फेरि मुर्दा जन्मियो !

कविता

हुचिल नकराईकनै देखियो अपशकुन
क्रान्तिका पुलिन्दाहरूबाटै जन्मियो भ्रान्ति
महापतनका नाराहरू प्रतिध्वनित हुँदाहुँदै
जन्मियो अति–पतन, शीघ्र–पतन !
जादुगरजस्तो लाग्थ्यो ऊ
पीडितहरूको दुःख–दर्द हर्ने
मञ्चहरूमा, विचारहरूमा
दुस्मनहरूविरुद्ध गर्जिंदा
सिंहजस्तो लाग्थ्यो
मानौँ
राष्ट्रियताका मामिलामा
भीमसेन, भक्ति, अमर र बलभद्रको ‘अवतार’ हो झैँ
जनतन्त्रका विषयमा
भीमदत्त, सुनील, इच्छुक र वासुको पथगामीझैँ
जनजीविकाका सन्दर्भमा
विद्रोहको मशाल भएर दन्किएझैँ !
आज किन लत्रियो उसको शिर ?
दुस्मनहरूसामु किन गर्यो सम्झौता ?
किन गिर्यो उसको त्यो उच्च नूर ?
के ऊ पनि पुँजीवादी बजारको
बिक्रीको माल भयो छविलालझैँ
र चढ्यो लिलाममा ?
म त झुक्दिनँ भन्दै थियो दुस्मनसामु
म त बिक्दिनँ भन्दै थियो पैसामा
देश, जनता र वर्गलाई घात गर्ने कुरा
म त सिक्दै–सिक्दिनँ पो भन्दै थियो !
आएझैँ दैनिक विदेशबाट दर्जनौँ लासका बाकसहरू
किन धमाधम मुर्दा जन्माइरहेछ समय ?
गर्भाधान त लालशिशुकै लागि गरेकी थिइन् क्रान्तिआमाले
कुन दुष्टले ठक्कर दियो फेरि पेटमा
र जन्माइन् मुर्दा
देशभक्त, क्रान्तिकारी योद्धा जन्माउने
मेरी आमाको सुपरिचित कोख
मुर्दा जन्माउनै सक्तैन ।
साइरन नबजीकनै भयो दुर्घटना !
हुरीले डुबाउनै परेन कुनै गहिरो तालमा डुंगा
बतासको एउटा सानै झोक्काले
उति पर हुत्याइदियो उसलाई रछ्यानमा ।
पहाड नै ढाक्थ्यो उसको गर्जन हिजो
आज मुसाको जत्ति पनि निस्किँदैन आवाज
अजङ्गको पहाड थियो ऊ
आज एउटा पत्करले छोपिदिएको छ उसलाई
कसरी गरूँ विश्वास ?
एउटा अजङ्गको पहाड बन्दै गरेको
मेरो आस्थाको चौथो ‘महानायक’ पनि
पानीले रुझेर मरेको मुसोझैँ
पुरिएको छ नितान्त केही पत्करमा !
दुष्ट सत्ताले गल्ली बढारेर थुपारेको
दुर्गन्धित चुनावी पत्करमा !
किन यति छिट्टै फिर्ता भयो ऊ
जनक्रान्तिको मैदानबाट
किन अपत्यारिलो ढङ्गले बत्तेतोड भाग्यो ऊ !
अंशमा कुलोमाथिको बारी परेकैले
कम्युनिस्ट बनिटोपलेको दोस्रो छविलाल बन्यो ऊ
२/४ घर, केही पैसा र सौ–पचास बिघा जमिनको लोभी
चुत्थो, ढँटुवारे जमिनदार पो निस्कियो ऊ
छरपस्ट सडकबाट जम्मा पारिएका
ज्यूँदा सपनाहरूको हत्यारो रहेछ ऊ
गेरुवस्त्रे बगरेहरूको भीडमा
श्वेतवस्त्रे बगरे जन्मियो ऊ
बगरेहरूबाट सावधान !
स्वप्नहन्ताहरूबाट सावधान !
सपना–मुर्दा बनाउने
मुर्दाहरूबाट सावधान !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :