट पारित राजनीतिक प्रतिवेदनलाई समृद्ध पार्दै पार्टीको दोस्रो पूर्ण बैठकले ‘वैज्ञानिक समाजवादको बाटोमा अघि बढौँ, संशोधनवाद, संसद्‌वाद र विसर्जनवादविरुद्ध सङ्घर्ष गरौँ’ भन्ने मूल नारा पनि तय गरेको छ । नेपाली क्रान्ति सफल पार्न नवौँ महाधिवेशन सफल हुनेछ । वैज्ञानिक समाजवाद जिन्दावाद ! नेकपा (बहुमत) को नवौँ महाधिवेशन जिन्दावाद !! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :