विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादको प्रादुर्भाव र सङ्घर्ष

विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादको प्रादुर्भाव र सङ्घर्ष

मार्क्सवादको उदयसँगै माक्र्सवादमा संशोधनवादको विकास भएको देखिन्छ । तर संशोधनवादी अथवा सुधारवादी विचारको जग मार्क्सवादको उदयभन्दा पहिले नै भएको स्पष्ट हुन्छ । युटोपियन कम्युनिज्म एउटा सुधारवादी विचार हो । मार्क्सवादको विकास हुनुपूर्व समानता र न्यायपूर्ण समाजको परिकल्पनाभित्र वर्गसङ्घर्षका विरुद्ध वर्गसमन्वय, क्रान्तिकारी रूपान्तरणका विरुद्ध शान्तिपूर्ण सहअस्तित्व, वर्गविलोपीकरणका विरुद्ध वर्गअस्तित्वका विचारहरू सुधारवादका विशेषता रहँदै आएका थिए । यद्यपि मार्क्सकै समयमा मार्क्सवादविरोधी विचार र बहस चलिरहेका थिए तथापि मार्क्सवादको उदयपछि संशोधनवादको संस्थागत विकास जर्मन आन्दोलनमा बर्नस्टिन र लासालले गरे । वास्तवमा सुधारवादलाई संशोधनवादको व्याख्या बर्नस्टिनले नै गरेका थिए । सुधारवाद, संशोधनवाद अथवा बर्नस्टिनवाद अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एउटा माक्र्सवादविरोधी प्रवृत्ति हो जो उन्नाईसाैँ शताब्दीको अन्त्यतिर इडवार्ड बर्नस्टिनका नाममा स्थापित भएको हो । बर्नस्टिनले मार्क्सवादको आत्मा वर्गसङ्घर्षलाई भुत्ते पार्दै क्रान्तिकारी आन्दोलनमा बुर्जुवा उदारवादको वकालत गरेका थिए । रुसमा यो प्रवृत्ति मेन्सेबिकहरूमा देखापरेको थियो जसका विरुद्ध बोल्सेभिकहरूले कडा वैचारिक सङ्घर्ष गरेका थिए । बर्नस्टिनवाद वा संशोधनवादका समर्थकहरू, तिनका पिछलग्गुहरू अर्थात् यो मान्यताका अनुयायीहरू विभिन्न देशमा पाइन्छन् । कुनै देशका पार्टीहरूले खुलेआम रूपमा वा घोषित रूपमा संशोधनवाद अङ्गीकार गरेको पाइन्छ र कुनै देशमा छद्म रूपमा अथवा एकै देशका कतिपय पार्टीहरूले खुलेआम बर्नस्टिनवादको वकालत गरेको पाइन्छ र कतिपय पार्टीहरूले छद्म रूपमा । दोस्रो अन्तर्राष्ट्रियमा बर्नस्टिन र काउत्स्कीहरूले पुँजीवादी मुलुकहरूमा उत्पादक शक्तिको विकास भएकै कारण उच्च आर्थिक विकास भएका औद्योगीकृत पुँजीवादी देशहरूमा समाजवादी क्रान्ति हुनेछ भन्ने तर्क गरेका थिए । उनको तर्कअनुसार यस्ता देशहरूमा सशस्त्र विद्रोह वा दीर्घकालीन जनयुद्ध लड्नु आवश्यक थिएन अथवा पुरानो सत्ताको ध्वंसात्मक अन्त्यको आवश्यकता थिएन । यसको तात्पर्य यो पनि हुन्थ्यो– उत्पादक शक्तिको विकास नभएका अल्पविकसित पुँजीवादी देशहरूमा क्रान्ति सम्पन्न गर्नका लागि पहिलो सर्त उत्पादक शक्ति मजदुर वर्गको विकास हुनु अनिवार्य हुन्छ । यसरी बर्नस्टिनवादले क्रान्तिको आवश्यकतालाई पूर्ण रूपले इन्कार गथ्र्यो । संशोधनवाद जो सुधारवाद वा जुझारु अर्थवाद पनि हो, यसले उत्पादन सम्बन्धले उत्पादक शक्तिको विकासमा प्रभाव पार्छ र आर्थिक आधारमा उपरिसंरचनाको प्रभाव पर्दछ भन्ने कुरालाई इन्कार गथ्र्यो । संशोधनवादले ऐतिहासिक भौतिकवादको मान्यतालाई इन्कार गर्छ । ऐतिहासिक भौतिकवादले मान्दछ– वर्गविभाजित समाजमा समाजिक रूपान्तरण केवल भीषण वर्गसङ्घर्षको प्रक्रियाद्वारा मात्र सम्भव हुन्छ । बर्नस्टिनले भनेका थिए, ‘हामी चाहन्छाैँ– जो जे हो त्यसको स्पष्ट मान्यता होस्, त्यसकारण ‘आन्दोलन’ कुनै ‘अन्तिम लक्ष्यबिना’ पवित्र मनसायबाट चलोस्, प्रतिरक्षात्मक कार्यनीतिको स्वीकार गरियोस् जसबाट बुर्जुवा वर्ग यो कार्यनीतिबाट केवल त्रसित मात्र बनोस् ।’ यसबाट स्पष्ट हुन्छ– बर्नस्टिनले आन्दोलन सबथोक हो र लक्ष्य केही होइन भन्ने मान्यता राख्दथे र उनले शत्रुविरुद्धको रणनीति र कार्यनीतिलाई कमसेकम ऊ पछि हट्ने कार्यनीतिसम्म मात्र प्रयोग गर्न चाहन्थे । यसरी संशोधनवादले वर्गसङ्घर्षको बाटो परित्याग गर्छ र वर्गसमन्वयको बाटो समात्न पुग्दछ । यसप्रकारको सुधारवादी मान्यता युरोपेली, अमेरिकी, पूर्वी एसियाली तथा भारतीय कम्युनिस्ट आन्दोलनमा समेत प्रचुर मात्रामा देख्न पाइन्छ ।

युरोपमा संशोधनवादले गहिरो जरा गाडेको थियो । दोस्रो अन्तर्राष्ट्रियको पतन युरोपेली कम्युनिस्टहरूमा पैदा भएका मतभेद र उनीहरूले अख्तियार गरेको संशोधनवादी कार्यदिशाकै कारण थियो । दोस्रो अन्तर्राष्ट्रियमा युरोपका अधिकांश संशोधनवादी कम्युनिस्टहरूले साम्राज्यवादी युद्धमा पितृभूमिको रक्षाका लागि सङ्घर्षको कार्यनीति अख्तियार गरे जो सर्वहारा अन्तर्राष्ट्रवादका विरुद्ध थियो । संशोधनवादन केवल राजनीतिक रूपले सुधारवाद हो तथापि यो सामाजिक अन्धराष्ट्रवाद पनि हो । युरोपमा दोस्रो अन्तर्राष्ट्रका अधिकांश नेताहरूले त्यही सामाजिक अन्धराष्ट्रवाद देखाएका थिए जसको मुखमा समाजवाद थियो, विचार र चेतनामा अन्धराष्ट्रवाद जसको कारण साम्राज्यवादी युद्धमा उनीहरूका लागि सर्वहारा वर्गको विजय वा मुक्तिभन्दा पहिले पितृभूमिको रक्षा गर्नु बनेको थियो । लेनिनले पश्चिम युरोप र पूर्वी युरोपका संशोधनवादी कम्युनिस्टहरूका विरुद्ध भीषण सङ्घर्ष गर्नुपरेको थियो । लेनिनको समयमा सर्वहारा क्रान्ति, जनवाद र सर्वहारा अधिनायकत्वको प्रश्न प्रखर रूपमा उठेको थियो । एकातिर ट्राट्स्की जसले निरन्तर क्रान्तिको प्रश्न अगाडि सारेका थिए तिनका विरुद्धको सङ्घर्ष थियो र अर्कोतिर काउत्स्की जसले सर्वहारा वर्गको अधिनायकत्वसम्बन्धी मार्क्सवादी मान्यतालाई परित्याग गरेका थिए, त्यसका विरुद्ध पनि सङ्घर्ष चलाउनुभयो । ट्राट्स्की, बुखारिनलगायत रुसी संशोधनवादीहरूले रुसमा क्रान्ति सम्पन्न गर्नका लागि पहिले उत्पादक शक्तिको विकास हुनुपर्ने कुराको माग गर्दथे । ट्राट्स्की आफ्नो निरन्तर क्रान्तिको सिद्धान्तअनुसार साम्यवादमा नपुग्दासम्म क्रान्तिकारी आन्दोलन चलाइरहने तर समाजवादी सत्ता कहीँ पनि स्थापना गर्न नसकिने बताउँथे । त्यसकारण पनि ट्राट्स्कीले युरोपका कुनै पनि देशहरूमा एक्लाएक्लै क्रान्ति सम्पन्न हुन नसक्ने बताएका थिए । उनका लागि रुसमा मात्र क्रान्ति सम्पन्न गर्ने कुरा सम्भव थिएन । समाजवादी क्रान्तिमा पनि सर्वहारा वर्गको अधिनायकत्व रहने भएकाले त्यो समाज समाजवादी हुन सक्दैनथ्यो तर लेनिनले ट्राट्स्कीका संशोधनवादी विचारहरू कोखण्डन गर्नुभएको थियो र रुसमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति सम्पन्न हुन सक्ने र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्न सकिने स्पष्ट गर्नुभयो ।

संशोधनवादी तमाम नेतृत्वमध्ये कार्ल काउत्स्की पनि एक थिए । काउत्स्कीले भनेका थिए, ‘सर्वहारा वर्गको शासनमा किन यस्तो रूप धारण गर्ने अथवा यस्तो रूप किन धारण गर्न के आवश्यक छ ? जसले प्रजातन्त्रसँग मेल खाँदैन ? काउत्स्कीको संशोधनवाद बुर्जुवा आदर्शवाद तथा बुर्जुवा उदारतावादसँग मेल खान्थ्यो । कम्युनिस्टका नाममा देखापरेका गैरमार्क्सवादी, उदारवादी पुँजीवादी काउत्स्कीको प्रश्नको जबाफ मार्क्स र एङ्गेल्सका भनाइहरूबाट दिनुभएको थियो । लेनिनले माक्र्सको भनाइ दोहोर्याउँदै समाजवादी सत्ताभित्र सर्वहारा वर्गको अधिनायकत्वको आवश्यकता स्पष्ट गर्नुभएको थियो ।

माओको नेतृत्वमा चीनमा पनि संशोधनवादविरुद्धको सङ्घर्ष तीव्र बनेको थियो । रुसमा ट्राट्स्की, बुखारिनजस्ता संशोधनवादी नेताहरूले जस्तै चीनमा छन तुस्यूजस्ता संशोधनवादी नेताहरूले उत्पादक शक्तिको सिद्धान्त अघि सारेर समाजवादी क्रान्तिभन्दा अगाडि पुँजीवादी क्रान्ति अनिवार्य भएको बताएका थिए । छन तुस्यूको भनाइमा चीन अति गरिब देश भएको कारण त्यहाँ क्रान्ति गर्ने कुरा सम्भव थिएन । चीनमा क्रान्ति सम्पन्न गर्नका लागि पहिले चीनमा उत्पादक शक्तिको विकास हुन आवश्यक हुनेछ र त्यसप्रकारको शक्ति पुँजीवादी क्रान्तिबाट मात्र पैदा हुन सक्नेछ । तसर्थ चिनियाँ समाजमा समाजवादी क्रान्तिका लागि आवश्यक उत्पादक शक्ति मजदुर वर्गको विकास हुनका लागि पुँजीवादी क्रान्ति आवश्यक थियो । त्यसकारण छन तुस्यू पुँजीवादी क्रान्तिका पक्षमा थिए ।

सुधारवाद तथा संशोधनवादको बेग्लै नमुना इन्डोनेसिया र चिलीको कम्युनिस्ट आन्दोलनमा देख्न सकिन्छ । चिलीको कम्युनिस्ट पार्टीले ख्रुस्चेभको तीन शान्तिपूर्ण सिद्धान्त : शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा र शान्तिपूर्ण रूपान्तरणका आधारमा समाजवादमा जान सकिने कार्यदिशा अपनाएपछि पार्टी चुनावी प्रक्रियाबाट सरकारमा पुगेको थियो । कुनै कम्युनिस्ट पार्टी सरकारमा जानुले सत्तालाई आफैँमा सर्वहारा वर्गको अधिनायकत्वमा लान सक्दैन, क्रान्तिकारी पार्टी सरकारमा पुगे पनि सत्तामा भने बुर्जुवा वर्गको अधिनायकत्व कायम हुन सक्छ । पुरानो बनिबनाउ बुर्जुवा सत्ता पूर्ण रूपमा ध्वस्त वा नयाँमा रूपान्तरण नगरीकन बुर्जुवा वर्गको अधिनायकत्वभित्र सर्वहारा वर्गको सरकार टिकिरहनु सम्भव हुँदैनथ्यो र त्यो चिलीमा सम्भव भएन पनि । जतिबेला क्रान्तिकारी सरकारले सत्ताका संयन्त्रहरूलाई परिवर्तन गर्न खोज्यो, साम्राज्यवादी र पुँजीवादीहरूका दलालहरू रहेको चिलीको सेना, प्रशासन तथा वित्तीय संस्थाहरूको आडमा त्यहाँको सेनाले अमेरिकी साम्राज्यवादको निर्देशनमा कम्युनिस्ट आन्दोलनमाथि दमन चलायो र ठूलो नरसंहारको थालनी गर्यो । चिलीमा चलाइएको आमहत्यामा चिलीका करिब एक लाख जनताको हत्या गरिएको विश्वास गरिन्छ ।

चिलीमा त्यहाँको पार्टीले अख्तियार गरेको संशोधनवादी कार्यदिशाले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अत्यन्त महँगो पाठ सिकाएको छ । चिलीमा त्यहाँका क्रान्तिकारीहरू तथा आमजनतामाथि गरिएको नरसंहार अभियानले माओले भन्नुभएको सत्यलाई अरू स्पष्ट पारेको छ– आफ्नो सेना नभएको जनतासँग आफ्नो भन्ने केही हुँदैन ।

इन्डोनेसियामा कम्युनिस्ट पार्टी इन्डोनेसिया पीकेआईको नेतृत्व सन् १९५१ देखि सन् १९६५ को ३० सेप्टेम्बर आन्दोलन अथवा गेराकान ३० सेप्टेम्बरसम्म कमरेड आइदितले गरेका थिए । उनको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टी पीकेआईले त्यहाँको राष्ट्रवादी शक्तिसँग संयुक्त मोर्चा गरी सरकारसमेत बनायो । सरकारमा जानुअघि कम्युनिस्ट पार्टी आमजनतामा जति प्रख्यात थियो सर्वहारा अधिनायकत्वबिना त्यो बचाइराख्न पार्टीका लागि सम्भव थिएन किनभने त्यहाँ सर्वहारा वर्गको अधिनायकत्वबिना मुलुक स्वाधीन हुन सक्दैनथ्यो । आर्थिक, राजनीतिक, सामाजिक परिवर्तन हुन सक्दैनथ्यो । तमाम जातजाति र भाषाभाषीका समस्या पनि समाधान हुन सक्दैनथ्यो । फलस्वरूप, त्यहाँको कम्युनिस्ट पार्टी पीकेआईले एउटा सशस्त्र विद्रोह गर्ने निक्र्योल गर्यो, जनताको आफ्नो फौजी सङ्गठनबिना गरिएको विद्रोह आफ्नै लागि मात्र घातक रहेन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत धक्का दिन पुग्यो ।

सन् १९६५ को आमहत्यापछि बचेका क्रान्तिकारीहरूले स्थितिको मूल्याङ्कन गरेका छन् । उनीहरूले भनेका छन्– पीकेआईले क्रान्तिका सन्दर्भमा मार्क्सवाद–लेनिनवादका आधारभूत मान्यताहरूको परित्याग गरेकै कारण ३० सेप्टेम्बरको घटना हुन पुगेको थियो । ती क्रान्तिकारीहरूले इन्डोनेसियाको संशोधनवादका सन्दर्भमा यस्तो निष्कर्ष निकालेका थिए :

१. सेप्टेम्बर ३० को घटना आन्दोलन नभई वाम दुस्साहसवाद थियो ।
२. पार्टीले रणनीतिक र कार्यनीतिक प्रश्नहरूमा सैद्धान्तिक र व्यावहारिक गल्तीहरू गरेको थियो ।
३. पार्टी मुख्यतया वाम अवसरवाद–संशोधनवादको प्रतिरूपका रूपमा विकास भएको थियो ।
४. इन्डोनेसियामा संशोधनवादको विकास भयो ।

३० सेप्टेम्बरको घटना वाम दुस्साहसवाद थियो भन्ने सन्दर्भमा त्यो दस्तावेजमा भनिएको छ, ‘जी–३०–एसको प्रक्रिया वाम दुस्साहसवाद नै थियो । सुरुदेखि नै यसले बुर्जुवाहरूको प्रक्रियाको नक्कल गरेको थियो । यो मूलतः ट्राट्स्कीवादी षड्यन्त्र र आतङ्कमा टिकेको थियो र यसले देशभक्त फौजलाई फाँसीको स्थितिमा छाड्यो जुन दोस्रो उलटभन्दा बढी हुनु हुँदैनथ्यो ।’

त्यस्तैगरी पार्टीले रणनीतिक र कार्यनीतिक क्षेत्रमा सैद्धान्तिक र व्यावहारिक गल्तीहरू गरेको थियो भन्ने सन्दर्भमा उल्लेख गरिएको छ, ‘माक्र्सवादी–लेनिनवादी रणनीति जुन सर्वहारा क्रान्तिको मुख्य विज्ञान हो यसलाई लामो समयदेखि पार्टीनेतृत्वले परित्याग गरेको थियो । यसैको पराकाष्टाका रूपमा जी–३०–एस देखियो ।’ पार्टीको दोस्रो अन्तर्राष्ट्रियदेखि मुख्यतः यी १५ वर्षहरूमा पार्टी नेतृत्वले समग्र रूपमा रणनीति र कार्यनीति तय गरेको छैन र यी दुवै पक्ष एकअर्कामा छुट्टाछुट्टै भएका कारण कमजोर देखिन्छन् ।

पार्टी नेतृत्वले संसद् उपयोग गर्ने नीति मात्र एउटा प्रमुख विचलन थिएन तर यसको प्रयोगका बारेमा दिएको अतिशयोक्तिपूर्ण अर्थ, सबै ध्यान, शक्तिलाई संसदीय सङ्घर्ष र शान्तिपूर्ण आन्दोलनका पक्षमा भएका अभिव्यक्ति प्रमुख समस्या थिए जसलाई सङ्घर्षको मुख्य स्वरूप ठानियो ।

जी–३०–एसको जबर्जस्त विद्रोहपछि जब संसदीय सङ्घर्षको रूप देखाप¥यो पार्टी नेतृत्वले आफ्नो सोचाइ गुमायो र सङ्घर्षलाई ठीक ढङ्गले नेतृत्व दिन सकेन ।

कार्यनीति रणनीतिको भाग हुनुपर्छ । कानुनी, संसदीय र सुधारवादी कामको सार क्रान्तिको निश्चित समयसम्म रणनीति परिवर्तन हुँदैन तर कार्यनीति रणनीतिको सहयोगी नीति भएका कारण क्रान्तिको उतारचढावसँगै यो पटकपटक परिवर्तन गरिनुपर्छ ।’

त्यस्तैगरी पार्टीभित्रको वाम अवसरवाद संशोधनवादमा कसरी परिणत भयो भन्ने सन्दर्भमा भनिएको छ, ‘संशोधनवादले पार्टी नेतृत्वलाई पूरै यसरी प्रभावमा पार्यो– उसको भ्रमले पार्टी नेतृत्वलाई राज्यसत्ता सशस्त्र शक्तिबाट नभई शान्तिपूर्ण तरिकाले मात्र लिन सकिन्छ भन्ने कुरा नै पार्टीको आमआधार बनायो ।’

इन्डोनेसियामा संशोधनवादको विकास कसरी भयो भन्ने सन्दर्भमा त्यो दस्ताबेजमा भनिएको छ, ‘इन्डोनेसियामा सचेततापूर्वक वर्गसङ्घर्ष त्यागियो । शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन गर्ने भन्ने विषयका सबै आधारभूत प्रक्रियालाई अगाडि सारियो ।’

सन् १९७० को दसकमा मलेसियामा क्रान्तिकारी आन्दोलनको ज्वाला दन्किएको थियो । कम्युनिस्ट पार्टी मलेसियाको स्थापना भएपछि त्यहाँका आमजनतामा उत्साह छाएको थियो तर सन् १९७६ मा माओको निधन र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विश्रामपछि मलेसियाको क्रान्तिकारी आन्दोलनले समेत विश्राम लिन पुग्यो । मलाय कम्युनिस्ट पार्टी सन् १९३० मा स्थापना गरिएको थियो र यो पार्टीले मलाय राष्ट्रिय मुक्ति सेनाको निर्माणसमेत गरेको थियो । मलाय राष्ट्रिय मुक्ति सेनाले बेलायती साम्राज्यवादका विरुद्ध समयसमयमा भीषण युद्धहरू लड्यो तर त्यो पार्टीका नेता लाई तेको आत्मसमर्पणवादी कार्यनीतिका कारण सन् १९४५ मा बेलायती साम्राज्यवादीहरूसँग सहअस्तित्वको नीति अख्तियार गर्यो । पछि जानकारीमा आयो– लाई ते बेलायती साम्राज्यवादीहरूको पार्टीभित्रको गुप्तचर थियो र उसलाई कारबाही गरेपछि चीन पेङको नेतृत्वमा सन् १९४८ र सन् १९५८ मा बेलायती साम्राज्यवादका विरुद्ध राष्ट्रिय मुक्तियुद्ध लड्यो तर मलेसियाको नेतृत्वमा देखापरेको राजनीतिक अकर्मण्यता र पार्टीको सुधारवादी तथा संशोधनवादी कार्यदिशाका कारण भीषण वर्गसङ्घर्षको प्रक्रियाबाट अगाडि बढेको पार्टी भए पनि त्यसले अन्ततः सन् १९८९ मा त्यहाँको सरकारका अगाडि आत्मसमर्पण गर्न पुग्यो र त्यो पार्टी एउटा वैधानिक बुर्जुवा पार्टीका रूपमा पतन हुन पुग्यो ।

महान् सर्वहारा सांस्कृतिक क्रान्तिको प्रभावका कारण फिलिपिन्समा पनि सन् ६० को दसकमा सशस्त्र युद्ध चलेको थियो । तानाशाह रामोसका विरुद्ध त्यहाँको पार्टीले राष्ट्रवादी बुर्जुवा एकिनोसँग संयुक्त मोर्चा खडा गर्यो । तानशाह रामोसको अन्त्यपछि फिलिपिन कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष प्रोफेसर जोसे मारियासिसोनलाई गिरफ्तार गरी कडा एकान्तवासमा राखियो । सिसोनको रिहाइपछि पार्टीले सङ्गठनभित्र पैदा भएको सुधारवादका विरुद्ध वैचारिक सङ्घर्ष चलाउँदै शुद्धीकरण अभियान चलायो । अहिले फिलिपिन्स कम्युनिस्ट पार्टीले छापामार युद्ध चलाइरहेको छ ।

क्रान्तिकारी पार्टीभित्र पैदा हुने संशोधनवादी धारका कारण तमाम क्रान्तिकारी आन्दोलनहरूले नोक्सान बेहोर्नुपरेका इतिहास प्रसस्त पाइन्छन् । टर्की कम्युनिस्टपार्टीको प्रश्न होस् वा भारतीय कम्युनिस्ट पार्टीको, बङ्गलादेशको क्रान्तिकारी आन्दोलनको प्रश्न होस् वा श्रीलङ्काको क्रान्तिकारी आन्दोलनको, सबै देशहरूमा संशोधनवादका विरुद्धको सङ्घर्षबिना कुनै पनि स्थानहरूमा क्रान्तिकारी नेतृत्व र क्रान्तिकारी आन्दोलनको विकास हुन सकेको छैन । टर्कीमा इब्राहिम काइप्पाकाया, भारतमा चारु मजुमदार, बङ्गलादेशमा सिरज सिकन्दर तथा श्रीलङ्कामा सन–मुगथासनको नेतृत्व र उहाँहरूको नेतृत्वमा चलेका क्रान्तिकारी आन्दोलनहरू संशोधनवादका विरुद्धको सङ्घर्षका परिणामहरू हुन् ।

नेपालमा पनि संशोधनवादको प्रभाव खुला र छद्म दुबै रूपमा देखापर्छ । एमालेको संशोधनवाद खुला रूपमा देखापर्छ भने मोहनविक्रम सिंहको संशोधनवाद छद्म रूपमा । चीनमा भएको महान् सर्वहारा सांस्कृतिक क्रान्ति तथा ख्रस्चोभी संशोधनवादका विरुद्ध माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले चलाएको महान् बहसले नेपालको क्रान्तिकारी आन्दोलनमा पनि प्रत्यक्ष असर पार्नु स्वाभाविक हुन्थ्यो । यसको परिणाम सन् १९४९ मा स्थापना भएको कम्युनिस्ट पार्टीभित्र सन् ६० र सन् ७० को दसकमा सैद्धान्तिक र राजनीतिक विषयमा गम्भीर बहस चल्यो जसको परिणाम नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न समूहमा विभक्त भएको कुरा स्पष्ट छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) एमालेको दक्षिणपन्थी संशोधनवाद, मोहनविक्रम समूहको जडसूत्रीय नवसंशोधनवाद तथा अन्य समूहहरूका विभिन्न रूप र रङका संशोधनवादी धारका विरुद्धको तीव्र वैचारिक सङ्घर्ष र समाजमा विद्यमान भीषण वर्गसङ्घर्षको बीचबाट विकास हुँदै आएको छ । हाम्रो पार्टीले अत्यन्त प्रतिकूल विश्वपरिस्थितिमा पनि महान् जनयुद्धमा एकपछि अर्को गरी सफलता हासिल गर्दै आयो । यसबीचमा हामीले मार्क्सवाद–लेनिनवाद–माओवादमा नयाँ विकास गरेका छौँ र यो विचारलाई नयाँ उचाइमा संश्लेषण गर्न आवश्यक भइसकेको छ । आधुनिक संशोधनवाद जसले कार्यनीतिको आवश्यकता भन्दै सुधारवादको मुखौटोसहित पार्टीभित्र घुस्ने काम गर्दछ त्यसले क्रान्तिकारी आन्दोलनलाई सुधारवादतिर लैजाने खतरा पनि त्यत्तिकै रूपमा रहेको छ ।

आधुनिक संशोधनवाद वा सुधारवाद नयाँनयाँ तर्क र बहसका साथ अगाडि आइरहेको छ । आधुनिक संशोधनवादको व्यवस्थित विश्लेषण आधुनिक संशोधनवादीहरू माइकल हार्डिट र एन्टोनियो नेग्रीले साम्राज्य ‘इम्पायर मल्टिच्युड’ भन्ने पुस्तकमा आधुनिक साम्राज्यवादका विशेषताहरूलाई राम्रोसँग खुलासा गरेका छन् । सुधारवादको आम विशेषता युरोपियन कम्युनिज्मदेखि युरो कम्युनिज्म, बर्नस्टिनदेखि एमालेसम्मका संशोधनवादीहरूसम्म एकैनास रहँदै आएका छन्, वर्गसङ्घर्षको परित्याग, वर्गसमन्वयप्रतिको मोह, क्रान्तिकारीहरूप्रतिको शत्रुता, क्रान्तिविरुद्ध षड्यन्त्र र छलछाम आदि । सुधारवादका आमविशेषताहरू हार्डिट र नेग्रीहरूमा पनि देख्नसकिन्छ । साम्राज्य ‘इम्पायर’ सन् २०००, बृहत् ‘मल्टिच्युड’ सन् २००४ मा उनीहरूले साम्राज्यवाद अब साम्राज्यवाद नरहेर केवल साम्राज्य रहेको र वर्गसङ्घर्षबिना नै राष्ट्र राज्यहरूको अन्त्य र एक विश्व हुने कुरा बताइरहेका छन् । हार्डिट र नेग्रीको संशोधनवादले अब वर्गसङ्घर्ष होइन, वर्गसङ्घर्षबिना नै साम्राज्यवादको विकासप्रक्रियाबाटै समाजवादी समाजमा आधारभूत रूपले रूपान्तरण हुने कुरा पत्ता लगाएको कुरा इम्पायर र मल्टिट्युडमा विश्लेषण गरेका छन् । इम्पायरमा उनीहरूले तर्क गरेका छन्, ‘साम्राज्य भनेको साम्राज्यवादभन्दा पर पुँजीवादको नयाँ युगमा प्रवेश हो जहाँ लेनिनले प्रतिपादन गर्नुभएका साम्राज्यवादी युगका विशेषताहरू लागू हुँदैनन् ।

विशेषतः राष्ट्र राज्य ‘नेसन स्टेट’ को भूमिका यो युगमा अत्यधिक मात्रामा घटेको छ । साम्राज्य भनेको विश्वमै कुनै पनि ठाउँ नछाडीकन पुँजीवादी सम्बन्ध लादिएको व्यवस्था हो । उत्पादन र सञ्चारको सम्बन्ध संसारभर एकापसमा कसरी जोडिएका छन् भने जो विगतमा कहिल्यै कल्पना गर्न सकिँदैनथ्यो । यसबाट नयाँ मजदुर उदाएको छ जसबाट नयाँ वर्गको उदय हुँदै गएको छ । विश्वका गाउँहरूमा नाटकीय परिवर्तनहरू भएका छन् । अहिलेको साम्राज्यवादी व्यवस्थामा कुनै केन्द्र वा केन्द्रहरू छैनन् ।’ हार्डिट र नेग्रीको संशोधनवाद पनि ठीक त्यही किसिमले अभिव्यक्त हुन्छ जसरी जर्मनीमा काउत्स्की, रुसमा ट्राट्स्की र बुखारिन, चीनमा छन तुस्यू र देङ सियाओपिङबाट उपरिसंरचनाबाट अलग आर्थिक आधारको विकास र उत्पादन सम्बन्धबाट अलग उत्पादक शक्तिको विकासको सिद्धान्त अगाडि सारिएको थियो । त्योभन्दा अगाडि हार्डिट र नेग्री भन्दछन्– इम्पायरमा ‘उत्पादक शक्ति उत्पादन सम्बन्धसँग विलय हुनेछ ।’ आधुनिक संशोधनवादले उत्तरआधुनिकतावादी मान्यतालाई सीधै अँगाल्दछ र साम्राज्यवादी विश्वव्यवस्थालाई साम्राज्यका रूपमाग्रहण गर्दछ ।

सुधारवाद वा संशोधनवाद क्रान्तिकारी आन्दोलनको एउटा विशेष उपज हो । जब क्रान्तिकारी आन्दोलनमा कठिनाइहरू पैदा हुन्छन् जब आन्दोलनले नयाँ कार्यदिशा र कार्यनीतिको माग गरिरहेको हुन्छ जब पार्टीभित्र वैचारिक, राजनीतिक र सङ्गठनात्मक एकता कमजोर हुन थाल्दछ त्यही अवस्थामा पार्टीभित्रैबाट सुधारवाद वा संशोधनवाद पैदा हुने खतरा रहन्छ । सुधारवाद क्रान्तिकारी आन्दोलनभित्र सिर्जनात्मकताको पर्दाभित्र पैदा हुने वैचारिक समस्या पनि हो । यसको नवीनतम् दृष्टान्त पेरूको आन्दोलनमा देख्न सकिन्छ । अध्यक्ष गोन्जालोको गिरफ्तारीपछि त्यहाँको पार्टी पीसीपीको एउटा हिस्साले आसुमिर दस्ताबेजका नाममा आत्मसमर्पणका ११ बुँदा अगाडि सारेको थियो । त्यसले क्रान्तिकारी युद्धको अन्त्य, जनमुक्ति सेनाको विघटन, हतियार सरकारलाई बुझाइदिनुपर्ने, पार्टीको विघटनलगायत माग अगाडि सारेको थियो ।

नेपालको क्रान्तिकारी आन्दोलन अहिले एउटा गम्भीर घुम्तीमा आइपुगेको छ । वस्तुगत अवस्थाका हिसाबले आन्दोलन रणनीतिक प्रत्याक्रमणमा रहेको छ भने कार्यनीतिका हिसाबले हामी वार्ता र कूटनीतिको समायोजनको अभ्यास गरिरहेका छाैँ । नेपाली समाजको सङ्क्रमणकालीन चरित्रका कारण पनि यो सुधारवादी प्रवृत्तिको विकास हुन अत्यन्तै अनुकूल अवस्था हो । इतिहासमा देखापरेका सुधारवादका विभिन्न प्रवृत्तिहरूको अध्ययन र आँकलन गर्दै आन्दोलनको विशिष्ट अवस्थामा पैदा हुने सुधारवादका विरुद्ध हाम्रो पार्टीले ऐतिहासिक मुकाबिला गर्ने कुरा स्पष्ट छ । नेपाली कम्युनिस्ट आन्दोलनमा आमरूपमा जनसमुदाय यो कुरामा चिरपरिचित रहेका छन्– विगतमा संशोधनवादी नवसंशोधनवादी, ट्राट्स्की तथा बुखारिनवादीहरूले ठीक त्यसैगरी भन्ने गर्दथे– माओवादी क्रान्तिकारीहरूबाट अनावश्यक रूपमा त्रसित हुनु पर्दैन । केही समयभित्र उनीहरूलाई पूर्ण नियन्त्रणमा लिइनेछ । जस्तो इटलीमा त्यहाँका समाजवादी पार्टीका संशोधनवादी नेता तुराती र उनका मण्डलीहरूबाट भन्ने गरिन्थ्यो– ‘क्रान्तिकारी खतरा यति धेरै छैन इटलीमा निराधार चिन्ता लिनु परोस् ।’ तुरातीले बेलायतको एउटा पत्रिकालाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘म्याक्सिमालवादीहरूले जनतालाई केवल जागृत र उत्तेजित बनाउन सोभियत सिद्धान्तको आगोमा पङ्खा हम्किरहेका छन् । तथापि यो सिद्धान्त शुद्ध पौराणिक धारणा मात्र हो, यस्तो अपरिपक्व कार्यक्रम हो जो व्यवहारमा उपयोगयोग्य छैन ।’ संशोधनवादको यो भद्दा नमुना इटालीको समाजवादी पार्टीका तुरातीमा त्यत्तिकै भेटिन्थ्यो जति आज माओवादी एकताका नाममा पार्टीको पहिचान माओवादजो माओवादी सिद्धान्त केवल केही ‘जडसूत्रवादी’, केही ‘सङ्कीर्णतावादी’ हरूको क्रान्तिकारी भावनामा पङ्खा लगाउन साधन मात्र बनेको छ त्यसको अन्त्य गर्न कुनै बार नलाग्ने केही व्यक्तिहरूले ठान्दछन् ।

संशोधनवाद जति नयाँ रङ र ढङ्गसँग समायनुकूल प्रस्तुत भए पनि उसको वास्तविक चरित्र एकै हुने गरेको पाइन्छ त्यो हो क्रान्तिकारी मूल्य र मान्यताबाट आत्मसमर्पणवाद । इटलीका पाल्मिरो तोलियाटी र फ्रान्सका मोरिस थोरेज आत्मसमर्पणका भद्दा नमुनाहरू हुन् । हामीलाई फेरि लेनिनको भनाइ सम्झना हुन्छ– क्रान्तिकारी कार्यदिशा सही वा गलत हुने कुराले सबै कुराको फैसला गर्दछ । त्यसमा माओले थप्नुभएको वाक्यांशले अझ संवेदनशील बनाउँछ– कार्यदिशा सही छ भने आफूसँग नभएका चीजहरू प्राप्त हुन्छन् र त्यो गलत छ भने आफूसँग भएका सबै चीजहरू पनि गुम्नेछन् । इटलीका कम्युनिस्ट नेता तोलियाटीको नेतृत्वमा कम्युनिस्ट आन्दोलन यति सशक्त थियो– इटालियन जनसेनाले मुसोलिनीको दम तोडेको थियो तर बुर्जुवा वर्गसँगको उनको वर्गसमन्वयवाद वा निम्नबुर्जुवा उदारतावादले बुर्जुवा वर्गले स्वयम् जनसेनाको दम तोडिदियो । आज तोलियाटीसँग जोडिएको इटलीको कम्युनिस्ट आन्दोलन अतीतको कथा बनेको छ र नयाँ क्रान्तिकारीहरूका लागि पुस्तकालयको सन्दर्भसामग्री बनेको छ । फ्रान्सका क्रान्तिकारी आन्दोलन काहिरो मोरिस थोरेज जबसम्म अनुकूल अवस्था थियो, उनी नेता थिए र जब प्रतिकूल अवस्था आयो उनले जीवनको भिक मागेका थिए ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवाद आन्दोलनको एक अपरिहार्य अङ्ग बन्दै आएको छ । यस प्रवृत्तिसँगको भीषण वैचारिक, राजनीतिक एवम् सङ्गठनात्मक सङ्घर्षले मात्र देशमा क्रान्तिकारी आन्दोलनको विकास सम्भव हुँदै आएको छ । नेपालको क्रान्तिकारी आन्दोलनका लागि विश्वका नकारात्मक शिक्षाहरू, संशोधनवादी अनुभवहरूले क्रान्तिकारी दर्शन र विज्ञानमा अडिग रहन एउटा नकारात्मक दृष्टान्त निश्चित रूपले दिनेछन् जसरी त्यसका विरुद्ध मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका भीषण वैचारिक एवम् राजनीतिक सङ्घर्षहरूले सकारात्मक शिक्षा दिने गरेका छन् ।

(नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको पुनर्गठनपछि बनेको नेकपा (बहुमत) का संयोजक कञ्चनको यो लेख हामीले ‘समकालीन विश्व–कम्युनिस्ट आन्दोलन’ पुस्तकबाट साभार गरेका हौँ । यतिबेला पनि यो लेखक समसामयिक हुने ठानेर पुनः प्रकाशित गरिएको हो । यो लेख यसअघि २०७५ सालमा पनि प्रकाशित भइसकेको हो– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :